काठमाडौँ । ठमेल सुन्ने बित्तिकै मनमा एउटा चित्र बनिहाल्छ त्यो हो– स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने ठाउँ । तर, कोरोनाको महामारीका कारण ठमेलको परिचय फेरिएको छ, त्यसैले त हिजोआज ठमेल चकमन्न छ ।
दिनमा मात्र होइन रातमा समेत भीडभाड हुने ठमेलमा हिजोआज दिउँसो नै पनि मानिस देख्न मुस्किल पर्छ । तर, त्यही सुनसान देखिने ठमेलमा लक्ष्मी महत भने नाङ्ले पसल राखेर बसेकी छन् ।
उनी मध्याह्नको चर्को घाम सहेरै भए पनि व्यापार हुन्छ कि भनेर कुर्दै थिइन् । हामीले उनको छेउमा पुगेर लकडाउनको प्रभाव कस्तो छ भनेर सोध्यौं । उनले आफ्नो दुई घण्टाको कमाइ भन्दै ८० रुपैयाँ देखाइन् र निराश भइन् ।
उनीसँग कुरा गर्दै जाँदा थाहा भयो, उनी ठमेलमा राति व्यापार गर्ने रहिछन् । त्यति बेला त उनले एक रातमा नै २ हजारभन्दा धेरैको व्यापार गर्थिन् र घर खर्च चलाउँथिन् । लकडाउन अगाडिको व्यापार सम्झदै उनी भन्छिन्, “क्लबहरू चल्ने भएकाले शुक्रबार त झन धेरै कमाइ हुन्थ्यो ।”
उनको त्यो नाङ्ले पसलबाट उनी आफू मात्र बाच्नु परेको छैन, उनका ३ सन्तानसहित उनीहरूको पढाइ खर्च पनि धान्नु परेको छ ।
हुन् त उनका श्रीमान् पनि उनकै साथ नभएका होइनन् तर ज्याला मजदुरी गर्ने भएका कारण कमाइ खासै हुँदैन । त्यसैले श्रीमान् पनि उनैसँग ठमेल व्यापार गर्न जाने गर्थे । “कोरोनाले त मेरो मात्र होइन श्रीमान्को पनि काम खोस्यो, अहिले त दुवै जना बेरोजगार ।”
०००
लक्ष्मी आजभन्दा ३३ वर्ष पहिले सहरमा काम गरेर छोरा छोरीलाई राम्रो स्कुलमा पढाउँला, सानो नै भए पनि सहरमा एउटा घर बनाउँला भनेर धनकुटाको एउटा गाउँबाट काठमाडौँ हानिएकी रहिछन् । तर, यत्रो वर्ष काठमाडौँमा पसिना बगाउँदा पनि सपना पूरा हुन नसकेको र २०७२ सालको भूकम्पले ज्यान नै छियाछिया हुने गरी किचेको चुनाउँदै भनिन्, “त्यही परको बजेट होटलले किचेर १८ महिना अस्पताल बस्नु पर्यो ।”
भूकम्प अगाडि सिलाइ बुनाइ गर्ने लक्ष्मीको ढाड र खुट्टामा अझै पनि स्टिलका पाता राखेको छ । शरीरमा स्टिल भएका कारण उनी दैनिक काममा जान सक्दिनन् । उनी त्यही शरीर लिएर बाटोमा ब्यापार गर्न लागेको बताइन् ।
त्यही सानो ब्यापारबाट भएको कमाइबाट नै उनले १ लाख ३० हजार खर्च गरेर जेठो छोरालाई दुबइमा कामका लागि पठाएकी रहिछन् ।
“सोचे जस्तो भए पो ” उनले दुखेसो पोखिन्, “कम्पनीले १२ सय दिन्छ भनेर गएको मान्छेलाई त्यहाँ पुगेपछि ९ सय मात्र दिने भन्यो ।”
कोरोनाका कारण लक्ष्मीका बुढाबुढीको मात्र कमाइ नभएको होइन रोजगारीका लागि विदेशिएको छोराले पनि काम पाएका रहेनछन् । हिजो मात्र छोरासँग कुरा गरेको सुनाउँदै उनले भनिन्, “अहिले त कम्पनीले खानका लागि मात्र पैसा दिन्छ रे तलब दिँदैन रे ।” छोराको यो कुरा सुनेर उनलाई आफ्नो उपचारका लागि लिएको ऋण कसरी तिर्नु भएको छ ।
झन्डै डेढ महिना लक डाउन हुँदा उनको कोठामा खाद्यान्नको अभाव हुन लाग्यो । रोगले थलिएको ज्यान बिस्तारै दुख्न समेत लाग्यो । त्यसैले उनी केही दिन अगाडिदेखि बाटोका निस्किएकी छन् । तर एक छाक तरकारी किन्न पुग्नेसम्म पनि कमाई नभएकोमा उनी गुनासो गर्छिन् ।
एसईई पछाडि सरेपछि छोराछोरी धनकुटा गएका छन् । उनलाई पनि आफ्नो गाउँ जान मन त नभएको कहाँ हो र रु तर ज्यानले त्यति लामो बाटो बस चढेर जान सक्दैन ।
अब त उनको कोठामा खाद्यान्न पनि सकिएको र अरूसँग ऋण लिन पनि भूकम्पले थालिँदा उपचार गर्दाको पैसा तिर्न नसको बताउँदै भन्छिन्, “यो लकडाउन कहिले खुल्छ सरकार ? यही स्यानो भए पनि ब्यापार गरेर गुजारा गर्थें नि ।”