site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
बाह्रखरी कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम

काठमाडौं । बाह्रखरी बुक्सको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम भएको छ । कथामा प्रथम भएकी सिराहाकी कथाकार चौधरीले एक लाख नगद पुरस्कार, सिल्ड र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

वैशाख १२ मा विजेता घोषणाको तयारी भए पनि लकडाउनका कारण हुन सकेको थिएन । सोमबार काठमाडौंको चन्द्रागिरिबाट विजेताहरुको नाम अनलाइन घोषणा गरिएको थियो ।  दोस्रो स्थानमा वीरगन्जका श्रेयज सुबेदीको ‘बेजोडा’ शीर्षकको कथा छानिएको छ भने तेस्रो स्थानमा काभ्रे तेमालका दीपेन्द्र दोङ तामाङको कथा ‘बुलेट बाइक’ रहेको छ । दोस्रो र तेस्रो हुने कथाकारलाई क्रमशः ६० हजार र ४० हजार रुपैयाँ प्रदान गरिएको छ ।

यस प्रतियोगितामा भाग लिएका करिब ६ सय प्रतियोगीमध्ये विजयी तीनजनासहित २५ उत्कृष्ट कथाको चयन आख्यानकार तथा पत्रकार नारायण वाग्लेको संयोजकत्वमा रहेको उपन्यासकार अमर न्यौपाने र साहित्यकार बिना थिङ तामाङ समूहको निर्णायक मण्डलले गरेको थियो । 

छानिएका २५ कथाहरूको संगालो ‘उत्कृष्ट कथा २०७७’ पनि बाह्रखरी बुक्सले आजै सार्वजनिक गरेको छ । डिजिटल भर्सनमा निकालिएको सो पुस्तक र सोही पुस्तकको अडियो बुक्स पनि डिजिटल पत्रिका बाह्रखरीको वेबसाइटमा निःशुल्क डाउनलोड गर्न सकिने व्यवस्था गरेको बाह्रखरी बुक्सले जनाएको छ ।  

Global Ime bank

वर्तमान असहज परिस्थितिमा बृहत् कार्यक्रम गरी प्रतियोगिताका विजेता तथा उत्कृष्ट २५ मा पर्न सफल कथाकारहरुलाई पुरस्कृत गर्ने र पुस्तक विमोचन गर्ने अवस्था नरहेकोले इन्टरनेटका माध्यमबाट भर्चुअल कार्यक्रमको आयोजना गरी नतिजा घोषणा गरिएको हो ।  

नेपाली आख्यान साहित्यका साधकहरुको सम्मानमा गत वर्षदेखि आयोजना हुँदै आएको मुलुककै सबैभन्दा ठूलो कथा प्रतियोगिताको दोस्रो शृङ्खलामा डिजिटल तथा अडियो बुकको विमोचन डिश होम बाह्रखरी कथा प्रतियोगिता २०७७को निर्णायक समूहका संयोजक वाग्ले तथा सदस्यद्वय न्यौपाने र थिङले संयुक्तरुपमा गरे ।

छानिएका २५ मध्ये पहिलो, दोस्रो र तेस्रोबाहेक बाँकी २२ कथाकारमा अविनाश भट्टराई, कर्मसही घर्ती मगर, कल्पना श्रेष्ठ कल्पपुञ्ज, कृष्ण कुसुम, खगेन्द्र गिरी, गोपाल झापाली, जनकऋषि राई (चाम्लिङ), त्रिभुवनचन्द्र वाग्ले, दीपक लोहनी, नन्दलाल आचार्य, नारायण लामिछाने, मनोज अज्ञात, महेन्द्र उपाध्याय, मोहन सङ्ग्राम, रत्न प्रजापति, रामदेव पाण्डे, वसन्त आचार्य, समीक्षा खतिवडा, डा. सुनिता तिमिल्सिना, सोमनाथ दाहाल, शिवराज योगी र क्षितिज समर्पण रहेका छन् । उत्कृष्ट २२ कथाकारहरुलाई प्रमाणपत्रसहित जनही पाँच हजार रुपैयाँ नगद प्रदान गरिनेछ । 

नेपाली आख्यान साहित्यलाई समुन्नत बनाउन कर्पोरेट क्षेत्रको योगदान महत्वपूर्ण हुने विश्वासका साथ बाह्रखरी बुक्सले कथा प्रतियोगितामा कर्पोरेट क्षेत्रसँग सहकार्य गरेको छ । बाह्रखरी कथा प्रतियोगिता २०७७ मा डिश होम ‘टाइटल स्पोन्सर’ रहेको छ भने अन्य महत्त्वपूर्ण सहयोगी संस्थामा सनराइज बैंक, हिमाल स्टील, किया मोटर्सको सेल्टोस गाडी, अजोड इन्स्योरेन्स, अर्घाखाँची सिमेन्ट र फ्याक्ट्स नेपाल रहेका छन् । 

बाह्रखरी बुक्सले कथा चयनका लागि आन्तरिक र मूल निर्णायक गरी दुईवटा मूल्याङ्कन समिति गठन गरेको थियो । आन्तरिक मूल्याङ्कन समितिमा राजेन्द्र पराजुली, गोविन्द अधिकारी, राजेश खनाल र अक्षर काका रहेका थिए ।

लेखकहरूबाट प्राप्त करिब ६ सय कथाहरूमध्येबाट ५२ कथा छानेर आन्तरिक मूल्यांकन समितिले बाह्य निर्णायक समितिलाई बुझाएको थियो । बाह्य निर्णायक समितिले त्यसबाट प्रथम, द्वितिय र तृतीयसहित २२ उत्कृट कथा छानेकोे थियो ।

कथा आफैंमा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय नेपालमा कथा लेखनप्रतिको आकर्षण कम हुँदै गएको महसुस भएका कारण १२खरी बुक्सले कथा प्रतियोगिताको आयोजनालाई महत्त्व दिएको छ । यस प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्तासमेतको सहभागिता रहनु प्रतियोगिताको उल्लेखनीय पक्ष हो । प्रतियोगिताले ‘ट्यालेन्ट हन्ट’को काम गर्नुका साथै लुकेर बसेका प्रतिभाको खोजी गरेको छ । यस प्रतियोगिताले नेपाली कथा लेखनमा नयाँ अध्याय थप्ने र कालजयी कथाको खोजीमा टेवा पु¥याउने विश्वास बाह्रखरी बुक्सले लिएको छ ।  

डिश होम बाह्रखरी कथा प्रतियोगिता २०७७ को विजेता घोषणा तथा उत्कृष्ट कथा २०७७ को डिजिटल र अडियो पुस्तक विमोचन कार्यक्रममा बाह्रखरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीको सहजीकरणमा निर्णायक समूहका नारायण वाग्ले, अमर न्यौपाने तथा बिना थिङबीच अन्तरक्रियात्मक कार्यक्रम भएको थियो ।

बाह्रखरी उत्कृष्ट कथा २०७७ को डिजिटल तथा अडियो बुक इच्छुक पाठक तथा स्रोताले बाह्रखरी वेबसाइटमा गइ निःशुल्क प्राप्त गर्न सक्नेछन् । 

मुख्य प्रायोजक डिश होमका अध्यक्ष हेमराज ढकालले आख्यानका यस्ता प्रतियोगिताले सिर्जनशीलता अभिवृद्धि गर्ने बताए । पठन संस्कृतिको विकास र जगेर्ना गर्न प्रतियोगिताले टेवा पुर्याउने बताउँदै बाह्रखरी बुक्ससँग निरन्तर सहकार्य गर्ने पनि बताए ।

कार्यक्रममा बाह्रखरीका प्रबन्ध सम्पादक राजेश केसीले धन्यवाद ज्ञापन गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu