site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
 ‘सभापतिज्यू ! अरुमाथि लागु गरेका नियम आफूमाथि किन लागु नगर्ने ?’

काठमाडौ. । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले सभापति शेरबहादुर देउवाले गरेको पछिल्लो निर्णयहरु नसच्याइए संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ ।

पार्टीको १४ औं महाधिवेशन स्वच्छ र निष्पक्ष गर्ने वातावरण बनाउन माग गर्दै सोमबार पार्टी कार्यालयमा बुझाइएको हस्ताक्षरसहितको पत्रमार्फत् पौडेल समूहले विधानविपरीत गरिएका पछिल्ला निर्णयहरु नसच्याइए संघर्षका कार्यक्रमहरु अघि बढाउने चेतावनी दिएको हो ।

उक्त समूहले सभापति देउवाले पछिल्लो समय गठन गरेका विभागहरु, वितरण गरिएको क्रियाशील सदस्यतालगायतका क्रियाकलापहरु सच्याउन असोज १९ गतेसम्मको अल्टिमेटमसमेत दिएको छ ।

“यदि सभापतिज्यूले आगामी असोज १९ गते राखिएको केन्द्रीय कार्यसमितिको बैठकसम्ममा विधानसम्मत् उठाइएका उपरोक्त विषयहरुको न्यायपूर्ण र विधिसम्मत समाधान गर्नेतर्फ गम्भीरता र तदारुकता देखाउनु भएन भने वैधानिक संघर्षका विरोध कार्यक्रम गर्न बाध्य हुनेछौं,” पदाधिकारी र केन्द्रीय सदस्य गरी २७ जनाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।    

पौडेल समूहका तर्फबाट केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशी र दीपक गिरीले पार्टी कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको हस्ताक्षरसहितको पत्रमा सभापति देउवालाई विधानको पूर्ण पालना गर्न पनि सुझाइएको छ ।

“नेपाली कांग्रेस पार्टी विधानको पालना गर्नु प्रत्येक सदस्यको कर्तव्य हुनेछ भन्‍ने विषय विधानको धारा (१) मा भएको व्यवस्था हो । उक्त व्यवस्था बमोजिम नेपाली कांगेसका लाखौं सदस्यमध्ये पहिलो जिम्मेवार व्यक्ति नै केन्द्रीय सभापति हो । पार्टी विधानको पालना एवं संरक्षण गर्नु पार्टी सभापतिको प्रमुख जिम्मेवारी हो । यसमा कहीँ कतै सम्झौता हुन सक्दैन,” पत्रमा उल्लेख छ ।

पौडेल समूहले पार्टीको विधान, आचारसंहिता तथा आफूले स्थापित गरेको परम्परालाई सभापति देउवाले स्मरण र आत्मसात गर्नु जरुरी रहेको पनि आवश्यकता औंल्याएको छ ।

तत्कालिन पार्टी सभापति सुशील कोइरालाले दुई वर्षभित्रै केन्द्रीय विभागहरू गठन गर्दा अवैधानिक भन्दै पार्टी कार्यालयमा धर्ना र राजिनामासमेत गराइ खारेज गराएको घटना स्मरण गराउँदै पौडेल समूहले भनेको छ, “सभापतिज्यू ! अरुमाथि आफैँले लागु गराएको नियम आफूमाथि चाहीँ लागु हुनुहुँदैन भन्ने अवधारणा र मान्यताले हामीलाई पार्टी–जीवनबाट अराजकतातिर धकेल्छ, लोकतन्त्रबाट च्यूत गराएर भीडतन्त्रमा प्रवृत्त गराउँछ ।”

पार्टी, लोकतन्त्र र राष्ट्रिय परिस्थितिमा अत्यन्त कठिन चुनौती व्याप्त भएको वर्तमान स्थितिमा पार्टीको आन्तरिक एकतालाई सुदृढबनाएर पार्टीका नेताबीच, नेता र कार्यकर्ताबीच, पुरानो र नयाँ पुस्ताका बीचको सम्बन्धलाई सुमधुर तथा आत्मीय बनाउनुपर्ने अवस्थामा झन् कटुता र द्वन्द्वको स्थिति सिर्जना गरिएको पौडेल समूह ठहर छ ।  

उक्त समूहले सभापति देउवालाई पार्टीभित्र उत्पन्‍न विवाद र आपसी तिक्ततालाई वैधानिक प्रक्रिया र सामूहिक छलफलबाट समाधान गरेर एकआपसमा भावनात्मक एकता र विश्वास कायम गर्नुपर्ने अनिवार्यता पनि स्मरण गराएको छ ।

महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएपछि सभापति देउवाले झन् बढी विधिविधानविपरितका कार्यहरु गरेर पक्ष–विपक्षको रुपमा ध्रुवीकरण गराएको पौडेल समूहको आरोप छ । 
“यस्तो  पक्षपात पूर्ण ढंगबाट महाधिवेशन गर्न खोज्नुले केवल पार्टी कब्जा गर्ने नियत देखिन्छ । महाधिवेशनको मिति तोकिसकेपछि पार्टीका विभाग एवं अन्य संरचनामा विभिन्न नियुक्तिहरु गर्नु वैधानिक व्यवस्था र महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन हो,” उक्त समूहले दाबी गरेको छ ।

यी हुन् देउवाविरुद्ध संघर्षका कार्यक्रम अघि बढाउन तयार नेताहरु

१.    रामचन्द्र पौडेल, नेता, नेपाली कांग्रेस

२.    डा. शशांक कोइराला, महामन्त्री, नेपाली कांग्रेस

३.    सीतादेवी यादव, कोषाध्यक्ष, नेपाली कांग्रेस

४.   प्रकाशमान सिंह, केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री, नेपाली कांग्रेस

५.   डा रामशरण महत, केन्द्रीय सदस्य तथा पूर्व सहमहामन्त्री, नेपाली कांग्रेस

६.    अर्जुननरसिंह के.सी., केन्द्रीय सदस्य तथा पूर्व सहमहामन्त्री, नेपाली कांग्रेस

७.    बलबहादुर के.सी., केन्द्रीय सदस्य, नेपाली कांग्रेस

८.   महेश आचार्य, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

९.   दिलबहादुर घर्ती, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१०. डा. मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

११.   सुजाता कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१२. दिलेन्दप्रसाद बडू, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१३.   डा शेखर कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१४. दीपक गिरी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१५. नविन्द्रराज जोशी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१६. डा. चन्द्र भण्डारी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१७   कमला पन्त, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१८. धनराज गुरुङ्ग, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१९. रत्‍ना शेरचन, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२०. बद्रीप्रसाद पाण्डे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२१. जीवन परियार, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२२. गुरुराज घिमिरे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२३. कल्याणकुमार गुरुङ्ग, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२४. रामकृष्ण यादव, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२५. हृदयराम थानी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२६. किरण यादव, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२७. सरिता प्रसाईं, केन्द्रीय सदस्य, नेपाली कांग्रेस    

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro