काठमाडौं । मुलुकको सबैभन्दा ठूलो सुरक्षा संगठन नेपाली सेनाले कर्मचारीलाई दसैं बिदा दिने भएको छ । कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म बिदा जान नपाएकाहरुलाई दसैं मनाउन छुट्टी दिन लागेको हो ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार दसैंमा घर जानेहरुलाई सकेसम्म सेनाले आफ्नै बस र हवाईजहाजमार्फत पुर्याउने तयारी गरिरहेको छ । उनले भने, “आफ्नै साधनमा जाँदा हाम्रो मात्रै टोली हुन्छ । कमान्ड कन्ट्रोल पनि रहन्छ । लामो समयसम्म बिदा जान नपाएकाहरुलाई पठाउँछौं । बिदाबाट फर्केपछि क्वारेन्टिन बसाउने र सबै स्वास्थ्य मापदण्ड अपनाएर काममा फर्काउँछौं ।”
सेनाले दसैंलाई विशेष महत्त्वका साथ मनाउँदै आएको भएपछि कोरोना महामारीका कारण यस वर्ष भने विगतको भन्दा फरक हुनेछ । सैनिक प्रवक्ता पौडेलका अनुसार यसपालिको फूलपाती पनि विगतभन्दा केही फरक हुनेछ । उनले भने, “फूलपातीमा पहिलेभन्दा कम व्यक्तिलाई आमन्त्रण गर्छौं । पल्टनको पूजा गर्दा पनि सामाजिक दुरी कायम गर्छौं । सबै ठाउँमा स्वास्थ्य सतर्कता अपनाउँछौं ।”
उनले सेनाले गर्दै आएको मौलो पूजामा पशुबलि दिइँदै आए पनि विगतभन्दा यसपालि कम हुने बताए । सम्भव नभए पशुबलिको स्थानमा कुभिन्डोको बलि दिइने उनले बताए । पौडेलले भने, “पञ्चाङ्ग निर्णायक समितिसँग पनि सरसल्लाह गरिरहेका छौं । यसअघि मौला पूजामा ५/६ वटा पशुबलि हुन्थ्यो । अब त्यसो नगरीकन आवश्यक परे मात्रै पशुबलि दिने भन्ने छ । नत्र कुभिन्डो र नरिवलको बलि दिन्छौं प्रतिकात्मक रुपमा ।”
सेना शक्तिको पुजारी भएको र सेनामा निशान भगवतीको पूजा हुने गरेको प्रवक्ता पौडेलले बताए । सकेसम्म न्यूनतम बलि दिने र संकल्प र बिर्सजनको समयमा मात्रै पशुबलि गरीकन बाँकी पहिले गर्दै आएका विभिन्न बलिको ठाउँमा कुभिन्डो र नरिवल गर्नेतर्फ अघि बढेको पौडेलको भनाइ छ ।
सबैमा मुख्य प्राथमिता भनेको स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नै भएको सेनाको भनाइ छ । नेपाल प्रहरीले भने दसैंमा अत्यावश्यक कामबाहेकमा प्रहरी कर्मचारीलाई बिदा नछाडिने स्पष्ट पारिसकेको छ ।
-फाइल तस्बिर