
काठमाडौं । सरकारले आयातमा प्रतिबन्ध लगाएको ६ महिनापछि विदेशी मदिरा आयात खुला गरिदियो । सरकारले आयात त खुला गरिदियो तर व्यवसायीका लागि ‘हर्ष र विस्मात’ को अवस्था भयो । किनभने सरकारले जुन समयमा आयात खुला गरिदियो, त्यो समयबाट प्रक्रिया सुरु गरे पनि सामान भने आउन नसक्ने अवस्था भइसकेको थियो ।
व्यवसायीका अनुसार विदेशी मदिरा ल्याउन न्यूनतम पनि एक महिनादेखि ४५ दिनसम्म लाग्छ । सरकारले गत असोज २२ गते मात्रै आयात खुला गर्ने निर्णय गरेको थियो । आयात खुला गरिनु व्यवसायी र सरकारको ढुकुटीका लागि राम्रो भए पनि दसैं, तिहारका लागि भने विदेशी मदिरा आयात गर्नै समय नपुगेको व्यवसायीहरु बताउँछन् ।
व्यवसायीका अनुसार दसैं, तिहारमा अन्य समयको तुलनामा एकतिहाइ बढी खपत हुने गर्छ । तर, सरकारले गत चैत १६ देखि विदेशी मुद्रा जोगाउन भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो । अहिले विदेशी मुद्रा हालसम्मकै उच्च बचतमा रहेकाले आयात फुकुवा गरिएको अधिकारीहरु बताउँछन् । त्यसको अर्को कारण पनि छ, त्यो हो सरकारको राजस्व संकलन घट्दै जानु । सरकारले विदेशी मदिराबाट मात्रै वार्षिक ३ अर्ब बढी राजस्व संकलन गर्थ्यो ।
अहिले त्यसको आकार खुम्चिएको छ । सरकारले सुरुमा रेमिट्यान्स पनि घट्ने र विदेशी मुद्रा सञ्चिति पनि कमजोर हुन सक्ने भनेर लगाएको प्रतिबन्ध सकारात्मक भए पनि अब भने आयात खुला गरिदिन एक महिना अगाडिदेखि नै आग्रह गर्दै आएका थिए । सारडा ग्रुपका गौरव सारडा सरकारले आयात ढिलो गरी खोलिदिदा दसैं, तिहारका लागि विदेशी मदिरा ल्याउने सम्भाव नभएको बताउँछन् । “विदेशी मदिरा ल्याउँन न्यूनतम पनि एक महिनादेखि ४५ दिन लाग्छ,” उनले भने ।
सरकारले आयात गर्न दिएर व्यवसायीले सामान मगाउन एलसी खोल्न पाए पनि दसैं-तिहारको समयमा सामान ल्याउन भने नसक्ने उनले बताए । सरकारले ढिलो गरी आयात खुला गरिदिँदा चाडपर्व लक्षित गरेर सामान ल्याउन नपाइएको उनले बताए । व्यवसायीका अनुसार सिंगापुरबाट ल्याए पनि न्यूनतम् एक महिना लाग्छ । “हामीले दुबईबाट ल्याउँछौं । दुबईबाट ल्याउन ४०/४५ दिन लाग्छ,” उनले भने । आयात खुला नगरेको भन्दा खुला गरिदिनु नै ठीक रहेको उनले बताए । व्यवसायीका अनुसार स्टक पनि सकिएकाले यसपटकको चाडपर्व खल्लो भएको बताउँछन् ।
सहारा ट्रेडर्सका अमित शर्मा सरकारले आयात खुला गरे पनि सामान भने ल्याउन नसकिने बताए । आयात ढिलो खोलिँदा सामान्य ल्याउन नसकिने अवस्था भएको उनले बताए । “दसैं-तिहारमा विदेशी मदिरा ल्याउन सक्ने समय छैन । स्टक पनि छैन । यो चाडपर्व हाम्रा लागि हुने भएनन्, तनावमा छौं,” उनले भने ।
उनका अनुसार कोलकाता बन्दरगाह वा विशाखापट्नम बन्दरगाह आउनै एक महिना लाग्छ । त्यहाँ फेरि रेलमा ड्राइपोर्टसम्म आउन ८/१० दिन लाग्छ उनले बताए । “त्यसले गर्दा तिहारसम्म पनि आयात गर्न भ्याउदैनौं,” उनले भने ।
व्यवसायीहरुले विदेशी मदिरा यूके, सिंगापुर, दुबईलगायत मुलुकबाट ल्याउने गर्छन् । चाडपर्व लक्षित गरी विमानबाट ल्याउन पनि निकै महँगो पर्ने भएकाले छिटो गरी सामान ल्याउन पनि नसकिने शर्माले बताए । “विमानबाट ल्याएर बेच्न सकिँदैन, मूल्य निकै पर्छ । यसपटकको दसैं-तिहार बिग्रियो । एक, डेढ महिनाअघि आयात खुला गरिदिएको भए दसैंका लागि ल्याउन भ्याउँथ्यौं । आयात खुला गर्न नै ढिलो भइदियो,” उनले भने ।
सामान स्टक पनि नहुँदा थप समस्या भएको व्यवसायीको भनाइ छ । “कोभिडको यस्तो असर होला भन्ने कल्पना पनि गरिएन,” उनले भने । व्यवसायीका अनुसार सरकारले विदेशी मदिराबाट राम्रो राजस्व पाउँछ । एक डलरको मदिरा आउँदा तीन डलर राजस्व सरकारले पाउने व्यवसायीको भनाइ छ ।
सरकारले ढिलै भए पनि पनि आयात खुला गर्दा राजस्वमा दबाब नपर्ने विश्वास गरेको छ । अर्थ मन्त्रालयको सुझावमा उद्योग मन्त्रालयको प्रस्तावमा विदेशी मदिरा आयात खुला गरिएको थियो । त्यसबेला अर्थ मन्त्रालयले आयात खुला नगरिए चोरबाटोबाट आउन सक्ने त्यसले व्यवसायीसहित सरकारलाई समेत अप्ठ्यारोमा पार्ने बताएको अधिकारीले बताए ।
भन्सार विभागको तथ्यांकअनुसार आयातमा प्रतिबन्ध लगाउनुअघि करिब ८८ करोड रुपैयाँबराबरका करिब ५ लाख लिटर विदेशी मदिरा नेपाल भित्रिएका थिए । आर्थिक वर्ष ०७४/७५ मा साढे पाँच लाख लिटर एवं आर्थिक वर्ष ०७५/७६ मा साढे ६ लाख लिटर विदेशी मदिरा आयात भएको थियो । मूल्यको हिसाबले यो करिब एक अर्ब १४ करोड हुन आउँछ ।