site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणमा कठिनाइ

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि तय गरेको कार्यतालिकाअनुसार कुनै पनि जिल्लाले क्रियाशील सदस्यता नवीकरण र वितरण पूरा गरेका छैनन् ।

पार्टीका आन्तरिक संरचनाहरु समायोजन समयावधिभित्रै सम्पन्‍न गरेका जिल्ला सभापतिहरुले कोभिड-१९ महामारीका कारण क्रियाशील सदस्यता नवीकरण र वितरणमा कठिनाइ भइरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयले आन्तरिक संरचनाहरु समायोजना सम्पन्‍न गरेका विभिन्‍न ६६ जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि फारामहरु पठाए पनि कुनै पनि जिल्लामा पूर्ण रुपमा काम सम्पन्‍न नभएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा गत असार २२ गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति यथावत् राखेर अन्य तल्ला तहको अधिवेशन तालिका परिमार्जन गरेको थियो । जसअनुसार साउन १० गतेभिध पार्टीका आन्तरिक संरचना समायोजन सम्पन्‍न गरेर साउन मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने समयावधि निर्धारण गरेको थियो ।

कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाहरुले कार्यसम्पादन गर्न नसकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । “क्रियाशील सदस्यता नवीकरण र वितरण शतप्रतिशत सम्पन्न गर्‍यौं भनेर कुनै पनि जिल्लाले प्रतिवेदन बुझाएको अवस्था छैन,” उनले क्रियाशील सदस्यता नवीकरण र वितरण समयावधिभित्रै सम्पन्न हुन नसक्नुको कारण प्रस्ट्याउँदै बाह्रखरीसँग भने, “फाराम लगेर गएका ६६ जिल्लामा क्रियाशीलको काम डिले हुनुमा कोरोनाबाहेक कुनै समस्या छैन ।”

मुख्य सचिव पौडेलले फाराम लगेका जिल्लाहरुका अधिकांशले वडा-वडासम्म पुर्‍याइसकेको र नवीकरणको काम भइरहेको खबर केन्द्रले पाएको पनि जानकारी दिए । उनले नयाँ क्रियाशील सदस्यता वितरणको काम भने बाँकी रहेको पनि बताए ।

पौडेलले केन्द्रीय कार्यालयले एक-दुई दिनमा क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि फाराम लगेका जिल्लाहरुसँग अहिलेसम्मको कार्यप्रगति विवरण बुझ्‍ने काम गरिने पनि बताए ।  

कांग्रेस कञ्चनपुरका सभापति हरि बोहराले कोभिड-१९ का कारण वडा कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण गर्न समस्या भएको बताए । “अहिले क्रियाशील सदस्यता दिने कुरो पहिले जस्तो छैन । वडामा क्रियाशील सदस्यता वितरणका लागि सबै क्रियाशील सदस्यहरु भेला भएर निर्णय गर्नुपर्ने भनिएको छ,” उनले बाह्रखरीसँग भने, “कोरोनाका कारण मानिसहरु भेला हुन डराइरहेको अवस्थाले गर्दा ढिलाइ भइरहेको छ ।”

कांग्रेस कैलालीका सभापति नरनारायण शाहले पनि कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले लागु गरेको निषेधाज्ञाका कारण जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरणको काम अगाडि बढाउन नसकिएको बताए ।  सदस्यता नवीकरण र वितरणका लागि गत साउन ३ गते बोलाइएको जिल्ला कार्यसमिति बैठक स्थानीय प्रशासनले रोक लगाएपछि कैलालीमा काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

“केन्द्रबाट क्रियाशील सदस्यताको फाराम बुझेर जिल्लाले बैठकबाट क्षेत्र, नगर-गाउँ हुँदै वडा कार्यसमितिमा पठाउनुपर्ने हुन्छ,” सभापति शाहले भने, “तयसका लागि हामीले साउन ३ गते जिल्ला कार्यसमिति बैठक पनि बोलाएका थियौं । तर, सीडीओ आफैँले फोन गरेर अहिलेको अवस्थामा जिम्मेवार पार्टीले बैठक गर्न भएन भने पछि बैठक स्थगित गर्‍यौं ।”

उनले अब जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुसँग सरसल्लाह गरेर बैठक बोलाउने र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम अघि बढाउने पनि बताए ।

कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले पनि कोभिड-१९ का कारण क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्‍न गर्न कठिनाइ भएको प्रतिक्रिया दिएका छन् । “केन्द्रले वडामा मिटिङ गरेर मात्रै नयाँ सदस्यता दिनू भनेको छ । कोरोनाले गर्दा वडाहरुमा मिटिङ गर्न समस्या भएको छ । कोरोनाले सबै त्रसित छन्, यस्तो बेला को जाने मिटिङमा,” उनले भने ।

सभापति बानियाँले केन्द्रबाट प्राप्त भएका क्रियाशील सदस्यता फारामहरु वडा-वडामा पठाए पनि काम सुरु नभएको बताए । “फारामहरु जिल्लाबाट क्षेत्र, क्षेत्रबाट वडा-वडा गएको छ । वडाले सुरु गरेको छैन,” उनले भने । 

फाइल तस्बिर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत वरिष्ठ पदाधिकारी ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro