.jpg)
काठमाडौं । भदौं १ देखि हवाई सेवा पुनः सञ्चालनको सम्भावना कमजोर बनेको छ । सरकारले भदौ १ देखि आन्तरिक तथा बाह्य हवाई सेवा सञ्चालन गर्ने निर्णय गरे पनि पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएपछि हवाई सेवा थप केही समय प्रभावित हुने देखिएको छ ।
केही दिनअघि गृह मन्त्रालयमा भएको छलफलमा पनि संक्रमणको जोखिम बढ्दै गए तत्काल हवाई सेवा खुलाउन उपयुक्त नहुने बताइएको थियो । “भदौ १ देखि आन्तरिक तथा बाह्य दुवै हवाई सेवा पुनः सञ्चालनमा ल्याउने निर्णय गर्दा कोरोना संक्रमण घट्दो अवस्थामा थियो, अहिले बढेको छ । त्यसैले तत्काल हवाई सेवा खुल्ने सम्भावना कम छ,” स्रोतले भन्यो ।
संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको उक्त निर्णय पछि अन्तर्राष्ट्रियतर्फ दैनिक १४ उडान र आन्तरिकतर्फ ३७ उडान गर्न दिने निर्णय गरेको थियो । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले दैनिक १४ र ३७ उडान गर्न दिने निर्णय गरेको बताए । तर, अब भदौं १ देखि हवाई सेवा सञ्चालन हुने-नहुने सीसीएमसीको निर्णयमा भर पर्ने उनले बताए ।
“हामीले पहिलेको निर्णय अनुसार नै अगाडि बढ्ने तयारी गरेका छौं । सीसीएमसीले हाम्रो प्रस्तावबारे के गर्छ त्यसपछि नै थाहा हुन्छ । सीसीएमसीले जे निर्णय गर्छ, सोही अनुसार हामी अगाडि बढ्छौं”, उनले भने ।
भदौ १ देखि हवाई सेवा नखुलाउन सुझाव भने मन्त्रालयले नदिएको उनले बताए । “हामीले त सेड्यूल बनाइसकेका छौं तर सीसीएमसीले के निर्णय गर्छ” उनले भने । स्रोतका अनुसार हवाई सेवा पुनः सञ्चालनमा ल्याउने वा नल्याउने विषयमा दोधार भएर नै हवाई सेवासम्बन्धी प्रोटोकल सरकारले पास गरिसकेको छैन ।
यता, सरकारको भदौ १ देखि हवाई सेवा खुलाउने निर्णय गरे लगत्तै आन्तरिक तथा बाह्य हवाई सेवा प्रदायकहरुले नियमित हवाई सेवा संचालन तयारी गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बाह्यतर्फका १३ वटा कम्पनीले नियमित हवाई सेवाको अनुमती दिन निवेदन दिएका छन् । तर, निर्णय भने भईसकेको छैन ।
आन्तरिकतर्फका हवाई सेवा कम्पनीले आफ्ना दैनिक गन्तव्यको उडान भाडादर समेत सार्वजनिक गर्दै बुकिङ्ग समेत लिइसकेका छन् । कोरोना संक्रमण रोक्न भन्दै सरकारले गत चैत्र ९ गतेदेखि नियमित हवाई सेवा प्रतिबन्ध लगाउँदै आएको छ ।