
काठमाडौं । रोषेश श्रेष्ठ बिहान पाँच बजे उठ्छन् । खाजा नखाई उनको पहिलो पाइला मैदानतिर मोडिन्छ । दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका- १ मा रहेको सरस्वाती नमुना स्कुल मातहतको फुटबल मैदान उनको दैनिकी सुरुवात गर्ने पहिलो गन्तव्य हो । सन् २००७ मा पढाइको सिलसिलामा अस्ष्ट्रेलिया पुगेका उनी सन् २०१३ मा नेपाल फर्किका थिए । आफ्नै देशमा केही गर्नुपर्छ भन्दै स्वदेश फर्किएका उनको पहिलो रोजाइ समाजसोवा बन्यो ।
उनी आफू फुटबल खेलाडी भएकाले पनि होला उनको रुचि खेलकुदमा लाग्यो । उनले विदेशिनुभन्दा पहिले थुप्रै कलेजस्तरीय प्रतियोगिता खेलेका थिए । उनी सन् २००४ मा काठमाडौं भित्रिएपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने प्रयाससमेत गरेका थिए । तर, विदेशको भिसा र सरस्वती युथ क्लबले बोलाउनु एकैपटक भएपछि उनी विदेशिएका थिए ।
श्रेष्ठ विदेशमा रहँदा उनले बाल्यकालमा खेलेको मैदान विस २०६३ सालको पहिरोले भत्काएको थियो । पहिरोले मैदानको करिब एक तिहाइ भाग भत्काएर लग्यो । मैदानको 'बेस' नै पहिरोले भत्काएपछि सबैले मैदानको माया मारेका थिए । तर, उनले भने आफूले फुटबल खेलेको मैदानमो माया चटक्कै मार्न सकेनन् । उनले केही साथी थुपार्दै यस मैदानको स्तारोन्नतीका लागि ‘फुटबल फर एभ्रिवान’ नारासहित अगाडि बढे ।
“सबैले मैदानको माया मारीसकेका थिए । सरकारी स्तर र स्थानीय तहबाट कुनै चासो थिएन्,” उनले भने, “हामी दुई-चार जानले मैदान संरक्षण गर्नुपर्छ भनेर लाग्यौं । अहिले पहिरोले लगेको मैदानको केही भाग पुरानै अवस्थामा फर्किसकेको छ । यतिबेला हामीले 'इलाभेन ए' साइड फुटबल खेल्न सक्ने मैदान बनाइसकेको छौं ।”
यसै क्रममा मैदान संरक्षण अभियानमा जुटेका अन्य युवाहरुलाई समेट्दै उनले विस २०७३ सालमा खोटाङ फुटबल एकेडेमीको स्थापना गरे । एकेडेमीमा प्रशिक्षणको जिम्मा भने उनले नै लिएका थिए ।
एकेडेमी र मैदानलाई सँग-सँगै अगाडि बढाउने अभियानमा लाग्दा-लाग्दै उनले यस मैदानलाई एक नमुना मैदान बनाउने सोच्न थाले । फुटबल प्रेमीसँग सहकार्य गर्न थाले । युवाहरुसँग मिल्दै पहिरोले लगेको मैदानको 'बेस'बाटै पर्खाल उठाउन थाले । मैदानलाई पूर्णस्वरुप दिने कार्य गरिरहेका छन् । फटेको मैदान सिउन थाले । तर, अझै थोका छैनन् ।
लकडाउनमा रोपिएको घाँस
उनले आफ्नो एकेडेमीका खेलाडीलाई त्यही मैदानमा दिनहुँ प्रशिक्षण दिँदै आएका थिए । बिहान खेलाडीलाई प्रशिक्षण र त्यसपछिको समय उनको मैदानको स्तरोन्नतीमा लाग्थ्यो । लकडाउन अघि मैदान धुलाम्य थियो । धुलोले प्रशिक्षणमा खेलाडीलाई समस्या भइरहेको थियो । तर, पछिल्लो समय मैदानले स्वरुप फेरेको छ । मैदान हरियाली बनेको छ ।
लकडाउनका बेला खाली भएका श्रेष्ठले त्यो पूर्ण समय मैदान बनाउन खर्चे । उनले मैदानमा हरियो घाँस उमार्न दिनहुँ खटिए । अरु केरोनाको डरमा रहे पनि उनी भने मैदानको संरक्षण कसरी गर्ने भन्ने चिन्तामा थिए । मैदानले हरियाली स्वरुप फेरेपछि हाल उनी र उनका सहमकर्मी निकै नै खुसी देखिएका छन् ।
“हाल मैदान खेल्न योग्य बनेको छ । तर घाँस उम्रिदै गरेकाले हामीले दसैंसम्मका लागि कुनै गतिविधि गर्न दिएका छैनौं । हामी दसैंपछि यसै मैदानमा खेल्न सुरु गर्नेछौं,” मैदान संरक्षण अभियन्ता श्रेष्ठले भने, “हामीले लोकल दुबोलाई मैदानमा रोपेका छौं । मैदान सम्याएका छौं । मैदानमा भएका खाल्डाखुल्डी पुर्ने काम गरेका छौं ।”
मैदान सम्याउन डोजरको प्रयोग गरे । वरिपरीको डाँडामा भएको दुबोलाई गाडीमा राख्दै मैदानसम्म पुर्याइयो । त्यसको सबै खर्च उक्त अभियानमा जुटेका सबैले मिलेर तिरेको उनले सुनाए । “यो मैदानलाई यतिकै खेर जान दिनुहुन्न, संरक्षण गर्नुपर्छ भन्ने एक नसा बनिसक्यो । जुन हामी गरेर पनि देखाउँछौ,” उनले भने ।
सरकारीस्तरबाट सहयोग नभए पनि अन्य युवाको सहयोग रहेको उनले सुनाए । कुनै-कुनै समय भने गाडीहरुले सित्तैमा मैदान संरक्षणका लागि काम गरिदिएको उनले बताए । उनले मैदान सम्याउन प्रयोग गरेको डोजरलगायत थुप्रै खर्च व्यक्तिगत भए पनि यकिन तथ्यांक भने नभएको बताए ।
लाहुरेको सहयोग, स्थानीय सरकारको आश्वासन
उक्त क्षेत्रका लाहुरेहरुले मैदानको संरक्षणका लागि सहयोग गरिरहेको श्रेष्ठले बताए । उनले मैदानमा संरक्षणका क्रममा आर्थिक समस्या पर्दा विदेशी भूमिमा रहेका नेपालीले सहयोग गर्दै आइरहेको बताए । तर, प्रदेश सरकार र स्थानीय सरकारले भने आश्वासन मात्र दिएको उनको गुनासो छ ।
सात हजार दर्शक क्षमताको स्डेडियम बनाउने भन्दै उक्त मैदानमा डिपिआर समेत भएको थियो । प्रदेस १ का मुख्यमन्त्री शेरधन राईले गत वर्ष खोटाङको एक कार्यक्रममा उक्त मैदानलाई ठूलो बनाउने भन्दै भाषण दिएका थिए । तर, आर्थिक वर्षको बजेटमा भने उक्त मैदानका लागि कुनै बजेट विनियोजन हुन सकेन ।
“मुख्यमन्त्रीले बोल्नु मात्र भयो । ठूलो मास भएको कार्यक्रममा यस मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने भाषण दिएर जानुभयो । तर, अहिलेसम्म एक पैसा पठाएको पनि छैन, हामीले पाएका पनि छैनौं,” मैदना संरक्षण अभियन्ता श्रेष्ठले भने, “हुन त स्थानीय सरकाले पनि गत वर्ष हामी बनाउछौं भनेर भनेको थियो । खोई, अहिलेसम्म कता हरायो पत्तो छैन । उतिबेला मैदान निर्माणमा ७० प्रतिशत प्रदेश सरकार र ३० प्रतिशत स्थानीय सरकारले खर्च व्यहोर्ने भनेको थियो । अहिले बजेटमा एक पैसा परेको छैन ।”
प्रदेश र स्थानीय सरकारको आश्वासन मात्र भएकाले मैदानमा स्टेडियम निर्माणका लागि पनि आफैं अगाडि बढिरहेको अभियन्ता श्रेष्ठले जानकारी दिए । खेलप्रेमीहरुसँग सानो-सानो रकम गर्दै जम्मा गरेर स्टेडियमको कार्य पनि छिट्टै अगाडि बढाउने योजना बनाएको बताए ।
एकेडेमीमा निशुल्क प्रशिक्षण
खोटाङका बालिबालिकालाई खेलकुदमा अवसर मिलोस भन्ने हेतुले फुटबल एकेडेमी सञ्चालन गरेको उनले बताए । उनले स्कुलको नाममा रहेको जमिनलाई संरक्षण गर्न पाँच वर्षका लागि लिजमा लिँदै प्रशिक्षण दिइरहेको बताए ।
“सुरुवातमा हामी १०-१२ जना मिलेर करिब दुई लाख संकलन गर्दै एकेडेमी सञ्चालन गरेका थियौं । मैदान पनि स्कुलको नाममा छ । हामीले संरक्षण गर्ने भन्दै पाँच वर्षका लागि लिजमा लिएका छौं,” श्रेष्ठले भने, “पहिरो गएपछि मैदान ५८ मिटर मात्र बाँकी थियो । अहिले हामीले ८६ मिटर बनाएका छौं ।”
एकेडेमीमा हाल ६० जना खेलाडी रहेको उनले बताए । एक-एक सिनियर टोली, उमेर समूह र महिला गरी एकेडेमीमा तीन टिम रहेको बताए । उनले एकेडेमी विदेशी सहयोबाट सञ्चालन गर्दै आएको बताए ।
“अहिलेसम्म हामीले विदेशी सहयोगबाट एकेडेमी सञ्चालन गर्दै आइरिहेका छौ । मैदान संरक्षण पनि दिवेशी सहायताबाट नै हो,” उनले भने । कहिलेकाहीँ सहयोग अपुग हुने भएकाले खेलाडीबाट वर्षको एक हजार मात्र लिने गएको उनले बताए । प्रशिक्षणका लागि मासिक कम्तिमा दस बल र आवश्यक सामग्रीहरु खरिद गर्नुपर्ने भएकाले खेलाडीबाट वर्षको एक हजार रुपैँया लिने गरेको बताए । यसका लागि पनि अपुग रकम एकेडेमीका सदस्यहरुले मिलेर तिर्दै आएको उनले बताए ।
एकेडेमीबाटै काठमाडौंका कलेजमा छात्रवृत्ती
विसं २०७३ सालमा एकेडेमीले पहिलो पटक क्लबस्तरीय प्रतियोगिता आयोजना गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) मा जिल्ला दर्ता गराउनका लागि एकेडेमीले क्लबस्तरीय प्रतियोगिता आयोजना गरेको थियो । त्यसै प्रतियोगिताबाट खोटाङको १० वटा क्लब एन्फामा दर्ता भएका थिए । त्यसलगत्तै खोटाङले एन्फामा अस्थायी सदस्यता पाएको उनले जानकारी दिए ।
“प्रत्येक वर्ष हामीले स्कुलस्तरीय महिला र क्लबस्तरीय गरी तीन प्रतियोगिता आयोजना गर्दै आएका छौं । तीनै प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीलाई काठमाडौंका कलेजमा छात्रवृत्ती प्रदान गर्ने गरेका छौं,” श्रेष्ठले भने, “एसईई पास गरेर काठमाडौं पढ्न जाने खेलाडीका लागि माहीले बस्न खान बाहेक कलेज शुल्क निशुल्क गर्ने गरेका छौं । काठमाडौंका धेरै जसो कलेजले हामीलाई छात्रवृत्तीका लागि प्रस्ताव गरेका हुन्छन् । हामीले प्रतियोगिताका दौरान उनीहरुको विज्ञापन गरिदिएका हुन्छौं । विज्ञापनका लागि हामीले पौसा लिएका छैनौं । त्यसैले पनि कजेलले प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई छात्रवृत्ती दिने गरेको छ ।”
यसै वर्ष मात्र खोटाङका २१ जना खेलाडीले छात्रवृती पाएको उनले बताए । तर, कोरोना महामारी कारण बसै क्षेत्र बन्द भए पनि त्यसको अन्तिम टुङ्लो लाग्न बाँकी रहेको बताए ।
“पहिलो वर्ष हामीले काठमाडौंको कलेजमा ११ जना खेलाडीलाई छात्रवृती दिलाएका थियौ । त्यसपछि ७ र यस वर्ष २१ जनाको कुरा भएको छ,” उनले भने, “हामीले खेलकुद र पढाइमा राम्रो भएकाहरुलाई अगाडी बढ्न सहज होस भनेर कजेससँग छात्रवृत्तीका लागि सहकार्य गरेका हौं ।” उनले अन्तर विद्यालय प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई एन्फामासमेत छनोट खेल्न पठाएको बताए ।