site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 देउवाविरुद्धको अभियानमा पौडेललाई सिटौलाले साथ नदिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टी नेतृत्वविरुद्ध चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको दुई साता पुग्यो । गत भदौ २० गते पौडेल समूहले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहसँग संयुक्त ‘भर्चुअल’ बैठक गरेर पार्टी नेतृत्वविरुद्ध चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो ।

‘भर्चुअल’ बैठकमा विधानविपरित गरिएका भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति शेरबहादुर देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमुलक कार्यक्रमबारे छलफल भएका थियो ।

बैठकमा सहभागी नेताहरुले सभापति देउवालाई सात दिने अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाउने र अल्टिमेटम अवधिभित्र माग सम्बोधन नभए चरणवद्ध आन्दोलन अघि बढाउने विषयमा छलफल भएको बताएका थिए ।

बाह्रखरीलाई प्राप्त ‘भर्चुअल’ बैठकका लागि तयार पारिएको प्रतिवेदनमा सभापति देउवाले सात दिने अल्टिमेटम अवधिभित्र आफ्ना पछिल्ला कदम नसच्याए इतर समूहले केन्द्रीय सदस्यहरु, पार्टीका जिल्ला सभापतिहरु, सांसदहरु, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरुसँग अन्तरक्रिया गर्ने उल्लेख छ ।

देउवामाथि दबाब सिर्जना गर्न उक्त अन्तरक्रियामा प्राप्त भएका रायसहित पत्रकार सम्मेलन गर्ने, जिल्ला तथा पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिने, जिल्ला तथा पार्टीको केन्द्रीय कार्यालयमा रिले अनशन बस्ने र अन्तिम अवस्थामा केन्द्रीय कार्यालयमा आमरण अनशन बस्नेसम्मको तयारी गर्नुपर्ने उल्लेख थियो ।

तर, पछिल्लो समयमा आएर पौडेल समूह भदौ २० गते ‘भर्चुअल’ बैठकमा तय गरिएको आन्दोलनको स्वरुपभन्दा बाहिर गएर सभापति देउवाविरुद्ध हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ ।  

महाधिवेशनलाई प्रभावित गर्ने गरी सभापति देउवाले समायोजन, विभाग, क्रियाशील सदस्यता र भ्रातृ संस्थामा मनोमानी गरेको विषय समेटिएको ‘प्रतिवेदन’ तयार पारेर उक्त समूह  आफू निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन अभियानमा जुटेको छ ।

उक्त ‘प्रतिवेदन’सहित संकलित हस्ताक्षर सभापतिलाई बुझाउने र त्यसपछि पार्टी केन्द्रमा दर्ता गराएर महाधिवेशनसम्मै लैजाने पौडेल समूहको तयारी रहेको बताइएको छ । पौडेल समूह हस्ताक्षर अभियानमा पूर्वमहामन्त्री सिटौला समूहलाई पनि सहभागी गराउने तयारीमा छ ।

तर, सिटौला भने पौडेल समूहको हस्ताक्षर संकलन अभियानमा सहभागी नहुने पक्षमा छन् । उनले पौडेल समूहलाई आफू १३ औं महाधिवेशनबाट बनाएको समूहलाई छुट्टै ढंगबाट अगाडि बढाउने तयारीमा रहेको जवाफ दिएका छन् ।

“उहाँहरु (पौडेल समूह) ले २७ जनाको हस्ताक्षर गर्नुभएको छ रे । हामीलाई पनि गर्न भन्नुभएको छ । तर, कृष्ण दाइ तयार हुनुभएको छैन,” सिटौला समूहमा आवद्ध एककेन्द्रीय सदस्यले बाह्रखरीसँग भने, “कृष्ण दाइले उहाँहरुलाई म छुट्टै जान्छु, तपाईंहरुसित हस्ताक्षर गर्दिन भन्नुभएको छ ।” ती नेताकाअनुसार गृहजिल्ला झापामा रहेका नेता सिटौला बिहीबार काठमाडौं फर्किएपछि आफू निकटका केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने बताएका छन् ।  

यस्तै सिटौला समूहमा रहेका केन्द्रीय सदस्य उमाकान्त चौधरीले पनि पौडेल समूहको हस्ताक्षर संकलन अभियानका बारेमा आफूहरुका बीचमा कुराकानी नभएको प्रतिक्रिया दिएका छन् । “हस्ताक्षर संकलन भइरहेको कुरा मैले पनि सुनेँ । यस बारेमा उहाँहरुले हामीहरुसँग सरसल्लाह गर्नुभएको पनि होइन । इस्युहरुमा कुरा भएको हो,” भदौ २० गते सम्पन्‍न ‘भर्चुअल’ बैठकमा भएको छलफलतर्फ संकेत गर्दै उनले भने, “सिटौलाजी काठमाडौं बाहिर हुनुहुन्छ । फर्किएपछि सरसल्लाह गर्छौं ।”

भदौ २० गतेको बैठकमा सिटौला समूहमा रहेका केन्द्रीय सदस्यहरु गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीको पनि सहभागिता रहेको थियो । सिटौला पक्षीय नेताहरुले सभापति देउवाविरुद्ध गरिने आन्दोलनका बारेमा नेता सिटौलासँग पनि छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

उक्त बैठकपछि सिटौला समूहका एक नेताले सभापति देउवालाई विधानविपरित गरेका कदम सच्याउन दिइने दबाबमुलक कार्यक्रममा पौडेल समूहसँग सकार्य हुन सक्ने संकेत गरेका छन् । तर, उनले सहकार्यका लागि अन्तिम निर्णय नेता सिटौलाबाट नै हुने पनि बताएका थिए ।

“सभापतिलाई विधानअनुसार चल्नका लागि दिइने दबाबमुलक कार्यक्रममा नसघाउने भन्ने कुरा हुँदैन । उहाँहरु सिटौला दाइसँग कुरा गर्नुहोला, यसका बारेमा दाइ (सिटौला) ले नै अन्तिम निर्णय गर्नुहुन्छ,” ती नेताले बाह्रखरीसँग भनेका थिए ।      

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro