हिजोआज बालुवाटारमा कसैले कतै जापानको नाममात्र लिँदा पनि कसैलाई घोचपेच गरेजस्तो, कसैको दुखेको घाउ निचोरेजस्तो अवस्था हुँदो हो । किनभने जापानी प्रधानमन्त्री सिन्जो आबेले आफू स्वास्थ्यको कारणले सरकार चलाउन नसक्ने भएको जनाउँदै भाद्र ११ गते पदबाट राजीनामा दिएका छन् । त्यसैले जापानको मात्र होइन कसैले ‘पान खान जाऊँ’ भन्यो भने वा कसैले ‘आबुई !’ भनेर प्रतिक्रिया दियो भने पनि प्रधानमन्त्रीलाई आबेको नाम सुनाएर व्यङ्ग्य गरेको भन्ने निर्क्योल निस्कन सक्छ । फेरि सधैँ एकआपसमा नै को बालुवाटारको शत्रु भनेर प्रमाणित गर्न प्रतिस्पर्धा हुने स्थानमा यस्तो मौकाको सदुपयोग गर्नेको कुनै कमी पनि हुँदैन ।
परन्तु, गलत काम हाम्रा नेताबाट भएको होइन यी जापानी नै त्यस्ता हुन् । यी आबे नै हेर्नुस्, अलि कस्तो कस्तो मान्छेजस्तो लागेन ? उनको ठूलो आन्द्रा र मलाशय नजिकै कुनै आन्द्रा सुनिने रोग सानैदेखि रहेछ, अहिले आएर अलि बढ्ने जोखिम देखिएको कारणले उनले राजीनामा दिएका रहेछन् । उनको राजीनामाको त बालै भएन नेपालीलाई तर मेरो कारणले सरकार कमजोर नहोस् भनेर पदबाट बिदा लिँदै छु भनेर किन भन्नुपर्ने नि ? नेपालजस्तो संसारकै उच्च देशको उदाहरण त हेर्नुपर्छ । देशको लागि कति त्याग गर्नुपर्छ भन्ने अलि ज्ञान त हुन्थ्यो ।
हुनत, जापानी जातैले अलि स्वार्थी हुन् कि भन्न पनि नसकिने होइन । अब कहाँ यत्रो कोरोनाको कहरका बीचमा बिरामी छु अब देशको लागि म बोझ बन्दिन, राजीनामा दिन्छु रे । हाम्रा नेता जापानीजस्ता स्वार्थी छैनन् । आफ्नो स्वास्थ्यको कहिल्यै कसैले परवाह गरेनन् । गिरिजाप्रसाद कोइरालाकै उदाहरण लिऊँ । त्यत्रो जनआन्दोलनको सफलतापश्चात पनि उनलाई अब विश्राम लिनुपर्छ भन्ने लागेको होइन । बरु सकी नसकी अक्सिजन मास्क लगाएर पनि राज्य चलाएकै हुन् । बिचरा संसद्मै समेत एक दुईपल्ट बेहोस भए तर कहिल्यै आफ्नो जिम्मेवारीबाट हट्ने भन्ने सोचेनन् । देशको बेइज्जत हुन्छ भनेर सार्क सम्मेलनमा समेत गएर अक्सिजन लिँदै आउँदै गरेर सम्बोधन गरेरै छाडे । यिनको महानता सम्झेर पनि खित्का छुट्छ । आबे किन यस्तो हुन सकेनन् ?
अनि अहिलेका प्रधानमन्त्रीले कसरी स्वास्थ्यको कारण देखाएर चटक्कै देश र जनताको हितविपरीत काम गर्थे बाबै । धन्न हो । उनले फेरि आफैँले गरेको पनि होइन्, गिरिजाबाबु, सुशील कोइराला सबैले सिकाएकै मार्गमा हिंडेका हुन् । ‘कांग्रेसले गर्दा हुने हामीले नहुने’ भन्ने त थेगो नै छ बालुवाटारमा । सुशीलले बिरामी भएर, अक्सिजन नै लिएर शासन त चलाएनन् तर, सिंहदरबारको सचिवालयलाई म्युजियम बनाउन उनको दाइले बसाएको परम्परालाई भने तोड्न सकेनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जापानीजस्तो मात्र होइन, कांग्रेस जति पनि स्वार्थ देखाएनन् बरा ! उनले आफ्नो स्वास्थ्य ‘चेकअप’ गर्न विदेश जाँदा समेत निजी विमान कम्पनीको त्यसबेला काम नपाएर थला परेको विमान लिएर गए । तैपनि, उनले निजी क्षेत्रलाई समर्थन गरे भनेर कसैले भनेनन् उल्टो उनको स्वार्थ खोज्नतिर लागे । त्यसबेला उपचार गराउँदा देशलाई केही करोड भार पर्यो होला यसमा त्यसै विरोधीले हल्ला मच्चाए । तर, सोचौँ त उनले प्रधानमन्त्री पद नै छाडेर त भागेनन् नि ! आफ्नो जिम्मेवारी पूरा गर्न किंचित संकोच मानेनन् । उनको त्याग सम्झेर हाँसो आउन्न भने के को देशभक्त ?
अझ पछिल्लोपल्ट प्रधानमन्त्रीको पदमा उँधोउँभो केही होला भनेर मिर्गौला नै नेपालमा फेरे । यस्ता देशभक्त र कामप्रति इमानदार हाम्रा मुखिया बाजेहरूलाई त्यसै नैतिकताको पाठ पढाउन आउने देखेर पनि ताज्जुब नै लाग्छ । त्यसमाथि पनि जापानको उदाहरण लिएर आउने देख्दा त छक्कै परिन्छ । आखिर जापानको नाम नै नेपालको पानबाट राखिएको हो भनेर कुनै दिन दस कक्षाबाट सीधै फड्केर पीएचडी उपाधिधारी विद्वान्ले घोषणा गरिदिएभने ? यस्ता प्रत्युत्मन्न मति र वाक्पटु नेताले बिरामी भएकै कारण पद त्याग गरेर जिम्मेवारीबाट हट्नु पनि त भएन ।
कुनै बालुवाटारे हजुरबालाई आफ्नी सासुमातालाई कति गरेर त्यही देशमा टिकाउनु परेको छ । सरकारले गरेका दसथरी गल्तीलाई पनि आफू केही नबोली यस्सो विश्वासप्राप्तलाई बोल्न लगाएर जनताको मुख थामथुम गरेर राजदूत पद बाँचेको छ । अनि त्यही देशको प्रधानमन्त्री चाहिँ सहजै पद छाड्छु भन्दा अर्कालाई कस्तो अप्ठेरो पर्छ भन्ने पनि कति नबुझेका क्या !
अर्काको देशका प्रधानमन्त्री, भनिहाल्नु त हुन्थेन कि आबे अलिकति झुठो पनि बोल्ने रहेछन् कि जस्तो पनि लागेको हो । पहिलोपल्ट सन् २००७ मा प्रधानमन्त्री भएको एक वर्षमै स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिएका थिए । तर पछि सन् २०१२ मा फेरि फर्किएर आठ वर्ष लगातार प्रधानमन्त्री बनेर जापानको इतिहासमा नै रेकर्ड बनाए । तर, हाम्रोमा त्यस्तो हुँदैन । कसैले एकपल्ट बिरामी भनेर छाड्ने र फर्कने त सम्भवै हुन्न । किनभने सकभर पदमा बसेपछि आर्यघाटबाट मात्रै बिदा लिने भन्ने सोच जो बलियो छ । बिरामीले त हामीलाई छुँदै छुँदैन । हाम्रो त यस्तो सशक्त व्यवस्था छ कि सिंगापुरको अस्पतालबाटै क्याबिनेट बैठक गर्छौैँ र निर्णय गरेपछि सो बैठक मन्त्रिपरिषद्को होइन भन्न पनि भ्याउँछौँं ।
नेपालको अस्पतालबाट सरकार चलाउनु त कुनै ठूलो कुरै भएन । हाम्रा प्रधानमन्त्रीले आईसीयूबाटै पनि देश चलाउने तरिका जानेका छन् । आखिर संसारमा सूचना प्रविधिको विकास यस्तो गतिमा भैसकेको छ । अलि जापानीहरू यस विषयमा अन्जान पो परेछन् कि ? हुन्त पढेका, पीएचडी गरेका धेरै हुन्नन् क्यारे उताका नेता । हाम्रोमा त कोही पनि प्रधानमन्त्री भयोभने पीएचडी दिन अनेक प्रकारका ग्रिनफोर्ड विश्वविद्यालय अघि बढिहाल्छन् ।
प्रधानमन्त्री ओलीलाई त ग्रिनफोर्डले सुरुमात्र गरेको हो अहिले उहाँसँग चार–चारवटा पीएचडी डिग्री छन् । भारतको गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालय, कोस्टारिकाको शान्ति विश्वविद्यालय र दक्षिण कोरियाको क्रिस्चियन विश्वविद्यालयले पनि नेपालका प्रधानमन्त्रीको क्षमतामा नतमस्तक हुँदै पीएचडी अर्पण गरिसकेका छन् । अरुले नबुझेरमात्र हो नत्र गोबरग्यास, रेलवे, बेसार आदि विषयमा पनि अहिलेसम्म विद्यावारिधि आइसक्नु पर्ने थियो । कतिले बुझ्दै बुझ्दैनन् कतिको चाहिँ राम्रो भन्ने मुटु नै हुँदैन । तर, कुनै संस्थाले यो कुरो बुझेर सुशासन र नेतृत्वको अवार्ड दिइसकेको भने बिर्सनु हुँदैन ।
अन्त्यमा, हाम्रो देशका नेताहरूले देशलाई लगाएको गुनको हामी सबैले नतमस्तक भएर कदर गर्नुपर्छ । आखिर आबेको राजीनामाले पनि प्रमाणित गर्यो देशको काम सहज हुँदैन, दुःख हुन्छ भनेर । त्यसैले हाम्रा शासकहरूले देशको काममा दुःख हुन्छ भन्ने जानेरै अरुलाई काम नदिई सम्धी, साला, जेठान र आफ्ना मान्छेलाई नै ठूला पदहरू दिएका हुन् । हुनत, कतिपयले यस्तो काम नदिनुस् बरु यति करोड लिनुस् भन्छन् तर हाम्रा नेता मान्दैनन् । बरु करोड लिइदिन्छन् तर काममा नपठाई छाड्दैनन् । आखिर देश चलाउनेजस्तो दुःख आफ्नासँग नबाँडे कसलाई बाँड्ने ? हामी फेरि एउटा सानो देश जापानजस्तो हुनु पनि त भएन ।