site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
 कोरोनाविरुद्धको औषधि तथा खोपमा नेपालको तयारी– जसले छिटो बनाउँछ उसैको किन्छौं

काठमाडौं । विश्वका २१३ भन्दा बढी मुलुकहरु अहिले कोरोनाविरुद्ध संघर्ष गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना संक्रमणबाट समाचार तयार पार्दासम्म विश्वमा ८ लाख बढीको मृत्यु भइसकेको छ भने नेपालमा १४६ जनाको मृत्यु भएको छ ।

दुई करोड ३१ लाखजना कोरोना संक्रमित छन् । चीनको वुहानमा गत डिसेम्बरको अन्तिममा देखिएको नोभेल कोरोनाभाइरस संक्रमणको आठ महिना पूरा हुँदा पनि नियन्त्रणमा आउन सकेको छैन । कोरोना नियन्त्रणका लागि विश्वका शक्तिशाली मुलुकहरुले खोप विकासका विभिन्न चरणमा काम गरिरहेका छन् ।

रुस, चीन, बेलायत, जर्मन र अमेरिकालगायतका देशहरु खोप विकासका विभिन्न चरणमा छन् । जसमध्ये रुसले अगस्त १२ मा विश्वकै पहिलो कोरोनाविरुद्धको खोप विकास गरी दर्ता गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेका थिए । तर पश्चिमा मुलुकहरुमा वैज्ञानिकहरुले पनि रुसको खोपप्रति आशंका व्यक्त गरेका छन् ।

कोरोनाविरुद्धको खोप विकासको दाबी गरेसँगै नेपालका लागि रुसी राजदूत एलेक्सी नोभिकले साउन २ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भेटेर रुसले बनाएको कोरोनाविरुद्धको खोपको बारेमा जानकारी गराएका थिए । उनले नेपालले चाहेमा रुसले प्राथमिकतामा राखेर खोप प्रदान गर्न तयार रहेको जनाएका थिए ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले उक्त भेटमा राजदूतले रुसले विकास गरेको कोरोनाको खोप विश्वभरबाट माग भइरहेकोले नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने बताएको जानकारी दिए ।  रुसले तयार पारेको खोप नोभेम्बरमा विश्व बजारमा आउनेछ  र नेपाललाई प्राथमिकतामा राखेर उपलब्ध गराउने जानकारीसमेत अध्यक्षलाई गराएका थिए ।

यसैगरी, रुसले राजदूतमार्फत नेपालमा कोरोना खोप उपलब्ध गराउन तयार भएको जानकारीपछि नेपालमा उक्त खोपको चर्चा सुरु भएको छ । रुसी खोपलाई अमेरिका, युरोपलगायतका मुलुकहरुले आशंका व्यक्त गरिरहेका बेला नेपालमा यसबारे चर्चा भइरहेको छ । रुसले बनाएको कोरोना खोपका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग जिज्ञासा राख्दा अहिले खोप उत्पादन भइनसकेको हुँदा खरिदको कुनै योजना नै नबनाएको बताए ।

उनका अनुसार बजारमा गुणस्तरीय कोरोना खोप जसको पहिलो आउँछ, त्यही देशको खरिद गर्ने योजना मन्त्रालयको रहेको छ । “मन्त्रालय कोरोना खोपका विषयमा सजक रहेको छ,” उनले भने,“बजारमा जुन देशको खोप छिटो आउँछ, सोही देशको खोप नेपालले खरिद गर्ने हो ।”

“विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि खरिद गर्छौँ । तर गुणस्तर संगठनले मान्यता नदिने के कारण हुन्छ ?”, उनले प्रश्न गरे । त्यसैगरी मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुससँग खोपका विषयमा औपचारिक छलफलका कार्यहरु सुरु भएको छैन । उनले भने, “रुससँग अनौपचारिक छलफलहरुमा खोपका विषयमा राम्रो हुँदै गएमा औपचारिक छलफलमा गएर प्रक्रियाहरु अगाडि बढ्ला ।”

रुसले बनाएको खोप गुणस्तरीय भएमा नेपाल ल्याउन तयार रहेको उनले बताए । जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षितका अनुसार रुसले कोरोना खोप बनाउँदा वैज्ञानिक आधारहरु कम रहेको देखिन्छ । उनले भने, “कोरोना खोप बन्नुलाई सकारात्मक रुपमा लिनुपर्छ तर जबसम्म वैज्ञानिक तथ्यहरुले पुष्टि गरिँदैन, त्यति बेलासम्म खोपमा आशावादी हुने अवस्था भने हुँदैन ।”

औषधिविज्ञ बाबुराम हुमागाईंका अनुसार रुसले कोरोनाविरुद्ध बनाएको खोप विभिन्‍न अध्ययन हेर्दा खोप बजारमा आउनुपर्ने जुन प्रक्रियाहरु अहिले पूरा नगरेको अवस्था रहेको देखिन्छ ।  खोप बन्नु मात्र ठूलो कुरा होइन, खोपको प्रभावकारिता कति प्रतिशत  विश्वास गर्न सकिने त्यो महत्वपूण  हुने उनी बताउँछन् । 

उनले भने, “खोप वा औषधि बनेपछि एक रोग निको भयो तर अर्को रोग थपिने प्रकारको हुनुहुँदैन, त्यस कारण खोप वा औषधिमा विश्वसनीयता र प्रभाकारिता महत्वपूर्ण हुन्छ ।” 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ०५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro