
काठमाडौं । विश्वमा कोरोनाभाइरस (कोभिड १९) महामारी छ । नेपालमा पनि कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन गरेको एकमहिना पूरा भइसकेको छ । अहिले हामी घरभित्रै छौँ । यो समयमा अधिकांशको काम रोकिएका छन् भने कतिले घरबाटै कामलाई निरन्तरता पनि दिएका छन् ।
तर यो समयमा स्वास्थ्यलाई ध्यान दिन सकेनौं भने थप समस्या निम्तन सक्छ । एकै स्थानमा लामो समयसम्म बस्दा समस्या हुने हुँदा समय सयममा व्यायम गर्नुपर्छ । त्यसैगरी यो समयमा खानेकुरामासमेत विशेष ध्यान दिनुपर्छ । घरभित्र बस्दा खानेकुरा कस्ता खाने गरिरहेका छौँ, त्यसमा विशेष ध्यान दिनुपर्छ । बजारमा पाइने पत्रु खानेकुरामा बानी भएका हाम्रा नानीबाबुहरुलाई घरकै खानेकुरा बनाएर खुवाउन सकिन्छ ।
बजारका खानेकुरा भन्दा हाम्रा परम्परागत रुपमा खाँदै आएका खानेकुराहरु नै स्वास्थ्यवदर््धक खानेकुरा छन् । घरकै दाल (विभिन्न थरी मिसाएर बनाएको), भात तरकारीले रोगसँग लड्ने क्षमता बढाउँछ । खाजामा हामीले कोदो, फापर, गहुँ मकैलगायतका हाम्रा घरमा रहेका खानेकुराको विभिन्न परिकार बनाएर खान सकिन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । चिल्लो पदार्थ, कार्बोहाइड्रेटयुक्त खानेकुरा खदै नखाने भन्ने होइन तर कम खानुपर्छ ।
अर्को चियामा मह मिसाएर खाने कागती र बेसार मिसाएर खान सकिन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । तर बाहिरका प्याकेटका चाउचाउ पाउरोटी, बिस्कुटजस्ता पत्रु खानेकुरा खानेकुरा खाँदा पोषण पुग्दैन । जसले विभिन्न समस्या समेत थपिने हुन्छ । त्यस्ता खानेकुरा भन्दा घरमै रहेका खानेकुरालाई बनाएर खानुपर्छ ।
हामीले यो समयमा मसिना बालबालिकाहरु छन् भने कथा, कविता भन्न लगाउने, त्यस्ता किताब पढ्न लगाउने गर्न सकिन्छ । अलि ठुला छन् भने उनीहरुले सक्ने काम सिकाएर लकडाउनको समय सहज रुपमा सदुपयोग गर्न सकिन्छ । उनीहरुलाई योगाहरु सिकाउन सकिन्छ । घरमा जेष्ठ नागरिक आमाबुबाहरुको स्वास्थ्यमा ख्याल गर्ने । टीभी हेर्न दिँदा दुई वा तीनपटक मात्र टीभी हेर्न दिर्नु पर्छ ।
लामो समयसम्म टीभी मात्र हेर्न दिने काम बन्द गर्नुपर्छ । उनीहरुलाई लामो समयसम्म टीभी हेर्दा एउटै कुरा पटक–पटक हेर्दा मानसिक तनाब हुन्छ । अझ यो कोरोनाभाइरसको जोखिम बृद्धाबृद्धाहरु हुने, दीर्घरोगीहरुलाई बढी हुने भनिरहेको हुन्छ । जसलाई उनीहरुलाई नजानिँदो प्रकारको तनाव भय हुन थाल्छ ।
हामीले पनि बिहानदेखि बेलुकासम्म मलाई लकडाउनले गाह्रो भयो भनेको भनै गरियो भने आफुलाई एक प्रकारको तनाव त बढ्छ नै परिवारमा पनि तनाब बढ्ने हुन्छ । अहिले समयमा कसरी सहज बनाउने भन्नेमा घरमा भएका परिवारसँग छलफल गर्न सकिन्छ । जसले परिवारमा एक प्रकारको आत्मियता पनि बढाएको छ ।
हामीले कोरोनासम्बन्धी समाचारहरु धेरै नहेर्ने, नपढ्ने, बिहान र बेलुकी मात्र अपडेट लिने गर्न सकिन्छ । त्यसैगरी, हामी कोठाभित्र मात्र बस्यौं भने भिटामिन डीको कमी हुन सक्छ । शरीर चलायमान भएन भने खाना अपच हुने र कब्जियत हुन सक्छ । जोर्नीमा दुखाइ हुन सक्छ । त्यसकारण समय समयमा भित्र बाहिर बरन्डा के छ त्यहाँ हिँड्ने तर लामो समयसम्म एकै स्थानमा बसीरहने गर्नुहुँदैन ।
अर्को घरमा बगैँचा हुनेहरुले १५ देखि २० पटक बगैँचामा घुम्ने आदि गर्न सकिन्छ । तर बगैँचा छैन कोठामा बसेका छौँ भने घरभित्र बस्दा कम्तिमा पनि आधाघण्टा व्यायाम गर्नुपर्छ । घरभित्र बस्दा बस्दा एक प्रकारको तनाव भएको समयमा योगाले तनाव हटाउने काम गर्छ । घरभित्रै बसिरहने हुँदा मानसिक तनाव पनि बढ्न नदिन रचनात्मक कामहरु गर्ने वा पुराना किताब पढ्ने गर्न सकिन्छ ।
(जनस्वास्थ्यविद डा. उप्रेतीसँग गरिएको कुराकानीमा आधारित)