काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढ्दो क्रममा छ । काठमाडौं उपत्यकाका बासिन्दाले अझै पनि हेलचेक्रयाइँ गरे कोरोनाको ‘नयाँ हटस्पट’ बन्ने जनस्वास्थ्यविज्ञहरू बताउँछन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनका अनुसार अबको कोरोनाको ‘हटस्पट’ काठमाडौं उपत्यका बन्ने पक्का छ । उनले भने, “कोरोना वा जुनसुकै महामारी नियन्त्रणमा गर्न एक तहले मात्र गरेर हुदैन सबै तहका व्यक्ति मिलेर लाग्नुपर्छ ।”
काठमाडौं सुरक्षित रहेको भन्दै अन्य जिल्लाबाट सर्वसाधारण भित्रने क्रम नरोकिएकाले पनि अत्यधिक जोखिम बढेको उनी बताउँछन् । उनले मानव शरीरमा भाइरस प्रवेश गर्नासाथ संक्रमण नदेखिए पनि अन्यमा भने सहजै सर्न सक्ने बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले पनि काठमाडौं देखिएका संक्रमित उपत्यकाबाहिरका धेरै रहेको जानकारी दिए । उनका अनुसार स्वाब दिएर पोजेटिभ आएका केही मानिसले गलत ठेगाना वा नम्बरका कारण कन्ट्याक ट्रेसिङमा समस्या आएको देखिन्छ ।
महाशाखाका निर्देशक एवं संक्रमण रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले उपत्यका बासिन्दाले लापरबाही गरेको बताउँछन् । उनले यही लापरबाहीका कारण उपत्यकामा संक्रमणको जोखिम बढेको बताए । काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गएको हुदा सतर्कता अपनाउन पनि उनले आग्रह गरे ।
“उपत्यकामा जनघनत्व बढी छ । नागरिकले सहयोग गरेनन् भने अवस्था जटिल हुन सक्छ,” उनले भने, “आम मानिसले कोरोना महामारीलाई गम्भीरतापूर्वक नलिनु अर्थात् खेलाँची गरेको देखिएको छ । जोखिम बढेको हुँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ ।” उनले कोरोनाबाट सरकारले मात्र होइन सर्वसाधारणले समेत सतर्कता अपनाउनुपर्ने भन्दै सुझाए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना परीक्षणका लागि नमुना दिएर पीसीआर रिपोर्ट नआउँदासम्म होम आइसोलेनमा बस्नुपर्ने बताए । उनका अनुसार कोरोनाका लागि नमुना दिएर हिँड्ने गर्दा कोरोना नेगेटिभ भए पनि पुनः संक्रमण देखिने सम्भावना रहन्छ ।
कोरोनाको हटस्पटका स्थान वा ठाउँबाट आउने मानिसलाई काठमाडौं भित्रनबाट रोक्नु नै मुख्य विकल्प रहेको जनस्वास्थ्यविज्ञहरू बताउँछन् । संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार कोरोना संक्रमितको संख्या बढिरहेको तथ्याङ्कले समेत काठमाडौं हटस्पट बनेको देखिन्छ । उनले भने, “अधिकांश अस्पतालमा चिकित्सक र नर्सहरू संक्रमित भइरहेको हेर्दा पनि हटस्पट बनेको देखिन्छ ।”
उनका अनुसार एउटा कोरोना पोजेटिभ व्यक्तिलाई कन्ट्याक ट्रेसिङ गर्दा तीनदेखि चार घण्टासम्म लगाएर अन्तर्वार्ता लिनुपर्छ किन भने त्यो व्यक्ति संक्रमित भएको सात–आठ दिन भएको हुन सक्छ । त्यो समयमा धेरै व्यक्तिमा भेटेको हुन सक्छ । “ती भेटिएका व्यक्तिहरूको नाम, नम्बर लिएर लक्षण भए–नभएको बुझ्ने परीक्षण गर्न बोलाउने, क्वारेन्टिनमा राख्ने वा होम आइसोलेनमा बस्न भन्ने गर्दा अन्य ४ देखि ५ जनामा थप कोरोना देखिन सक्छ,” उनले भने, “त्यसको पनि सोहीअनुसार कन्ट्याक ट्रेसिङ गरे समुदायमा अन्य धेरैमा कोरोना फैलदैन । अस्पतालमा संक्रमितको चाप पनि बढ्दैन । तर अहिले कन्ट्याक ट्रेसिङ प्रभावकारी नहुँदा अस्पतालमा आइसोलेन आईसीयू शय्या नपुग्ने चुनौती थपिएको छ ।”
उनका अनुसार इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका रहेको जनशक्तिले कन्ट्याक ट्रेसिङ गर्न सम्भावना थोरै रहन्छ । “अहिले महाशाखाले संक्रमितलाई फोन गर्ने र तपाईंका घरका दुईदेखि तीनजना मान्छे पीसीआर परीक्षण गर्न जान भनिएको देखिन्छ, यसरी गर्दा अधिकाश संक्रमितहरू छुटिरहेका छन्,” उनले बाह्रखरीसँग भने ।
काठमाडौं उपत्यकका उच्च जोखिममा रहेका समूहमा स्वास्थ्यकर्मी र चिकित्सकलगायत छन् । उनीहरूको पीसीआर परीक्षण गर्ने हो भने धेरै संक्रमित पत्ता लाग्ने पनि डा. सुवेदीले जानकारी दिए ।
कोरोनाबाट बच्न मास्क लगाउने, बन्द कोठामा एक–दुई जनाभन्दा बढी मानिस नबस्ने, भौतिकदूरी कायम राख्ने, स्यानिटाइजरको प्रयोग वा साबुनपानीले हात धुनुपर्ने उनले सुझाए ।
यसैगरी, जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले काठमाडौं उपत्यकामा जुनसुकै समयमा गम्भीर अवस्था आउने बताउँछन् । महामारीको समयमा संक्रमित क्षेत्रका व्यक्तिहरू संक्रमण कम भएको, नभएको क्षेत्रमा वा जनघनत्व बढी भएको क्षेत्रमा आवजात निषेध गर्नुपर्ने उनी बताउँछन् ।
उनका अनुसार यदि बिरामी र अत्यावश्यक काम भएका व्यक्तिहरूलाई प्रस्थानविन्दुमा नमुना लिएर पीसीआरको रिपोर्ट नआएसम्म घरमै बस्नुपर्ने हुन्छ । “काठमाडौंका नाकामा पुनः कोरोना परीक्षण गर्नुपर्छ । नाकामा लिएको स्वाब छिटो रिपोर्ट दिने ल्याबलाई प्राथमिता दिएर नमुना संकलन गर्न लगाएर रिपोर्ट आएपछि पोजेटिभ देखिए आइसोलेसनमा राख्नुपर्छ,” उनले भने, “यदि रिपोर्ट नेगेटिभ आए १५ दिन होम क्वारेन्टिनमा बस्ने गरी काठमाडौं भित्रन दिए संक्रमणको संख्या कम हुने पक्का छ ।”
उनले नेपाल प्रहरीको तथ्यांक उद्धृत गर्दै विभिन्न जिल्लाबाट दैनिक तीन हजार सवारीसाधन काठमाडौं भित्रने गरेको बताए । उनले भने, “भारत र कोरोना संक्रमित क्षेत्रबाट पछिल्लो समय काठमाडौं सुरक्षित रहेको भनेर बच्न वा उपचारका लागि आइरहेको देख्न सकिन्छ ।”
यदि कोही व्यक्ति कोरोना प्रभावित जिल्लाबाट काठमाडौं उपत्यका जान थाले त्यहीकै स्थानीय तहले पीसीआर परीक्षण गरेर मात्र आउजाउ गर्न दिनुपर्ने उनले बताए । काठमाडौं उपत्यकामा कोरोना फैलिएको अवस्था हेर्दा डरमान्नुपर्ने डा. पाण्डे बताउँछन् । “सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, सञ्चारकर्मी र मजदुरमा कोरोना देखिएको छ । एकै स्थानमा धेरैजना सुत्ने, सँगै काम गर्ने व्यक्तिमा संक्रमण देखिएको छ,” उनले भने, “स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कोरोना संक्रमित हुँदा आममानिसमा कोरोना सर्ने डर धेरै हुन्छ ।”
उनका अनुसार आज कोरोना नेगेटिभ देखिएको व्यक्ति सात दिनपछि पोजेटिभ देखिनसक्छ । उनले यसका लागि पनि सरकारले परीक्षणको दायरा बढाउँदै लैजानुपर्ने बताए ।
“सरकारले मास्क लगाउने मात्र भन्ने होइन, मास्क बनाउने मेसिन, कपडा वा कच्चा पदार्थमा कर छुट गरेमा २ देखि ३ रुपैयाँमै मास्क पाइन्छ, यदि तीन रुपैयाँमा मास्क पाए धेरैले लगाउने सम्भावना रहन्छ,” उनले बाह्रखरीसँग भने, “स्यानिटाइजर कम्पनीहरूलाई पनि कर छुट दिएर पाँच रुपैयाँमा स्यानिटाइजर पाइए धेरैले प्रयोग गर्छन् ।”
फाइल तस्बिर ।