site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोरोनाका कारण पौडेल समूहका मुद्दाहरु ओझेलमा

काठमाडौं । महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सुदृढीकरणका लागि उठाएका मुद्दाहरु ओझेलमा परेका छन् ।

केन्द्रीय कार्यसमितिका सदस्यसँगै केन्द्रीय कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएसँगै केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेपछि पौडेल समूहले पार्टी सुदृढिकरणका लागि उठाएका मुद्दाहरु ओझेलमा परेका हुन् ।

असोज १९ गतेका लागि तय भएको बैठकका लागि असोज १५ गते सानेपामा गरिएको परीक्षणमा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठसँगै केही कर्मचारी र केही नेताको सचिवालयमा रहेका व्यक्तिहरुलाई कोरोना संक्रमण देखिएको थियो ।

यस्तै काठमाडौंबाहिर परीक्षण गरेकामध्ये केन्द्रीय सदस्यहरु रमेश रिजाल र अजयकुमार चौरसियामा पनि संक्रमण देखिएको थियो । यद्यपि, असोज १८ गते पुनः परीक्षणका क्रममा चौरसियाको रिपोर्ट नेगेटिभ आएको थियो ।

असोज १७ गते आएको पीसीआर परीक्षण रिपोर्टमा केन्द्रीय सदस्य, कर्मचारी र नेताका सचिवालयमा रहेका व्यक्तिलाई कोरोना भाइरसको संक्रमण देखिएपछि असोज १९ का लागि तय गरिएको बैठक असोज २५ गतेका लागि सारिएको थियो ।

तर, पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधनको शोकमा असोज २५ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठक स्थगित भए पनि कांग्रेसले नयाँ मिति भने तय गरेको छैन ।

बैठक बस्न नसकेसँगै पौडेल समूहले सभापति शेरबहादुर देउवाले विधानविपरित गरेका निर्णयहरु फिर्ताका लागि दबाब दिन दिएको अल्टिमेटम पनि अल्टिमेटमै सीमित भएको छ ।

कांग्रेस पदाधिकारी स्रोतले अब केन्द्रीय कार्यसमिति बैठक दसैंअघि बैठक बस्ने सम्भावना नरहेको जनाएको छ । योसँगै कांग्रेसमा देखिएको आन्तरिक विवाद पनि तत्कालका लागि मत्थर भएको छ ।

पौडेल समूहले असोज १२ गते सभापति देउवाले गरेका पछिल्ला निर्णयहरु नसच्याइए संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिँदै एक हप्ते अल्टिमेटम दिएको थियो ।

पार्टीको १४औं महाधिवेशन स्वच्छ र निष्पक्ष गर्ने वातावरण बनाउन माग गर्दै सोमबार पार्टी कार्यालयमा बुझाइएको हस्ताक्षरसहितको पत्रमार्फत् पौडेल समूहले विधानविपरीत गरिएका पछिल्ला निर्णयहरु नसच्याइए संघर्षका कार्यक्रमहरु अघि बढाउने चेतावनी दिएको हो ।

उक्त समूहले सभापति देउवाले पछिल्लो समय गठन गरेका विभागहरु, वितरण गरिएको क्रियाशील सदस्यतालगायत क्रियाकलापहरु सच्याउन असोज १९ गतेसम्मको अल्टिमेटमसमेत थियो ।

“यदि सभापतिज्यूले आगामी असोज १९ गते राखिएको केन्द्रीय कार्यसमितिको बैठकसम्ममा विधानसम्मत् उठाइएका उपरोक्त विषयहरुको न्यायपूर्ण र विधिसम्मत समाधान गर्नेतर्फ गम्भीरता र तदारुकता देखाउनु भएन भने वैधानिक संघर्षका विरोध कार्यक्रम गर्न बाध्य हुनेछौं,” पदाधिकारी र केन्द्रीय सदस्य गरी २७ जनाद्वारा हस्ताक्षरित पत्रमा भनिएको थियो ।

पार्टी, लोकतन्त्र र राष्ट्रिय परिस्थितिमा अत्यन्त कठिन चुनौती व्याप्त भएको वर्तमान स्थितिमा पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाएर पार्टीका नेताबीच, नेता र कार्यकर्ताबीच, पुरानो र नयाँ पुस्ताका बीचको सम्बन्धलाई सुमधुर तथा आत्मीय बनाउनुपर्ने अवस्थामा झन् कटुता र द्वन्द्वको स्थिति सिर्जना गरिएको पौडेल समूह ठहर छ । 

दसैंअघि बैठक बस्ने सम्भावना टरे पनि आफूहरुले उठाएका माग सम्बोधन हुनुपर्ने पौडेल पक्षका नेताहरुको भनाइ छ । पदाधिकारीको भर्चुअल मिटिङ गरी विवाद समाधान गर्न सकिने पौडेल समूहका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताए । उनले पार्टीभित्रको विवाद अन्त्य भएपछि मात्रै सरकारविरुद्ध सडकमा एकत्रित हुन सकिने पनि बताए ।

यद्यपि, संस्थापन पक्षले असोज १९ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिमा पौडेल समूहले लिखित रुपमा पार्टीमा दर्ता गराएका असहमतिहरु बारेमा प्रष्ट्याउने तयारी भने गरेको थियो । संस्थाप पक्षीय केन्द्रीय सदस्य एनपी साउदले असोज १९ गतेका लागि बोलाइएको बैठकमा पौडेल समूहले उठाएका विषयहरुका बारेमा प्रष्ट्याउने तयारी भए पनि कोरोनाका कारण बैठक स्थगित गर्नुपरेको जानकारी दिए ।

“उहाँहरुका ४-५ वटा पार्टीका संकायभित्रका मागहरु थिए । उहाँहरुका धेरै माग पार्टीको निर्वाचन समितिसँग सम्बद्ध दिए । निर्वाचन समितिलाई उहाँहरुले उठाएका मुद्दामा के के गर्नुभयो, अहिले तपाईंहरु कुन अवस्थामा हुनुहुन्छ, तपाईंहरुको धारणा के हो भनेर पार्टीले लिखित रुपमा सोधेको थियो । निर्वाचन समितिले लिखित रुपमै आफ्नो धारणा राखिसकेको छ,” उनले भने, “पार्टीको कार्यालयसँग सम्बन्धित विषयमा मुख्यसचिवले स्पष्ट पारिसक्नुभएको छ । क्रियाशील सदस्यता वितरणबारे, अरु पार्टीबाट आएका मान्छेहरुलाई कुन कुन जिल्लामा कति-कति सदस्यता दिइएको छ भन्नेबारे उपसभापति विमलेन्द्र निधिले स्पष्ट पार्ने तयारी थियो । तर बैठक स्थगित भयो ।”

-फाइल तस्बिर ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro