
काठमाडौं । एकपटक असफल भइसकेको दुई दिन सार्वजनिक बिदाको अवधारणालाई पुनः ब्युँताउन खोजिएको छ । विशेषगरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दुईदिने सार्वजनिक बिदा दिने अवधारणालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अगाडि सारेको हो । तर, पूर्वप्रशासक एवं अर्थविद्हरूले भने कमजोर पूर्वाधारका कारण दुई दिन सार्वजनिक बिदा अहिले नै उपयुक्त नभएको बताएका छन् ।
विशेषगरी सार्वजनिक यातायात राम्रो नभएसम्म दुई दिन सार्वजनिक बिदा उपयुक्त नहुने उनीहरूको भनाइ छ । विगतको अनुभवले पनि त्यही देखाएकाले आन्तरिक पर्यटनलाई मात्रै हेरेर निर्णय गर्नु असान्दर्भिक हुने जिकिर पूर्वप्रशासक एवं अर्थविद्हरूको छ ।
अर्थविद् डा. शंकर शर्मा तत्काल एकैपटक दुई दिन सार्वजनिक बिदा दिनु उपयुक्त नहुने बताउँछन् । पुरानो अनुभवले पनि सार्वजनिक यातायात राम्रो नभएकाले अहिले नै पूर्वाधारबिना दुई दिन बिदा उपयुक्त नभएको उनले बताए । दुई दिन बिदा फेरि गर्ने भए चरणबद्ध रूपमा गरिनुपर्ने उनको भनाइ छ । “अहिले नै दुई दिन बिदा उपयुक्त छैन । तर, दुई दिन सार्वजनिक बिदा गर्ने हो भने पनि चरणबद्ध रूपमा गरिनुपर्छ । सुरुमा कर्पोरेट क्षेत्रबाट सुरु गरौं,” उनले भने । कर्पोरेट क्षेत्र वा सिंहदरबार वा अन्य कुनै पनि क्षेत्रबाट चरणबद्ध रूपमा सुरु गर्न सकिने उनले बताए । त्यसपछि सफल हुँदै गए विस्तार गर्न सकिने उनको भनाइ छ ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि भनिए पनि सार्वजनिक यातायात राम्रो नभएकाले अहिले उपयुक्त नभएको शर्माले बताए । “दुई दिन बिदा दिएर नेपालमा कहाँ घुम्न ? बाटोका कारण एक दिन त जानै लाग्छ । अर्को दिन फर्कन लाग्छ । अनि कहाँ घुम्ने ? सार्वजनिक यातायात सेवा कमजोर भएकाले जति हामीले अपेक्षा गरेका छौं त्यति नतिजा दुई दिन बिदाले दिँदैन,” उनले भने । दुई दिन बिदाले सरकारलाई थप व्ययभार भने पर्दैन । सरकारी गाडीहरूको प्रयोगलाई कडाइका साथ पालना गराउने हो भने खर्च घट्ने अर्थविद् बताउँछन् ।
पूर्वअर्थ-सचिवद्वय रामेश्वर खनाल र शान्तराज सुवेदी पनि दुई दिन बिदाको अवधारणा पहिले पनि फेल खाएकाले अहिलेकै अवस्थामा उपयुक्त नभएको बताउँछन् । एक ठाउँबाट अर्को ठाउँमा पुग्न कनेक्टिभिटी राम्रो भएपछि मात्रै दुई दिन सार्वजनिक बिदा सुरु गर्न उपयुक्त हुने खनाल बताउँछन् । “आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने सरकारी कर्मचारीले नै हो तर उनीहरू सरकारी कामकै सिलसिलामा घुम्छन् । दुई दिन सार्वजनिक बिदा दिएर घुम्दैनन्,” उनले भने, “नेपालको सन्दर्भमा दुई दिन बिदा गराउँदा नागरिकलाई दुःख हुन्छ । अहिलेको अवस्थामा ठीक छैन ।”
उनले आन्तरिक पर्यटन प्रवर्द्धनका नाममा दुई दिन बिदा दिन खोजिनु नै उपयुक्त नभएको बताए । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न अन्य कुरामा केन्द्रित हुनुपर्नेमा पर्यटन मन्त्रालय दुई दिन बिदाको पछि लाग्न नै उपयुक्त नभएको उनको भनाइ छ । नेपालमा घुम्ने सरकारी कर्मचारी सरकारी कामकै सिलसिलामा घुम्ने गरेको उनी बताउँछन् । “दुई दिन सार्वजनिक बिदा दिएर पनि उनीहरू घुम्दैनन् । बिदा लिएर घुम्ने जाने मान्छे बैंकक जान्छन् । गोरखाको पालुङ्टारमा गएर बस्छन् ? बस्दैनन् ।”
पहिला पनि लागु गरेर पनि दुई दिन बिदा हटाइएको थियो । “गाउँ-गाउँबाट सेवा लिन राजधानी वा सदरमुकाम आउने सर्वसाधारणलाई सास्ती हुन्छ । यो अवधारणा अहिलेको सन्दर्भमा काम छैन । सबैभन्दा पहिला कनेक्टिभिटी राम्रो हुनुपर्छ । पुँजी उत्पादकत्व धेरै कम छ । त्यो बढेपछि मात्रै दुई दिन बिदाको अवधारणा राम्रो हुन्छ,” उनले भने । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि भनिए पनि यसले पर्यटक नबढाउने उनले बताए । “हाम्रो पर्यटकीय गन्तव्यमा बढी विदेशी नै जाने हो । त्यसैले दुई दिन बिदा दिए पनि आन्तरिक पर्यटन प्रवर्द्धन हुँदैन ।”
त्यस्तै पूर्वअर्थ-सचिव सुवेदी दुई दिन बिदा दिन धेरै सोच्नुपर्ने बताउँछन् । दुई दिन बिदाको उद्देश्य के हो ? त्यो प्रस्ट हुनुपर्ने उनको भनाइ छ । पर्यटन मन्त्रालयले आन्तरिक पर्यटक प्रवर्द्धनका लागि भनेर यो अवधारणा ल्याउनु भनेको एकदमै सानो पाटोबाट मात्रै हेरेको उनको टिप्पणी छ । “उसको पाटोले मात्रै दुई दिन बिदाको औचित्य पुष्टि गर्न सकिँदैन्,” उनले भने ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कर्मचारीले घुम्न निस्कनुपर्छ । तर अधिकांश कर्मचारी काठमाडौं, जिल्ला सदरमुकाम, प्रदेश राजधानी, गाउँपालिकाको मुकाममा छन् । “दुई दिन बिदा दिएर पनि एक रात बिताउनेभन्दा बढी हँुदैन । एउटै ठाउँमा कतिपटक जालान् ? प्रत्येक साता, प्रत्येक महिना घुम्ने भन्ने कुरा पनि हुँदैन । घुम्न, डुल्नका लागि लामो बिदा चाहिन्छ । खर्च पनि चाहिन्छ । कर्मचारीको तलब क्षमता कति छ, त्यो पनि हेर्नुपर्छ,” उनले भने ।
०५६–५७ सालतिर ६ वटा उद्देश्यले दुई दिन बिदा दिइए पनि पछि उक्त निर्णय असफल भएको उनले बताए । प्रशासनिक खर्च कम गर्न, इन्धनमा भएको खर्च कम गर्न, वातावरण प्रदूषण कम गराउन, सेवाग्राहीलाई सेवा दिन कर्मचारीको उत्साह बढ्छ र उत्पादकत्व बढ्छ भन्ने उद्देश्यले दुई दिन बिदा गरिएको उनले बताए । “हाम्राजस्ता मुलुकले पनि दुई दिन बिदा दिने गरेकाले अन्तर्राष्ट्रियअनुसार गरौं भनेर दुई दिन बिदा ल्याइएको थियो । तर, दुई दिन बिदा लामो अवधिसम्म टिकेन । त्यो बेला किन हटाइयो थाहा छैन,” उनले भने ।
अहिले उत्पादकत्व बढाउनुपर्नेछ । कामको उत्पादकत्व बढाउनुपर्नेछ । सेवा प्रवाहलाई प्रभावकारी बनाउनु छ । अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेछ । उद्योग व्यवसाय चलाउनुपर्नेछ । यी सबै ध्यानमा राखेर विगतमा पनि अभ्यास गरियो । त्यसैले यी सबै विषयमा एकपटक राम्रोसँग अध्ययन गरेर मात्रै निर्णय गर्नुपर्ने उनको भनाइ छ ।
तर, अर्का पूर्वअर्थ–सचिव कृष्णहरि बास्कोटा भने दुई दिन बिदा उपयुक्त हुने बताउँछन् । “दुई दिन बिदाको सकारात्मक र नकारात्मक पक्षलाई हेर्दा यसको पक्षमा ५१ प्रतिशत दिन्छु, अर्थात् हुनुपर्छ भन्ने मान्यता मेरो पनि छ,” उनले भने । तर दुई दिन बिदा देशैभर एकैपटक लागु गराउनुपर्ने उनको भनाइ छ । यसअघि दुई दिन बिदा गराउँदै देशैभर एकैपटक लागु नगरिँदा सफल नभएको उनको भनाइ छ । “यो लागु गर्दा देशैभर एकैपटक गर्नुपर्छ । पहिले केन्द्रमा लागु गरिएको थियो । जिल्लामा लागु गरिएको थिएन । कहीं खुल्ने कहीं नखुल्ने गर्दा त्यो बेला सफल भएको थिएन, अब त्यस्तो गर्नु हुँदैन,” उनले भने ।
एकदिन बढी बिदा हुँदा वातावरण संरक्षणमा पनि सहयोग पुर्याउने, न्यायाधीशलगायत व्यक्तिलाई पनि इजलास बसे पनि लेख्न नभ्याउने भएकाले उनीहरूलाई पनि सहज हुने र उत्पादकत्वमा पनि वृद्धि आउने उनको भनाइ छ ।
तर, ३६५ दिनै अड्डा चलाउनुपर्ने बेलामा बिदामाथि बिदा थप्दा काम गर्ने समय ज्यादै कम हुन्छ भनेर अर्थ लगायो भने त्यो सत्यताको नजिक हुन्छ उनले भने ।
दुई दिन बिदा गरे पनि जनताको दैनिकी जीवनसँग सम्बन्धित अड्डाहरू चौबीसै घण्टा खोल्नुपर्ने, कहिले पनि बन्द गर्न नहुने उनको भनाइ छ । “मालपोत, न्याय दिने कार्यालय, यातायात, वैदेशिक रोजगार कार्यालय सधैं खुला हुनुपर्छ । यस्ता कार्यालय पूरै होइन तत्काल काम पूरा गर्न सकिने सेवा दिनका लागि मात्रै खुला गर्नुपर्छ,” उनले भने ।
दुई दिन बिदा दिँदैमा सरकारलाई आर्थिक भार पनि नपर्ने उत्पादकत्व पनि बढ्ने उनको भनाइ छ । “दुई दिन बिदा दिँदैमा बजेट खर्च हुँदैन कि भन्ने पनि हुँदैन । अहिले पनि खर्च गर्ने सचिवले दुई महिनामै खर्च गरेका छन् । नगर्नेले १२ महिनामा पनि खर्च गरेका छैनन्,” उनले भने ।