
काठमाडौं । गतवर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उखु किसानसँग लिखित सम्झौता गर्यो– माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाउने ।” माघको त्यो कठ्याङ्ग्रिदो जाडोमा काठमाडौं आएर आन्दोलन गर्न बाध्य किसानलाई पाँचबुँदे सहमति गराउन त सरकार सफल भयो तर आफूले गरेको सम्झौता भने कार्यान्वयन गर्न सकेन ।
किसानले उक्त सहमति कार्यान्वयनको आशामा एकवर्ष बिताए ।
बारम्बार ताकेता गर्दा पनि किसानले बक्यौता पाएनन् । तीन साताभित्र सम्पूर्ण बक्यौता उठाइदिने सम्झौता गरेको सरकारले एकवर्ष पूरा हुनै लाग्दासमेत पैसा दिलाइदिन नसकेपछि सर्लाहीबाट किसानहरू पुनः काठमाडौं आएर शान्तिपूर्ण धर्नामा बस्न बाध्य भएका हुन् ।
यसपटक भने उनीहरुले उधारोमा सहमति नगर्ने अडान लिएका छन् ।
“हामी अनसन बस्यौं, गतवर्ष यहीँ आएर आन्दोलन गर्यौँ । सरकारले पैसा दिलाइदिन्छु भनेर सहमति गरायो तर पनि हामीले पैसा पाएनौँ, अब पैसा नलिइ गाउँ फर्कदैनौँ,” सर्लाहीका उखु किसान गगनदेव रायले भने । उनले किसानको विषयमा कसैले पनि मतलब गरेको दुखेसो पोखे । “दुईचारजना नेतालाई पैसा दिएपछि उनीहरू पनि हाम्रो पक्षमा बोलेनन् । हाम्रो कुनै विकल्प नभएर नै आन्दोलन गर्न काठमाडौं आएका हौँ,” उनले भने ।
चुनावको बेलामा भोट माग्न घरघरमा आउने नेताहरू अहिले किसान मरुन् कि बाँचुन् केही मतलब नगरेको अर्का किसान रामेश्वरप्रसाद यादवले बताए । “नेताहरुलाई के मतलब, चुनावको बेलामा भोट माग्न मात्रै आउँछन् । किसानको खेत जाओस् कि ज्यान जाओस् उनीहरुलाई मतलब छैन । दुईचारजना नेतालाई दलालीले पैसा दिन्छन्, सबै चुप छन्,” उनले आक्रोस पोखे ।
आफ्नो रकम पाउन उनीहरु कहिले जिल्लामा अनसन बसे, कहिले काठमाडौंमा आएर सडकमा बसे तर पैसा पाएनन् ।
“जिल्लामा अनसनमा बस्यौँ, पैसा मिल्छ भनेर कागज गराए । कागज गराएपछि केही मतलब गरिएन । यहीँ आएर आन्दोलन गर्यौँ, पैसा पाइएन । अहिले फेरि यहाँ आएका छौँ,” यादवले बाह्रखरीसँगको कुराकानीमा भने ।
सर्लाही सिसौटियाका गौरीशंकर पण्डितले सरकारले किसानलाई नहेरेको बताए । जसले दलाली गरेको छ, उसले पैसा पाएको तर जो बास्तविक किसान हुन् उनीहरुले बक्यौता नपाएको उनले बताए । “जो दलाली काम गर्छ उनीहरुलाई दियो, जो किसान हो उसलाई पैसा दिएन,” उनले भने ।
पैसा छैन, छोरीको विवाह कसरी गर्नु !
१४ वर्षदेखि उखु उत्पादनमा लागेका पण्डित अहिले ५० वर्षका भए । छोरी १२ कक्षा पढेकी र विवाह गर्ने उमेर भइसक्दा समेत पैसा नहुँदा विवाह गराउन नसकेको उनले बताए ।
“छोरी २०–२२ वर्षकी भइन् । विवाह गर्ने बेला भएको छ, विवाह गराउन पैसा छैन,” उनले भने, “पैसा आज आउँछ, भोलि आउँछ, एक महिनामा आउँछ भन्दाभन्दै आज चारवर्ष भयो पैसा नपाएको । साहुसँग ऋण लिँदा कागज गर्ने भएकाले साहुले जसरी पनि पैसा लिन्छन् तर, उधारोमा उखु दिँदा हामीले धेरै दुःख पायौँ ।”
अर्का किसान यादव आफूसँग पैसा नभएपछि पाँचहजार ऋण लिएर आन्दोलन गर्न काठमाडौं आएको बताए ।
“आन्दोलन गर्न पाँच हजार ऋण लिएर आएको छु । जबसम्म पैसा मिल्दैन, तबसम्म गाउँ जादैनौं,” उनले भने ।
उनले एकलाख ७२ हजार रुपैयाँ लिन बाँकी छ । त्यो रकम पाउन उनी कहिले अनसन त कहिले आन्दोलन गर्न काठमाडौंसम्म आए तर पैसा पाएका छैनन् । “माग्दा दिन्छु दिन्छु भन्छ तर दिँदैन । चारवर्षदेखिको रकम बाँकी छ । सरकारले पनि दिलाउँछु दिलाउँछु भन्छ, तर दिलाउँदैन । पैसाको ब्याजमात्रै पाँचलाख पुग्न लागिसक्यो । खेत बेचेर ऋण तिर्नुपर्ने भएको छ,” उनले भने ।
आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्न आएका किसानहरूले बोकेको प्लेकार्डमा ‘बिर्कोमा लाको चिनीमा कसरी पस्यो माफिया’, ‘सानो छ खेत, सानो छ बारी सानै छ जहान, सानो छ देश, ठूलो छ सरकार, अटेन किसान’ लगायतका नारा थियो । उनीहरूले श्रम पसिनाको मूल्य पाउनुपर्ने माग गरेका थिए । आफूहरुको पेट खाली किसानको मर्का बुझिदिन आग्रह गरेका थिए ।