
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघलाई चुनावी रौनकले छोएको छ । आगामी पदाधिकारी र कार्यकारिणी समिति सदस्यमा मनोनयन दिएकाहरु मत आ–आफ्नो पक्षमा पार्न लागि परेका छन् । महासंघको विगतको साधारणसभा जस्तो ५४ औँ वार्षिक साधारणसभामा पनि प्रत्यासीहरु प्यानलसहित नै उमेदवारी दर्ता गराएका छन् ।
आगामी वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित नै उमेदवारी दर्ता गरिसकेका छन् । प्यानलसहित उमेदवारी घोषणा गरेका उमेदवारहरुलाई सहमतिको आधारमा अगाडि बढ्न पूर्वअध्यक्षहरुले आग्रह गर्दै आएका छन् । महासंघलाई एकताबद्ध बनाउन र हालको परिस्थितिमा निर्वाचन गर्न नहुने पक्षमा केही पूर्वअध्यक्षहरु खुलेरै सहमति गराउन तल्लिन छन् । पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले पूर्वअध्यक्षहरुको तर्फबाट सहमति गराउने भूमिका अगाडि बढाइरहेका छन् ।
केही समयअघि सबै पूर्वअध्यक्षहरुको भेलाले रविभक्त श्रेष्ठ र महेशलाल श्रेष्ठलाई सहमति गराउने जिम्मा नै दिएका थिए । उक्त भेलापछि नै पूर्वअध्यक्ष श्रेष्ठले सहमतिको प्रयास गर्दै आएका छन् । दुवै वरिष्ठ उपाध्यक्षका उमेदवारहरुले प्यानलसहित नै उमेदवारी दर्ता गराए पनि सहमतिको प्रयास जारी रहेको श्रेष्ठले बताए ।
“सहमतिको लागि प्रयास भइरहेको छ,” उनले भने, “यो बीचमा एक–दुई चरणमा छलफल पनि गरे । अब तिहारलगत्तै दुवै उमेदवारलाई सँगै राखेर सहमतिका लागि आग्रह गर्नेछु ।” निवर्तमान अध्यक्ष पशुपती मुरारका पनि सहमतिको प्रयास जारी रहेको बताउँछन् । “सहमतिको प्रयासलाई छोड्नु हुँदैन । सहमति भयो भने नयाँ परम्परा पनि बस्छ । अहिलेको कठिन परिस्थितिलाई हेर्दै सहमतिको वातावरण बन्नुपर्छ,” उनले भने ।
कोडिभको कारणले पनि सहमति गरी अगाडि बढ्नुु नै उपयुक्त हुने उनले बताए ।
“काठमाडौंमा हुने निर्वाचनका लागि जिल्लाबाट प्रतिनिधिहरु आउनुपर्छ । काठमाडौंमा फैलिएको कोरोनाका कारण जिल्लाबाट आउने साथीहरुलाई कोरोना लाग्ला भन्ने डर पनि छ । अहिलेको बेलामा सहमतिको प्रयास गर्नु नै उपयुक्त हुन्छ,” मुरारकाले भने ।
त्यसो त सहमतिका लागि वरिष्ठ उपाध्यक्षमा दुवै उमेदवार ढकाल र प्रधान पनि सहमत छन् । तर, सहमतिका लागि एकले अर्कालाई छोड्नुपर्ने हुन्छ । कसले कसलाई छोड्ने भन्ने विषयमै कुरा अड्किएको देखिन्छ ।
महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि सहमतिका लागि आग्रह गरेका छन् । प्रजातान्त्रिक अभ्यासमा चुनावनै सर्वोत्तम तरिका भए पनि अहिलेको विषम परिस्थितिमा सहमति भएमा निजी क्षेत्रका लागि सुखद हुने उनले बताएका छन् । सहमतिको प्रयासलाई जारी गर्न पनि उनले आग्रह गरे ।
सहमतिका लागि अध्यक्ष भवानी राणाले पनि प्रयास गरिरहेको बताइन् । “अहिलेको बेलामा सहमति आवश्यक देखिन्छ” उनले भनिन्, “सहमति हुन सकेन भने प्रजातान्तिक अभ्यास त छँदैछ ।” सहमतिको ढोका खुलै रहेको ढकाल र प्रधानले पनि बताए ।
“सहमतिका प्रयासहरु भइरहेका छन्, अहिले पनि सहमतिको सम्भावनाको अन्त्य भइसकेको छैन,” उमेद्वारद्वयले भने ।
“सहमतिको सम्भावना अन्तिम समयसम्म नै रहन्छ,” ढकालले भने ।
दोहोरिएला इतिहास !
महासंघभित्र चुनावी तीव्र प्रतिस्पर्धा भइरहँदा एकपटक मात्रै सहमतिको प्रयासले सार्थकता पाएको छ । २०५६ सालको चुनावमा रविभक्त श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठबीच सहमति भएको थियो । त्यसबेला रविभक्त श्रेष्ठले प्रदीपकुमार श्रेष्ठलाई अध्यक्ष बन्न सहमतिको बाटो खोलिदिएका थिए ।
त्यसबेला पनि तत्कालीन अध्यक्ष आनन्दराज मुल्मीसहित महासंघबाहिर रहेका प्रतिष्ठित उद्योगी व्यवसायीले सहमतिका लागि भूमिका खेलेका थिए ।
“त्यो बेलामा म र प्रदीपकुमार श्रेष्ठबीच चुनाव हुँदै थियो । तर सबैको सुझावको आधारमा मैले प्रदीपलाई छोडेको थिएँ । त्यसपछि म अध्यक्ष भएँ,” श्रेष्ठले भने । अहिले पनि पूर्वअध्यक्षसहित वर्तमान पदाधिकारीले सहमतिको लागि आग्रह गर्दै आएका छन् । यो पटक सहमति हुन सके इतिहास दोहोरिने छ ।
वरिष्ठ उपाध्यक्षमा मात्रै सहमति भएर पनि हुने छैन । प्यानलसहित दुवै पक्ष चुनावी मैदानमा उत्रिसकेका छन् । वरिष्ठमा सहमति भए अन्य पदमा के गर्ने भन्ने पनि छ । तर, एक पूर्वअध्यक्षले भने वरिष्ठ उपाध्यक्षमा सहमति हुन सके त्यसभन्दा तलको पदमा सहमति हुन सक्ने बताउँछन् ।
यस्तो छ ढकाल र प्रधानको महासंघ यात्रा
उद्योग वाणिज्य महासंघमा ढकाल र प्रधानको यात्रा लामै छ । कार्यसमिति सदस्य हुँदै दुबै जना उपाध्यक्षमा पुगेका हुन् । वर्तमान कार्यसमितिमा ढकाल सर्वसम्मत उपाध्यक्ष भएका हुन् भने प्रधान महासंघको उपनिर्वाचनबाट निर्वाचित भएका हुन् । महासंघको पछिल्लो निर्वाचनमा शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित प्रधानलाई जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा विजयी प्रमोद श्रेष्ठ स्थानीय तहको उम्मेदवार बनेपछि उनलाई हटाइएको थियो । र, उक्त पदमा उपनिर्वाचन गर्दा प्रधान विजयी भएका हुन् । ढकाल भने एशोसिएटतर्फबाट सर्वसम्मत उपाध्यक्ष छानिएका हुन् ।
कसको प्यानलमा को ?
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रधानको प्यानलमा वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ, एसोसिएटतर्फको उपाध्यक्षमा शौरभ ज्योती र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ छन् । यसैगरी ढकालको प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल प्रधान, जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा गुणनिधी तिवारी र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघई छन् ।
महासंघको ५४ औँ वार्षिक साधारणसभा मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः आगामी अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षका लागि प्यानलसहित प्रधान र ढकाल चुनावमा उत्रिएका हुन् । महासंघको आगामी अध्यक्ष शेखर गोल्छा हुन् । उनी यसअघि वरिष्ठ उपाध्यक्षमा नै चुनाव लडेर निर्वाचित भएका थिए ।