site stats
बाह्रखरी :: Baahrakhari
विशेष
 सत्तासँग प्रश्न 

षड्यन्त्रको भीरबाट जब न्यायले
हामफालेर गर्छ आत्महत्या 
तब बलात्कारी र हत्याराहरूको 
विजयजुलुस निस्कन्छ सडकमा 
साइरन बजाउँदै हिंड्छ प्रहरी 
जुलुसकै अघि–पछि
जो माथिको आदेश पालना गर्र्दै
भर्खरै जेलमुक्त भएको खुङ्खार डाकुलाई
ठोक्छ सलामी !

जुलुसको स्वागतमा सडकको किनारमा 
उभिएका छन् यतिबेला–
जुवाघरबाट निस्कदै गरेका जुवाडेहरू 
नेताको निर्देशनमा प्रहरीले छाडेका पाकेटमारहरू 
विदेशीलाई दिएको नागरिकतामा सही गरेर
घर फर्कंदै गरेका प्रशासकहरू 
श्रीमतीको सबै खुसी बेचेर 
भट्टीपसलबाट धर्खरिंदै
निस्कँदै गरेका जड्याहाहरू 
सुकुम्बासी वस्तीमा आगो लगाएर 
कार्यालय फर्कंदै गरेका कर्मचारीहरू 
जो वर्षौंंदेखि पूरा गरिरहेका छन् 
आ–आफ्नो कर्तव्य ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गज्जब छ सरकार गज्जब !
भित्तोमा अडेस लागेर टेलिभिजनमा
हजुरकै सम्बोधन सुन्दैछु यतिबेला–
रोग र भोकले कोही मर्नुपर्ने छैन 
पैसा कमाउन जानुपर्ने छैन अब विदेश 
आफ्नै फोटो टाँसिएको लालपुर्जा हुनेछ 
सबै सुकुम्बासीको हात–हातमा 
कोही मर्नुपर्ने छैन उपचार अभावमा
झोलामै औषधि बोकेर 
घर–घर आइपुग्नेछन् स्वास्थ्यकर्मी
घुस नखाइकनै कर्मचारीले 
गर्नेछन् काम फटाफट 
वाह ! हजुरको सम्बोधनलाई त मान्नैपर्छ ।

देशवासीका नाममा सम्बोधन नसकिँदै 
ब्रेकिङ न्यूज आउँछ टेलिभिजनमै– 
अस्पतालले भर्ना लिन नमान्दा 
एम्बुलेन्समै बिरामीको मृत्यु 
उपचार अभावमा घरमै सुत्केरीको ज्यान गयो 
तुइनबाट झरेर विद्यालय जाँदै गरेका 
बालबालिका बेपत्ता 
सत्ताइस तले निर्माणाधीन भवनबाट खसेर
मलेसियामा नेपाली युवाको निधन 
बैंकको ऋण तिर्न नसकेर उद्योगीद्वारा आत्महत्या
प्रेम अस्वीकार गरेको झोंकमा युवतीमाथि एसिड प्रहार 
दाइजोको निहुँमा महिलालाई जिउँदै जलाइयो 
राष्ट्रपतिको अफ द रेकर्ड खल्तीमा बोकेर 
प्रतिपक्षसहितको डिनरमा सरिक भएर 
शीतल निवासबाट बाहिरिए सम्पादकहरू ।

वाह क्या गज्जब छ यहाँ !
यसरी नै वर्षौंदेखि जारी छ– 
अफ द रेकर्ड संवाद
सरकार र प्रतिपक्षको 
मन्त्री र ठेकेदारको 
न्यायाधीश र वकिलको 
प्रहरी र तस्करको ।

अफ द रेकर्ड संवादजस्तै 
वर्षौंदेखि जारी छ हजुरको सम्बोधन 
सम्बोधन त श्री ३ र श्री ५ हरूले नि गर्थे यसैगरी 
उनीहरूको सम्बोधन सुनेर भित्रभित्रै खुसी हुन्थे पूर्वजहरू 
तर, हजुरको सम्बोधन सुनेर म किन खुसी हुन सक्दिन 
कतै मलाई डिप्रेसन त भएको छैन सरकार ? 
 

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १८:५०
प्रतिक्रिया दिनुहोस्