site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री ओलीले प्रचण्डलाई जाली-झेली भनेपछि...
Sarbottam CementSarbottam Cement

काठमाडौं । कम्युनिस्ट पार्टी मूलतः विचार र सङ्गठन प्रधान मानिन्छ । बैठक छलफल, बहस यसका सौन्दर्य र सम्पत्ति हुन् । तर, सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विचार र संगठनबाट च्युत त हुँदैछ, बहस-छलफलबाट पनि विमुख हुँदैछ । पार्टी कमिटीका नियमित र आवधिक बैठकहरूप्रति पनि उसलाई रुचि देखिँदैन । बरु कोठे बैठक, समूहगत भेला–छलफलमै आफ्नो र आन्दोलनको भविष्य देख्‍न थालेको छ ।

नेकपाको अन्तरिम विधानले ९ सदस्यीय सचिवालय सदस्यलाई ‘कोर अफ् द लिडरसिप’को मान्यता दिएको छ । कार्यकारी कमिटीको रूपमा परिभाषित पनि गरेको छ । विधानको धारा ५९ (२) अनुसार केन्द्रीय सचिवालयको बैठक आवश्यकताअनुसार बस्नुपर्नेछ । पार्टीको कामकाज र सरकार सञ्चालनका सन्दर्भमा आवश्यक निर्णय लिन सक्नेछ ।

तर नेकपाभित्र बैठक बस्नै संघर्ष गनुपर्ने अवस्था सिर्जना भएको छ । पार्टीभित्र सरकारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको समूह र सरकारको भूमिकामा नरहेकाहरूबीच ध्रुवीकरण बढ्दा कमिटीको बैठक पेचिलो बन्दै गएको छ । बैठक बोलाउने अख्तियारी पाएका कार्यकारी अध्यक्ष नै दुई पाने पत्र बोकेर बालुवाटार धाउनुपर्ने अवस्था निर्माण भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार यस्तै परिदृश्य बालुवाटारमा देखियो । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीको नेतृत्व गरिसकेका झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई लिएर बालुवाटार पुगे । पाँचौं स्थायी कमिटी बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षले प्रचण्डले ओलीसँगको समझदारीमा बैठक आह्वान गर्न सक्छन् । बैठक बोलाउन ओलीले कुनै हालतमा सहमति नदिने अडान राखेपछि अरु सचिवालय सदस्यहरूलाई पछि लगाएर हारगुहार गर्नुपर्ने परिस्थिति निर्माण भयो ।

स्रोतका अनुसार पार्टीभित्र र सरकार सञ्चालनमा देखिएका यावत् समस्याको जड प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको बहुमत सदस्यहरूले निष्कर्ष सुनाएपछि ओली क्रूद्ध बनेका थिए ।

Global Ime bank

अरूलाई त खासै रिस पोखेनन् । तर, कार्यकारी अध्यक्ष प्रचण्डसँग भने क्षुब्ध बनेका थिए । प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘तपाईं जहिल्यै जाली, झेली कुरा गर्नुहुन्छ’ भन्दै आक्रोश पोखेका थिए ।

“तपाईं जहिल्यै गुटबन्दी गर्नुहुन्छ । सरकारलाई असहयोग गर्नुहुन्छ । जाली, झेली कुरा गर्दै हिँड्नुहुन्छ,” ओलीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, “मैले कहिले बैठक नराख्ने भनेँ, तपाईं र मबीच बैठक राख्ने विषयमा नै त कुरा भएको छ । तर, तपाईं गुटबन्दीमै रमाउनुहुन्छ !”

ओलीले शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठकलाई पनि ‘गुटीयार भेला’को दर्जा दिएका थिए । त्यसलाई नै ‘बैठक बसिराख्नु भएको छ त’ भनेर ‘खिसी’ गरेको एक नेताले बताए ।

एक सचिवालय सदस्यका अनुसार पार्टी अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकको निर्णय उलङ्घनका घटनाको फेहरिस्त नै प्रस्तुत गरेका थिए ।

“तपाईंले स्थायी कमिटीका कुनै पनि निर्णय आत्मसात गर्नुभएको छैन । तपाईंबाट सुरुदेखि नै स्थायी कमिटी बैठकको निर्णय उलङ्घन हुँदै आयो,” प्रचण्डको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, “अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्ने वेलामा कार्यकारी अध्यक्ष मूलतः पार्टी काममा केन्द्रित हुने भन्ने विषयमा प्रश्न गर्नुभएको होइन ? तपाईंमात्रै कहाँ कार्यकारी हो ? म पनि कार्यकारी हुँ भनेपछि मैले त्यतिवेलै स्थायी कमिटीको निर्णय उलङ्घन गर्ने ? उसो भए अहिले नै स्थायी कमिटीको बैठक बोलाउँ भनेपछि अपानि जारी गर्न तयार हुनुभएको होइन ?”

प्रधानमन्त्रीले ओलीले आफूलाई जाली, झेलीको संज्ञा दिएपछि प्रचण्ड पनि क्रूद्ध बनेका थिए । र, संयमता गुमाएका थिए ।

प्रचण्डले बैठक राखौंभन्दा सधैं आलटाल गरेको, बालुवाटारमा बसेर गुटबन्दीमा रमाएको, प्रदेश नम्बर एकमा आफूनिकटको भेला राखेर पार्टी अनुशासन, निर्णयविपरीत स्थगित राखिएको र केन्द्रीय कमिटीले बहस खुला नगरिसकेको अवस्थामा जनताको बहुदलीय जनवादबारे बहस चलाएको, एकट्ठा हुन आग्रह गरेकोलगायत आरोप लगाउँदै ओलीलाई ‘महाजाली’ र ‘महाझेली’ भन्दै मुख फर्काएका थिए । र, सचिवालयका बहुमत नेताहरूसँग अनौपचारिक छलफल गर्दा गुट बनाएको आरोप नलगाउन चेतावनी दिएका थिए ।

वरिष्ठ नेता झलनाथ खनालले पनि ओलीलाई बैठक र पार्टी निर्णय दुवैबाट विमुख भएको आरोप लगाएका थिए । “हामी सामूहिकरूपमा बैठकका लागि आग्रह गर्न आएका हौं,” खनालको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, “तपाईं पार्टी कमिटीका निर्णय मान्दिनँ भन्नुहुन्छ । पार्टी कमिटीका बैठकबाट टाढिनुहुन्छ, यसरी पार्टी चल्न सक्दैन ।”

नेता नेपालले प्रधानमन्त्री ओलीलाई आत्मआलोचित हुन र विधिमा चल्न आग्रह गरेका थिए । ओलीले आफूतिर फर्किएर नहेरेको र विधि, पद्धतिमा आफ्नो भविष्य नदेखेको नेपालले आरोप लगाएका थिए । “तपाईं आत्मआलोचना गर्नु पर्दैन ? कहिल्यै आफ्नो कमजोरीको समीक्षा गर्नुभएको छ ? आफूलाई हेर्नुभएको छ ? तपार्ईंका कारण केके समस्या भएर भनेर कहिल्यै बुझ्ने कोसिस गर्नुभएको छ ?,” नेता नेपालको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।

अप्ठ्यारो परेका बखत काँध थाप्दै आएका उपाध्यक्ष वामदेव गौतमले ओलीलाई निरङ्कुश बनेको बताएका थिए । पार्टीभित्रका सारा समस्याको जड ओली रहेको निष्कर्ष सुनाउँदै उनले पनि प्रधानमन्त्रीको कार्यशैली सच्चिनुपर्ने बताएका थिए ।

“हाम्रो पार्टीमा दुईजना कार्यकारी अध्यक्ष हुनुहुन्छ,” उपाध्यक्ष गौतमको भनाइ उद्धृत गर्दै एक नेताले बाह्रखरीसँग भने, “एकजना अध्यक्षले बैठक बोलाउँदा गुटबन्दी नहुने, अर्को अध्यक्षले बैठक बोलाउनेबित्तिकै गुटबन्दी भयो भनेर परिभाषित गर्न मिल्दैन । प्रचण्डले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाउनुपर्छ । स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्नै पर्छ । ओली बैठक बोलाउन सहमत हुनैपर्छ ।”

प्रवक्ता श्रेष्ठले पनि सहमतिमा बैठक राख्न जोड दिएका थिए । उनले कात्तिक १ गते र ९ गते पत्र बुझाएर लिखित माग गरेको स्मरण गराउँदै अहिलेको समस्याको समाधानको थलो बैठक नै भएको बताएका थिए ।

“मैले त उहिल्यै पत्र बुझाएर बैठकको माग गरेको थिएँ । त्यतिबेला मैले अहिले देखापरेको समस्याको कुरा पनि गरेका थिइनँ । बैठक बसौं । छलफल गरौं । कमिटीका निर्णय कार्यान्वयन गरौं मात्रै भनेको थिएँ । बैठक त राख्नु भएन, भएन, तपाईंहरूले जवाफ पनि दिनुपर्ने ? उत्तरदायी पनि हुनुनपर्ने ?,”

छलफल सकिएपछि प्रधानमन्त्री ओलीले प्रवक्ता श्रेष्ठप्रति पनि असन्तुष्टि जाहेर गरेको स्रोतको दाबी छ । “तपाईं पनि प्रवक्ताको दायरा मिचिदिनुहुन्छ । यसो गर्नुभएन,” ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।

श्रेष्ठले पार्टीको लाइन र निर्णयको बारेमा मात्रै बोलेको तर, प्रधानमन्त्रीले त पार्टीको लाइनमात्र होइन, संविधानविरुद्ध नै बोल्ने गरेको भन्दै जवाफ फर्काएका थिए ।

स्रोतका अनुसार सचिवालयका बहुमत सदस्यहरूले एकमुख लागेर बैठकको मिति तोक्न माग गर्दा पनि ओली संवेदनशील देखिएनन् । ‘मैले कहिले बैठक नराखौं भनेको छु । आजै बसौं, भोलि नै बसौं’ भन्दै उम्कन खोजेपछि सदस्यहरूले पुनः र्‍याखर्‍याख्ती पारेका थिए ।

“तपाईंको अहङ्कार यहीं देखियो । बैठकप्रति तत्पर हो भने अहिले नै मिति तोक्नुपर्‍यो,” बहुमत सदस्यहरूको भनाइ उद्धृत गदै एक नेताले बाह्रखरीसँग भने ।

तै पनि प्रधानमन्त्री ओलीको बैठक राख्ने तत्परता देखाएनन् । ‘बसौंला नि’ भन्दै ठोस सहमति नदिएको ती नेता बताउँछन् ।

बहुमत सचिवालय सदस्यले बुझाएका दुई पाने पत्रमा कोभिड–१९ को रोकथाम, न्यूनीकरण, नियन्त्रण र उपचारमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको निचोड निकालिएको छ । आर्थिक पुनरुत्पादनमा पनि जोड दिन नसकेको आरोप लगाइएको छ । 

त्यस्तै प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकको निर्णय उलङ्घन गर्दै मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिसलगायतका काम गरेको भन्दै त्यसलाई सच्याउन, आत्मआलोचित हुन र भविष्यमा यस्ता गल्ती नदोहोर्‍याउन सचेत तुल्याएको छ । अहिले स्थायी कमिटीका निर्णय कार्यान्वयन नहुनु, पार्टी एकता, एकीकरणका काम निष्कर्षमा पुग्न नसक्नुका पछाडि पनि ओली नै जिम्मेवार ठहर्‍याइएको छ ।

कर्णाली, गोयल प्रकरणलगायत सरकार र पार्टी सञ्चालनका यावत् विषयमा समीक्षा गर्नुपर्ने भएकाले अविलम्ब बैठक डाक्न माग गरिएको एक सदस्य बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !