
काठमाडौं । कोडिभ-१९ का कारण समग्र अर्थतन्त्र प्रभावित छ । यसको असर नपर्ने क्षेत्र विरलै छन् । लघु, घरेलु, साना तथा मझौला एवं ठूला उद्योगहरु कोभिड-१९ का कारण निकै प्रभावित भएका छन् । उद्योग व्यवसाय प्रभावित हुँदा धेरैले रोजगारी गुमाउनुपरेको छ भने सरकारले पनि राजस्व गुमाएको छ । कोभिड-१९ कै बीचमा सञ्चालनमा आए पनि ५० प्रतिशतभन्दा कम क्षमतामा उद्योगहरु चलेको उद्योगी व्यवसायी बताउँछन् ।
कोभिड-१९ का कारण लघु, घरेलु तथा साना उद्योग झनै बढी प्रभावित भएको नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए । त्यसमाथि पनि श्रमिकको अभाव हुँदा उद्योग सञ्चालनमा थप चुनौती थपिएको उनले बताए । “कोरोना संक्रमणको डर भए पनि सतर्क भएर काम गर्न सुरु गर्यौं तैपनि अहिलेको अवस्थामा साना उद्योगहरु सञ्चालन भइसकेका छैनन्,” उनले भने, “उद्योग सञ्चालन गर्ने अवस्था पनि छैन, जनशक्ति पनि छैन ।”
कोभिड-१९ संक्रमणको बेलामा ५ देखि १० प्रतिशत साना उद्योग सञ्चालनमा आएको र सरकारसँग मिलेर उद्योगहरु खोल्ने क्रममा रहँदा कोरोनाको प्रकोप बढ्दा उद्योग सञ्चालन गर्न नसकिएको उनले बताए । उनका अनुसार साना उद्योगी व्यवसायीका लागि कच्चा पदार्थ, कामदार र रकम आवश्यक छ । “जो आफैं उद्योगी छन् र काम पनि आफैं एवं परिवारका सदस्यले गर्छन्, त्यस्ता साना उद्योगहरु सञ्चालनमा छन् । २-४ कर्मचारी राखेर काम गर्नसक्ने उद्योगहरु सञ्चालनमा आएका छन्, अन्य उद्योगहरु जनशक्तिकै कारण पनि प्रभावित भएका छन्,” उनले भने ।
आफ्नै उदाहरण दिँदै जनशक्तिको अभावमा दुईवटा इँटा उद्योग बन्द गराएको उनले बताए । भारतीय श्रमिकमाथि निर्भर भएका साना उद्योगहरु ठप्प भएको उनले बताए । “धनुषामा रहेका दुई इँटा उद्योग अब नचलाउने भनेर पूर्ण रुपमा बन्द गरे । यसबाट २ करोड ८३ लाख रुपैयाँ घाटामा छु,” उनले भने, “अब स्वदेशी कामदार मात्रै राखेर सञ्चालन गर्न सक्ने उद्योग चलाउँछु, भारतीय श्रमिक राख्नुपर्ने उद्योग चलाउँदिनँ ।” उनको उद्योगमा बढी भारतीय श्रमिक थिए । कोभिड देखिएपछि भारत गएका उनीहरु फर्किएर आएनन् । सोही कारण अब स्वदेशी श्रमिक प्रयोग गर्ने उद्योग मात्रै सञ्चालन गर्ने निष्कर्षमा आफू पुगेकाले दुई उद्योग पूर्ण रुपमा बन्द गराएका उनले बताए ।
अब वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नेपालीलाई रोजगारी दिने योजना आफूहरुको रहेको उनले बताए । त्यसका लागि सरकारलाई आफूहरुले भने अनुसारको जनशक्ति तयार पारिदिए रोजगारी दिन तयार रहेको उनले बताए । “अहिलेको अवस्थामा पनि १० लाख जनालाई रोजगारी दिन सक्छौं । ३-४ महिनासम्म उद्योगमा नै तालिम दिने र त्यही रोजगारी दिन्छौं भनेर सरकारसँग भनिरहेका छौं,” उनले भने ।
लघु, घरेलु तथा साना उद्योगले २६ लाख जनालाई रोजगारी दिएको महासंघले जनाएको छ । २६ लाख जनशक्तिमध्ये पनि ५० प्रतिशत बढी भारतीय र विदेशी नागरिक रहेको उनले बताए ।
“उनीहरु भारत गएपछि फर्किएर आएका छैनन्, जसले गर्दा जनशक्तिको अभाव भएको हो,” उनले भने, “वैदेशिक रोजगारीबाट फर्किएर आएका नेपाली दाजुभाइलाई भारतीयको ठाउँमा रिप्लेस गर्न चाहन्छौं ।”
भारतीयलाई राख्दा धेरै व्ययभार बहन गर्नुपर्ने भएका कारणले पनि उनीहरुले स्वदेशी श्रमिक प्रयोग गर्न खोजिरहेका छन् । ४ लाख १८ हजार लघु, घरेलु तथा साना उद्योग दर्ता छन् । यसमध्ये २ लाख ४१ हजारको नवीकरण भएको छ । नवीकरण गरिएकामध्ये १२ देखि १५ प्रतिशतसम्म मात्रै सञ्चालनमा आएको उनको भनाइ छ ।
जनशक्ति अभावसँगै बैंकको ब्याजको मार त्यत्तिकै रहेको उनले बताए । “नेपाल राष्ट्र बैंकले दिने भनेको पुनर्कर्जा पनि अहिलेसम्म पाएका छैनौं,” उनले गुनासो गरे । कोभिडका कारण देशभर बन्द भएका साना तथा मझौला उद्योगको यकिन तथ्यांक नभए पनि वीरगन्ज करिडोरमा सञ्चालित धेरै उद्योगहरु बन्द भएको उनले बताए । “देशैभरको तथ्यांक हामीले संकलन गरिरहेका छौं । शतप्रतिशत तथ्यांक हामीसँग आइपुगेको छैन । तथ्यांक संकलनको प्रयासमा छौं । उद्योग मन्त्रालयले पनि तथ्यांक मागिरहेको छ,” उनले भने ।
यता, ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल सञ्चालनमा रहेका उद्योगको उत्पादन पनि ५० प्रतिशतभन्दा बढी नभएको बताउँछन् । “उद्योग सञ्चालन भए पनि बजार छैन । ५० प्रतिशत सञ्चालनमा छन्, तर व्यापार ५० प्रतिशतभन्दा कम छ,” उनले भने । कोभिडका कारण २० प्रतिशत साना उद्योग बन्द भएको हुनसक्ने उनले बताए ।
उनले व्यवसायीले मौद्रिक नीतिले व्यवस्था गरेको पुनर्कर्जा नपाउँदा पनि उद्योगी व्यवसायी समस्यामा परेको बताए । “घर निर्माण मात्रै बन्द हुँद त्यसको असर धेरै क्षेत्रमा पर्छ । त्यसैगरी खाद्यान्नसहित अन्य केही उद्योग सामान्य सञ्चालन भए पनि उत्पादन कम छ र बजार पनि निकै कम छ,” उनले भने । उनले ग्रिल उद्योग भने बन्द नै नभएको बताए । “उद्योगबाटै पलायन भएका छैनन् । उत्पादन गरेका उद्योगले पनि ५० प्रतिशत मात्रै उत्पादन गरेका छन्,” उनले भने, “जलविद्युत्, घर निर्माणको काम, विकासका काम कम छ, त्यसको असर हाम्रो उद्योगमा पनि परेको छ ।”
उनले स्वदेशी जनशक्ति गाउँबाट नफर्किएको र भारतीय जनशक्ति पनि नआउँदा श्रमिकको अभाव उद्योगहरुमा देखिएको उनले बताए । “भएका जनशक्ति फर्किएका छैनन् । उनीहरु नफर्किएकाले भएका श्रमिकले काम पाएका छन्,” उनले भने ।
-प्रतिकात्मक तस्बिर