
काठमाडौं । कोरोनाका कारण निर्माण सम्पन्न हुनै लागेका राष्ट्रिय गौरवका आयोजना झन् झन् पर धकेलिँदै गएका छन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले मंसिरदेखि उत्पादन सुरु गर्ने भनिएको थियो तर अब त्यो समयमा उत्पादन गर्ने कुनै सम्भावना देखिएको छैन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि यतिखेरसम्म सञ्चालनमा आइसक्नुपर्ने थियो, त्यसको मिति पनि सरेको सर्यै छ । मेलम्ची खानेपानी आयोजना त कहिले हो कहिले भन्ने अवस्था पुगिसक्यो । करिब ७० प्रतिशत निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काममा पनि अवरोध आएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कायममुकाय कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य मंसिरसम्ममा सञ्चालन ल्याउने भनिएको माथिल्लो तामाकोसीको म्याद सरेको बताउँछन् । अब माघ १५ भित्र एउटा भए पनि युनिट सञ्चालनमा ल्याउने भनिएको छ । “माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले मंसिरमा उत्पादन थाल्ने भनेका थियौं, अहिले त्यो सम्भावना देखिएन,” उनले भने, “पछिल्लो अपडेटअनुसार कोभिडका कारणले सामानहरु अल्झिराखेको, कामदार ल्याउन नसकेको भनेर उत्पादन मिति पछाडि सारेका छन् ।”
शाक्यका अनुसार करिब १ प्रतिशत कामका कारण आयोजना संचालनमा आउन नसकेको हो । “तामाकोसीको निर्माण ९९ प्रतिशत सकियो भनेको धेरै भइसक्यो । त्यति ठूलो परियोजनामा २/४ वटा काम भनेको केही पनि होइन । तर, एउटै सामान प्लेट मात्रै रोकियो भने पनि अगाडि बढ्दैन । प्रतिशतमा भन्न सकिए तर काम दुई महिनाको बाँकी छ,” उनले भने । त्यो दुई महिनाका काम सुरु गर्न कोभिडका कारणले समस्या परेको उनले बताए । दुई महिनाको काम सुरु गर्न अझै कति समय लाग्ने हो, थाहा छैन ।
यदि टेस्टिङ गर्नुपर्ने कामका लागि विदेशबाट कर्मचारी ल्याउन नसकिए आयोजना थप पछाडि धलेलिने निश्चित छ । शाक्य भन्छन्, “टेस्टिङ गर्नुपर्ने कामका लागि विदेशी कामदारलाई ल्याउन सकियो र समयमै टेस्टिङ गर्न सकियो भने पुस अन्तिम वा माघको १५ तिर तामाकोसीको पहिलो युनिट सञ्चालनमा ल्याउन सक्छौं ।” यो तोकिएको समयभित्र एउटा मात्रै भए पनि युनिट सञ्चालनका लागि दुई महिना राम्रोसँग काम भएको हुनुपर्नेछ ।
प्राधिकरणले अहिले पनि विद्युत्को माग पूर्ति गर्न भारतबाट विद्युत् आयात गरिरहेको छ । समयमै माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा ल्याउन सकिएको भए भारतबाट बिजुली आयात गर्नुपर्ने थिएन । शाक्यका अनुसार यो वर्ष पनि गत वर्ष जस्तै १४ सय मेगावाट विद्युत्को माग हुनेछ । यो माग पूर्ति गर्न ४५० मेगावाट विद्युत् आयात गर्नुपर्ने हुन्छ । तर, तामाकोसी आयोजना मात्रै सम्पन्न हुन सकेको भए विद्युत् आयात गर्नुपर्ने अवस्था हुँदैनथ्यो । यदि आयात गर्नैपर्ने भए पनि थोरै मात्रामा आयात गरे पुग्थ्यो ।
अर्को राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालत पनि उस्तै छ । भौतिक पूर्वाधारको काम अधिकांश सम्पन्न भए पनि प्रविधि जडानको काम बाँकी छ । सन् २०२० भित्र सञ्चालन गर्ने लक्ष्य राखिए पनि अब तोकिएको समयमा सञ्चालन हुन सक्ने स्थिति निकै कमजोर बन्दै गएको देखिन्छ । उपकरण जडान गर्ने कर्मचारी विदेशबाट ल्याउन नसक्दा काम रोकिएको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार ठूला भौतिक पूर्वाधार निर्माणभन्दा पनि उपकरण जडानका कामहरु बाँकी छन् । कोभिड १९ का कारण चीन तथा तेस्रो मुलुकबाट उपकरण ल्याउन ढिलाइ भएकाले आयोजना सम्पन्न हुन थप केही समय लाग्ने देखिएको हो । कोभिडका कारण महत्त्वपूर्ण उपकरण ल्याउन समय लागेको र प्रविधि जडान गर्न विदेशबाट कर्मचारी नआएकाले ढिलाइ भएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार हालसम्म विमानस्थलका लागि आवश्यक सबै भवन निर्माण सम्पन्न भइसकेका छन् । भवनमा जडान गर्नुपर्ने केही उपकरण पनि जडान भइसकेको आयोजना प्रमुख अधिकारीले बताएका थिए । विमानस्थलको प्रशासनिक भवन, टर्मिनल भवनको निर्माण सम्पन्न भएर आन्तरिक मार्बल, टायल, सीसीटीभीजडानलगायत काम सकिएको छ । विमानस्थलको धावनमार्ग निर्माण पनि सम्पन्न भइसकेको छ ।
यसअघिको कुराकानीमा आयोजना प्रमुख अधिकारीले विमानस्थल सञ्चालनयोग्य डिसेम्बरसम्म बन्न सक्ने बताएका थिए । “राम्रो काम हुने सिजनमा उपकरण ल्याउन सकिएन,” उनले भनेका थिए, “चाडपर्व, मनसुन एवं प्रविधि जडानलाई समेत मध्यनजर गर्दा डिसेम्बरसम्म समय लाग्ने देखिएको छ ।”
यो विमानस्थलको यात्रु क्षमता वार्षिक करिब चार लाख रहेको छ । विमानस्थलबाट एक घण्टामा पिक आवरमा चार सय यात्रु ह्यान्डलिङ गर्न सकिने आयोजनाले जनाएको छ ।