site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटन गतिविधि सुरु हुँदै, स्वास्थ्य सुरक्षामा हेलचेक्रयाइँ नगरिए विदेशी पर्यटक पनि आउन सक्छन्
Tiktok banner adTiktok banner ad

काठमाडौं । लामो दूरीका सार्वजनिक यातायात एवं आन्तरिक हवाई सेवा सञ्‍चालनमा आएसँगै पर्यटकीय गतिविधिमा सुधार आउने अपेक्षा व्यवसायीको छ । सोही अपेक्षासहित देशका प्रमुख गन्तव्यहरुमा पर्यटकीय गतिविधि पनि सुरु हुन थालेका छन् । तत्कालका लागि विदेशी पर्यटकको सम्भावना निकै न्यून रहेकाले आन्तरिक पर्यटकमा नै व्यवसायी केन्द्रित छन् । 

सरकारले पनि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि लागि नयाँ योजना ल्याउने तयारी गरिरहेको पर्यटन मन्त्री योगेश भट्टराईले भन्दै आएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनकै लागि साप्ताहिक दुई दिन बिदाको अवधारणा अगाडि सारिएको छ । दुई दिन बिदाको अवधारणालाई कार्यान्वयनमा ल्याउन व्यवसायीहरुले लबिइङ पनि गरिरहेका छन् । नाट्टाका अध्यक्ष अच्यूत गुरागाईं आन्तरिक पर्यटन प्रवर्द्धन गर्नकै लागि दुई दिन साप्ताहिक बिदा दिइनुपर्ने बताउँछन् । 

अर्को निजी क्षेत्रसँगको सुझावका आधारमा नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्‍न टुर प्याकेज बनाएको छ । देशका विभिन्‍न स्थानहरुलाई समेटेर बनाएको टुर प्याकेजको शुल्क तोक्ने जिम्मा बोर्डले निजी क्षेत्रलाई नै दिएको छ । बोर्डले तयार पारेको टुर प्याकेजले आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी बताउँछन् । बोर्डले तयार पारेको प्याकेजलाई अन्तिम रुप दिन पर्यटन व्यवसायसँग सम्बन्धित संघ-संस्था लागि परेका छन् । 

आन्तरिक पर्यटन नै विकल्प
तत्काल पर्यटकीय गतिविधिलाई चलायमान बनाउने भनेको आन्तरिक पर्यटनबाट नै भएको व्यवसायी बताउँछन् । आन्तरिक पर्यटकीय गतिविधिले विदेशीलाई समेत सकारात्मक सन्देश दिने र उनीहरुलाई पनि आकर्षित गर्न सक्ने विश्वास व्यवसायीमा छ । टानका अध्यक्ष खुमबहादुर सुवेदी आन्तरिक पर्यटकीय गतिविधिले नै विदेशीलाई आकर्षित गर्न सक्ने बताउँछन् । आगामी दिनमा यसले विदेशीलाई सकारात्मक सन्देश दिने भन्दै स्वास्थ्य सुरक्षालाई भने गम्भिरताका साथ लिइनुपर्ने उनी बताउँछन् । 

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पर्यटन गतिविधिका लागि ‘मुभमेन्ट’ नै पहिलो आवश्यकता भएको र त्यो खुला गरिएसँगै सकारात्मक सन्देश आन्तरिक पर्यटकमा गएको बताउँछन् । अब सुरक्षाका मापदण्डको पालनालाई विशेष ध्यान दिइनुपर्ने उनको भनाइ छ । यस्तै घुम्‍न सर्वसाधारणलाई उत्साहित बनाउनुपर्ने उनको सुझाव छ । त्यसका लागि सरकार, पर्यटन बोर्ड, पर्यटन व्यवसायीका संघ संस्थाहरुले ‘क्याम्पेन’ चलाउनुपर्ने उनको सुझाव छ । 

आन्तरिक पर्यटकीय गतिविधिले विदेशीलाई सकारात्मक सन्देश दिने उनको पनि भनाइ छ । “आगामी एक/दुई महिनामा आन्तरिक पर्यटन चलायनमा हुँदा जोखिम देखिएन भने त्यसले अन्तर्राष्ट्रिय पर्यटकहरुलाई सकारात्मक सन्देश दिन्छ । त्यसैले पनि स्वास्थ्य सुरक्षाको पालनामा कन्जुस्याई गर्न भने हुँदैन,” उनले भने । अहिले सुरक्षित तबरले गतिविधि सञ्‍चालन भए भने नोभेम्बर/डिसेम्बरमा विदेशबाट सानो-सानो समूहमा पर्यटक आउने उनको विश्वास छ । 

आन्तरिक पर्यटनका गतिविधि सुरक्षित तरिकाले सञ्‍चालन गर्न सकिए त्यसले पर्यटन उद्योगसँग सम्बन्धित सबै व्यवसायलाई टेवा पुर्‍याउने विश्वास निजी क्षेत्रमा छ । आन्तरिक पर्यटकीय गतिविधि बढाउन निजी क्षेत्रका वायुसेवा कम्पनीहरु पनि लागिपरेका छन् । बुद्ध एयर, यति एयरलाइन्सले विभिन्‍न टुर प्योकज घोषणा गरिसकेका छन् । 

अबको विकल्प आन्तरिक पर्यटन नै भएकाले यसमा लाग्नुको विकल्प नभएको यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमाल बताउँछन् । त्यसैले यति एयरलान्यसले एभरेस्ट, रारा, पोखरा, सौराहा, मुक्तिनाथ, अन्तपूर्णलगायत ट्रेक, काठमाडौं उपत्यकालक्षित गरी टुर प्याकेज ल्याएको उनले बताए । “आन्तरिक पर्यटन प्रवर्द्धन विकल्प छैन,” उनले बताए । 

होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह अहिलेको अवस्था पनि पर्ख र हेरको नै रहेको बताउँछन् । सार्वजनिक यातायात र हवाई सेवा खुला गर्दा नै सकारात्मक सन्देश प्रवाह भएको उनले बताए । तर स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालनामा भने कमजोरी गर्न नहुनेमा उनले जोड दिए । “स्वास्थ्य सुरक्षाको पालनामा कडाइ गर्नुपर्छ । सुरु सुरुमा पालना गर्नेपछि विस्तारै छाड्दै जाने चलन छ, त्यसलाई कडाइका साथ पालना गराउनुपर्छ,” उनले भने । उनले जनता पनि सचेत बन्नुपर्ने बताए । “अहिलेको अवस्था भनेको आफू बाँच्ने र अरुलाई पनि बचाउने हो । त्यसमा सबै सतर्क हुनुपर्छ, जनता पनि सचेत बन्नुपर्छ ।”

तत्काल सर्वसाधारण बाहिर निस्कन डराउने गरेको भए पनि पर्यटन गतिविधि भने सुरु गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल बताउँछन् । सार्वजनिक यातायात, आन्तरिक हवाई सेवा सुरु भएपछि होटेल, पर्यटकीय क्षेत्र विस्तारै खुल्न थालेको उनले बताए । “ग्राहक आउन सकिरहेका छैनन्, तर हामी सुरक्षित तरिकाले सेवा दिन तयार भएर बसेका छौं,” उनले भने । -फाइल तस्बिर : बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro