
काठमाडौं । गत चैत ११ देखि बन्द भएको हवाई सेवा भदौ १६ देखि अन्तर्राष्ट्रियतर्फको मात्र खुल्यो । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवैतर्फ भदौ १६ देखि नै नियमित गर्ने जनाएको थियो । तर, पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा कोरोना संक्रमितको संख्या बढेसँगै निषेधाज्ञा लगाइँदै आएको छ । सोही कारण आन्तरिकतर्फ नियमित हवाई सेवा खुला गर्न गाह्रो भइरहेको सरकारी अधिकारी बताउँछन् । अब कहिलेदेखि खुला हुन सक्ला भन्ने प्रश्नमा अधिकारीहरू अहिले नै यसै भन्न नसकिने बताउँछन् । “कोरोना संक्रमणको अवस्थालाई नहेरी अहिले नै भन्न गाह्रो छ,” प्राय: सबैले दिने जवाफ हो यो ।
तर, सरकारले निर्णय गर्दै फेर्दै गरेको भन्दै आफूहरू पनि दिक्क भइसकेको निजी वायुसेवा सञ्चालकहरु बताउँछन् । “हामी तयारी अवस्थामा बसेको धेरै भयो । तर, सरकारले खुला गर्ने निर्णय गर्छ, अनि आफ्नै निर्णयलाई काट्छ,” निजी वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल बताउँछन् । निजी वायुसेवा सञ्चालक संघले भारतलगातय अन्य कोरोना धेरै प्रभावित मुलुकहरूले पनि आन्तरिक हवाई सेवा सञ्चालन गरेको धेरै भइसकेको भन्दै हामीले पनि सञ्चालन गर्नुपर्ने बताउँदै आएका छन् ।
“भारतमा आन्तरिक उडान खुलिसके । अन्य मुलुकमा पनि खुलेको धेरै भइसक्यो । हामी कहिलेसम्म बन्द गरेर बस्ने ?” कँडेल भन्छन् । स्वास्थ्य सुरक्षाका उपाय अपनाएरै उडान खोल्न आग्रह गर्दै आएका एयरलाइन्स सेवा प्रदायकहरूले सुरुमा सकारात्मक सन्देशका लागि केही उडान गन्तव्यबाट मात्रै भए पनि खुला गरिनुपर्ने बताउँछन् । “सरकारी अधिकारीहरूले तराईमा सञ्चालन गर्न नसकिने तर हिमाली र पहाडी क्षेत्रमा सञ्चालन गर्न सकिने भन्नुभयो । त्यसमा पनि हामीले सहमत छौं भन्यौं । तर आजसम्म कुनै निर्णय भएको छैन,” उनले भने, “हामीले कहिलेसम्म सेवा बन्द गरेर बस्ने ?”
यता, सरकारी अधिकारीहरू पनि अब लामो समयसम्म लामा दूरीका सार्वजनिक यातायात एवं हवाई सेवा रोक्न नहुनेमा एकमत छन् । “तर, निर्णय गर्नुपर्ने निकाय सीसीएमसी भएकाले उहाँहरूको निर्णयबेगर हामीले केही गर्न सक्दैनौं,” ती अधिकारीले भने । भदौ १६ देखि नै हिमाली र पहाडी क्षेत्रका केही गन्तव्यमा हवाई सेवा खुला गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छलफल पनि चलाएको थियो, तर कुनै निर्णय दिन सकिरहेको छैन ।
“अब चाडपर्व सुरु हुने बेला भयो । सार्वजनिक यातायात पनि चलेका छैनन् । आर्थिक परिस्थितिले खोल्दै जानुपर्ने देखाएको छ । स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ । अब व्यक्तिले आफ्नो सुरक्षा आफैं नगरेसम्म सम्भव छैन, कति समयसम्म सबै क्षेत्रलाई बन्धक बनाउने ?” ती अधिकारी भन्छन् ।
अब पनि सार्वजनिक यातायात र हवाई सेवासहित अन्य व्यापार व्यवसाय सञ्चालन गर्न खुला नगर्ने हो भने अर्थतन्त्रका लागि समेत धेरै अप्ठ्यारो स्थिति आउन सक्ने ती अधिकरीको दाबी छ । “लामो दूरीका सार्वजनिक यातायात नचलेको ६ महिना पुग्न लागिसक्यो । लामो समयसम्म गाडी नचल्दा इन्जनमा खिया लागिसक्यो होला । श्रमिक रोजगारविहीन भएका छन् । बसका साहु बेरोजगार छन्, ऋण दिएका बैंक बेरोजगार छन्,” उनले भने ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी भने अहिलेसम्म कोरोनाको संक्रमण बढ्दै गएकाले हवाई सेवा खोल्न नसकिए पनि असोज १ देखि भने खोल्न सकिन्छ कि भनेर छलफल गरिरहेको बताउँछन् । “असोज १ देखि भए पनि खोल्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको छ । कति समयसम्म बन्द गर्ने भन्ने कुरा आएका छन् । सायद असोज १ देखि खुल्न सक्छ,” उनले भने ।
व्यवसायी कँडेल सरकारले जसरी भन्छ, त्यसरी नै हवाई सेवा सञ्चालन गर्न तयार रहेको बताउँछन् । “पहिले हिमाली र पहाडी गन्तव्यबाट सुरु गर्ने, केही गन्तव्यबाट मात्रै उडान गर्ने भन्ने हो भने पनि त्यही गरौं तर अब खुला गरौं,” उनले भने । स्वाथ्य सुरक्षालाई ध्यानमा राखेर नै हवाई सेवा खुला गरिनुपर्ने भनेर आफूहरूले भन्दै आएको उनले बताए । “प्राधिकरणले ल्याएको प्रोटोकल छ, त्यसको पूर्ण पालना हुन्छ । फेरि आन्तरिक उडान खुल्नेबित्तिकै यात्रु भरिभराउ हुने पनि होइन । तर, खुलेपछि एउटा सकारात्मक सन्देश त जान्छ नि,” उनले भने ।