site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरोना संक्रमितले आईसीयू र भेन्टिलेटर पाउनै मुस्किल, तर सरकार भन्छ– खाली छ 

काठमाडौं । काठमाडौं रातोपुलका ४८ वर्षका पुरुषलाई मंगलबार कोरोना पुष्टि भयो । मधुमेह र उच्चरक्तचापका बिरामीसमेत रहेका ती पुरुषलाई संक्रमणले निकै च्याप्यो । आईसीयूमा राख्नुपर्ने भयो । ती पुरुषका आफन्तले उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर, पाटन, त्रिवि शिक्षण अस्पताललगायतका सबै सरकारी अस्पतालमा सम्पर्क गरे तर शय्या खाली नभएको जवाफ पाए । 

सरकारी अस्पतालमा नपाएपछि निजी अस्पतालहरु ह्याम्स, ग्रान्डी, मेडिसिटी, स्टार, अल्का, नर्भिकलगायतमा समेत शय्याका प्रयास गरे पनि समयमा आईसीयू पाउन सकेनन् । ती पुरुष उक्त दिन घरमै चिकित्सकको परार्मशमा अक्सिजन दिएर राखियो । बुधबार पुन: आईसीयूका लागि परिवारले अस्पतालमा सम्पर्क गर्दा नर्भिक अस्पतालले एक शय्या खाली रहेको जानकारी दिएपछि ती पुरुष अहिले नर्भिकको आईसीयूमा उपचाररत छन् ।

यस्तै, अनामनगरका ५० वर्षीया पुरुषलाई गत साता कोरोना संक्रमण देखियो । ती पुरुष होम आइसोलेसनमा बस्दै आएका थिए । ती पुरुष चिकित्सकसँग अनलाइन परार्मश लिँदै आएका थिए । तर संक्रमणको सातौं दिन सोमबार  एकाएक श्वास फेर्न गाह्रो हुने र अक्सिजनको मात्रा घटेर ७० मा पुग्यो । 

Dabur Nepal

ती संक्रमितका आफन्तले उपत्यकाका सबै सरकारी अस्पतालमा आइसोलेसन वेडका लागि सम्पर्क गरे तर खाली नभएको जवाफ मात्र पाए । पुन: निजी अस्पतालमा आइसोलेसन लागि सम्पर्क गर्दा मेघा अस्पतालमा एक शय्या खाली रहेको जानकारी पाए । परिवारका सदस्यले तुरुन्तै मेघामा लगेर भर्ना गरे । 

मेघामा चिकित्सकले अक्सिजन दिए । अन्य चेकजाँच गर्दा उनलाई निमोनिया भएकोले छिटोभन्दा छिटो आईसीयूमा खोज्‍न आफ्न्तलाई चिकित्सकले सुझाए । मेघा अस्पतालले सबै आईसीयू भरिएको बतायो । सरकारी र निजी सबै अस्पतालमा आईसीयूका लागि फोन गर्दा कतै खाली नभएको जवाफ दिए । मंगलबार पुन: निजी र सरकारी अस्पतालमा फोन गर्दा ओम अस्पतालले एक आईसीयू खाली रहेको जानकारी दियो । हाल ती पुरुष ओमको आईसीयूमा उपचाररत रहेका परिवारका एक सदस्यले बाह्रखरीलाई जानकारी दिए ।  यी त केही प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय उपत्यकामा संक्रमण बढेसँगै आईसीयू पाउन निकै मुश्किल भएको छ । 

मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार उपत्यकामा १३४ जना आईसियूमा र ४९ जना भेन्टिलेटरमा उपचाररत छन् । सरकारी अस्पतालमा ७९ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा उपचाररत छन् । निजी अस्पतालको आईसीयूमा ५५ जना र भेन्टिलेटरमा २१ जना उपचाररत रहेका मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकै तथ्यांकअनुसार बिहीबार साँझसम्म उपत्यकाका अस्पतालमा मात्रै २४१ आईसीयू र १०७ भेन्टिलेटर कोभिडका बिरामीका लागि छुट्याएको छ । जसमा सरकारी अस्पतालमा १२४ वटा आईसीयू र ६७ वटा भेन्टिलेटर छन् । निजी अस्पतालमा ११७ वटा आईसीयू र ४० वटा भेन्टिलेटर कोभिडका बिरामीका लागि छुट्याएको छ । बिहीबार साँझकै तथ्यांक अनुसार नै उपत्यकामा मात्रै १०७ कोभिड आईसियू र ५८ भेन्टिलेटर खाली छन् । 

यता मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले उपत्यकामा बेड नपाउने समस्या नभएको तर केही मुस्किल भने देखिएको बताउँछन् । उनका अनुसार अस्पतालहरुले कति कोभिडका बिरामी रहेका छन् र कति बेड खाली छन्, सिस्टममा राख्नुपर्ने हुन्छ तर अस्पतालहरुले सही तथ्याकं नराख्दा समस्या देखिएको छ ।  उनले भने, “अस्पतालहरुले सिस्टममा जे इन्ट्री गरिएको हुन्छ सो अनुसार हामीले बेड खाली भए-नभएको भन्ने हो ।”

कोभिडका बिरामीले जुन अस्पतालमा आईसीयू खोज्छ, त्यहाँ नपाउने हो अर्को ठाउँमा पनि पाउन धेरै मुस्किल देखिएको उनको भनाइ छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बेड खाली हुँदाहुँदै, छैन भनेर उपचार नगर्ने अस्पताललाई कारबाही गरिने बताए । उपत्यकाका कोरोना विशेष अस्पतालले धान्‍न नसकेपछि सबै सरकारी अस्पताललाई कोरोना अस्पताल तोकिएको बिरामीको उपचार गर्ने मन्त्रालयका प्रवक्ता डा. गौतम बताउँछन् । 

उनका अनुसार कोरोना संक्रमितसँगै अन्य बिरामीको पनि उपचार सोही अस्पतालले गर्नुपर्छ । उनले भने, “कोरोना संक्रमितसँगै अन्य बिरामीलाई नियमित सेवा दिनुपर्छ ।”

मन्त्रालयका एक कर्मचारीले निजी अस्पतालहरुले कोरोनाका बिरामी हेर्न नचाहेका कारण अस्पतालले बेड भरिएको जवाफ दिने गरेको बताउँछन् । कोरोना संक्रमण देखिनेमा बढी रोगप्रतिरोधात्मक क्षमता कम भएका, विभिन्‍न रोगका बिरामीहरु बढी संक्रमित हुँदा आईसीयू र भेन्टिलेटरमा समस्या देखिएको समेत  मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  ०७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro