साउना महिना लागेसँगै नेपालमा चाडपर्व सुरु हुन्छ । रामरमितामा रोसिने नेपालीका चाडपर्व निकै उल्लासमय हुन्छन् । हिन्दु, बौद्ध, किराँत, मुस्लिमलगायत सबैले तिथिमितिअनुसार आआफ्ना चाडपर्व हर्षोल्लाससहित मनाउँदै आएका छन् ।
नेपाल कला संस्कृतिको धनी राष्ट्र हो । कुनै समयमा काठमाडाैंमा मानिसभन्दा देवता र घरभन्दा मन्दिरको संख्या धेरै रहेको भनाइ प्रचलित थियो । नेपालमा बस्ने सयभन्दा बढी जातजातिको धर्म, कला र संस्कृतिप्रति उच्च लगाव रहेको कारण चाडपर्वको महत्त्व भने बहुआयामिक छ । चाडपर्वकै अवसरमा आर्थिक गतिविधि पनि उल्लेखनीयरूपमा हुने हुँदा चाडपर्वको आर्थिक महत्त्व पनि उत्तिकै देखिन्छ ।
वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा रहेका नेपाली चाडपर्वको अवसर पारेर परिवार र आफन्तजन भेट्न घर फर्किन्छन् । रोजगार र अध्ययनको सिलसिलामा देशकै विभिन्न क्षेत्रमा छरिएका नेपाली पनि यसै अवसरमा गाउँ फर्किन्छन् । सरकारले र निजी क्षेत्रले दिने वर्षभरिकै सबैभन्दा लामो बिदा चाडपर्वकै अवसरमा पर्छ । आन्तरिक पर्यटनको लागि सबैभन्दा उपयुक्त समय यिनै चाडपर्वको अवसरमा मिल्छ । मानिसहरुले चाडपर्वकै अवसरमा थप किनमेल गर्ने र आवतजावत गर्ने हुँदा समाजका सबै क्षेत्र आर्थिकरुपमा चलायमान हुने गर्छन् । साराशंमा, चाडपर्वले ग्रामीण र सहरी क्षेत्रका सबै पक्षलाई पुनर्ताजगी प्रदान गर्छन् ।
हरेक वर्ष हर्षोल्लासका साथ मनाइने चाडपर्व यस वर्ष फरक किसिमले मनाउनुपर्ने बाध्यता छ । कोरोना रोकथामको लागि सामूहिक जमघट, भेला, महोत्सव, जात्रालगायतका कार्य नगर्न सरकारले दिएको निर्देशन पालना गर्नु नागरिकको कर्तव्य पनि हो । रोगबाट बच्न अनिवार्यरुपमा पालना पनि गर्नुपर्छ । यस्तो परिवेशमा चाडपर्व मनाउने कि नमनाउने ? मनाए कसरी मनाउने ? जस्ता दुबिधामा सबै नेपाली परेका छन् । साउन महिनामा मनाइएका गाईजात्रा, जनैपूर्णिमा, कृष्ण जन्माष्टमीलगायतका पर्वमा मन्दिरमा भक्तजनको भिड देख्दा उनीहरुलाई महामारीको डरभन्दा पर्वहरुको रमाइलो नै प्यारो लागेजस्तो देखिन्छ । अब आउने दसैं, तिहारलगायतका पर्वमा पनि यस्तै भिडभाड हुनसक्छ । धर्म संस्कृतिप्रतिको अगाध आस्थाले हो कि नेपालीहरू महामारीप्रति संवेदनशील देखिँदैनन् । तर कोरोनासँग त नजिस्किएकै उत्तम हो नि ।
महामारीका कारण मानिसको जमघट हुनै नसक्ने अवस्था भएकाले अब चाडपर्व मनाउने तरिकामा परिवर्तन आवश्यक देखिन्छ । इतिहास हेर्दा यस्ता महामारीहरु अन्त्य हुन वा पूरै नियन्त्रणमा आउन २–३ वर्ष लाग्ने गरेको देखिन्छ । आशा गराैँ कोरोना महामारी त्यसभन्दा छिटै अन्त्य हुनेछ । यसविरुद्धको खोप छिटै तयार हुनेछ । तर, त्यतिन्जेल त हामीले भौतिक दूरी कायम गरेरै चाडपर्व मनाउने व्यवस्था गर्नुपर्छ ।
सार्वजनिक यातायात सञ्चालन नभएको अवस्थामा पारिवारिक मिलन असम्भव भएकोले जो जँहा छौ त्यहीँ रहेर पर्व मनाउनु पर्नेछ । प्रविधिको क्षेत्रमा भएको विकासलाई उपयोग गर्दै ‘भर्चुअल’रुपमा चाडपर्व मनाउनुपर्ने बाध्यता छ । प्रविधिको उच्चतम प्रयोग गरेर आत्मीयता कायम राख्न प्रयासरत रहनुपर्छ । विशेषतः सहरी क्षेत्रमा विभिन्न सामाजिक सञ्जाल प्रयोग गरेर ४०–५० जना सजिलै सम्पर्कमा रहन सकिन्छ । यसरी भर्चुअल रुपमै भए पनि भेटघाटको कमी पूरा गर्न सकिन्छ । प्रत्यक्ष सहभागी हुँदाको न्यानो हार्दिकता त भर्चुअल भेटघाटमा पक्कै हुँदैन तर यी आत्मीयता कायम राख्न यी उत्तम विकल्प हुन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा पर्व मनाउने तरिकामा केही फरक हुन सक्ला तर कोरोनाको जोखिम भने सबैतिर भएकाले सबै सजग हुनै पर्छ ।
चाडपर्वको क्रमभंगताले हाम्रो सांस्कृतिक परम्परामा नकारात्मक असर त पुग्दैन ? एक वा दुई वर्ष पर्वहरु नमनाउँदा हाम्रो सांस्कृतिक गति रोकिन्छ भन्नु तर्कसंगत हुँदैन वार्षिकरुपमा गरिनु पर्ने कार्यलाई निरन्तरता दिनु हामी सबैको दायित्व हो । महामारीको समयमा आफ्नो र अरुको स्वास्थ्यको ख्याल गर्दै पर्व संस्कृतिको नियमितता कायम राख्नु र जगेर्ना गर्नुपर्छ । सामूहिक भेटघाट र जमघट कम गर्दै एकाघरका सदस्यमात्र बसी पर्व मनाउँदा सांस्कृतिक निरन्तरता पनि रहने र कोरोना नियन्त्रणमा सहयोग पनि पुग्ने हुन जान्छ । महामारीको समयमा “जे त होला“ “भगवानले बचाउनुहुन्छ“ जस्ता मूर्खतापूर्ण तर्क गरी मेलापर्व आयोजना वा चाडपर्व मनाउने गर्नु बुद्धिमानी हुँदैन ।
हाम्रो सानो गल्तीले समाज र देशलाई नै हानि पुग्नसक्ने हुँदा हामी सबै सचेत हुनु जरुरी छ । हामी बाच्यौँ भने आउने धेरै वर्ष चाडपर्वहरु धुमधामसँग मनाउन सक्नेछाैँ । कोरोना महामारी कहिले टुंगिन्छ, कसरी टुंगिन्छ भन्ने कसैलाई थाहा छैन यस अवस्थामा भविष्यमा चाडपर्वलाई कसरी उल्लासमय बनाउन सकिन्छ भनी चिन्तन गर्नु आवश्यक छ । नयाँ सामाजिक प्रयोगको परिक्षण आवश्यक छ । दशैको नवरात्रीमा विभिन्न मन्दीरमा हुने पूजाका क्रियाकलापहरुलाई स्थानीय टेलिभिजन, रेडियोमा प्रत्यक्ष प्रसारण गराई भक्तजनहरुलाई अप्रत्यक्ष रुपमा सहभागि गराउन सकिन्छ ।यसो गर्दा भक्तजनहरुले पूजाको दर्शन गर्न पनि पाउँछन भने कोरोना नियन्त्रण अभियानमा पनि ठूलो सहयोग मिल्दछ ।
परिस्थिति भिन्न रहेपनि हामीले पर्वको सामाजिक र सांस्कृतिक महत्वमा कुनै कमि आउन दिनु हुदैन । घर भित्रै रहेर पनि हामी पर्वहरुलाई धुमधामसगं मनाउन सक्दछौ । विस्तारित परिवार र इष्टमित्रसँग सामूहिकरुपमा चाडपर्व मनाउने समाजमा परिवारभित्रै सीमित रहेर मनाउनु चुनौतीपूर्ण छ । अर्कातिर, परिवारभित्रका ससाना विषयलाई उल्लासपूर्ण बनाउँदै रमाउनुको भने बेग्लै आनन्द छ । समाजको सबैभन्दा महत्त्वपूर्ण इकाइ परिवार हो यथार्थलाई यस महामारीले झन् बलियोसँग स्थापित गरेको छ । परिवारभित्रै रहेर सरसफाइ, परिकार तयार गरी एकाघरका जहानबीच सम्बन्धलाई थप मजबुत बनाउने अवसर महामारीले प्रदान गरेको छ ।
यस्तै, महामारीले हामीलाई चाडपर्वहरुको अध्ययन गर्न र महत्त्व बुझ्न पनि समय दिएको छ । आवश्यक भए सुधारको अवसर पनि दिएको छ । घरमा बालबालिकालाई पर्वहरुबारेमा थप जानकारी दिने अवसर अभिभावकलाई प्राप्त भएको छ । बालबालिकालाई पर्वहरूको महत्त्व राम्ररी बुझाउन सके भविष्यमा पर्वहरूको महत्त्व र उल्लास थप हुन जानेछ । समाजमा पर्व मनाउने नाममा हुने गरेका विकृति कम गर्न पनि परिवर्तित अवस्थाले सहयोग गरेको छ । तीजको दर खाने नाममा हुने गरेका विकृति यस वर्ष करिब शून्य रहनुले सुधारको संकेत गर्छ । महामारीले हाम्रो सोच्ने तरीकामा परिवर्तन ल्याउने हुँदा आगामी वर्षहरुमा पर्व मनाउने तरिकामा फरकपनको आशा गर्न सकिन्छ ।
कसैले कल्पना नगरेको यस परिस्थितिमा क्षतिलाई न्यून गर्न सबै नेपालीले सुझबुझ प्रदर्शन गरी यस वर्षका पर्वहरु परिवारभित्रै रहेर हर्षोल्लासका साथ मनाऊँ । धर्म, संस्कृतिको संरक्षण र प्रवर्धन तथा कोरोना नियन्त्रणका दुवै अभियानमा स्वास्थ्य र सुरक्षा मापदण्ड पालना गरी सावधानीपूर्वक परिवारभित्रै बसेर सहभागी होऊँ ।