
काठमाडौं । कोडिभ १९ का कारण मुलुक लकडाउन हुँदा उत्पादित फलफूल तथा तरकारी एक जिल्लाबाट अर्को जिल्लामा लैजानसमेत रोकियो । कतिपय ठाउँमा त स्वदेशी उत्पादन खाडलमै पुरियो । कति उत्पादनले बजार नपाएर कृषकले डोजर पनि लगाए, नष्ट गर्न बाध्य भए ।
आन्तरिक उत्पादनलाई एक जिल्लाबाट अर्को जिल्लामा विक्री वितरणमा रोक लगाइरहँदा विदेशी फलफूल तथा तरकारी आयातलाई भने निर्वाध छाडियो । फलस्वरुप आज मुलुक खाद्यान्न, फलफूल तथा तरकारीमा नै बढी परनिर्भर हुनुपरेको छ । कोडिभ १९ का कारण मात्रै हामी परनिर्भर भएको पक्कै होइन, तर बढ्दो आयातलाई थप मलजल गर्ने र कृषकलाई निराश बनाउने काम यो समयमा भयो ।
परिणाम स्वरुप चालु आर्थिक वर्षको पहिलो अर्थात् साउनमा मात्रै पौने १० अर्बको खाद्यान्न आयात भएको छ । ६ अर्ब ६२ करोडको अन्न र ३ अर्ब २४ करोडको तरकारी तथा फलफूल आयात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यी खाद्यान्नमा दोब्बरले आयात बढेको देखिन्छ । साउन महिनामा मात्रै २ अर्ब ६६ करोडको चामल आयात भएको छ । गत वर्ष सोही अवधिमा १ अर्ब २५ करोड रुपैयाँबराबरको चामल आयात भएको थियो । धानसमेत जोड्दा ३ अर्ब ४७ करोड रुपैयाँ भइसकेको छ ।
यसले मुलुक आधारभूत खाद्यान्नमै परनिर्भरता बढ्दै गएको देखाएको अर्थविद् बताउँछन् । यसले आधारभूत खाद्यान्नमै परनिर्भरता बढेको र नेपाली अर्थतन्त्रको आधार पनि निकै कमजोर रहेको देखाएको अर्थविद् केशव आचार्य बताउँछन् । यो महिनामा चालमको अभाव हुने गरे पनि आयातको परिमाण निकै बढेकाले चिन्ता गर्नुपर्ने उनले बताए । “आन्तरिक उत्पादन आउने भनेको मंसिरमा हो । यतिबेला प्रायः चामलको अभाव हुने बेला हो । तर, आयात निकै नै बढ्यो,” उनले भने, “खाद्यान्नमा परनिर्भरता धेरै बढ्यो, यो चिन्ताको विषय हो ।”
तर, पूर्वसचिव पुरुषोत्तम ओझा भने आयात बढी भयो भनेर आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । “आयात बढी भयो भनेर आत्तिनुपर्ने होइन तर, निर्यात व्यापारमा जोड दिनुपर्यो,” उनले भने ।
किन आयात बढ्यो
अर्थविद् आचार्य विशेषगरी तीनवटा कारणले चामललगायत खाद्यान्नको आयात बढेको बताउँछन् । एक, कोभिडका कारण भारतसहित खाडी मुलुकमा रोजगारीका गएका नेपाली ठूलो संख्यामा फर्किएका छन् । खाद्यान्नको माग उनीहरूको कारण पनि बढेको हो । दुई, किसानले रासायनिक मल पाएका छैनन् । बाढी, पहिरो एवं नेपाल-भारतको सम्बन्ध अलि जटिल-जटिल भएको र पछि आयातमा केही समस्या आउन सक्छ भनेर व्यापारीले आयात गरेर गोदाममा थन्क्याएका हुनसक्छन् ।
तीन, सार्वजनिक वितरण प्रणालीमा स्टक फेरिएपछि बेला-बेलामा पुरानो चामललाई व्यवस्थित गरेर राख्न खर्चिलो हुने हुनाले सस्तै मूल्यमा भए पनि छिटो-छिटो बिक्री गर्ने चलन भारतमा छ । पुरानो चाम, धान, खाद्यान्नलाई नयाँले प्रतिस्थापन गर्ने गर्न नेपाली व्यापारीले सोही सार्वजनिक वितरण प्रणालीबाट अलि सस्तोमा धेरै परिमाणमा ल्याएकाले आयात बढेको हुन सक्छ ।
के पर्छ यसको असर
अहिले व्यवसायीले भारतबाट सस्तोमा ल्याएर स्टक गरेका रहेछन् भने मंसिरमा हाम्रा कृषकले राम्रो मूल्य पाउने सम्भावना निकै कम हुन्छ । आन्तरिक उत्पादनभन्दा सस्तोमा आयात गर्न पाउने र प्रतिस्पर्धा गर्न नसकेपछि किसानलाई किन खेती गर्ने ? भन्ने पनि हुन सक्छ, जसले मुलुककै अर्थतन्त्रलाई निकै घाटा पुर्याउने अर्थविद् आचार्य बताउँछन् । यसरी अहिले व्यापारीले सस्तोमा ल्याएर स्टक राखेका रहेछन् भने उनीहरूलाई स्टकको परिमाण थाहा हुन्छ र बजारमा कृत्रिम अभाव सिर्जना गराएर महँगी सिर्जना गर्न सक्छन् ।
यसले व्यापार घाटा त बढाउने भयो नै । खाद्यान्न आयात बढेकाले भुक्तानी सन्तुलनमा धेरै असर नपार्ला तर आधारभूत खाद्यान्नमै परनिर्भरता बढ्ने भनेको र नेपाली अर्थतन्त्रको आधार पनि सखापै भएको यसले संकेत गरेको बुझाइ अर्थविद्को छ । “यो टिक्नै नसक्ने अवस्थामा गयो । सरकारको लागि ठूलो चुनौती हो,” आचार्य भन्छन् ।
अब के गर्नुपर्छ ?
पूर्वसचिव ओझा धान, चामल, गहुँमा भन्सार लगाएर भए पनि स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नुपर्ने बताउँछन् । यस्तै कृषि उपजमा अनुदान बढाउनुपर्ने पनि उनको भनाइ छ। “भारतले कृषि उपजमा धेरै अनुदान दिएको छ । नेपालमा पनि अनुदान दिइएपछि भारतको तुलनामा कम छ,” उनले भने ।
अर्को, नेपालले धान, चामलजस्ता अत्यावश्यक वस्तुमा प्रतिस्पर्धा गर्न सक्ने स्थिति नभएकाले केही मात्रामा उत्पादन गर्ने, केही मात्रामा आयात गर्ने तर, नेपालले उच्च मूल्यका कृषिजन्य वस्तुहरू उत्पादन गरी निर्यातमा जोड दिनुपर्ने उनको सुझाव छ ।
“नेपालमा प्रतिस्पर्धात्मक ढंगबाट उत्पादन हुन सक्ने र भारतसँग प्रतिस्पर्धा नहुने खालका वस्तुहरूमा बढी जोड दिनुपर्यो,” उनले भने, “तरकारी, फलफूल, अलैंची, चिया, कफी, जडीबुटीलगायत उत्पादनमा ध्यान दिऔं ।” अर्थविद् आचार्य अब कृषि मन्त्रालयले कृषि वैज्ञानिक, व्यवसायीलाई राखेर कसरी प्रतिस्थापन गर्न सक्छौं, गम्भीर भएर छलफल अगाडि बढाउनुपर्ने बताउँछन् । “आधारभूत खाद्यान्नमै परनिर्भरता बढेको देखियो । नेपाली अर्थतन्त्रको आधार पनि निकै कमजोर रहेको देखाएको छ, बेलैमा सचेत होऔं,” उनले भने ।