सुन्दर श्रेष्ठको चर्चा उनले कोरेका चित्रबाट भन्दा नेपाली नोटको डिजाइनका कारण हुँदै आएको छ । नेपाल राष्ट्र बैंकको चित्रकार पदबाट निवृत्त भइसके पनि बैंकको नोट डिजाइनिङमा उनको संलग्नता र सक्रियता यथावत छ ।
पाल्पाबाट काठमाडौं आउँदा चित्रकार मात्रै थिए सुन्दर । काठमाडौं भित्रिएपछि केन्द्रीय बैंकको चित्रकार भए । चित्रकलासँगै उनको रंग र कूचीले विभिन्न आवरण र पोस्टर प्रचार सामग्री डिजाइनको बाटो समायो ।
धेरै समय व्यावसायिक डिजाइनिङमै व्यतित गरे पनि सुन्दरले बेलाबखत चित्रकला नबनाएका हैनन् । तर डिजाइनकै कामले फुर्सद नहुने भएकाले चित्रकलातिर त्यति ध्यान दिनसकिरहेका थिएनन् ।
कोरोनाभाइरसको त्राससँगै जारी बन्दाबन्दी (लकडाउन) ले घर बस्नु परेपछि उनको ध्यान आफ्नो मूलकर्म तर्फ गयो । फलतः यो पचास दिनभित्र उनले चारवटा चित्रकलाको सिर्जना गरे ।
फोनमा कुरा गर्दैगर्दा सुन्दरले सुनाए, लकडाउन सिर्जनाको गाथा । उनी भन्छन्, “लकडाउन सुरु भएको दस दिनसम्म केही गर्नै पो सकिएन ! जाँगर नै चलेन । फेरि मैले घरमा काम गर्न छोडेकाले घरमा कलर र ब्रस केही पनि थिएन ।”
अर्थात् चित्रकलाका लागि आवश्यक रंग, कूची अनि क्यानभास केही थिएन, उनीसँग । जे जति सामान थियो, बागबजारस्थित अफिसमै थियो । त्यसैले यो समय उनले घरघरायसी काममै समय खर्चिए । त्यसबाहेक गीत पनि लेख्दै आएका उनले केही मुक्तक लेखे ।
एक दिन मौका मिलाएर सुन्दर बागबजार गए । अफिसबाट चित्रकलाका लागि आवश्यक सामानहरू सबै बोकेर घर फर्किए ।
त्यसपछि उनले पहिलो चित्र कोरे, ‘हतार’ शीर्षकमा । लकडाउनमा सबै घरमा छन् । तर, पनि कसैकसैलाई खेतबारीमा समय खर्चिएर, अहिलकति पसिना बारी र खेतमा सिंचिएर छिटोभन्दा छिटो घर फर्किने हतार छ ।
सुन्दर भन्छन्, “घरमा केटाकेटी हुन्छन् । तिनलाई पनि हेर्नुपर्ने हुन्छ । अझै विशेष ध्यान दिनुपर्छ । त्यसैले एउटी महिला काम सक्याएर आफ्नो गन्तव्यतिर हतारिएर हिँडिरहेको चित्र मैले क्यानभासमा उतारेँ ।”
सुन्दरका अनुसार यो चित्रकला तयार गर्दा उनलाई दुई तीन दिन लाग्यो । चित्रकला एकनासले बनाउन नसकिने उनी बताउँछन् । त्यसबीच घरेलु काममा पनि ध्यान दिनै पर्यो ।
सुन्दरले हाँसेर सुनाए, ‘बेलाबेलामा एक्सन फिल्महरू पनि खुबै हेरें ।”
पहिलो चित्रकलालाई पूर्णता दिइसकेपछि केही दिन यसै बित्यो । करिब चार पाँच दिनपछि मात्रै उनले दोस्रो चित्रकलाका लागि क्यानभास तयार गरे । र, क्यानभासमा कोरोनाको कहर उतारे ।
कोरोना र यसले सिर्जेको त्रासलाई यो चित्रमा उनले देखाउन खोजेका छन् । कोरोनाका कारण सर्वत्र त्रासपूर्ण वातावरण छ । यो त्रासले सबैलाई उद्वेलित तुल्याएको छ ।
यही व्याकुलता चित्रित गर्दै उनले नङ्ग्रा भएको हातलाई बिम्ब बनाए । सोही कोरोनारूपी हातबाट सबै त्रसित रहेको उनले यो चित्रमा प्रस्तुत गरेका छन् ।
त्रासद भावना यो चित्रकलामा पोखिन त पोखियो, तर चित्र बनाएको केही समयपछि उनलाई लाग्यो ‘ओहो मैले डरलाग्दो चित्र पो बनाएँ कि ।’
उनी भन्छन्, “त्यसपछि सोचेँ यतिबेला मानिसको सहारा मानिस नै हुन् । सामाजिक दूरी कायम गरिए पनि एक अर्काको सहारा जीवनमा आवश्यक छ । तसर्थ सहाराको ‘सिम्बोल’ देखाउँदै हजुरबा र नाती दुवैले एक अर्काको सहारा लिँदै हिँडेको चित्र तयार गरें ।”
दोस्रो चित्र बनाएको केही दिनपछि अब लकडाउन खुल्छ कि खुल्छ कि भन्ने दोधारमै केही दिन बित्यो । केही सिर्जना भएन त्यो समयमा । पर्खंदा पर्खंदै केही दिन फेरि कोठामै बित्यो ।
तर, लकडाउनको दिन थपिंदै गयो । यसबीचमा उनले जिम्मा लिएका धेरै कामहरू सिध्याउनु थियो । डिजाइन गर्नुथियो । केही चित्रहरू पनि कोर्नु थियो । तर, सिर्जना गर्ने वातावरण नै थिएन । वातावरणका लागि उनी लकडाउन खुल्ने प्रतीक्षा गरिबसे ।
त्यही बीचमा उनले एउटा अर्को तस्बिरको खाका कोरे ‘आमाको सपना’ ।
बुद्ध जयन्तीका दिन उनको आमाको तिथिश्राद्ध थियो । आमाको तिथिकै दिन सम्झना स्वरुप एउटा चित्र सार्वजनिक गर्ने उनको विचार थियो । तर समय घर्कियो । चित्र पूरा गर्न सकेनन् ।
उनी भन्छन्, “आमाको सपना चित्र बनाउँदा आमालाई बारम्बार सम्झिएँ ।
आमालाई सम्झिँदै बनाएको यो चित्र लाखौँ आमाहरूका लागि आफ्नो फेसबुकमै सार्वजनिक गरें । यो चित्रकलामा हरेक आमाले जेजति सपना देख्छन्, छोराछोरीकै लागि मात्र देख्छन् भन्ने दर्शाउन खोजेको छु ।”
यसरी बन्दाबन्दीको यो पचास दिनमा सुन्दर श्रेष्ठले चार वटा चित्रकला क्यानभासमा उतारे ।
सुन्दर अमूर्त चित्र त्यति बनाउँदैनन् । उनको विचारमा चित्र तयार भइसकेपछि चित्र हेर्नासाथ मानिसले त्यो चित्रले भन्न खोजेको बुझ्नु पर्छ भन्ने मान्यता छ । त्यसैले उनले जहिले पनि सजिलै बुझ्ने मूर्त चित्र बनाउँदै आएका छन् ।
उनको यो भनाइको पुष्टि उनका अहिलेका यी चार चित्रहरूले पनि गरेका छन् ।