site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अक्करे भिरजस्तै निबन्ध लेखन !
Sarbottam CementSarbottam Cement

राजेश खनाल


निबन्ध लेख्न जति कठिन छ । त्यतिकै कठिन छ निबन्ध पढ्न । त्यसले भन्न खोजेको कुरा पर्गेल्नु । भन्नलाई निबन्ध पनि भनिन्छ । कतै नबाँधिएर लेख्नु । त्यसैले होला सायद, निबन्ध लेखक निबन्धमा फुक्काफाल भएर विचरण गर्छन् । एक ठाउँबाट सुरु गरे पनि अन्ततक् तिनले खोतल्नुपर्ने, भन्नुपर्ने सबै कुरा भनिसकेका हुन्छन् । 

त्यसोभए निबन्ध लेख्न सजिलो हुन्छ ! यस्तो पनि लाग्न सक्छ पाठकलाई । तर यस्तो हुँदै होइन भन्छन्, निबन्धमा कलम चलाउनेहरू । निबन्ध लेख्नु भनेको निरन्तर गम्नु हो । सागरको गहिराइमा डुब्नु हो । डुबेर मोती पस्कनु हो । लेखकले पस्केको मोतीले के भन्दै छ, के देखाउँदै छ । त्यो बुझ्ने जिम्मा पाठकको हो । त्यसैले त निबन्ध लेखकमा जति चिन्तनशीलता हुन्छ । त्यत्ति नै चिन्तनशील निबन्धका पाठक हुनुपर्छ भनिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निबन्ध लेखनका सिद्धहस्त व्यक्तित्व कृष्णचन्द्रसिंह प्रधानले आफ्नो निबन्ध ‘मान्छे जङ्गबहादुर भएछन्’ मा लेखेका छन्– ‘अब देश भएर पनि पुगेन । अब मान्छे भएर पनि पुगेन । मान्छेभन्दा पर पनि मान्छे छ जसलाई चिन्दैनाैं । देशभन्दा पर पनि देशहरू छन् जसलाई देख्दैनाैं । मान्छेको देश र देशका मान्छेहरूलाई छुट्याउने एउटा सिमाना छ । हामी त्यही सिमाना भइदियौँं ।’ 

मूलधारको निबन्धमा डुबुल्की लगाउने पाठकहरू निबन्धमा दर्शन, चिन्तन, जीवन र माटोलाई निबन्धको केन्द्रमा खोज्छन् । विज्ञ र समालोचकहरू पनि लेखकले चिन्तन र दर्शनलाई बीचमा राखेर निबन्ध लेख्नुपर्ने बताउँछन् । 

Global Ime bank

तर आज त्यो खालको निबन्ध खासै नपाइने बताइन्छ । एउटा समय थियो, यस्ता निबन्धहरूको भरमार थियो । कृष्णचन्द्रसिंह प्रधान, शंकर लामिछाने, हृदयचन्द्र सिंह प्रधान, नारायणबहादुर सिंह, मनुजबाबु मिश्र, धच गोतामे, जनकलाल शर्माजस्ता निबन्ध लेखकले निबन्धलाई दर्शन अनि चिन्तन प्रस्तुतिको एउटा बाटो बनाएका थिए । पाठकलाई गम्भीरताको सघन गहिराइसम्म उतार्ने क्षमता भएका लेखकका निबन्ध रुचाउने पाठक पनि थिए । तर आज त्यो शैलीको निबन्ध पढ्न खासै नपाइने पाठक मात्रै हैन, लेखकहरू नै बताउँछन् । 

यस्ता आत्मपरक निबन्ध नलेखिएका भने हैनन् । लेखिएका छन्, तर थोरै । बरु निबन्धको हाँगाबिँगा मानिएको नियात्रा, संस्मरण, जीवनी वा व्यक्तिवृत्त अनि व्यंग्य लेखनले गति लिएको छ । निबन्ध लेखनको यो बाटो र पाटो लेखकहरूले समाएको धेरै देखिँदै आएको छ । 

के त्यसोभए मूलप्रवाहको अर्थात् दर्शन र चिन्तनलाई केन्द्रमा राखेर लेखिँदै आएको निबन्ध लेखन हराएरै गएको हो ? यस किसिमको निबन्ध लेखनतर्फ लेखकको ध्यान नगएकै हो ? निबन्ध लेखनमा देखिएको यो कमीले मूलप्रवाहको निबन्धलाई कस्तो असर पार्नसक्छ ? यस्ता विभिन्न प्रश्न निबन्ध विधामा कलम चलाउँदै आएका साहित्यकारहरू युवराज नयाँघरे, कुमारी लामा, राप्रउ पोखरेल, प्राडा माधवप्रसाद पोखरेल र श्रीओम श्रेष्ठ रोदनसँग गरिएको थियो । 

निबन्ध लेखनमा देखिएको कमी सबै साहित्यकारहरूले स्वीकार गरे । तर पनि निबन्ध लेखनमा आफ्नै किसिमको शैली र प्रभाव नयाँ लेखकहरूबाट आउनुपर्ने तिनको तर्क थियो ।

युवराज नयाँघरे 
निबन्ध लेखन हराएको छ भनेर म भन्दिनँ । हो, निबन्ध लेखन कम भएर गएको निश्चित हो । मेरो विचारमा निबन्ध डायनासोरजस्तो हराएर जाँदैन, बरु छेपारोकै रूपमा भए पनि रहिरहन्छ ।

निबन्ध कम लेखिनुको कारण के हो भने नेपाली लेखकहरूमा चिन्तनको परिपाटी कम भएर गएको छ । जबकी निबन्ध लेख्नका लागि चिन्तन जरुरी छ । आजको समयमा मानिस छिटो लेखेर, छिटो प्रकाशित गरेर चर्चामा आउन चाहन्छन् । लाइक र कमेन्ट खान चाहन्छन् । जबकि निबन्ध लेखनमा आत्मप्रकाश, आत्मचिन्तनका साथै धैर्य र एकाग्रता पनि चाहिन्छ ।

निबन्ध लेखनमा अभिवृद्धिका लागि सरोकारवालाहरूले बहस, छलफल र मिमांशा गराउनु जरुरी भएको छ । त्यसले नै नयाँनयाँ लेखकहरूलाई निबन्ध लेखनमा ऊर्जा दिन्छ । लेखकलाई निबन्ध लेखनप्रति अझै सचेत गराउँछ । धैर्य गर्न सिकाउँछ । 

साहित्यमा निबन्ध महत्त्वपूर्ण विधा हो । त्यसैले निबन्धमा कलम चलाउने लेखकले सचेत भएर लाग्नुपर्छ । किनभने यो स्रष्टाको सक्कली कला देखिने विधा हो ।
 
कुमारी लामा
‘हार्डकोर’ निबन्ध भनेर जसलाई बुझिँदै आइएको थियो, त्यो केही कम लेखिएको हो कि भन्ने मलाई पनि महसुस भएको छ । यद्यपि निबन्धका विभिन्न हाँगाबिँगाहरू छन्, जसमा नियात्रा, संस्मरण, आत्मकेन्द्रित आलेख, जीवनी लेखिन्छ, त्यो भने विस्तारित हुँदै गइरहेको निश्चित हो । 

नियात्रा वा संस्मरणमा वैचारिक पाटो आउँदै नआउने होइन । आउँछ र आएको पनि देखिन्छ । अनुभूतिभित्र पनि आफ्नो विचार त हुन्छ नै । संस्मरणभित्र समय परिवेश आउनु भनेको त्यस समयको चिन्तन आउनु हो । त्यसैले अहिलेका लेखनमा चिन्तन र दर्शन छँदै छैन भन्ने होइन । यो नियात्रा र संस्मरणबाट विस्तारित हुँदै आइरहेको छ । 

महिला पुरुष सबैका निबन्धमा चिन्तन, दर्शन र जीवनको पाटो आएको देखिएको छ । तथापि, पछिल्लो समयमा निबन्धले आफ्नो स्वरुप भने परिवर्तन गरेको हो । यति हुँदाहुँदै पनि चिन्तन केन्द्रित निबन्ध केही हदसम्म कम नै आएको भने पक्का हो । 

पछिल्लो समयमा मोमिला र शारदा शर्माका निबन्धमा दर्शन र चिन्तनको गहिराई भेटिन्छ । शारदा शर्माको ‘अग्निस्पर्श’को सम्झना हुन्छ मलाई ।

आजको समयमा निबन्धको गहिराइ र निबन्धले माग गर्ने चिन्तनतिरको पाटो छुटेर भावनात्मक र अनुभूतिको पाटो केही धेरै आउन थाले । र लेखक सतहतिर बग्न थालेको हो कि ? चिन्तनको गहिराइमा पुग्न त समय, परिवेश अनि हामीले बाँच्दै गरेको समयसँगको चेतनाका साथै अध्ययन, जीवन र वरपरको समाजलाई गहन तरिकाले विश्लेषण गर्ने समय पनि हुनुपर्छ । क्षमता पनि हुनुपर्छ । 

हल्का रूपमा लेखेर जे लेखे पनि निबन्ध हुन्छ भन्ने परिपाटीको जुन विकास भएको छ, त्यसले एक हदसम्म ‘हार्डकोर’ निबन्ध लेख्ने लेखकहरूले जसरी चिन्तन र दर्शनलाई केन्द्रमा राखेर विश्लेषण गर्नुहुन्थ्यो, सम्भवतः यिनै कारणहरूले गर्दा मूलप्रवाहको निबन्ध लेखनमा बाधा आएको हुनसक्छ ।

फेरि, पाठक एउटैखालको कहिले पनि हुँदैनन् । एउटा वर्गको पाठकले गम्भीर कुरा मन पराउँछन् भने अर्को वर्गको पाठकले हल्काफुल्का । कोही पाठकको चिन्तन र दर्शनमा अत्यधिक अनुराग हुनसक्छ । कसैको नहुन सक्छ । त्यसैले पाठक त्यति कमजोर हुनुहुन्छ भन्ने कुरामा म सहमत हुन सक्दिनँ ।

अर्को कुरा, मासलाई लेख्ने कि क्लासलाई लेख्ने भन्ने कुरा पनि यहाँ महत्त्वपूर्ण हुन्छ । तर मासमा विभिन्न किसिमका निबन्धका भेराइटीहरूसँग इन्जोय गर्नुभएको छ, त्यस्ता पाठकहरूको मास आज ठूलो भएको हुनसक्छ ।

निबन्धका क्षेत्रमा पहिले मानकरूप धारण गरेका निबन्धकारहरूको आफ्नै आफ्नै शैली थियो । आज लेखनको शैली परिवर्तित हुँदै गइरहेको छ । र हामीले चाहेको पनि त्यही नै हो । समयअनुसार परिवर्तन सबैले चाहन्छन् । 

प्रत्येक लेखकको आफ्नो अनुहार हुन्छ । लेखकको अनुहार भनेको उसको लेखनको शैली हो । लेखनमा आफ्नो सिग्नेचर लेखक आफैंले क्रिएट गर्ने हो । त्यसका लागि साहित्यको हरेक विधामा कलम चलाइरहनु भएका लेखकहरूले प्रयत्न गर्नुपर्छ ।

राप्रउ पोखरेल
मूल प्रवाहको निबन्ध लेखनमा कमी आउनुको मुख्य कारण अध्ययन र अनुभूति नै हो भन्ने मलाई लाग्छ । अनुभव र अनुभूति पनि निबन्धका लागि आवश्यक तत्त्व हो । पुराना निबन्धकारहरूमा निबन्धमा प्रस्तुत गरिने चिन्तन, दर्शन अनुभव र अनुभूति खारिएर आएको स्पष्ट देखिन्थ्यो । तिनका निबन्ध पढ्दा नै हामीले त्यो पत्ता लगाउन सक्छौँ ।

अहिलेका युवा पुस्ता जो साहित्यमा लाग्नुभएको छ, तिनमा पुराना लेखकहरूमा जस्तो चिन्तन र दर्शनमा जुन खारिलोपना थियो, त्यो पाइँदैन । अहिले सतही किसिमका निबन्ध धेरै आइरहेका छन् । 

निबन्ध गहन र गम्भीर हुनुपर्छ । त्यसका लागि धैर्य पनि अथाह चाहिन्छ । अहिले आफूलाई तत्काल चर्चित गराउन संस्मरण र नियात्रा लेख्ने प्रचलन बढेर गएको छ । 

तर एउटा कुरो के हो भने, यसरी लेख्दै गएर नै कुनै पनि लेखक खारिँदै जाने हुन । तिनले पछि गएर पक्कै गम्भीर र गहन साहित्यको सिर्जना गर्न सक्छन् । तर लेखकमा धैर्य त चाहिन्छ नै । लेख्नासाथ छाप्ने हतार गरे त्यसले साहित्यलाई गम्भीर बनाउँदैन ।

निबन्धका पाठक नभएका होइनन्, तर गम्भीर निबन्ध, चिन्तन प्रधान निबन्ध खोज्ने पाठक कम छन् । यस्तो आज मात्रै होइन, पहिले पनि थियो । पहिले पनि निबन्ध लेख्ने लेखक थोरै नै थिए । यो नेपालमा मात्र होइन, विदेशमा पनि गम्भीर लेखक कम नै छन् । 

तर एउटा कुरो, हिँड्न जाने भने मात्रै दगुर्न सिकिन्छ । निरन्तर हिँड्ने प्रयास गरिरहनुपर्छ ।

प्राडा माधवप्रसाद पोखरेल
पछिल्लो समयमा लेख्नेहरू धेरै बढेका छन् । निबन्धका अन्य विधामा कलम चलाउनेको संख्यालाई लिने हो भने त्यसलाई नकारात्मक रूपमा हेर्न मिल्दैन । तर गुणात्मकताको कुरा गर्ने हो भने तलमाथि अवश्य पनि देखिन्छ । तर एउटा निबन्ध लेखेर त्यसमा सारा जीवन, दर्शन र चिन्तन प्रस्तुत गर्ने निबन्ध लेखकहरूको कमी सबैले महसुस गरेको विषय हो ।

पहिले पहिले मनुजबाबु मिश्र, शंकर लामिछाने, कृष्णचन्द्रसिंह प्रधानहरूले एउटा सानो विषयबाट निबन्धको उठान गर्थे र भित्रभित्र खोतल्दै–खोतल्दै गएर एउटा बेग्ले संसारमा पुर्याउँथे । अनि झड्का हान्थे ! त्यस्ता निबन्ध पाठकले कहिल्यै बिर्सनै सक्थेनन् ! 

हो, त्यस्तै एउटै निबन्धले तृप्ति दिनेखालका निबन्ध अहिले भेटिँदैन । होलान्, तर मैले भेटेको छैन । पढेको छैन । पछिल्लो समयमा मैले व्यङ्ग्य भए पनि लक्ष्मण गाम्नागेको हास्य निबन्ध गम्भीर भएको पाएको छु । 

कृष्णचन्द्रसिंह प्रधान निबन्ध सुरु गर्छन् र स्क्यानिङ गर्दै त्यहाँदेखि भित्र पस्छन् । र भित्रभित्र पस्दै जीवनदर्शन आफ्नो लेखोटमा अभिव्यक्त गर्छन् । मनुजबाबु मिश्र सानो कुरा लेख्थे, तर बीचतिर गएर झड्का दिएको दियै गर्थे । त्यस्तै थिए, जनकलाल शर्मा, शंकर लामिछाने र धनुषचन्द्रहरू । तिनले पाठकलाई तुष्टि प्रदान गर्थे, लेखनीका माध्यमबाट ।

मैले भन्न खोजेको के हो भने एउटै भए पनि वर्षौं जीवित राख्ने स्मरणीय आलेख हुनुपर्छ, निबन्ध ।

निबन्ध लेख्नेहरू धेरैजसो मसँग ठोकिन्छन् । तर पनि स्मरणीय निबन्ध लेखिएको पाएको छैन । निबन्धका हकमा निबन्ध मात्रै प्रकाशन गर्ने गरी पत्रिका वा अनलाइन पत्रिका भइदिए त्यसले नेपालीमा निबन्ध लेखनको परम्परालाई विस्तारित गर्दै लाने थियो । 

निबन्ध लेखनका क्षेत्रमा केही काम हुनुपर्ने देखिन्छ । जसमा छापिएका निबन्ध पढेरै अरू कोही लेखकलाई पनि निबन्ध लेखनमा रस बसोस् । लेख्न रहर जागोस् । त्यसले आगामी दिनमा निबन्ध लेखनलाई निश्चय नै गति दिन सक्छ । 

श्रीओम श्रेष्ठ रोदन
निबन्ध सजिलो लेखन होइन । सजिलो लेखन नभएकाले नै लेखकहरू यतातिर धेरै उत्साहित नभएका हुन् । ध्यान नदिएका हुन् । निबन्धमा गाम्भीर्यता, चिन्तन, दर्शन र आफ्नोपन पस्कनु सजिलो छैन ।

साहित्यमा अरू विधा सजिलो र निबन्ध मात्रै गाह्रो भन्न खोजेको होइन मैले । अरू विधाको एउटा लाइन हुन्छ । विषय हुन्छ । बाटो हुन्छ । त्यसको आरम्भ, मध्य र अन्त्य हुन्छ । तर निबन्धमा त्यस्तो हुँदैन । त्यही गाह्रो भएकाले नै पनि आत्मपरक निबन्ध लेखनमा धेरैले आफूलाई समेट्न नसकेका हुन् । र बितेको तीस वर्षदेखि निबन्ध लेख्नेहरूको संख्या गन्ने हो भने त्यसमा नगण्य रूपमा मात्रै वृद्धि भएको होला । नभए छैन ।

निबन्ध लेखन कथा उपन्यासभन्दा गाह्रो हुन्छ भन्ने मलाई लाग्छ । संस्मरणको, नियात्राको एउटा गाइडलाइन हुन्छ । निबन्ध त निर्बन्ध हो । त्यसको व्याकरण पनि हुँदैन । निबन्धमा त एउटा विषयलाई लिएर त्यसैमा घोत्लिएर भित्रभित्र पुग्दै भाषिक उत्खनन गर्दै जाने हो । 

नेपाली साहित्यमा सबै लेखन त्यतिकै चुनौतीपूर्ण भए पनि निबन्ध लेखन अप्ठ्यारो यात्रामा हिँडेजस्तै हो । कुनै अक्करे भिर पार गरेजत्तिकै हुन्छ, निबन्ध लेखन ।

निबन्ध लेखकको कमीले लेखनमा पनि असर परिरहेको छ । व्यस्तताको समय छ । धेरै चिन्तन गरेर लेख्ने समय पनि पाउँदैनन् लेखकले । गम्भीर रूपमा पढ्ने समय पनि सायद छैन, निबन्धका पाठकसँग !

धैर्य नगर्ने मानिस, अध्ययन नगर्ने मानिस, आफ्नो एउटा शैली कायम गर्न नसक्ने मानिस निबन्धकार बन्न सक्दैन भन्ने मलाई लाग्छ । निबन्ध लेखनमा लेखक नलाग्नुको कारण पनि त्यही हो ।

साहित्यमा लाग्ने भनेको सस्तो लोकप्रियताका लागि हुँदै होइन । साहित्यमा लागे पछि गम्भीर र गहन सामग्री पाठकलाई दिनैपर्छ हरेक लेखकले । सबै सस्तो कुरा लोकप्रिय हुन्छन् भन्ने हुँदैन । साहित्य भनेकै गम्भीर लेखन हो । गहन लेखन हो । यसका लागि हरेक लेखकले गम्भीर हुनैपर्छ । 

लेखनको विषयलाई कसले कति पर्गेल्न सक्छ, त्यसमा कति डुब्न सक्छ, त्यसले मात्रै साहित्यलाई स्तर प्रदान गर्छ । लाइक र वाहवाही मात्रै खोजिनु साहित्य होइन । अनुसन्धान गर्नेले दसौँ वर्ष बीसौँ वर्ष अनुसन्धान गर्छन् । त्यसपछि मात्रै तिनीहरू निष्कर्षमा पुग्छन् । त्यसपछि अनुसन्धान गर्नेको वाहवाही सबैले गर्छन् । सुरुमै त प्रचार–प्रसार गर्दैनन् अनुसन्धान गर्नेहरूले ! साहित्यमा पनि त्यही हुनुपर्छ ।

निबन्ध पढ्न थाले भने निबन्धमा जति मज्जा मानिसले कथा र उपन्यासमा पाउँदैनन् । निबन्धको त हरेक वाक्य–वाक्यबाट रस प्राप्त हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement