
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटप्रति अर्थविद्हरूले मिश्रित प्रतिक्रिया दिएका छन् । अर्थविद्हरूले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार घटाएकोमा स्वागतयोग्य भनेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक गरे । यो चालु आर्थिक वर्षको तुलनामा सानो आकारको हो ।
चालु आर्थिक वर्षका लागि संशोधन अघि १५ खर्ब ३२ अर्बको बजेट सार्वजनिक गरिएको थियो ।
अर्थविद्हरूले सरकारले आर्थिक वृद्धि भने महत्त्वाकांक्षी भएको बताएका छन् । अर्थविद् केशव आचार्यले ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य महत्त्वाकांक्षी भएको बताए । उनले राजस्वको लक्ष्य यथार्थवादी भए पनि आर्थिक वृद्धि भने महत्त्वाकांक्षी भएको बताए । उनले विगत तीन वर्षको औषत हेर्दा पनि ५ प्रतिशतको हाराहारीमा रहेको भन्दै उनले अति राम्रो समयमा पनि ७ प्रतिशत मात्रै भएको बताए ।
यस्तै अर्का अर्थविद् डा. गोविन्द नेपालले भने बजेट सन्तुलित खालको ल्याउन खोजिएको बताए । बजेटको आकार नबढाइनु राम्रो पक्ष रहेको भन्दै उनले स्वास्थ्य, कृषि, रोजगारीलाई प्राथमिकता दिइनु राम्रो भएको बताए । उनले अल्पकालीन र दीर्घकालीन रूपमा सम्बोधन गर्न खोजिएको देखिएको बताए । उनले पनि आर्थिक वृद्धि ७ प्रतिशत हासिल हुन नसक्ने बताए । गत वर्षको भन्दा पुँजीगत खर्च घटाइएको छ, यस्तो अवस्थामा ७ प्रतिशत आर्थिक वृद्धि कसरी हासिल हुन्छ ? उनले प्रश्न गरे । यद्यपि आगामी आर्थिक वर्षको बजेट सुन्तुलित खालको भएको उनको भनाइ छ ।
यस्तै अर्थविद् डा. डिल्लीराज खनालले हालको अवस्थामा साहसिक खालको बजेट ल्याउनुपर्नेमा त्यस्तो खालको बजेट नआएको बताए । “स्वास्थ्यलाई प्राथमिकता दिइएको छ, यो राम्रो पक्ष हो तर जसरी आउनु पर्दथ्यो, त्यसरी साहजिक खालको आएन’’ उनले भने ।