.jpg)
काठमाडौं । कोभिड १९ का कारण केही निश्चित क्षेत्रबाहेक मुलुकको अधिकांश क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारी, सेवा, व्यापार, वित्तीयसहित सामाजिक, आर्थिक एवं राजनीतिक क्षेत्रमा पनि उत्तिकै असर परेको छ । कोभिडले तत्कालीनसहित दीर्घकालीन योजनामा पनि अप्ठ्यारो पारेको छ ।
सन् २०२२ सम्म अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य प्रभावित हुने निश्चित प्रायः देखिन्छ । त्यस्तै सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा जाने लक्ष्य पनि धकेलिने अर्थविद् बताउँछन् ।
ठूला एवं मुलुकको अर्थतन्त्रमा दीर्घकालीन महत्त्व राखेका विकास परियोजनाहरु पनि प्रभावित भइसकेका छन् । कतिपय सकिनै लागेका गौरवका आयोजना पनि धकेलिँदै छन् । रोजगार, राजस्व, आयात-निर्यात प्रभावित भएका छन्, महँगी बढेको छ ।
पूर्वप्रशासक डा. विमल कोइराला कोभिड १९ ले सबै क्षेत्रमा दीर्घकालीन असर पार्ने बताउँछन् । प्रभावित क्षेत्रलाई तङ्ग्रयाउन पनि धेरै समय लाग्ने देखिएको उनले बताए । “आपूर्ति व्यवस्था, राजस्व प्रणाली, आयात–निर्यात, वित्तीय व्यवस्थामा असर परेको छ । रोजगार गुमेको छ । त्यसलाई तङ्ग्रयाउन निकै समय लाग्छ,” उनले भने, “अल्पकालीन योजनाले मात्रै प्रभावित क्षेत्रलाई तङ्ग्राउन सक्दैन, मध्यकालीन संरचनामा जानुपर्छ ।”
वर्षौंदेखिको विकासशील मुलुकमा स्तरोन्नति हुने, मध्यमस्तरको आय भएको मुलुकमा जानेलगायत लक्ष्य पनि पछाडि धकेलिनेछन् । “सन् २०२२ मा अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने, सन् २०३० मा माध्यम आयस्तर भएको मुलुकमा जानेलगायत सबै लक्ष्य पछाडि धकेलिए । कति वर्ष धकेलिन्छ भन्न सकिँदैन तर नराम्रोसँग धकेलिए,” कोइरालाले भने ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा कोभिड १९ ले वैदेशिक परनिर्भरता घट्ने, शिक्षा प्रणाली सूचना प्रविधिमा आधारित हुने एवं स्वास्थ्य क्षेत्रमा बढी खर्च गर्नुपर्ने बताउँछन् । वैदेशिक रोजगारमा गएकाहरु ढिलो–चाँडो स्वदेश फर्कने भएकाले ‘डेमोग्राफी’ मै परिवर्तन आउने उनले बताए । “रोजगारीमा २०/३० लाख जना बाहिर जानुभएको छ, ढिलोचाँडो फर्किएर आउनुहुन्छ । दीर्घकालमा वैदेशिक परनिर्भरता घटेर हाम्रो जनसंख्याले यही बसेर काम गर्ने वातावरण बन्छ,” उनले भने । त्यसले गर्दा छोटो अवधिमा कृषिसँग जोडिएरै काम गर्नुपर्ने उनले बताए । अब भौतिक रुपमा भेट गरेर कक्षा सञ्चालन गर्नेभन्दा पनि अब हाम्रो शिक्षा प्रणाली सूचना प्रविधिमा आधारित भएर जाने उनले बताए । “अब आईटी प्लेटफर्ममा ठूलो लगानी हुन्छ,” उनले भने । नेपालजस्तो देशमा २/३ वर्ष स्वास्थ्यमा बढी खर्च हुने उनको भनाइ छ ।
देवकोटा अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य नधकेलिने बताउँछन् । “हाम्रा जुन लक्ष्य छन्, त्यसको प्राथमिकीकरणमा परिवर्तन हुन्छ । तर लक्ष्य नै पर धकेलिँदैन ।” उनका अनुसार रणनीतिक रुपमा प्राथमिकताहरु परिवर्तन हुन्छ । “विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने, सहस्राब्दी विकास लक्ष्यका रणनीतिहरुमा परिवर्तन हुन्छ, धेरै ठूलो परिवर्तन गरेर जानुपर्नेभन्दा पनि रणनीति परिवर्तन हुन्छ,” उनले भने ।
प्राथमिक क्षेत्रमा खर्च बढाउनुपर्ने उनको भनाइ छ । “जस्तो हिजो स्वास्थ्यमा जति प्राथमिकतामा राखेका थियौं, अब बढाउनुपर्नेछ । शिक्षा, रोजगारीका लागि कृषिलाई बढी प्राथमिकिकरण गर्ने भयौं,” उनले भने ।
कस्तो स्थितिमा छ अर्थतन्त्र ?
पूर्वप्रशासक कोइराला आजको दिनसम्म नेपालको अर्थतन्त्र अंग्रेजी ‘के’ आकारको रहेको बताउँछन् । अर्थतन्त्रका केही परिसूचक ठीकठीकै भए पनि धेरै प्रभावित भएकाले अर्थतन्त्र स्वस्थ रहेको भन्न नमिल्ने बताउँछन् । “अर्थतन्त्रका केही परिसूचकका आधारबाट अर्थतन्त्र ठीकै छ भन्छौं । विदेशी मुद्राको सञ्चिती, भुक्तानी सन्तुलनको अवस्थाबाट अर्थतन्त्र सन्तोषजनक नै छ भन्छौं,” उनले भने, “तर महँगी बढेको, गरिबहरु झन् गरिब भएको, रोजगारी गुमेको अवस्था हेर्दा अर्थतन्त्र अंग्रेजी ‘के’ आकारमा गएको छ ।”
अहिले ‘के’ आकारमा रहेको अर्थतन्त्रलाई ‘भी’ आकार लैजान सकिने तर त्यसका लागि दह्रो शासन व्यवस्था चाहिने उनले बताए । “सरकार अप्रिय भए पनि आर्थिक निर्णय लिन सक्ने हैसियतको हुनुपर्छ, त्यो नहुँदासम्म गाह्रो छ,” उनले भने ।
योजना आयोगका पूर्वउपाध्यक्ष देवकोटा पनि मुलुकको अर्थतन्त्र अप्ठ्यारो स्थितिमा रहेको बताउँछन् । “गत वर्ष ७/८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको थियो तर २.३० प्रतिशतभन्दा भएन,” उनले भने, “सजिलोमा विश्व पनि छैन हामी पनि छैनौं ।”