काठमाडौं । २०६७ साल असोज ३१ गते । बडादसैंको टीकाको दिन । दसैंको रौनक । हर्ष र उल्लास ।
कमलपोखरी बस्दै आएका राजु तामाङ र उनकी श्रीमती संगीता थिङ तामाङको जीवनमा यो दसैं अरुभन्दा विशेष छ । तामाङ परिवारमा खुसियाली छ । उनीहरुको घरमा नयाँ सदस्यको आगमन हुँदैछ । राजु र संगीताले सन्तान सुख पहिलोपटक प्राप्त गर्न लागेका भने होइनन् । उनीहरुको पहिल्यै एक/एक छोराछोरी छन् । दशकपछि उनीहरुको घरमा अर्को सन्तानको आगमन हुन लागेको हो । श्रीमतीसँग खुसी साट्नकै लागि राजु पल्टनबाट छुट्टी मिलाएर घर आएका छन् । छोराछोरी पनि फुरुंग छन् ।
दिन ढल्दै गर्दा संगीतालाई बेथाले च्याप्दै गयो । लाजिम्पाटमा रहेको डेराबाट राजुले श्रीमतीलाई थापाथली अस्पताल लगे । अस्पताल पुग्न खासै समय लागेन । संगीतालाई अस्पताल पुर्याएको केही समयमा नै नर्मल डेलिभरी भयो । चिकित्सकले शिशु हेर्न राजुलाई बोलाए । जब राजुले आफ्नो बच्चा देखे, उनको धड्कन बन्द होलाजस्तो भयो । हात–खुट्टा नै नभएको सन्तान देख्दा कुनचाहिँ बाबुले रमाइलो मान्न सक्ला र ! आफ्नो छोरा देखेर पलभरमा विरक्तिए राजु । मनमा हजार कुरा खेल्न थाले । मुटु थाम्न सकेनन् र कोठाबाट बाहिरिए ।
नौ महिना कोखमा बसेर जन्मिएको सन्तान देखेर संगीताले पनि मन थाम्न सकिनन् । रोइन् । तर, सन्तानको माया त लाग्छ नै । ममताले तान्यो नै । नर्मल डेलिभरी भएकोले अस्पतालले उनीहरुलाई सोही दिन नै डिस्चार्ज दियो । हर्ष र विस्मात एकसाथ बोकेर डेरा फर्किए, तामाङ दम्पती ।
तामाङ दम्पतीको तनाव तन्किँद गयो । हौसला दिनेभन्दा ‘फलानोको छोरा त यस्तो जन्मिएछ नि !’ भनेरमात्र हेर्न आउने धेरै भए ।
“सुत्केरी भएर कोठामा सुतेको बेलामा समेत धेरैले हौसला दिनुको साटो निराशमात्र बनाए,” केही दिनअघि उनीहरुको कमलपोखरीस्थित डेरामा पुग्दा संगीताले दुखेसो पोखिन्, “गाउँ (नुवाकोट)मा त झन् तिमीहरुको बाजे–बराजुहरुले नराम्रो काम गरेको पाप तिमीहरुलाई लागेकोसम्म भने ।”
उनले थपिन्, “भन्नेले त भनिहाल्छ नि ! आफ्नो गति रोक्नु हुँदैन भन्ने सोचेर अगाडि बढेँ ।”
‘एन निक’को उमेर बढेसँगै उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो । आमाको दूध खाने बेलासम्म एन निकले सहजै दिसा गर्न सक्थे । तर, साह्रो खानेकुरा खुवाउन सुरु गरेपछि भने उनलाई दिसा गर्न समस्या हुन थाल्यो । अस्पताल गएपछि थाहा भयो, छोराको दिसा गर्ने ठाउँमा नै समस्या रहेछ । चिकित्सकले एन निकको दिसा गर्ने द्वार अन्डकोषसँगै भएको र शल्यक्रिया गरेपछिमात्रै सहजरुपमा दिसा गर्न सक्ने बताए ।
राजु भूपू आर्मी । छोराको अप्रेसन गर्न सैनिक अस्पताल छाउनी पुर्याए । त्यहाँ चिकित्सकले एन निकको उपचार गर्न नसक्ने बताए । दुवै हात र खुट्टा नभएकोले पल्स कताबाट नाप्ने अनि औषधि कताबाट दिने उल्झन देखियो । त्यसपछि कान्ति बाल अस्पताल लगे । दुईपटक गरेर २४ दिन राख्दासमेत केही सुधार देखिएन । न त कुनै उपाय नै सुझ्यो ।
छोराको उपचारका लागि तामाङ दम्पतीले काठमाडौंका प्रायः अस्पताल चहारे । त्यस्तैमा एक दिन मनीषा गौचनसँग भेट भयो । उनलाई राजुले छोराको उपचारको लागि धाएको कुरा सुनाए । “तपाईं चिन्ता नलिनुस्, म एकजना चिनेको डाक्टर लिएर आउछु,” गौचनले ढाडस दिइन् ।
गौचनले डा. निरज श्रेष्ठसँग भेट गराइन् । डा. श्रेष्ठले उपचारको ‘रिस्क’ लिने भए । एन निकको अरु सबै स्वास्थ्य ठिक भए÷नभएको जाँचपश्चात् अप्रेसन गर्ने निधो भयो ।
२०७२ सालको भूकम्पभन्दा केही दिनअघि निकको सफल शल्यक्रिया भयो । भूकम्पको समयमा अपाङ्गता भएको बिरामी छोरो स्याहार्न संगीतालाई परेको सकस उनको भावमा प्रष्टै झल्कन्थ्यो । पराकम्पले तर्साइरह्यो । अवस्था विस्तारै सामान्य हुँदै गयो । एन निक स्कुल जाने भए । ‘आदर्श सौलः युवक विद्यालय’मा पढ्न सुरु गरे । स्कुलसँगै भएको अपाङ्ग सेवा संघले स्थापना गरेको होस्टलमा बस्न थाले ।
अहिले कोरोना कहरपश्चात् घर आएका छन् ।
“पढ्न जान सुरु गरेपछि त मेरो छोरा पढ्ने र लेख्नेमात्र हैन, पहिलेभन्दा धेरै बाठो भएको छ,” संगीताले सुनाइन्, “एन निक अहिले एक कक्षामा पढ्छ । कोरोनाले नसताएको भए त अहिले दुई कक्षामा पुगिसक्थ्यो ।”
नामको कथा
निक भुजिसिक (Nick vujicic) नाम गरेका अष्ट्रेलियाली अमेरिकी प्रेरक वक्ता छन् । एन निकको नाम मनीषा गौचनलाई भेट्नुभन्दा अगाडिसम्म रविन थियो । रविन र निकको जन्मँदाको कथा उस्तै छ । निक जन्मिएपछि आमाले उनलाई समात्नसमेत इन्कार गरेकी थिइन् । उनको बाबुले छोराको अवस्था देखेर अस्पतालबाहिर निस्किएर बान्ता गरेका थिए । तर, तिनै निक अहिले प्रखर वक्तामात्र नभइ पढाइ, खेल तथा संगीतमा समेत अब्बल छन् ।
उनकै प्रेरणाले गौचनले रविनबाट नाम परिवर्तन गरेर एन निक बनाइदिइन् । अहिले रविनको नाम भएको छ, ‘एन निक’ अर्थात् नेपालको निक । एन निक बेलाबेला निकको भिडियो हेर्छन् । उनले पौडी, गल्फ खेलेको, ड्रमसेट बजाएको देखेर एन निकलाई रमाइलो लाग्छ । आफूमात्र होइन, संसारमा आफूजस्तै फरक क्षमताका धेरै मानिस भएको उनले थाहा पाएका छन् ।
कृत्रिम हातको आशा
कोरोनाभाइरसको संक्रमणले विद्यालय बन्द भएदेखि होस्टल छाडेर एन निक कमलपोखरीस्थित बाबुआमाकोमा आएका छन् । अहिले पनि उनी धेरैबेर दिसा थाम्न सक्दैनन् । ट्वाइलेट जान केही ढिलो हुँदा लुगामा नै दिसा खुस्कन्छ । स्कुलमा पनि धेरैपटक यस्तो भएको छ । “भनेको बेलामा ट्वाइलेट लगिदिने कोही हुँदैन । लुगामा नै दिसा खुस्कँदा साथीहरुले जिस्काउँछन्,” एन निक भन्छन् ।
साथीहरुले जिस्काउने कारणले उनले अब स्कुल नजाने भनेका छन् । छोराको समस्याले तामाङ दम्पतीलाई सताउन थालेको छ । छोरालाई डुलाउन राजुले ह्वीलचियर पनि किनेकै हुन् । तर, एन निक आफैंले ह्वीलचियर गुडाउन सक्दैनन् । कृत्रिम खुट्टा हाल्न पनि खुट्टा जोड्नको लागि तलको भागमा मासुमात्र भएकोले सहज छैन । कृत्रिम नै भएपनि छोराको हात जोड्ने तामाङ दम्पतीको चाहना छ ।
“हात हाल्न पनि दशौं लाख लाग्ने रहेछ,” छोराको इच्छा पूरा गर्न आफू केही ठाउँमा बुझ्न गएको राजुले सुनाए, “मेरो तलब र श्रीमतीले अरुको घरमा लुगा धुने, सरसफाइ गरेर अलि–अलि जोगिएको पैसाले त पुग्दै नपुग्ने रहेछ ।” राजु अहिले छोरालाई कृत्रिम हात हाल्नको लागि पिरोल्लिएका छन् । तामाङ दम्पतीको तनाव सकिएको छैन । “एउटी छोरीको बिहे भयो । अर्को छोरा आफैंले कमाएर खान सक्ने भएको छ । अब बाँचुन्जेल यही छोराको लागि पैसा जोगाइदिने मन छ,” राजुले भने, “एक वर्षपहिलेदेखि मःमः होटल राखेर दैनिक ३०० बचत गर्न लागेका थियाैँ । कोरोनाले त्यो पनि रोकिदियो ।”
तस्बिर /भिडियो : सुनिल प्रधान
नोट : निकलाई सहयोग गर्न चाहनेले बुबा राजु तामाङको ९८४३३४७०४८ नम्बरमा सीधै सम्पर्क गर्न सक्नुहुनेछ ।