काठमाडौं । कोरोना भाइरस महामारीले स्वास्थ्यमा मात्र नभएर मानिसहरुको आर्थिक अवस्थामा समेत प्रभाव पारेको छ । नेपालसँगै विश्वभरका निम्न-मध्यम वर्गका मानिस कोरोना कहरकै कारण सडकमा पुगेका छन् । रोजीरोटी गुमाएका उनीहरूसँग अगाडि के गर्ने भन्ने विकल्पसमेत छैन ।
साँझ-बिहानको छाक कसरी टार्ने अन्योलबीच रामेछापको मन्थली नगरपालिका ४, सालुका युवा प्रदीप घिमिरे भने धेरैको आशाको केन्द्र बनेका छन् । सदाझैं प्रदीप र उनका साथीहरुले मैतीदेवीमा खाना पुर्याउँछन् । आफूले ल्याएको खानाको पोको फुकाएर जतनसाथ राख्छन् । एक जनालाई पुग्ने गरी मिक्स करी, दाल, भात, गाँजर, काँक्रो र मुलाको सलाद र एक बोटल पानी सबैलाई पुग्ने गरी भाग मिलाउँछन् ।
प्रदीपले खाना भाग लगाएको देख्नेबित्तिकै दिनभरीको भोक खपेर बसेका मानिस लाममा बस्छन् । अनि चल्छ खाना खाने र खुवाउने क्रम ।
०००
‘‘कलकारखाना, उद्योग धन्दा बन्द भएकाले श्रमिकहरु कुनै मनकारी मान्छेले खाना ल्याएर दिन्छ कि भनेर बाटो कुरेर बस्नुपर्ने बाध्यता छ,’’ भन्छन् प्रदीप । उनीले विगत आठ महिनादेखि अलपत्र परेका मानिसलाई खाना खुवाइरहेका रहेछन् ।
गत चैत ११ देखि नेपालमा कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गर्यो । १५ गते राति एउटा संस्थाले ४८ जना बच्चा तीन दिनदेखि भोकै रहेको भनी उनलाई फोन गर्यो । त्यो सुनेपछि उनलाई रातभरी निद्रा लागेन । भोलिपल्ट साँझ उनी राहत वितरणको सामग्री संकलन गरेर आफैं पुगे ।
राहत वितरण गर्दै गर्दा सडकमा भएका, जसको चुलो निभेको छ, जसले खुला आकाशलाई छानो र चिसो पेटीलाई ओच्छ्यान बनाएकाहरुलाई खाना खुवाउन सुरु गरेको उनी बताउँछन् ।
‘‘२०७६ चैत २८ गते महानगरीय प्रहरी परिसर टेकुका प्रमुखसँग छलफल गरेर २९ गतेबाट सुरु गरेको खाना खुवाउने काम अहिलेसम्म जारी छ । यहीबीच तीन बिरामीलाई उपचारका लागि आर्थिक सहयोग जुटाएर सहयोग गर्यौं । झन्डै पाँच सय परिवारलाई राहत वितरण गर्यौं,’’ उनले सुनाए ।
प्रदीपले मानिसलाई मात्र नभएर पशुपति, थापाथलीमा रहेका बाँदरलाई केरा, बिस्कुट, खुवाइरहेका छन् । वसन्तपुरमा रहेका परेवा र पशुपतिका मृग, हरिण र गाईलाई पनि सेवा गरिरहेका छन् ।
खाना खुवाउन सुरु गरेको झन्डै आठ महिनाको अवधिमा ४० हजारभन्दा बढी छाक खुवाएको उनी बताउँछन् । प्रदीपले पहिलो लकडाउनका बेला वसन्तपुर, असन, इन्द्रचोक, भेडासिंह, बांगेमुडा, नरदेवी, जैसीदेवल, क्षेत्रपाटी, कालमोचनघाट, थापाथलीको राम मन्दिर, हुँदै पशुपति र गुह्येश्वरीमा गरी लगभग तीन सयलाई खाना खुवाउने गरेका थिए ।
पछिल्लो समयमा भने उनले खर्च अभावका कारण दैनिक सयको हाराहरीमा खाना खुवाउँदै आएका छन् । अहिले उनी मैतिदेवी, सेतो पुल, पुरानो बानेश्वर, बत्तीसपुतली, गौशाला, भण्डारखाल र पशुपतिमा खाना खुवाउँदै आएका छन् ।
सडकमा अलपत्र परेका मानिसलाई खाना खुवाउनुकै साथै घर फर्कन चाहनेलाई घर फर्कन उनले सहयोग गर्ने र रोजगार बन्न चाहनेका निम्ति काम खोजिदिएर सहयोग पुर्याउन थालेका छन् । भन्छन्, ‘‘मामभन्दा पनि काम दिन पाए समस्याको दिगो समाधान हुने थियो । मैले निर्माण कार्यमा काम गर्ने २० जनाभन्दा धेरैलाई रोजगारी खोजिदिएँ । काम गरेर खाने गरेका मानिसलाई खाना खुवाउँदा कतिपयले काम गर्नै छाड्छन् र अल्छी हुन्छन् ।’’
उनले तिहारपछि भने खाना खुवाउनेभन्दा पनि अरु नै काम गर्ने सोच बनाएका छन् । उनले तिहारपछि उपत्यकामा चिसो बढ्ने र श्रमिकहरु चिसोबाट बिरामी हुने भन्दै न्यानो कपडा बाँड्ने तयारी थालेका छन् । उनले सम्भव भएसम्म स्लिपिङ ब्याग र ओछ्याउनका लागि म्याट बाँड्ने तयारीमा रहेको सुनाए ।
खाना बनाउनकै लागि संघर्ष
उनलाई खाना बनाउन भनेर पूर्वमिस नेपाल पुनम घिमिरेको योगदान फाउन्डेसन संस्थामा ठाउँ पाएका थिए । तर पाँच दिनपछि भने त्यहाँबाट उनलाई त्यहाँ खाना बनाउन दिइएन । त्यसपछि उनी भाँडाकुँडा बोकेर आफ्नै डेरातर्फ लागे ।
प्रदीपलाई मनकारीहरुले जसोतसो आर्थिक सहयोग त गरेका छन् तर खाना खुवाउने निर्णयसँगै खाना कहाँ बनाएर वितरण गर्ने भनेर उनी समस्यामा परे । सुरुमा त उनले आफू बस्ने डेराबाहिर बनाउने गरेका थिए तर घरबेटीले उनलाई सहयोग गर्नुको साटो उल्टै त्यहाँ खाना नबनाउन निर्देशन दिए ।
‘घरबेटीको कुरो कुरा मान्नुको विकल्प थिएन’ उनीसँग । आफ्नो कोठा सानो भए पनि कोठामै काम सुरु गरेको सुनाउँदै प्रदीप भन्छन्, ‘‘आफ्नै कोठाको लो-बेडमाथि खाना बनाउन सुरु गरें ।’’
दैनिक अखबार, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरुमा एकछाक टार्न नसक्ने श्रमिक तथा सडकमै बस्ने व्यक्तिहरु खान नपाएर छटपटाएको समाचार शीर्षकहरुले प्रदीपको मन कुँडिन्थ्यो । हुनेहरु घरभरी सम्पत्ति थुपारेर धनाढ्यको बिल्ला भिरेर धनले डकारेर निदाउँछन् । तर आत्मसन्तुष्टिका लागि असाहाय र सहाराविहीनहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनी सोच्दा सोच्दै कैयौं रात निदाउनै बिर्सेका छन् प्रदीपले ।
समस्या बताएर साध्य छैन । तर स्रोत-साधनले जति सकिन्छ त्यति गर्दै गए । अनि सहृदयी मनहरुलाई पनि सकेको मद्दत गर्न सामाजिक सन्जालबाट आह्वान गरे । केही सहयोगी मनहरुको साथ लिएर प्रत्येक दिन बास भएका, गाँस नभएका व्यक्तिहरुलाई खाद्यान्न वितरण र गाँस, बास र कपासको टुंगो नभएका व्यक्तिहरुलाई नियमित खानेकुराको जोहो गराउँदै आइरहेका छन् उनी ।
उनले आफूले केलाएको साग-सब्जी पनि खेर नफाली पशुपतिमा लगेर गाईहरुलाई दिने गरेका छन् ।
अस्पताल र समाजले वास्ता नगरेको मानिसको उद्धार
बारा, निजगढका ६२ वर्षीय सोमबहादुर लामा उनै प्रदीपले बाँडेको खाना केही समयदेखि खाँदै आएका थिए । असोज २० गते लामाले आफूलाई ज्वरो आएको र अस्पताल जान प्रदीपसँग भाडा मागे । प्रदीपले पनि उनलाई टेकु अस्पतालसम्म पुगेर फर्कन केही रुपैयाँ दिए । लामा असोज २१ गते टेकु अस्पतालमा स्वाब दिएर बत्तीसपुतली फर्किए ।
भोलिपल्ट फेरि लामा अघिल्लो दिन जसरी नै टेकु जान भाडा मागेर गए अनि रिपोर्ट लिएर फर्किए । उनी टेकुबाट कोरोना पोजेटिभ भएको रिपोर्ट लिएर आएका थिए । यद्यपि अस्पतालले लामालाई कोरोना संक्रमण भएको कुरासम्म बताएन । आफ्नो स्वास्थ्य अवस्था बिग्रँदै गएपछि रिपोर्ट लिएर औषधि पसल पुगेपछि मात्र लामाले आफूलाई कोरोना संक्रमण भएको पत्तो पाए ।
‘‘विश्व स्वास्थ्य संगठनको नियमअनुसार अस्पतालको आइसोलेसनमा चिकित्सकको निगरानीमा बस्नुपर्नेलाई अस्पतालले कोरोना भएकोसम्म थाहै नदिएको देख्दा म छाँगाबाट झरेजस्तै भएँ,’’ प्रदीपले सुनाए । त्यसपछि उनले लामालाई वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यको सहयोगमा दह चोकमा रहेको मनमोहन अस्पतालमा पठाए । १४ दिन अस्पतालमा बसेपछि उनले दसैँको टीकाको अघिल्लो दिन अर्थात् कात्तिक ९ गते निजगढमा रहेको घरमा फर्कनका लागि प्रदीपसँग भाडा माग्न आए । प्रदीपले लामालाई घर फर्कन पैसा दिएर पठाए तर गाडी नपाएको हन्डर झेल्दै ११ गते मात्र निजगढ पुगे ।
आफ्नो घरपरिवारसँग बसेर हाँसीखुसी दसैँ मनाउन घर पुगेका लामालाई घरपरिवार र समाजले भने मानवता देखाएन । राति नै घर छाडेर हिँड्ने निधो गरेर लामा निजगढबाट २० किलोमिटर पथलैयासम्म पैदल हिँडेर आइपुगे । त्यहाँबाट आफूसँग भएको पैसाले हेटौंडासम्म गाडीमा आए । त्यहाँबाट एक दिन र एक बिहान लगाएर काठमाडौं फर्किएर प्रदीपकै सम्पर्कमा पुगे ।
लामा फेरि काठमाडौं फर्किएपछि प्रदीपले पनि काम खोजिदिएका छन् । लामा अहिले निर्माण सेवामा काम गर्न लागेको प्रदीपले सुनाए ।
लामालाई मात्र होइन कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई रोजगरी खोज्ने अभियानमा जुट्दै छन् प्रदीप । यसका लागि उनले आफूले खाना खुवाउनेहरुले के काम गर्न सक्छन् भनेर विवरण पनि संकलन गर्दै छन् ।