site stats
बाह्रखरी :: Baahrakhari
देश
दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई धरौटी लिएर छाड्न भनेको हो ।

पाठक आज अदालतमा उपस्थित भएका थिए । उनको बयान भएर आजै थुनछेक बहस भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय मागदाबी गर्दै सोमबार (असार १६) मुद्दा दायर गरेको थियो । उक्त दफामा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटेल खरिद गर्न लागेको भिडियो सामग्री प्रसारण गरेका थिए । युट्युबाट सार्वजनिक गरिएको भिडियो आधारहीन रहेको दाबीसहित जयवीरले उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

पाठकविरुद्ध गएको जेठ २८ गते पक्राउ पुर्जी जारी गरिएको थियो । तर, असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यही कारण पाठकलाई पक्राउ नगरी मुद्दा दायर गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्