दिन ढल्छ, रात पर्छ र फेरि बिहान हुन्छ । पूर्वमा झुल्किने घामका सुनौला किरणले जीवन अविच्छिन्न रहने आशा जगाउँछन् । पृथ्वीको उत्पत्तिदेखि हालसम्म यस्ता कति दिन, रात र बिहान भए होलान । कति यस्तै आशा र उमङ्ग निराशा र हतासा गुज्रिए होलान् । कति मनहरु खुशीले नाचे होलान् भने कति दुःखले रुँदै बिलाए होलान् । तैपनि, मान्छे निरन्तर अगाडि बढिरहेकै छ । हामीले पचास हजार वर्षभन्दा बढीको यात्रा तय गरिसकेका छौँँ ।
आज हाम्रो यात्रामा अर्को अवरोध मात्रै आएको हो या यात्रा नै रोकिनेतर्फ अगाडि बढिरहेका छौँ भन्ने विषयमा विश्वभर चर्चा चलिरहेका छन । धर्म सम्प्रदाय, विचार समूहहरु, चिन्तकहरु र अन्य विभिन्न समूह र वर्गले आआफ्ना धारणा प्रकट गरिरहेका छन् यसका प्रभावका बारेमा । सबैको एउटा समान तर्क छ – हामी नैतिक, सामजिक र व्यावहारिक मूल्यमा स्खलित भएकाले यस्तो भएको हो । यसमा यौटा साझा चिन्तन देखिन्छ त्यो हो हामी व्रह्माण्ड विजयको यात्रामा, भगवान हुने यात्रामा र अमर हुने यात्रामा निस्कँदा हामीले टेकेको धर्ती र धरातल बिस्र्यौँ । पृथ्वीको दोहनमात्र गर्यौँ, चुस्यौँमात्र, लुछ्यौँमात्र । आफूबाहेक अरु कसैको सुनेनौ, बुझेनौ, मानेनौ । यसले कहाँ लान्छ त मानव जातिलाई ?
यस्ता कृत्यले लाने नै यस्तै विपदमा हो । तर, हामीभन्दा भीमकाय जनावर तथा विषम प्रकृतिसँग सिँगौरी खेल्दै, भयानक त्रासदीबाट जोगिँदै हामी यहाँ पुगेका हौँ । त्यसैले यस विपदबाट पनि पक्कै विजय पाउनेछौँ । सबाल कति क्षतिमा पार पाउने भन्नेमात्र हो । क्षति हाम्रै नियन्त्रणमा छ । यस त्रासदीले हामीलाई केही आशाका किरण पनि देखाएको छ र जीवन दर्शन स्मरण गराएको छ ।
मुलुक भर्खरै संघीयतामा गएको छ । संविधानले नै तीनै तहका सरकारको भूमिका स्पष्ट पारे पनि केन्द्रीयतावादी सोच अझै पनि सबैमा दह्रोसँग जमेर बसेको छ । प्रधानमन्त्री र उनका भारदारहरु सबै कुरा आफ्नै वरिपरि घुमुन् भन्ने चाहन्छन् । कत्ति पनि अधिकार अरूलाई दिन तयार छैनन् । प्रदेश पनि आफूलाई ठालू नै ठान्छ । यद्यपि, त्यहाँ संघको भन्दा कम हैकम छ । ऊ नै संघमा धेरै कुरामा निर्भर भएकाले हो त्यसो भएको हुनुपर्छ । यस्तै पालिकाहरुसँग पनि भर पर्नुपर्ने हुन्छ । पालिकाहरुले टेरेनन् भने प्रदेश स्वतः थला पर्छ । पालिकाहरुमा केही गरौँ, गरेर देखाऊँ भन्ने प्रतिनिधि त छन् तर उनीहरु धेरै मामिलामा अस्पष्ट छन् । धेरै हदमा उनीहरु आफैँ पनि केन्द्रवादी मानसिकताबाट ग्रसित छन् । उनीहरु वडालाई अधिकार दिन तयार हुँदैनन् । आफूभन्दा ठूलाको आदेश आँखा चिम्लेर मान्ने र सानालाई हदैसम्म पेल्ने प्रवृत्ति त्यहाँ पनि देखिन्छ । प्रमुख÷अध्यक्ष र उपप्रमुख/अपाध्यक्ष बीचको अन्तरविरोध फरक राजनीतिक दल हुँदामात्र देखिने हैन लैगिंक भेदको हेपाइ पनि हुन्छ, आफू ठूलो भएको हैकम प्रदर्शन पनि हो ।
क्षणिक काममा सबै तहका सरकार निकै रमाएका छन । कोरोनाजस्तो विपद त उनीहरूलाई काम देखाउने बलियो मेलो भएको छ । खाद्यान्न सहायता वितरणमा देखिएको सक्रियता यसैको एउटा उदाहरण हो । यस्ता कामबाट सिधै मानिसहरु कहाँ पुग्न पनि पाइने रमाइलो जो छ ।
यस्तो आपतकालीन अवस्था र सोचका कुराहरु हुँदाहुँदै सबैभन्दा मुख्य उनीहरु भएकै कारण जनताले आफ्नो दुःख गुनासो बिसाउने ठाउँ पाएका छन् र समस्याहरु समाधान उन्मुख पनि छन् । पाँच वर्षे समयावधिको महत्त्व पनि निर्वाचित प्रतिनिधिले राम्रै बुझेको देखिएको छ । दलगत सोच पनि केन्द्र र प्रदेशभन्दा कम नै देखिएको छ त्यहाँ । उनीहरु देखिने केही न केही काम गर्न तत्पर छन् तर दुर्भाग्य उनीहरुलाई सहयोग गर्ने, बाटो देखाउने कुनै व्यवस्थित संयन्त्र छैन । विज्ञ भनिएकाहरुका पनि आआफ्नै डम्फु छन् । विज्ञसहितको समन्वित संयन्त्रको खाँचो छ ।
कोरोना प्रकोपका बेलामा पनि पालिकाका जनप्रतिनिधिहरु अधिकांश ठाउँमा सक्रिय देखिएका छन् । उनीहरुले आफूले सक्ने धेरै गरेका छन् । काठमाडाैंको बूढानीलकण्ठ नगरपालिकाको यौटा वडाले वडागत लकडाउन गरेको छ र हावाखान निस्कने डुलुवालाई नियन्त्रण गरेको छ । नयाँ मान्छे अनुगमन गर्ने, शंकास्पद केसहरुलाई तुरुन्तै परीक्षणका लागि पठाउने र वडावासीलाई खान संकट परे त्यसको र अन्य मराइपराइमा सहजीकरणसम्म गर्ने त हो नि वडा तहले । यसैगरी तहगतरुपमा सबैले जिम्मा लिइदिए समस्या सुल्झिन धेरै मद्दत हुन्छ ।
आफूले गर्नेभन्दा पनि अर्ती, उपदेश र आदेश दिनेमा हामी नेपाली सधैँ अगाडि नै छौँ । केन्द्रदेखि वडासम्म खटिएर काम गर्नुपर्ने, समन्वयसहितको निर्णय र कार्यान्वयनमा तीव्रता दिनुपर्ने बेला काइते निर्णय र तिनको प्रचारमै बितिरहेको छ । यस्तो प्रवृत्ति सबैतिर छ तर जति तल गयो त्यो कम हुँदै जाने गएकाले पालिका तह कार्यन्वयनमा अपेक्षाकृत प्रभावकारी देखिएको पनि हो । पालिकाको प्रभावकारिता आशाको पहिलो किरण हो । काठमाडाैं छोडेर घर जान चाहने आआफ्ना पालिकाका बासिन्दालाई लैजान प्रधानमन्त्रीले रोके पनि पालिकाहरूले जुन आँट गरे त्यो जन प्रतिनिधिले मात्र गर्नसक्ने काम हो । कर्मचारीतन्त्र भएको भए सामान्य जनताको बिजोग कहाली लाग्दो हुन्थ्यो ।
संघीय व्यवस्था नभएको भए एकोहोरो निर्देशनबाहेक जनताले पाउने कमै हुन्थ्यो । उनले दुखेसो पोख्ने ठाउँ पनि हुँदैन थियो । कमसेकम प्रदेश र पालिकाहरुले गच्छे र बुद्धि विवेकअनुसार केही निर्णय गरेका छन् र जनताका दुःख सुनेका छन् । सायद संघीयताले कसी लाग्ने अवसर पाएको छ यो दुर्दान्त कोरोना कहरमार्फत । दुःखद कारणबाट कसी घोटिएको भए पनि संघीयता झन् प्रभावकारी र बलियो हुने देखिन्छ । आफ्नो औचित्य साबित गर्न संघीयता सफल प्रमाणित हुनसक्छ । यो आशाको अर्को किरण हो ।
आर्थिक, सामाजिक, व्यवहार र सोचका विषयमा पनि यस कहरले नेपाली समाजमा परिवर्तन ल्याउने निश्चित छ । विश्वास गरौँ, यो परिवर्तन सकारात्मक हुनेछ । यो पनि आशाको थप किरण हो ।
राष्ट्रिय/अन्तर्राष्ट्रिय यात्रा, कारोबार, राजनीतिक व्यवस्था जस्ता बिषयमा पनि यसले ठूलो प्रभाव पार्नेछ । वैश्विकता र राष्ट्रियता कसरी सँगसँगै अगाडि बढ्छन् भन्ने छिनोफानो पनि कोरोना कहरले गर्ने देखिन्छ । विश्वास गरौँ, यो मान्छेको सामूहिकता र आफूलाई जीवन्त् राख्ने क्षमता पनि प्रमाणित गर्ने अवसर पनि बन्नेछ ।
प्रविधि मूलत सञ्चार क्षेत्र (इन्टरनेट, मोबाइल फोन) लगायतले जीवन शैलीमा व्यापक परिवर्तन ल्याउने पक्का छ । यसले मान्छेलाई कति एकलकाँटे बनाउँछ वा उसको व्यक्तिगत जीवनका कति गोपनीयता र जानकारीमा हस्तक्षेप गर्छ भन्ने पनि हेर्न बाँकी नै छ । प्रविधिको विकास र व्यक्तिगत स्वतन्त्राको सवालमा पनि कोरोना कहरले नयाँ बाटो देखाउनेछ ।