site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 चेतनका चार गीत
SkywellSkywell

गीतरूपी माला उन्ने काम सजिलो छैन । झनै त्यसमा विचार, भाव र कथा व्यथा सुललितरूपमा पस्किनु, जो कोहीका लागि सम्भव छैन । त्यस्ता कुशल गीतकार कमै छन् ।

गीतमा भाव र विचार प्रस्तुत गर्दै मन मस्तिष्कलाई झङ्कृत गर्नेखालका गीत लेख्ने केही उच्चकोटीका नेपाली गीतकारहरू मध्येमा पर्छन्, चेतन कार्की । उनको गीतरचना शिल्पका विषयमा भनिरहनु पर्दैन । उनको नामै उनको पूर्ण परिचय हो । त्यसमा थप अरू केही लेखिरहनु आवश्यक रहन्न । 

लोक–संस्कृतिका मर्मज्ञ चेतन कार्की गीतकार मात्रै होइनन्, उनी एक कुशल चलचित्र लेखक तथा निर्देशक पनि हुन् । नेपाली लोकगीतको उर्वरभूमि गण्डकी क्षेत्रको स्याङ्जामा जन्मिएका कार्की चार वर्षको नहुँदै लाहुरे पिताकासाथ भारतको देहरादुन पुगे । किनभने त्यसबेला स्याङ्जामा पठनपाठनका लागि विद्यालयको उचित व्यवस्था थिएन । र, उनका पिताजी आफ्ना सन्तानलाई शिक्षादीक्षाको सम्पत्ति सुम्पिन चाहन्थे । 

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

सानैमा देहरादुन पुगेका कार्कीको किशोरकाल र युवावय देहरादुनमै बित्यो । तर देहरादुनमा रहे पनि, स्याङ्जाली लोकलय र लोकगायन उनको मनमा गडेर रहेको थियो । फलतः बेलामौका स्कुल कलेजका कार्यक्रमहरूमा उनी आफ्नो मुलुक सम्झिन्थे । आफ्नो माटो सम्झिन्थे । आफ्नो स्याङ्जा सम्झिन्थे । र गाउँथे स्याङ्जाली लोकभाकाहरू ।

देहरादुनबाट मास्टर्स गरिसके उप्रान्त १९ वर्षपछि उनी नेपाल फर्किए । त्यस पछि अनेक संघर्ष गर्दै विभिन्न कर्ममा जुटे । र, अन्ततः २०१८ साल माघ १ गते उनी आफ्नो भावभूमि पोखरा पुगे । चेतन कार्की त्यसबेला पोखरा ताल विकास कार्यालयको हाकिम भएर गएका थिए । 

पोखरा पुग्नासाथ कार्कीलाई करिब २० वर्ष अघि छोडेर गएको त्यही लोकलय, लोकभाका र लोकसंस्कृतिले फेरि आफूतिर आकर्षित गर्‍यो । त्यसपछि उनी स्याङ्जाली गाउँले जनजीवन, पोखरेली गाउँले जनजीवनसँग एकाकार हुँदै गए । त्यहाँको लोकजीवनसँग उनको तादात्म्यता हुँदै गयो । 

उनी फुर्सद मिल्नासाथ लोकगीत, लोकभाका र लोकसंस्कृतिको खोजीमा जुट्न लागे । र, कविता गीत गजलको रचनामा चलाउँदै आएको देहरादुनी कलमलाई गण्डकी भाकाको सिर्जनामा घोेट्न थाले । तिनै लोकगीत आधुनिक गीतहरूको सिर्जनाले चेतन कार्कीलाई उचाईँ प्रदान गर्दै गयो ।

वरिष्ठ गीतकार चेतन कार्कीले लेखेका सयौं गीत छन् । तर, यतिबेला उनले रचना गरेका चारवटा चर्चित गीतहरूको कथा उनकै शब्दमा प्रस्तुत गरिएको छ । 

दाइलाई बोलाउँ भने...

यो गीत स्याङजा जिल्लाको अति प्रचलित ‘रोइलो’ लोकभाकामा मैले रचना गरेको गीत हो । नेपालका प्रशिद्ध संगीतस्रस्टा नातिकाजी दाइले यस शब्द रचनामा लोकआधुनिक भाकाको लय भरेका हुन् । लोकआधुनिक शैलीको यस गीतलाई गाए, नेपालकै चर्चित गायिका तारादेवी र नेपालकी प्रथम नायिका भुवन थापा (चन्द) ले । 
यो गीतको संगीत लोकआधुनिक शैलीको भए पनि, नातिकाजीले संगीतबद्ध गरे पनि, यो रोइलो भाकाको गीत नै हो । यस गीतमा नाति दाइले अत्यन्तै उच्चकोटीको संगीत दिनुभएको छ । 

रोइलो भाकामा तीनवटा फ्रेज हुन्छ । त्यो हो, 

हे.... दाइलाई बोलाउँ भने

लेक स्वर पुग्दैन..

बोलाई रहन हुँदैन...।

स्याङजाको मुख्य भाका रोइलो नै हो । हुन त स्याङ्जामा आँधिखोले भाका पनि छ । स्याङ्जाको आँधिखोले भाका, बागलुङमा गाइने सालेजो भाका र लमजुङको करापुटारमा गाउँने कर्पुटारे भाकालाई दिदीबहिनी मानिन्छ । तर, रोइलो भाका स्याङ्जाको आफ्नै उत्पत्ति हो । अचेल यो भाका पाल्पा र तनहुँमा पनि सरिसकेको छ ।

२०१९/२० सालतिर सिर्जित यस गीतको रेकर्डिङ २०२० सालको हाराहारीमा नै भएको हो । यो गीत रेकर्ड भएर आम स्रोताका मनमनमा पुगेपछि म पनि गीतकार भएँ भन्ने अनुभूति मलाई भयो । नाति दाइले मलाई पनि गीतकार बनाइदिनु भयो भन्ने अनुभव गरेँ मैले, त्यसबेला ।

बैनीको दया छ भने...

यो गीत पनि लोकभाकाको गीत नै हो । जुन नेपाली चलचित्र ‘परिवर्तन’मा प्रयोग गरियो । यो गीतको रेकर्डिङ २०२६ सालमा भएको । ०२६ सालकै पुस महिनामा ‘परिवर्तन’को सुटिङ सुरु भएको थियो । चलचित्र २०२७ सालको पुस तिर रिलिज भएको हो ।

यो लोक गीतको रेकर्डिङ कलकत्तामा भएको हो । यो नारायणगोपालले गाएको पहिलो लोकगीत पनि हो । त्यस अघि नारायणले लोकगीत गाएका थिएनन् । तर यो कोरस गीत हो ।

‘बैनीको दया छ भने...’ गण्डकी क्षेत्रको ‘झ्याउरे चुड्का’ गीत हो । म यहाँ गण्डकी क्षेत्रमा गाइने चार चुड्काको छोटो चर्चा गर्न चाहन्छु । गण्डकी क्षेत्रमा चारवटा चुड्का प्रचलनमा छ । एउटा हो, झ्याउरे चुड्का । जुन चुड्का ‘बैनीको दया छ भने...’ लोकभाकामा प्रयुक्त भएको छ । 

अर्को हो ‘भजन चुडका’ । जुन स्थानीय क्षेत्री बाहुनले गाउँछन् । जस्तै लागिन् सीता रुन रामको अम्ठी देखेर... बोलकासाथ भजन चुड्का गाइन्छ । यो रामचरित्र हो । त्यस्तै कृष्णचरित्र पनि गाउँने गरिन्छ ।

अर्को चुड्का हो ‘रोइलो चुड्का’ हो । जुन चुड्काको बारेमा मैले माथि नै भनिसकेको छु । ‘रोइलो चुड्का’ खासगरी युवा तरुना तरुनीले गाउँछन् । 

चौथो चुड्का हो ‘कौडा चुडका’ । यो स्याङ्जाली भाका होइन । तर मगरहरूको संस्कृतिमा तनहँु जिल्लाको दक्षिणी भेकमा कौडा गाउने चलन छ । अहिले त कौडा नेपालकै प्रतिनिधि लोकभाका भइसकेको छ । 

त्यही गण्डकी क्षेत्रको झ्याउरे चुडका भाकामा ‘बैनीको दया छ भने...’ लोकगीत सिर्जना भयो । यो लोकभाकामा संगीत संयोजन मात्रै संगीतकार भी. बलसाराले गरेका हुन् । 

‘परिवर्तन’मा राखिएका जति पनि लोकगीत छन्, त्यसको भाका संगीतकार भी. बलसारालाई हामीले सुनायौँ । ती भाकामा कुनै पनि नोट उनले परिवर्तन गरेनन् । सबै लोकभाकामा उनको संगीत संयोजन मात्रै रह्योे । चलचित्र परिवर्तनमा उनले संगीत भरेको एउटा मात्रै गीत हो, नारायणगोपालको आवाज रहेको ‘बुझ्नै सकिनौ तिमीले......’ ।  

बुझ्नै सकिनौ तिमीले आँखाको भाखा मेरो...

चलचित्र परिवर्तनको यो गीत कलकत्तामा दुई घण्टा भित्रमै लेखिएको हो । पहिले यो गीत चलचित्रमा थिएन । सुरुमा नारायणगोपालका लागि सोलो गीत थिएन । जबकि तारादेवी र मिरा राणाका लागि एउटा एउटा सोलो गीत दिइएको थियो । 

फिल्मको गीत रेकर्डिङका लागि हामी सबै कलकत्ता पुग्यौं । संगीतकार भी. बलसारासँग बसेर गीतको रिहर्सल सुरु भयो । त्यसैबीचमा नारायणगोपाललाई फिलिङ भयो ‘मेरा लागि त सोलो गीत छैन’ भन्ने । त्यसपछि उनले भने ‘मलाई पनि एउटा सोलो गीत चाहियो । नभए म गाउँदिन । म काठमाडौं फर्किन्छु ।’ 

मैले भनेँ ‘यहाँ आइसके पछि त गाउनै पर्छ । कलकत्तासम्म डेकोटा चढेर आइएको छ । सारा खर्च सूचना विभागले व्यहोरेको छ । नगाएर हुन्छ !’

उनले यही कुरा चलचित्रका निर्देशक हिरासिंह खत्रीसँग पनि गरेका रहेछन् । त्यसैले निर्देशक हिरासिंहले मलाई बोलाएर भने, ‘चेतन बेटा, एक सोलो गीत नारायणगोपालके लिए भि लिख दो ।’ 

मैले डाइरेक्टर साहेबलाई भनेँ, ‘काका, हिरोको क्यारेक्टर गीत गाउने खालको छैन । गीतलाई कहाँ फिट गर्नुहुन्छ ?’ निर्देशक खत्रीले भने ‘एउटा पार्टीको सिन राखौँला । जुन पार्टीमा नायक मित्रलाल शर्माले नायिकालाई हेर्दै गीत गाउनेछन् ।’ 

त्यसपछि त्यही सिचुएसनमा मैले दुई घण्टाको एकान्त समय निकालेर लेखेँ ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाखा मेरो, हजार अर्थ लाएर के गरुँ...।’ यो गीत मैले कलकत्ताको महाराष्ट्र भवनमा बसेर लेखेको हुँ । तर, मलाई डर लागिरहेको थियो, संगीतकार भी. बलसाराले यो गीतको ट्युन गर्लान् कि नगर्लान् ।

हिरा सिंह खत्रीले गीत लेखेर संगीतकार बलसारालाई गएर दिन भन्दै ‘गीत देऊ । उनले ट्युन बनाउँछन् । भोलि रेकर्ड गर्नुपर्छ’ भने । मैले खत्री काकालाई भनेँ ‘हाम्रोमा त एक साता लगाउँछन् म्युजिक कम्पोज गर्न मात्रै पनि ! उनले गर्छन् त ?’

हिरासिंहले ‘तिमीले गएर गीत देउ’ मात्र भने । मैले लेखेको गीतको एउटा कपी संगीतकार भी. बलसाराको घरमै गएर दिएँ । ‘कल रेकर्डिङ करना है दादा’ पनि भनेँ । उनले ‘हो जाएगा चेतनजी’ भने ।

साँझपख फिल्मको गीतहरूको रिहर्सल संगीतकार बलसाराको घरमा गरिँदै थियो । संगीतकारका अगाडि बसेर सबै धुनअनुसार रिहर्सल गर्न लागे । रिहर्सल सकियो । त्यहाँ गरिएको रिहर्सलमा नारायणले गाएनन् । 

जब सबैको रिहर्सल सकियो, मैले खत्री काकालाई भनेँ ‘उहाँहरूलाई लिएर हजुर जानुस् । म र तीर्थ शेरचन पछि आउँछौँ ।’ यति भनेपछि जान भनेरै नारायणगोपाल पनि उठे । 

जब नारायण उठे, भी. बलसाराले भने, ‘नारायणजी, आपने तो सोलो गाना रिहर्सल हि नही किया ?’ 

अनि नारायणले ‘मेरा भी सोलो गाना है दादा ?’ भनेरे सोधे । यो सुनेर बलसाराले मलाई भने ‘चेतनजी, आपने नही दिया यिनको गाना ?’ मैले पनि नारायण तिर हेरेर व्यङ्ग्य गर्दै भनेँ ‘ए गाना नही गाएगा । ए तो काठमाडौं जानेवाला है ।’ 

त्यसबेलासम्म भी. बलसाराले ट्युन गरिसकेका रहेछन् । उनले म हार्मिङ्ग गर्छु । तिमी शब्द गाउँ भने । त्यहीँ नै मैले नारायणलाई मसँग भएको गीतको एउटा अर्को प्रति दिएँ । 

गीतको प्रिल्युड म्युजिक सुन्ने बित्तिक्कै नारायण उफ्रिए ‘वाह दादा ! वाह दादा !’ भन्दै । त्यसपछि उनले बलसाराको हार्मिङ्गलाई फलो गर्दै गीत रिहर्सल गरे । नारायणले बलसाराको हर्मिङ्गसँगै ट्युन पक्डेर दुई पल्ट त्यहीँ रिहर्सल गरे । फर्कँदा ट्याक्सीमा पनि गाए होलान् ।  राति कोठामा पनि गाए होलान् ।

भोलि पल्ट रेकर्डिङमा पहिलो रेकर्ड गरिएको गीत नै त्यही थियो ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो...।’ उक्त गीतको पहिलो टेकमानै ओके भएको थियो । खै किन हो, नारायणले अर्को टेक पनि लिन चाहे । र फेरि टेक लिइयो । त्यो दुवै टेक ओके भयो । दुवै टेक पर्फेक्ट थियो ।

यी ओठ तिम्रा मुस्कान तिम्रै...

यो चलचित्र ‘कान्छी’का लागि मैले लेखेको गीत हो । चलचित्र ‘कान्छी’मा पोखराकी केटी (नायिका)सँग बम्बईबाट आएको एक हिरोले बिहे गर्छ । केही समय पछि हिरो बम्बई फर्किन्छ । फर्किँदा ‘म पोखरा आउँछु र तिमीलाई लिएर जान्छु’ भनेको हुन्छ । तर, एउटा एक्सिडेन्डले गर्दा हिरोको मेमोरी लुज हुन्छ । ऊ पोखरा फर्किँदैन ।

पोखरामा नायिका कान्छी (शर्मिला शाह) का बाउले भन्छन् ‘तँ आफ्नो लोग्ने कहाँ जा । त्यसपछि कान्छी एक्लै बम्बईतिर हिँडछे । र सोही क्रममा पटना पुग्छे ।

पटनामा रहेका एक नेपालीले कान्छीलाई घरमा आश्रय दिन्छ । त्यसैबेला पटनामा रहेका विद्यार्थीहरूले फागुन ७ गते एउटा कार्यक्रम गर्दै हुन्छन् । त्यो कार्यक्रममा कान्छीलाई पनि गीत गाउन लगाइन्छ । र कान्छीले यो गीत गाउँछे, ‘यी ओठ तिम्रा, मुस्कान तिम्रै...।’ 

यो गीतमा गोपाल योञ्जनको संगीत रहेको छ । गीत अरुणा लामाले गाएकी हुन् । पहिले चलचित्र ‘कान्छी’को गीत बम्बईमा गएर रेकर्ड गर्ने कुरो थियो । यसको निर्माता भगवानदास श्रेष्ठ पनि त्यही चाहन्थे । त्यसैले पनि संगीतकार गोपाल योञ्जनले आशा भोसलेलाई नजरमा राखेर यो गीत कम्पोज गरेका थिए । 

तर, बम्बईमा गएर गीत रेकर्डिङ गर्दा महँगो पर्ने भएकाले ‘कान्छी’को गीत रेकर्डिङ कलकत्तामा हुने निर्णय भयो । कान्छी फिल्मको गीत रेकर्डिङ उषा उत्थुपको भरखरै खुलेको रेकर्डिङ्ग स्टुडियो ‘भाइव्रेसन’मा भएको थियो । उक्त  स्टुडियो स्थापनापछि पहिलो रेकर्ड भएको गीत नै ‘कान्छी’ फिल्मको थियो । 

कलकत्तामा गीतहरू रेकर्ड हुने भएपछि आशा भोसलेसँग गाउन लगाउने कुरा नै भएन । किनभने आशालाई कलकत्ता बोलाउँदा झनै महँगो पथ्र्यो । त्यसैले दार्जिलिङबाट अरुणा लामालाई बोलाइयो र गीत गाउन लगाइयो । 

रमाइलो कुरो त के छ भने, नेपालमा पहिलो पटक गरिएको फिल्म अवार्ड समारोहमा कान्छीको यही गीतमा शब्द रचनाका लागि मलाई, संगीतका लागि गोपाल योञ्जनलाई र गायनका लागि अरुण लामालाई उत्कृष्टताको अवार्ड प्रदान गरिएको थियो । उक्त अवार्ड समारोह विशालबजार कम्पनीले आयोजना गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १०:२९
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro