site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलाडीलाई मैदान फर्काउन किन ढिलाइ ?

काठमाडौं । कोरोना भाइरसका कारण देश लामो समय बन्दाबन्दीमा रह्यो । बन्दाबन्दीले प्रायः सबै क्षेत्रमा समान असर पार्‍यो । जुन अवस्थामा जे काम भइरहेका थिए ती त्यहीं रोकिए । ८० औं दिनपछि भने नेपालमा बन्दाबन्दी क्रमशः खुकुलो हुँदै आयो ।

सरकारले खाद्य उद्योग, वर्कसपलगायतका ४४ वटा उद्योग व्यवसाय खोल्ने अनुमति दियो । बन्दाबन्दीकै समयमा संसद् बैठक बस्यो । संविधान संशोधनका लागि मतदान भयो । उपत्यकाका तीन जिल्लासहित सम्बन्धित जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाउने गरी निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु भयो । 

‘टेक अवे’ को व्यवस्था गर्दै व्यापार व्यवसाय र होटल सञ्चालन गर्न सरकारले अनुमति दियो । बिहीबार मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय सरकारले गर्‍यो, तर खेलकुदका विषयमा भने सरकार अझै मौन छ ।

युरोपियन मुलुकमा बन्दाबन्दीकै समयमा खेलकुदलाई पहिलो प्राथमिकतामा राख्दै प्रतियोगिता नै सञ्चालन गर्न अनुमति दिइयो । इङल्यान्ड र वेस्टइन्डिजले बुधबारबाट टेस्ट खेलेसँगै ११७ दिनपछि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फर्कियो । तर, नेपाली खेलकुद भने अझै मैदान फर्किन सकेको छैन । प्रशिक्षणकै क्रममा सरकारको नियमलाई पालना गरी खेलाडी प्रशिक्षणमा फर्किन सक्ने अवस्था भए पनि सम्बन्धित निकायले खासै चासो नदिएको देखिन्छ ।

करिब दुई साताअघि अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रशिक्षण अनुमतिका लागि पत्राचार गरे पनि अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर, केही व्यक्तिगत विधाका खेल संघहरूले भने प्रशिक्षण सुरु गरेका छन् ।

उनीहरूलाई पनि सरकारले अनुमति नदिएको भन्दै राखेपले प्रशिक्षणका लागि आधिकारिक नभई मौखिक अनुमति दिएको हो । भीडभाड हुने सार्वजनिक यातायात सञ्चालनका लागि सरकाले अनुमति दिनु तर खेल संघहरूले प्रशिक्षणका लागि बारम्बार ताकेता गर्दा पनि प्रशिक्षण अनुमति नपाउनु नेपाली खेलकुदका लागि आफैंमा दु:खद विषय हो ।

सार्वजनिक यातायातभन्दा खेलकुद सुरक्षित

सबैभन्दा बढी संक्रमित हुने सार्वजनिक यातायात सेवा सुरु हुँदा रोग प्रतिरोधात्मक क्षमता बढाउने खेलकुद र शारीरिक व्यायामलाई भने सरकारले अनुमति दिन सकेको छैन । बेला–बेलामा डब्ल्यूएचओ र सरकारले सुरक्षा अपनाएर शारीरिक व्यायाम गर्दा रोग प्रतिरोधात्मक क्षमता बढाउने भनिरहँदा त्यसै क्षेत्रलाई भने नेपालमा बेवास्ता गरिएको छ ।

“सरकारले बेला–बेलामा सुरक्षा अपनाएर शारीरिक व्यायाम गर्नुस् रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनिरहेको छ । तर, त्यसै क्षेत्रलाई बन्देज गरिएको छ,” राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले भने, “सरकारले यसो भनिरहँदा खेलकुदलाई नबुझेको भन्न मिल्दैन । यसको अर्थ खेलकुद क्षेत्रलाई बेवास्ता गरेको हो । हामीले व्यक्तिगत प्रयासमा प्रशिक्षण सुरु गर्दा असर नपर्ने अनुमति दिँदा असर पर्ने हुन्छ र ?” उनले प्रश्न गरे । 

उनले थपे, “खेलकुदमा सार्वजनिक यातायात जस्तो भीडभाड पनि हुँदैन । हामी सुरक्षा र सामाजिक दूरी कायम गर्दै प्रशिक्षण गर्न सक्छौं । सरोकार पक्षले यो बुझ्‍न जरुरी छ ।” उनले संक्रमितको जोखिम हुने सार्वजनिक यातायातलाई सञ्चालन गर्न अनुमति दिँदा खेलकुदलाई नदिनु आफैंमा दुःखद् भएको बताए ।

अन्य क्षेत्रका सरोकार वालाहरू आ–आफ्नो क्षेत्रलाई बिस्तारै सहजीकरण गर्नतिर लागेका देखिन्छन् । तर, खेलकुद क्षेत्रकाहरूले यसका लागि जोड दिएको पाइँदैन । “खेलकुदका लागि सम्बन्धित मन्त्रालयले अगाडि बढ्नु पर्ने हो । सम्बन्धित व्यक्ति लाग्‍नुपर्ने हो । अन्य क्षेत्रका सम्बन्धित मन्त्रालय र सरोकारवालाले आफ्नो क्षेत्रलाई खुकुलो बनाउन प्रयास गरेका छन् । तर, हाम्रो क्षेत्रले भने बुझ्‍न सकेका छैन,” खेलाडी संघका अध्यक्ष श्रेष्ठले भने । 

पत्रको उत्तर छैन

प्रशिक्षण अनुमतिका लागि एन्फा र क्यानले पत्र बुझाए पनि राखेपले कुनै प्रतिउत्तर दिने सकेको छैन । “हामीले करिब दुई साताअघि प्रशिक्षण अनुमतिका लागि राखेपमा पत्र बुझाएका छौं ।

त्यसको फलो–अप पनि गरिहेका छौं । तर, हालसम्म कुनै प्रतिक्रिया आएको छैन,” क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने । उनले भ्यालिबाहिर रहेका क्रिकेट खेलाडीलाई भ्याली भित्र्याउनका लागि सहजीकरण गरिदिन समेत पत्रमा आग्रह गरेको जनाए । तर, प्रशिक्षण गर्ने अनुमति कहिले पाइन्छ भन्ने कुनै टुङ्गो छैन ।

उनले खेलाडीको पीसीआर टेस्टका लागि सहजीकरण गरिदिन समेत आग्रह गरेको जनाए । धेरै जसो खेलाडी भ्याली बाहिर भएकाले पीसीआर टेस्ट गरेरमात्र प्रशिक्षणका लागि खेलाडीलाई मैदानमा पठाउने तयारी रहेको उनले बताए । खेलाडीको टेस्ट गरे प्रशिक्षणका दौरान सबैलाई एउटै ठाउँमा राख्न सहज हुने उनको बुझाइ छ ।

एक सताअघि बाह्रखरीसँग कुरा गर्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले समूहमा प्रशिक्षण गर्नका लागि अझै सरकारको अनुमति पर्खिरहेको बताएका थिए । विशुद्ध सेल्फ प्रशिक्षणका लागि टीयू क्रिकेट मैदानमा पुगेका उनले लामो समयदेखि ब्याट नसमातेकाले आफूलाई तयारीमा राख्‍नका लागि दुई–तीन जनाको समूहमा सामाजिक दूरी कायम गर्दै सुरक्षा अपनाएर प्रशिक्षण गरिरहेको बताएका थिए । यसले खेलाडीहरूलाई खेलकुदको चिन्ता बढे पनि सरोकार वालाहरूलाई भने कुनै चासो नभएको देखिएको छ ।

एन्फाका प्रवक्ता किरण राईले खेलाडी मैदानमा फर्काउन कुनै जोखिम नभएको बताए । उनले सुरक्षा अपनाएर खेलाडीलाई प्रशिक्षणका लागि मैदानमा फर्काउँदा कुनै जोखिम नभएको बताएका हुन् । सार्वजनिक यातायात सेवा खुलेकाले खेलकुद क्षेत्र पनि छिट्टै प्रशिक्षणका लागि अनुमति दिनेमा आशावादी रहेको एन्फा प्रवक्ता राई बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro