देशमा राजनीतिक पद्धति र सरकार बदलिँदा र केही मात्रामा भौतिक सुविधा थपिँदा पनि गाउँहरूमा खासै परिवर्तन भएको देखिँदैन । नामले होइन कामले चिनिने बानी परेका विदेशी जनताले परिश्रम एवं संघर्षबाटै उद्यमी बनिन्छ भन्ने चरितार्थ गरेका छन् ।
अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि एवं साना तथा घरेलु उद्योग पनि युवाको वैदेशिक रोजगारसँंगै पलायन भएका छन् । स्वाभाविक परिवर्तनलाई बिकास मान्ने हो भने दक्षिण कोरिया तथा चीनको आर्थिक उन्नतिलाई के भन्ने ? अस्वाभाभिक परिवर्तन र विभिन्न कालखण्डमा भएका घटनालाई हेर्दा हाम्रो देशमा सधैँजसो आर्थिक विकासका पक्षलाई आझेलमा पारिएको छ ।
जुनसुकै समयमा पनि राजनीतिक बहस एवं न्यायालयको चर्चाबाहेक कुन दिन पो हामले आर्थिक मामिलाको बहस गरेका छौँ र? विश्वकै शक्तिशाली मुलुक भनिने अमेरिकामा सन् १८०० को दशकमा कार्यान्वयन गरिएका योजना हाम्रो मुलुकमा अहिले अगाडि सारिँदै छ । बजेट र योजनामा सीमित हाम्रा आर्थिक एजेन्डा बाटो निर्माण एवं पुल निर्माणमा सीमित छन् ।
उद्यमीलाई सबल बनाउने सकारात्मक परिकल्पना एवं योजना माथिको छलफल कुनै पनि स्थानमा सुरु भएका छैनन् । आफ्नो परिश्रम एवं प्रतिभाबाट स्नातकोत्तर उपाधि हासिल गरेका युवाजेनतेन जीवन धान्दैछन् ।
आफ्नो जीवनकालको कुनै पनि समयमा उद्यमी बनाउने सपना कागजका पानामा सीमित गरिँदैछ । बिकासका नाममा बैंक तथा वित्तीय क्षेत्रबाट परिचालित ऋण पनि अनुत्पादक क्षेत्रमै सीमित छन् ।
उत्पादनलाई प्राथमिकतामा राखिएका योजनाहरुले गति लिनसकेका छैनन् । ग्रामीण भेगमा रहेका बाबुआमालाई विदेशमा बस्ने सन्तानले चाहेर पनि सहारा दिनसकिरहेका छैनन् । यस्तो विकराल अवस्थाको न कुनै समाधान नै खोजिएको छ न त कुनै सकारात्मक परिवर्तनको बाटोतर्फ हाम्रा हात अगाडि बढेका छन् ।
बुद्धको भूमिका रूपमा चिनिएकोे देशप्रति पनि देश प्रेमी युवाको देशप्रतिको वितृष्णा बढ्नु पक्कै पनि सकारात्मक पक्ष होइन । साँच्चीकै हामीले आज कुनै पनि क्षेत्रमा गर्व गर्ने उल्लेखनीय प्रगती गर्न सकेका छैनौ ।
यस्तो अवस्था बाधिएर रहेका हातलाई सिर्जनशीलता, मेहनत र इमानदारीको बाटोतर्फ लम्काउन नखोजेर नेतृत्व के हेरेर बसिरहेको छ ?
अर्थतन्त्रमा स्वाभाविक परिवर्तन होइन उद्यमशील परिवर्तनको खाँचो छ । ग्रामीण भेगमा पाका पुस्ताको मात्र होइन उद्यमशील युवाको खाँचो छ । आज यस्ता योजना मन्त्रालयको छलफलमा सीमित नराखेर सर्वसाधारणको घरआँगनमा पु¥याउनु छ । हामीलाई विकासको अनुभव आवश्यक छ ।
सक्षम जनशक्ति विदेशी भूमिबाट फर्काएर आफ्नै आमाको काखमा बसाउनु छ । देश कुनै नेता वा अमुक व्यक्तिको होइन । तमाम युवाको कर्मभूमि हो । त्यसैले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीले अब आर्थिक विकासमार्फत् देशलाई निकास दिने समय आएको छ ।