site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विनोद चौधरीको सम्बन्ध कसरी बिग्रियो उद्योग वाणिज्य महासंघसँग 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सार्ने कि निर्धारित मितिमै गर्ने भन्ने विषयमा आन्तरिक छलफल तीव्र बन्दै थियो अघिल्लो साता । साउनको २६ र २७ गतेका लागि तय गरिएको ५४ औँ साधारणसभा सार्नुपर्ने पक्षमा केही पदाधिकारीसहित पूर्वअध्यक्ष थिए भने केही निर्धारित मितिमै गर्नैपर्छ भन्ने पक्षमा उभिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअध्यक्षहरुसहितको बैठकले यो विषयलाई टुंगो लगाउने तयारी गरेर बैठक बोलाएको थियो । महासंघका वर्तमान पदाधिकारी र पूर्वअध्यक्षहरुको संयुक्त बैठक थियो त्यो ।  तर निर्णय भने आधिकारिकरुपमा महासंघ पदाधिकारीले नै गरेको हो । 

उक्त बैठकका लागि बोलाइएको सूचीमा एकजना पूर्वअध्यक्षको न त नाम थियो न त उनी बैठकमा नै उपस्थित थिए । बाँकी पूर्वअध्यक्षहरु सम्मिलित उक्त बैठकले महासंघको साधारणसभा सार्ने निर्णय त गर्‍यो तर विवादरहीत ढंगले गर्न सकेन । कार्यसमिति बैठकबाट साधारणसभाबारे निर्णय गरिनुपर्नेमा त्यसो नगरी कार्यसमितिलाई ‘बाइपास’ गरिएको भन्दै उपाध्यक्ष चन्द्र ढकालको टिमले विरोध गर्दै आएको छ, अद्यापी जारी छ ।

र, पदाधिकारीसहित एक चौथाई सदस्यले कार्यसमितिको बैठक डाक्न महासंघमा निवेदनसमेत दिइसकेका छन् । महासंघको साधारणसभा सार्ने निर्णय गरिएको पूर्वअध्यक्षहरुसहितको बैठकमा नबोलाइएका एकजना पूर्वअध्यक्ष हुन् उद्योगपति विनोद चौधरी । फोर्ब्सको सूचीमा परेका एकमात्र नेपालका अर्बपति चौधरीलाई नबोलाइएपछि बैठकको सुरुमै एकजना पूर्वअध्यक्षले उनकै खोजी गरे ।

र, त्यहाँ जवाफ खोजियो– विनोद चौधरीलाई के कारणले नबोलाइएको हो ? कि उनी पूर्वअध्यक्ष होइनन् ? भन्नेसम्मको प्रश्न त्यहाँ उठ्यो ।

उक्त बैठकमा अध्यक्ष भवानी राणाले सरकारले साधारणसभा गर्न अनुमति नदिएकाले सार्नुपर्ने अवस्था आएको भन्दै पूर्वअध्यक्षहरुको राय माग्दा नमाग्दै एकजना पूर्वअध्यक्षले ‘यहाँ फेरि राजनीति गर्न खोजिएको हो ?’ भन्दै जवाफ मागेका थिए ।

पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले पूर्वअध्यक्ष चौधरीलाई किन बैठकमा नबोलाइएको भन्दै प्रश्न गरेका हुन् ।

बैठकमा सहभागी भइदिन पत्र लेखेका महासंघका महानिर्देशक धरणीधर खतिवडातर्फ हेर्दै श्रेष्ठले फेरि प्रश्न गरे, “के हो खतिवडाजी ? पत्रमा पूर्वअध्यक्ष विनोद चौधरीको नाम देखिन । तर यो बैठक कक्षमा त उहाँ (चौधरी) को पनि पूर्वअध्यक्षको लाइनमा फोटो छ नि, उहाँलाई किन नबोलाइएको ? तपाइँलाई कसले यस्तो आदेश दियो ? कि यहाँ कसैले फेरि राजनीति गर्न खोजिरहेको छ ? के आधारमा र किन उहाँलाई नबोलाइएको हो ?”

श्रेष्ठले लगातार प्रश्न तेर्स्याउन थाले । त्यसपछि उनलाई साथ दिँदै अन्य केही अध्यक्षहरुले पनि चौधरीलाई किन नबोलाइएको हो भन्दै प्रश्न गर्न थाले । तर त्यहीबेला अर्का पूर्वअध्यक्ष चण्डीराज ढकालले विषय अन्तै मोड्न थाले । त्यसपछि साधारणसभा स्थगित गर्ने कि निर्धारित समयमै गर्ने भन्ने विषयमा पूर्वअध्यक्षहरुले आआफ्नो राय दिन थाले ।

राय दिने क्रम फेरि पूर्वअध्यक्ष श्रेष्ठकहाँ आइपुग्यो । उनले फेरि अघिकै प्रश्नको जवाफ नपाएको भन्दै जवाफ दिन माग गरे । पूर्वअध्यक्ष श्रेष्ठको जवाफ दिँदै महासंघका महानिर्देशक खतिवडाले ‘टाइपिङ इरर’ भन्ने के भ्याएका थिए पूर्वअध्यक्ष महेशलाल प्रधानले ‘यस्तो बच्चाको जस्तो कुरा गर्न मिल्दैन’ भन्दै खतिवडालाई हप्काए ।

त्यसपछि फेरि पूर्वअध्यक्ष श्रेष्ठले गैरजिम्मेवार जवाफले नहुने बताए । ‘चौधरी पूर्वअध्यक्ष हुन् कि होइनन् ?’ भन्दै फेरि प्रश्न गरेपछि अध्यक्ष राणाले जवाफ दिइन्, “यसमा जे भएको छ, गल्ती भएको छ, म क्षमायाचना गर्छु । माफी चाहन्छु ।”

राणाले नै माफी मागिसकेपछि स्थिति सहज बनेको थियो । 

किन नबोलाइएको होला त चौधरीलाई ?

यसविषयमा केही पूर्वअध्यक्षहरुसँग बाह्रखरीले जिज्ञासा राख्दा उनीहरुको भनाइ थियो–जानीजानी नबोलाइएको हो भन्ने नै लाग्छ ।”

अर्काथरी पूर्वअध्यक्षहरुको भनाइमा भने विनोद चौधरी अध्यक्ष हुने बेलासम्म महासंघमा सहमतिकै आधारमा धेरै कुरा हुन्थ्यो तर त्यसपछि सौहार्दपूर्ण वातावरण विस्तारै बिग्रँदै गएको हो । महासंघमा फेरि पनि राजनीति हावी होला भन्ने उद्देश्यले नै पूर्वअध्यक्ष श्रेष्ठले चौधरीको खोजी गरेका थिए ।

“अहिले विनोद चौधरीलाई बाइपास गरेर महासंघमा फेरि राजनीति घुसाउन खोजिएको छ,” पूर्वअध्यक्ष श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “केहीलाई पूर्णबाइपास गरेर महासंघमा कतिपयले आफ्नो फाइदामात्रै हेरेका छन् ।”

महासंघले चौधरीलाई पूर्वअध्यक्षको सम्मान दिन नजान्दा नै नेपाल उद्योग परिसंघ गठन भएको भन्दै फेरि पनि गल्ती गर्दै जान नहुने धारणा उनले राखेका थिए । “जब संस्थाले नै पूर्वअध्यक्षलाई सम्मान दिन जान्दैन भने त्यो संस्थामा किन जाने भन्ने हुन सक्छ,” श्रेष्ठको भनाइ थियो ।

महासंघमा कहिलेदेखि भयो त गुटउपगुटको विजारोपण ?

नेपाल उद्योग वाणिज्य संघ निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था हो । सरकारपछि धेरै संयन्त्र भएको संस्थाकारुपमा महासंघलाई चिनिँदै आएको छ । तर पछिल्लो समय महासंघमा बढेको गुट उपगुटले यसको गरिमा घट्दै गएको केही व्यवसायीहरुको धारणा छ । २०५० सालमा निर्वाचित विनोद चौधरी दोस्रोपटक पनि अध्यक्षमा चुनाव लडेका थिए । दोस्रोपटकको उनको प्रतिष्पर्धा पद्म ज्योतीसँग भएको थियो । 

त्यसबेलाको निर्वाचनको वातावरण स्मरण गर्दै एकजना पूर्वअध्यक्षले बाह्रखरीसँगको कुराकानीमा भने, “त्यो निर्वाचन प्रचारप्रसारको हिसाबले पनि निकै घमासान थियो । त्यो बेला पूर्वबाट चौधरीले र पश्चिमबाट ज्योतीले चुनावी अभियान चलाएका थिए । कतिपय ठाउँमा त चुनावी अभियान जुधेको पनि थियो । त्यो निर्वाचनमा ज्योतीले चौधरीलाई हराएका थिए । तर, हारजितको ‘तुस’ गएको रहेनछ । त्यसमा पनि आगोमा घ्यु थप्ने काम महासंघको भवनको उद्घाटन गर्ने बेलामा देखियो ।”

कसरी ?

महासंघको भवन बनाउने अभियान विनोद चौधरी अध्यक्ष हुँदाका बखतमा नै भएको ती पूर्वअध्यक्षको भनाइ छ । “चौधरीको ठूलो योगदान थियो, त्यो भवन बनाउन । तर, भवन उद्घाटनका दिन चौधरीलाई अपमानित गरियो,” उनले भने ।  भवन बनाउन ठूलो योगदान गरेको र निवर्तमान भएको अध्यक्षलाई भवन उद्घाटन कार्यक्रममा ‘ड्यासमा’ समेत नराखी दर्शकदीर्घामा राखिएको उनले स्मरण गरे ।

“जति नै मन नपरे पनि निवर्तमान अध्यक्षलाई ड्यासमा राखिनुपर्दथ्यो । तर, बाहिर राखियो,” ती पूर्वअध्यक्षले त्यसबेलाको घटना स्मरण गर्दै भने, “त्यो घटनापछि चौधरी कहिल्यै पनि महासंघमा आएनन् ।” उनले बाह्रखरीसँग कुरा गर्दैगर्दा भने, “म भएको भए पनि आउने थिइनँ, त्यस्तो अपमान कसैलाई पनि गर्न हुँदैन । यो कुरा हामीले पटकपटक नभनेका होइनौं ।”

श्रेष्ठद्वयको सहमतिले महासंघलाई राहत

महासंघमा पसेको चुनावी ‘तुस’ लाई केही मत्थर पार्ने काम भने प्रदीपकुमार श्रेष्ठ र रविभक्त श्रेष्ठबीचमा भएको सहमतिले गराएको थियो । “चौधरी र ज्योतीको बीचमा भएको मनमुटावलाई निरन्तरता दिनबाट रोक्ने काम श्रेष्ठद्वयले गर्नुभएको थियो,” उनले भने, “त्यो बेलामा सहमति हुन नसकेको भए महासंघलाई कति घाटा लाग्थ्यो, अहिले सम्झन पनि मन लाग्दैन।” 

आनन्दराज मुल्मी अध्यक्ष भएको बेलामा प्रदीपकुमार श्रेष्ठ प्रथम उपाध्यक्ष र रविभक्त श्रेष्ठ तृतीय उपाध्यक्ष थिए । दुवैजना अध्यक्ष नछोड्ने अडानमा थिए ।  तर, सबैको प्रयासमा सहमति कायम भएको उनले बताए ।  सहमतिको प्रयास गर्नेमा सबैभन्दा अग्रपंक्तिमा वरिष्ठ उद्योगी प्रभाकरशमशेर राणा थिए ।

के गरेका थिए प्रभाकरले ?

महासंघभित्र पसेको चुनावी ‘तुस’ लाई निरन्तरता दिन नहुने भन्दै वरिष्ठ उद्यमी राणाले सहमतिका लागि पहल गरे ।  त्यस्तो पहल गर्नेमा महासंघभित्र र महासंघबाहिर रहेका वरिष्ठ उद्यमी व्यवसायी पनि थिए ।  त्यसमध्ये प्रभाकर शमशेरको विशेष योगदान रहेको उनी सम्झन्छन् ।  लक्ष्मीदास मानन्धर, भाष्करराज राजकर्णिकारसहित धेरै व्यक्तिले सहमतिको लबिइङ गरेका थिए । 

प्रभाकरले सहमतिमा ल्याउनका लागि अध्यक्षका उमेदवारसहित केही वरिष्ठ उद्यमीलाई एक पाँचतारे होटलमै बैठक राखेका थिए । त्यो बैठकमा आफूहरुले गरेको निर्णय मान्य हुने वा नहुने भन्दै स्पष्ट पार्न दुवै अध्यक्षका प्रत्यासीलाई भनियो ।  दुवैजनाले निर्णय मान्य हुने बताएपछि प्रथम उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठलाई अध्यक्ष र त्यसपछि अर्को कार्यकालमा  अध्यक्ष रविभक्त श्रेष्ठलाई बनाउनेगरी सहमति भएको थियो । “यी दुई जनाको सहमतिले महासंघलाई एक भएर अगाडि बढाउन निकै योगदान गर्‍यो,” उनले भने । 

परिसंघ गठन रोक्न पहल

महासंघको भवन उद्घाटनमा आफूलाई अपहेलना गरिएको महसुस गरेपछि चौधरी अर्को संस्था गठनको तयारीमा लागे । महासंघका पूर्वअध्यक्ष चौधरीले नेपाल उद्योग परिसंघ गठन गर्न लागेको थाहा पाएपछि त्यसलाई रोक्न महासंघले निकै पहल रहेको थियो ।  त्यो बेला महासंघमा अध्यक्ष रविभक्त श्रेष्ठ थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, उद्योगमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री खुमबहादुर खड्का थिए । 

उनीहरुसँग आग्रह गरेर परिसंघ दर्ता नगराउन महासंघले निकै प्रयास गरेको थियो ।  तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिसंघ दर्ता नगराउन निर्देशनसमेत दिएको एक पूर्वअध्यक्षले बताए । तर, चौधरीले चलाखी गरेर परिसंघ काठमाडौं जिल्ला प्रशासनमा दर्ता नगराई ललितपुर जिल्ला प्रशासनमा दर्ता गराए । 

विनोद चौधरीलाई विशिष्ट सम्मान

पद्म ज्योतीपछिका अध्यक्षहरुले चौधरीलाई महासंघमा ल्याउन निकै प्रयास गरेका थिए ।  महासंघभित्रैको ‘अपमान’ सहन नसकेका चौधरीलाई कुनै पनि हालतमा त्यो घटनालाई बिर्साउनेगरी कुनै कार्यक्रम आयोजना गर्नुपर्ने तयारीमा केही पूर्वअध्यक्ष लागेका पनि थिए ।  तर, धेरै पूर्वअध्यक्षले त्यो आँट गरेका थिएनन् । जब पशुपति मुरारका अध्यक्ष भए त्यसपछि महासंघ र परिसंघलाई नजिक ल्याउन निकै पहल गरेको एक पूर्वअध्यक्षले बताए । 

“पशुपति मुरारका अध्यक्ष हुँदा पूर्वअध्यक्ष विनोद चौधरीलाई महासंघको वार्षिक साधारणसभामा विशेष सम्मान गर्नुभयो, त्यसले चौधरीलाई विगतका नमिठा कुरा बिर्सन बाध्य पारेको हामीले महसुस गरेका थियौं । तर, पछिल्लोपटक महासंघले नै पूर्वअध्यक्ष चौधरीलाई बैठकमासमेत नडाक्दा सुध्रिन लागेको सम्बन्धमा फेरि कसले राजनीति घुसाउन खोज्यो भनेर सायद पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले बैठकमा नै बोल्नुभएको हुन सक्छ,” उनले भने, “उहाँले बोलेर महासंघलाई नै राम्रो गरेको छ, त्यस्तो काम अब महासंघले दोहोर्‍याउनु हुँदैन ।”

महासंघले पूर्वअध्यक्षहरुलाई बोलाएको बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्षहरु महेशलाल प्रधान, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी र सुरज वैद्य सहभागी थिए ।  विनोद चौधरीलाई बैठकमा नै बोलाइएको थिएन भने पद्म ज्योती, आनन्दराज मुल्मी र प्रदीपजंग पाण्डे आएका थिएनन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro