site stats
बाह्रखरी :: Baahrakhari
खेल
खेलाडी संघले खेलाडीको स्वास्थ्य बिमा गर्ने

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीले खेलाडीको कोरोना स्वास्थ्य बिमा गर्ने भएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई मध्य नजर गर्दै सुदूरपश्चिममा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको कोरोना स्वास्थ्य बिमा गर्ने खेलाडी संघका अध्यक्ष प्रकाशकुमार चन्दले जानकारी दिए ।

उनले सुदूरपश्चिममा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको तथ्याङ्क निकालिरहेको बताए । खेलसँग सम्बन्धित विभिन्न संघ संस्थाहरू र कार्यालयहरू बन्द भएकाले एकिन तथ्याङ्क निकाल्न नसकिएको उनको भनाइछ ।

खेलाडी संघका अध्यक्ष चन्दले भने, “हामीसँग तथ्याङ्क नै नभएको त होइन, तर अहिलेसम्म यस क्षेत्रमा कति जान छन् भन्ने एकिन तथ्याङ्क पुष्टि गर्न खोज्दै छौं ।  हामीसँग सम्पर्कमा भएका र सम्पर्क बाहिर भएका खेलाडीलाई आफ्नो स्वास्थ्य बिमाका लागि जानकारी गराउन आह्वान गरेका छौं ।” 

Argakhachi Cement Island Ad

खेलाडी संघसँग हाल आर्थिक अवस्था कमजोर भएकाले खेलाडीको संख्या हेरेर बिमाका लागि आर्थिक सहयोग गर्न सकिने उनको भनाइछ । “हामीसँग पैसा छैन । तर, पनि खेलाडीको संख्या हेरेर पूर्ण वा ५० प्रतिशत भए पनि सहयोग गर्दै स्वास्थ्य बिमा गर्ने छौं,” उनले भने, “खेलकुदमा लागेका व्यक्तिलाई यसले सानै भए पनि सहयोग पुग्नेछ । यसले केही नभए पनि उनीहरूलाई खेलकुदले सम्झेको महसुस हुनेछ । त्यो नै खेलाडी संघका लागि ठूलो कार्य हुनेछ ।”

स्वास्थ्य सेवामा ५० प्रतिशत छुट

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीको सामाजिक सुरक्षामा ध्यान दिएको पाइँदैन । केन्द्रीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राखेपको नेतृत्व परिवर्तन हुनेबित्तिकै खेलाडीको हक र हितका विषयको उठान गर्दै ध्यानाकर्षण गराउँदै आएको छ । तर, त्यो अहिलेसम्म कार्यान्वयन हुन भने सकेको छैन ।

हालसम्म खेलाडीको सामाजिक सुरक्षा नभएको अवस्था छ । स्वास्थ्यको विषयमा पनि खेलाडीको बिमा हुनुपर्ने र स्वास्थ्य जाँचका विषयमा सहुलियत हुनुपर्ने भन्दै खेलाडी संघ काठमाडौंले पटक–पटक जानकारी गराएको अध्यक्ष दीपक श्रेष्ठले बताए । उनले सरकारले निजी क्षेत्रका अस्पतालमा नसके पनि, कम्तीमा सरकारी अस्पताल मात्रै भए पनि खेलाडीलाई स्वास्थ्य सहुलियत दिनुपर्नेमा जोड दिए ।  

तर, यसको सुरुवात खेलाडी संघ कैलालीले गरेको छ । खेलाडी संघ कैलालीको सिफारिसमा कैलालीमा रहेका जुनसुकै ठूला अस्पतालहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी कुनै दुर्घटनामा परेर उपचारका लागि ५० प्रतिशत छुटको व्यवस्था मिलाएको अध्यक्ष चन्दले जानकारी दिए ।

उनले औषधिबाहेक अन्य सबै अपरेसन लगायतका विषयमा ५० प्रतिशत छुटको व्यवस्था मिलाएको जानकारी दिएका हुन् । हालसम्म सुदूर पश्चिममा रहेका करिब दुई सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले यो सुविधा पाइसकेको चन्दले जानकारी दिए । 

कुनै पनि खेलाडी भोकै बस्नु नपरोस्

खेलाडी संघ कैलालीले लकडाउनका कारण समस्यामा रहेका सम्पूर्ण खेलाडी तथा खेलकर्मीलाई राहत वितरण समेत गर्दै आएको छ । कोरोना भाइरसका कारण लामो समयसम्म समस्या परेका खेलाडीका लागि राहत वितरण गर्दै आएको अध्यक्ष चन्दले जानकारी थिए । 

सुदूरपश्चिम प्रदेशमा रहेका कुनै पनि खेलका खेलाडी, प्रशिक्षक र पदाधिकारी भोकै बस्नु नपरोस् भन्दै संघले राहत वितरण सुरु गरेको उनले बताए । उनले खेलाडीलाई कुनै किसिमको दुःख वा बिरामी भए तुरुन्त नजिकैको स्वास्थ चौकीमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् । अवस्था गम्भीर भए एम्बुलेन्स र स्वास्थ सेवाको व्यवस्था भएकाले संघका सदस्यहरूलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

यसका लागि खेलसँग सम्बन्धित व्यक्ति र कार्यसमितिमा भएका व्यक्तिहरूले सहयोग गरिरहेको उनले बताए । “हामीले पैसा नै भनेर मागेका छैनौं । विभिन्न खाद्य वस्तु दिन चाहनेले दिइरहेका छन् । अस्ति मात्रै हामीले ४३ जनालाई खाद्यान्न वितरण गर्‍यौं,” अध्यक्ष चन्दले भने, “कैलालीको टीकापुर, लम्की, फुलबारी, धनगढी लगायतका स्थानमा राहत वितर गरिरहेका छौं । कैलाली जिल्लामा समस्यमा परेका सबै खेलाडीलाई दोस्रो चरणको राहत वितरण कार्यक्रममा सक्नेछौं ।”

उनले थपे, “त्यसपछि कञ्चनपुरमा समस्यमा परेका खेलाडीलाई राहत वितरण गर्न सुरु गर्ने छौं । हाल कञ्चनपुरमा समस्यमा परेका खेलाडीको नामावली तयार पार्ने कार्य सुरु गर्दै छौं । सोमबारसम्म १५ जना जतिको नाम आएको छ । असार १ गतेभित्र कञ्चनपुरमा पनि राहत वितरण गरिसक्ने लक्ष्य रहेको छ ।”

कैलाली जिल्ला खेलकुद विकास समितिले पनि यसमा सहयोग गरेको छ । “हामीले स्वास्थ्यका लागि समेत व्यवस्था मिलाएका छौं । त्यस्तो अवस्था नआओस् । तर, परि हालको अवस्थालाई हेरेर दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौं । एम्बुलेन्सको खर्च सबै खेलाडी संघले व्यहोर्ने छ,” उनले भने, “यसअघि खेलाडी संघले समय समयमा ब्लड डोनेसन गरिरहने भएकाले नेपाल रेडक्रसले एम्बुलेन्सका लागि सहयोग गरेको छ । उनीहरूले जुन अवस्थानमा जस्तो एमबुलेन्स चाहिन्छ प्रयोग गर्न सकिन्छ भनेका छन् । स्वस्थ्य कर्मीको हिसाबमा म आफै पनि स्वास्थ्य कर्मी भएकाले सबैसँग राम्रो सम्बन्ध छ । सबै अस्पताल उपचारका लागि तयार छन् ।” 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको ट्यागले समस्या

खेलाडी संघले सुदूर पश्चिम भरिका खेलाडीलाई राहत दिने प्रयास गरेको छ । ग्रामीण भेगमा बस्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई स्थानीय तहले हेर्ने दृष्टिकोण फरक भएकाले उनीहरू नै समस्यामा परेको उनले बताए । 

“राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई उच्च दर्जाको मान्छे हो सोचिरहेका हुन्छन् । किनभने उनीहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतियोगिताका लागि गइरहेको हुन्छन् । यसले गर्दा पनि स्थानीय तहले उसलाई सबै पुगेको व्यक्ति सोच्दा रहेछन्,” अध्यक्ष चन्दले भने, “तर, उनीहरूलाई कति समस्या भएको त्यो उनीहरूलाई मात्र थाहा हुन्छ । यस दौरान त्यस्ता व्यक्ति पनि हामीले धेरै भेट्यौं । वडामा गएर नाम टिपाउँ भन्दा त्यहाँमा मनिसहरू हाँस्ने । यस्तो खेलाडीलाई पनि राहत चाहीन्छ र ? भन्ने जस्ता प्रश्न गर्ने गरेका छन् ।”

खेलाडी संघले हाल खेलकुदसँग आबद्ध व्यक्तिका लागि मात्र यो कदमा चालेका उनको भनाइछ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १५:०१
प्रतिक्रिया दिनुहोस्