
काठमाडौं । यस वर्षको लक्ष्मी पूजाका दिनमा विद्युत्को माग ११ सय ३६ मेगावाट पुग्यो । गत वर्षको लक्ष्मी पूजाका दिन ११ सय २४ मेगावाट माग थियो । अर्थात् एक वर्षमा १२ मेगावाटले विद्युत्को माग बढ्यो । कोडिभका कारणले उद्योग कलकारखाना धेरै सञ्चालनमा नआएकाले पनि यस वर्ष खासै माग नबढ्ने अनुमान विद्युत् प्राधिकरणको थियो । तर, यस वर्षको तिहार गत वर्षभन्दा जाडो मौसममा परेकाले थोरै माग बढेको प्राधिकरणको अनुमान छ ।
विद्युत् प्राधिकरणका कायममुकाय कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार विद्युत्को माग ११ सय ५० मेगावाटसम्म पुग्ने अनुमान थियो । केही कारणले लोड बढिहाल्न पनि सक्ला भनेर १३ सय मेगावाटको व्यवस्था गरेको उनले बताए । “कुलेखानी र आयात गरेर १३ सय मेगावाटको व्यवस्था गरेका थियौं,” उनले भने । तर, प्राधिकरणले गरेको अनुभन्दा कम तिहारमा विद्युत्को माग आयो ।
तिहारलगत्तै भने विद्युत्को माग निकै बढ्न सक्ने शाक्य बताउँछन् । यो वर्ष पनि माग बढेर १४ सय मेगावटसम्म पुग्ने अनुमान उनको छ । “यो वर्ष पनि विद्युत्को माग १४ सय मेगावाट पुग्न सक्ने अनुमान छ । सोही अनुमानका आधारमा व्यवस्थापनको काम पनि भइरहेको छ,” उनले भने । गत वर्ष विद्युत्को माग १४ सय २ मेगावाट थियो । तिहारलगत्तै उद्योगधन्दा चल्न सुरु हुने र जाडो मौसम भएकाले विद्युत्को माग बढ्ने अनुमान प्राधिकरणको छ । यसको व्यवस्थापन भने प्राधिकरणले आयात गरेरै पूरा गर्नेछ । जाडो मौसमसम्मका लागि ४५० मेगावाट बिजुली आयात गर्ने उनले बताए ।
प्राधिकरणले अहिले पनि बिजुली आयात गरिने रहेको छ । “मंसिरदेखि थप बढाउँछौं । मंसिर, पुस, माघ, फागुन र चैतसम्म अहिलेको तुलनामा आयात बढाउँछौं । तर, आयातको मात्रा पुस १५ देखि चैतको १५ सम्म सबैभन्दा बढी हुन्छ । त्यति बेला ४५० मेगावाट आयात गर्नुपर्ने हुन्छ,” उनले भने । चैतपछाडि भने हिउँ पग्लिने क्रम सुरु हुने र जडित क्षमताअनुसार विद्युत् उत्पादन सुरु हुन थाल्ने उनले बताए ।
अहिले जाडो मौसम सुरु भएकाले हिउँ पग्लिने क्रम कम हुन्छ । खोलाका स्रोत, मूलहरु सुक्छ । मंसिर, पुसमा खोलाहरु सुक्दै गएर जडित क्षमताको एकतिहाइसम्म पुग्न सक्छ, उनले भने । यस्तो अवस्थामा हामीलाई बिजुली पुग्दैन । राति १२ बजे र दिउँसो पनि बिजुली नपुग्ने उनले बताए । त्यसैले त्यस्तो अवस्थामा प्राधिकरणले आयात गरेर नै बिजुली मागअनुसार पुर्याउने हो, उनले भने । सोही कारण स्वदेशमा उत्पादित बिजुली खेर नजाने उनको भनाइ छ । “अब हामीले बिजुली नै आयात गर्नुपर्ने हुन्छ त्यसैले स्वदेशमा उत्पादित बिजुली खेर जाने सवाल नै हुँदैन,” उनले भने ।
वैशाखदेखि भने बिजुली बढी हुन थाल्ने उनले बताए । “नयाँ जलविद्युत्ले पनि उत्पादन गर्ने र पुराना आयोजनाको पनि हिउँ पग्लिएर पानी भरिने हुन्छ । वैशाखदेखि राति र दिउँसो पनि बढी हुन्छ,” उनले भने । त्यो बेलामा भने ती उत्पादित बिजुली खेरजाने अवस्था रहेको उनले बताए । उनका अनुसार जेठ, असार, साउन र भदौमा बिजुली धेरै भएर पोखिने अवस्था छ । तत्काल बिजुली खपत बढाउन नसक्ने भएकाले निर्यात नै गर्नुपर्ने उनले बताए । यद्यपि उद्योगधन्दा राम्रोसँग चले भने पनि उत्पादित बिजुली खेर नजान सक्छ ।
यो वर्षसम्मका लागि कुनै समस्या नहुने भए पनि अर्को वर्षदेखि भने विद्युत्को माग थप बढ्ने हुँदा अहिले देखि नै लाइन विस्तार एवं सुदृढीकरणका कामहरु गर्नुपर्ने उनले बताए । “यो वर्षका लागि १४ सय ५० मेगावाट बिजुलीको व्यवस्थापन हुन्छ । कोभिडको कारणले गर्दा पनि यो वर्ष त हामीले धान्छौं । अर्को वर्ष भने माग निकै बढ्न सक्छ,” उनले भने । अर्को वर्ष प्रत्येक वर्ष थपिने माग पनि बढ्ने र उद्योगधन्दा पनि राम्रोसँग चल्न सक्ने भएकाले आगामी वर्ष डिमान्ड बढ्ने हुन्छ । “त्यसैले यो एक वर्षभित्र व्यापक काम गर्नुपर्नेछ । लाइन विस्तार, सुदृढीकरणका कामहरु यो एक वर्षभित्र गर्नुपर्छ,” उनले भने ।
-फाइल तस्बिर