काठमाडौं । काठमाडौंमा प्रहरीले बरामद गरेको भनिएको नक्कली सुन र पेस्तोल बरामद प्रकरण विवादमा परेको छ । प्रहरीले मंगलबार बिहान काठमाडौंको कमलादीबाट साढे १४ किलो नक्कली सुन र हतियार बरामद गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । जसमा आधाकिलो सक्कली सुनसमेत थियो । तर तस्करले प्रयोग गरेको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो सोही नक्कली सुन र हतियार भएको पेस्तोलको झोला फालेर भागेको प्रहरीले जनाएको थियो ।
सो गाडी ललितपुरमा भेटिएको थियो भने प्रहरीले तीनजनालाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा निलेश सखिया, विजय पटेल र देवान सिंह छन् । बाराका इल्ताफ हुसेन अन्सारी र सञ्जय पटेल फरार छन् । प्रहरीले पत्रकार सम्मेलनमा कमलादीबाट सुनसहितको झोला बरामद गरेको बताए पनि सुन्धाराबाट झोला बरामद भएको खुलेको थियो । नक्कली सुनबारे सबैलाई चासो भए पनि हतियारको विषय भने चासोको विषय बन्न सकेन ।
तर बरामद भएको पेस्तोल नेपाल प्रहरीले प्रयोग गर्र्दै आएको हतियार हो । भारतीय समूहसँग कसरी त्यो पेस्तोल आइपुग्यो ? प्रहरीले यसबारे चासो नदिएको स्रोत बताउँछ ।
पेस्तोल छ गोली छैन
प्रहरीले झोलाबाट साढे १४ किलो सुनको जलप लगाएको चाँदी, आधा किलो सुन र CAL. 30 MAUSER MADEL CHINA लेखिएको २ थान पेस्तोल र २ थान म्यागेजिन बरामद गरेको बताएको थियो । तर गोली भेटिएन । पेस्तोल भेटिने तर गोली नभेटिनु अर्को रहस्यको विषय बनेको छ । प्रहरीले बरामद गरेको भनिएको पेस्तोल नेपाल प्रहरीबाहेक नेपालमा अन्य सुरक्षा निकायले प्रयोग गर्दैनन् ।
एक प्रहरी अधिकारीले भने,“नेपाल प्रहरीले प्रयोग गर्ने यो हतियार भारतमा पनि किन्न पाइँदैन । एकातिर गोली बरामद नहुनु र अर्कोतिर पेस्तोलमात्रै भेटिनु शंकास्पद छ । पेस्तोल कताबाट, कोबाट कसरी आइपुग्यो यतापट्टी अनुसन्धान केन्द्रित भएको देखिँदैन ।”
नक्कली सुनकै लागि पेस्तोल किन बोकियो ?
प्रहरी अनुसन्धानका अर्को प्रश्न उठेको छ–नक्कली सुनका लागि पेस्तोल किन बोकियो ।
एक प्रहरी अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, “भारतबाट आएका उनीहरुले पेस्तोल किन बोके ? उनीहरुले हतियार बोक्नुको कारण के थियो ? यदी सुन भारत लैजाने योजना थियो भने नेपालमा किन हतियार बोके ? यी प्रश्नको जवाफ प्रहरीले दिनुपर्थ्यो तर त्यसो भएको पाइएन ।”
भारतबाट आएका भनिएका पटेल दाजुभाइ कहिले नेपाल आएका थिए ? त्यो पनि स्पष्ट नभएको प्रहरी अधिकारी नै बताउँछन् ।
उनीहरु काठमाडौं पहिलोपटक आएका हुन् वा यसअघि पनि आइसकेका थिए ? उनीहरुको कनेक्सन नेपालमा को–कोसँग थियो ? प्रहरीले गहिरिएर अनुसन्धान गर्न नखोजेको संगठनकै कतिपय अधिकारीको आरोप छ ।
नक्कली सुनकै लागि किन करोड खर्च ?
यहाँनेर अर्को प्रश्न पनि उब्जिएको छ कि नक्कली सुनकै लागि किन करोड बढी रकम खर्च भयो । किनभने आधा किलो सुन बरामद भएको छ । त्यसबाहेक साढे १४ किलो चाँदी र त्यसमा पनि सुनको जलप लगाइएको छ । यो सबै गर्दा झन्डै १ करोड बराबर खर्च भएको अनुमान छ । चाँदीमा सुनको जलप लगाएर भारत लैजानका लागि त्यो समूह नेपालमै आउनुपर्ने कारण नरहेको कतिपय प्रहरी अधिकारी देख्छन् ।
एक अधिकारीले भने,“चाँदीमा जलप लगाएर भारतमा सुन भनेर बेच्ने कुरामा त्यति दम देखिन्न । चाँदी त भारतमा पनि नेपालकै जस्तो मूल्यमा पाउँछ । त्यो गिरोहले भारतमै पनि चाँदीमा सुनको जलप लगाउन सक्थे नि ! यसमा लागि नेपालमा आएर यत्रो जोखिम किन मोल्नुपर्थ्यो ।”
कतै सक्कली सुुन त लुकाइएन ?
प्रहरीले नक्कली सुन बरामद गरेको बताए पनि कतै सक्कली सुन त लुकाइएन भन्ने आशंका पनि छ । एक अधिकारी भन्छन्,“नक्कली सुन पक्राउ पर्नु, त्योसँगै हतियार पक्राउ पर्नु । तत्काल गाडी बरामद नहुनु, अभियुक्त फरार हुनु हेर्दा सामान्य लागेपछि घटनाक्रमसँग मेल खाँदैन । उनीहरुले सक्कली सुन लुकाएर नक्कली सुन देखाउँदै प्रहरीले साटेको भन्नका लागि पनि जानी जानी योजना बनाएका हुनसक्छन् । जसमा प्रहरी फसेको हुनसक्छ ।”
घटनाका मुख्य अभियुक्तको यकिन किटान प्रहरीले गर्न सकेको छैन । पक्राउ परेकाहरु सुनका लगानीकर्ता हुन या भरिया खुलेको छैन । लकडाउनको समयमा सीमाबाट भारतीय नागरिक सहज नेपाल आउन सक्दैनन् । तर पटेल दाजुलाई सहज नेपाल आए । बाराबाट इल्ताफ हुसेनको गाडीमा काठमाडौं पुगे । बिनापास उनीहरुलाई रोकतोक भएन । कतै उनीहरुको कनेक्सन प्रहरीसँग पहिलेबाटै त थिएन ? अर्को आशंका छ ।
युनुस अन्सारीसँग कसरी जोडियो ?
प्रहरीले यही घटनामा संग्लन रहेका भनिएका तर फरार रहेका इल्ताफ हुसेन अन्सारीको कनेक्सन जाली नोट कारोबारमा जेलमा रहेका युनिस अन्सारीसँग रहेको अनौपचारिक रुपमा बताइरहेको छ ।
यसको आधार हो इल्ताफ हुसेन पनि जाली नोट कारोबारमा जेल परेकाले । तर पक्राउ परेका तीनजनाको नेपालमा को–को सँग कनेक्सन थियो प्रहरीले खोजेको छैन । सतही रुपमा इल्ताफ हुसेन र युनुसको सम्बन्ध देखाइए पनि सुक्ष्म रुपमा केलाइएको छैन । यसका लागि युनिस र उनको परिवारका सदस्यबाट समेत अनुसन्धान सुरु गर्नुपर्ने कतिपयको तर्क छ ।
बरामद होइन प्रहरीलाई दिइएको थियो सुन
प्रहरीले घटनाको अनुसन्धानका लागि भन्दै छानबिन समिति गठन गरेको छ । समितिका एक सदस्यका अनुसार प्रहरीले नै सक्कली सुन सम्झेर नक्कली सुन लुट्न खोजेको खुलेको छ । पक्राउ परेका विजय पटेल र फरार रहेका संजय पटेल दाजुभाइ हुन् । उनीहरु दुवै भारतबाट नेपाल प्रवेश गरेर बाराबाट इल्ताफको गाडीमा काठमाडौं पुगेका थिए ।
सोही क्रममा मनिस मल्लिकको पसलमा बरामद भएको चाँदी किनेर सुनको जलप लगाएका थिए । महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई प्रहरी जवान प्रसन्न श्रेष्ठ र बहादुरसिंह कडायतले सुनबारे सूचना दिएका थिए ।
सूचनापछि बा ६ च ५५१९ नम्बरको स्कोर्पियोको पिछा गरिरहेको थियो । स्कोर्पियोमा रहेका इल्ताफसहितको टोलीले प्रहरीले पिछा गरिरहेको सुराक पाएपछि सुन्धारामा गाडीभित्रै रहेका निलेश साखियालाई नक्कली सुन र २ वटा पेस्तोल भएको झोलासहित झारे । निलेशलाई बसमा चढेर आउन भनियो ।
बस चढ्नेबित्तिकै उनलाई प्रहरी जवान बहादुरसिंहले नियन्त्रणमा लिए । नियन्त्रणमा लिएपछि निलेशले झोला पनि दिने र थप १५ लाख कमिसन दिने बताएपछि प्रहरी जवानले निलेशलाई भगाएको अनुसन्धानका क्रममा खुलेको छ । भारतबाट काठमाडौं आएर चाँदी किनेर सुनको जलप लगाउन एकैदिनमा सम्भव हुँदैन् । यस्तोमा प्रहरीलाई सूचना छ भनिएको छ तर दरबारमार्ग वृतका डीएसपी रञ्जन दाहालले किन यसबारे माथिल्लो निकायलाई जानकारी दिएनन् ।
यहाँसम्मकी झोला हातमा परेपछि पनि आधाघण्टा बित्दासमेत त्यसबारे माथिल्लो निकायमा खबर नपाएको प्रहरीकै उच्च अधिकारीले बताइसकेका छन् । झोला बरामद भए पनि दरबारमार्गका तत्कालीन डीएसपी दाहाललाई पनि पूर्वसूचना भएकाले उनले बरामद झोला तत्काल गाडीमा हालेर लगेका थिए ।
भारतीय माफिया समूहसँग हुनसक्छ ‘कनेक्सन’
नेपालमा सुनमाथि लगानी गर्ने समूहले भनेको भारतीय माफिया ग्याङ हो । नेपालको विमानस्थल र चिनियाँ नाकाबाट तस्करले सुन सहजै भित्र्याउन सक्ने बताइन्छ । यसपटकको साढे १४ किलो नक्कली सुनको पछाडि पनि भारतीय माफिया समूह हुन सक्ने अनुमान प्रहरी अधिकारीकै छ । यसका लागि पक्राउ परेका तीनजना र अन्सारीबिचको ‘कनेक्सन’ हेर्नुपर्ने हुन्छ ।
एक प्रहरी अधिकारी भन्छन्,“उनीहरुले सक्कली सुन लुकाएर नक्कली सुनको नाटक रचेर प्रहरीले बरामद गरेको भन्दै सक्कली सुन झ्वाम पार्ने योजना पनि बनाएका हुन सक्छन् । यसमा प्रहरीसँगको सेटिङ पनि त हुन सक्छ नि ! त्यसैले यो घटनाको अनुसन्धानलाई हलुका रुपमा लिन हुँदैन ।”