site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
सीमा विवादकाबीच पनि संयुक्त राष्ट्रसंघमा भारतलाई नेपालको साथ !

काठमाडौं । भारत आन्तरिकरुपमा कोरोना महामारीविरुद्ध संघर्ष गर्दैछ भने अर्कोतिर छिमेकीसँगको सीमा विवादका कारण समस्यामा परेको छ । छिमेकीसँग सीमा विवाद भए पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌को अस्थायी सदस्यमा भारत निर्वाचित भएको छ ।

बुधबार राति अर्थात् जुन १७ मा भएको मतदानमा भारतलाई नेपालसहित एसिया-प्यासिफिक क्षेत्र र अन्य गरी १८४ राष्ट्रले भारतको पक्षमा मत दिएका छन् । संयुक्त राष्ट्र संघका १९३ राष्ट्र मतदानमा उपस्थित १९२ राष्ट्रमध्ये भारतले १८४ राष्ट्रको समर्थन प्राप्त गरेको हो । 

भारतसँगै मेक्सिको, आयरल्यान्ड, नर्वे र केन्या पनि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएका हुन् । बुधबार र बिहीबार निर्वाचित भएसँगै यी पाँच देशले सुरक्षा परिषद्को अस्थायी सदस्यता हासिल गरेका हुन् । 

Dabur Nepal

१९३ सदस्य रहेको राष्ट्र संघले भारतले १८४ मत प्राप्त गर्‍यो । त्यस्तै मेक्सिकोले १८७ मत प्राप्त गर्‍यो । अफ्रिकाबाट केन्याले ११३ मत प्राप्त गर्दा जिबुटीले ७८ मत प्राप्त गरेको थियो । पहिलो चरणमा कसैले जित हात नपारेपछि अफ्रिकी मुलुकका लागि बिहीबार राति भएको दोस्रो चरणको मतदानमा केन्याले १२९ मत प्राप्त गर्‍यो भने जिबुटीले ६२ मत प्राप्त गर्‍यो ।

राष्ट्रसंघीय सुरक्षा परिषद्‍मा १० वटा देश अस्थायी सदस्यका रुपमा प्रत्येक दुई वर्षमा निर्वाचित हुन्छन् । बेलायत, चीन, फ्रान्स, रुस र अमेरिका भने सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । स्थायी सदस्यसँग भिटो पावर हुन्छ । राष्ट्रसंघीय सुरक्षा परिषद्‍मा आगामी दुई वर्ष (२०२१–२२) का लागि अस्थायी सदस्य रहने यो तहमा एकैसाथ एसिया प्यासिफिकसहित अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिकी तथा क्यारेबियन, पश्चिमी युरोप तथा अन्य गरेर ५ सदस्यको निर्वाचन भएको हो ।

नेपालसहित यो क्षेत्रका सबै ५५ राष्ट्रले भारतलाई समर्थन गरेका हुन् । मेक्सिको पनि उत्तर अमेरिकी क्षेत्रबाट सर्वसम्मत रुपमा निर्वाचित भएको हो । तर, अस्थायी सदस्य बन्‍ने क्यानडाको प्रयास भने असफल रह्यो । आयरल्यान्ड र नर्वेसँग क्यानडा पराजित भएको हो ।  

भारत सन् २०२१ जनवरी १ देखि संयुक्त राष्ट्र संघको शक्तिशाली अंग सुरक्षा परिषद्‌मा चीन, फ्रान्स, रुस, संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायत (स्थायी सदस्य राष्ट्र) सँग दुई वर्ष काम गर्ने अवसर पाएको छ । सन् २०१९ मा भारत एसिया-प्यासिफिक क्षेत्रको एकल उमेदवारमा निर्विरोध निर्वाचित भएको थियो । 

संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि टीएस त्रिरुमुर्तिले संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्वाचनमा भारतले ठूलो समर्थन प्राप्त गरेको र भारतले बहुपक्षीय प्रणालीका लागि सुधारात्मक नेतृत्व प्रदान गर्ने बताएका छन् । 

उनले भनेका छन्, "कोरोना महामारीकाबीच भएको सुरक्षा परिषद्का निर्वाचनमा भारतको जित प्रधानमन्त्री नरेन्द्र मोदीको 'दूरदृष्टि' र उनको प्रेरणादायक विश्‍वव्यापी नेतृत्वको क्षमताको 'प्रमाण' हो ।"  

राष्ट्रसंघीय सुरक्षा परिषद्ले शान्तिस्थापना, अन्तर्राष्ट्रिय प्रतिबन्ध र विश्वका विभिन्‍न क्षेत्रमा देखिएका द्वन्द्व न्यूनीकरणका लागि काम गर्दै आएको छ । भारतले यस अघि १९५० देखि १९५१, १९६७ देखि १९६८, १९७२ देखि १९७३, १९७७ देखि १९७८, १९८४ देखि १९८५, १९९१ देखि १९९२ र २०११ देखि २०१२ सम्म यस परिषद्‍मा अस्थायी सदस्यको भूमिका निभाइसकेको छ । 

नेपाल भने यसअघि, सन् १९६९-७० र १९८८-८९ को दुई चरणमा सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भइसकेको छ । राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा पनि हाल नेपाल सदस्य छ ।

स्थायी प्रतिनिधि तिरुमुर्तिले भारत संयुक्त राष्ट्र संघको स्थायी सदस्यका लागि योग्य भएकोसमेत बताएका छन् । 

भारत संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को अस्थायी सदस्य निर्वाचित हुँदै गर्दा उसको लक्ष्य स्थायी सदस्य हुनेतिर रहेको छ । भारत संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका लागि अघि बढिरहँदा अहिले भारत सबै छिमेकीबाट 'घेराबन्दी' मा परेको अवस्था छ । चीन र नेपालसँग तनाव बढिरहेको अवस्थामा भारत राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

अस्थायी सदस्य राष्ट्रमा निर्वाचित भइसकेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्थायी सदस्य राष्ट्रमा भारतको जितका लागि सहयोग गर्ने सबै राष्ट्रलाई कृतज्ञता व्यक्त गरेका छन् । उनले सबै राष्ट्रसँग मिलेर विश्व शान्ति, सुरक्षा, लचिलोपना र समानताका लागि काम गर्ने बताएका छन् । 

सोमबार राति लद्दाखस्थित गलवान भ्यालीमा भएको भारत-चीन सेनाबीचको हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको छ । चीनले आफ्नो तर्फ भएको मानवीय क्षतिलाई सार्वजनिक गरेको छैन । भारतले एक महिनाको अवधिमा यस विवादाई समाधान गर्न तीनभन्दा बढी पटक संवाद गरिसकेको छ । लद्दाख क्षेत्रमा भारत-चीन सेनाबीच भएको तानातानीलाई समाधान गर्न जुन ६ मा उच्चस्तरीय सैन्य संवाद, ५ जुनमा कूटनीतिक तहमा वार्ता र १७ जुनमा भारत-चीनका विदेशमन्त्रीबीच संवाद भएको छ । 

तर, नेपालले सन् २०१९ को नोभेम्बरमा भारतले आफ्नो नक्सामा नेपाली भूमि समेटेदेखि औपचारिकरुपमा वार्ताका लागि पहल गर्दा पनि भारतले कुनै प्रतिक्रिया जनाएको छैन । त्यसैगरी नेपालले भारतलाई आवश्यक परेका क्षेत्रहरुमा सहयोग गर्दै आएको छ । तर, भारतले भने नेपालसँगको सीमा समस्या समाधानका लागि बेवास्ता गर्दै आएको छ ।

परराष्ट्रविद्‌ डा. दिनेश भट्टराईले भारतलाई मतदान गर्ने कुरा पहिले नै तय भएकाले त्यसमा खासै असर नगर्ने तर भारतले नेपालप्रतिको दृष्टिकोण सुधार गर्नुपर्ने बताए । उनले भने, "भारतलाई नेपालले पहिलेदेखि नै अन्तर्राष्ट्रिय मञ्‍चहरुमा सहयोग गर्दै आएको छ । एउटा छिमेकीले अर्को छिमेकीलाई सहयोग गर्नुपर्ने मान्यता अनुरुप त्यो सहयोग आदानप्रदान भइरहेको छ । तर, भारतले एउटा 'ग्लोबल पावर' भन्‍ने लक्ष्यमा अघि बढिरहँदा छिमेकीसँगको सम्बन्ध बिगार्नु हुँदैन ।" 

तर, कूटनीतिक मामिलाका विश्लेषक टीका ढकाल भने संयुक्त राष्ट्र संघको कुरा आफ्नो नक्सा प्रकरणमा जोड्न नहुने बताउँछन् । उनले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को अस्थायी सदस्य बन्‍न भारतको उमेद्‍वारीमा नेपालको साथ रहनुले पनि नेपाल-भारत 'कूटनीतिक इन्गेजमेन्ट' कायम रहेको देखिएकोसमेत बताएका छन् ।

उनले भने, "नेपाल-भारतबीच विभिन्‍न च्यानलमार्फ संवाद जारी छ र राख्‍नुपर्छ । तर, हामीले सीमा कुरा र संयुक्त राष्ट्र संघमा मतदान गर्ने कुरा छुट्टा-छुट्टै गरेर डिल गर्नुपर्छ । हामीले एउटा कुरालाई अर्को विषयमा 'मर्ज' गर्दा भारतले पनि व्यापार र अन्य लगानीका कुरालाई सीमा प्रसंगमा जोड्न सक्छ । जसले नेपाली जनताले समस्या भोग्‍नुपर्ने दिन आउनसक्छ । त्यसकारण हामीले हरेक कुरा छुट्टाछुट्टै डिल गरेर समस्याको समाधानतिर लाग्‍नुपर्छ ।" 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro