रोम जलिरहँदा रोमका सम्राट नीरो बाँसुरी बजाएर बसेका थिए भन्ने राजनीतिक कहावत राजा ज्ञानेन्द्रको शासनकालमा धेरैपटक लेखियो । वि.सं. २०६३ को जनआन्दोलनपश्चात नेपालमा लोकतन्त्रको आगमन भयो र अब सम्राट प्रवृत्तिको अन्त्य भयो भनेर ढुक्क भइएको थियो तर गलत रहेछ । जसरी रोम रहुन्जेल रोमन रहन्छन् नै त्यसैगरी जनता गरिब निमुखा रहुन्जेल सम्राट निरोजस्ता शासक रहिरहन्छन् भन्ने तथ्य नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यले बारम्बार पुष्टि गरिरहेको छ ।
तपाईँ आफ्नो घरको चौघेराभित्र बसिरहनुभएको छ र मीठो मीठो पकाएर आनन्द मानिरहनु भएको छ भने तपाईँलाई पनि बालुवाटारे निरोका अरिंगाललाई झैँ कुनै राजनीतिक दलालले आफ्नो मालिकलाई खुसी पार्न यस्तो लेख लेखेर देशको हितमा दैनिक १८ घन्टा काम गर्ने प्रधानमन्त्रीलाई बदनाम गर्ने कोसिस गरेजस्तो लाग्नसक्छ । तपाईँले सोचेको साँचो हुँदो हो त एकदम राम्रो हुन्थ्यो । तर, घर बाहिर निस्कनेले देखेको संसार नितान्त बेग्लै छ र अत्यन्त क्रूर छ ।
दुई चार महिना घरभित्र बसेर खानपुग्नेलाई बन्दाबन्दी खोल्न हतार छैन । ऊ मिडियामा देखिएको कोरोनाको भयानक तस्बिरलेनै भयाभीत भएर ख्वामितलाई फोनमा र सामाजिक संजालमा अनुनय विनय गर्दैछ – “ख्वामित् ! सरकारलाई असफल बनाउन चाहनेहरूले जेसुकै भनुन्, नेपालमा कोरोना भाइरसको प्रकोप नफैलिएको हजुरले कडा ढंगले सफल बनाएको लकडाउनको कारणले हो, त्यसैले लकडाउन खोल्न हतार नगरिबक्स्योस् ।” यस्तो लकडाउनले सहरी क्षेत्रमा बसेका थोरै सुकिला मुकिलाको ज्यान पनि जोगिने भए त तिनको तर्कलाई गलत भनिहाल्नु पर्थेन तर अवस्था त्यस्तो छैन ।
लकडाउन काठमाडौंका सडक र गल्लीमा मात्र लागेको छ । यस्तो लाग्छ रोग मान्छे मान्छेबीचको सम्पर्कले होइन मोटरमा हिँडदा लाग्छ, पसलको सामानबाट लाग्छ, अफिसको टेबलबाट लाग्छ । मोटर सबै थन्किएका छन्, पसल बन्द छन्, कार्यालय सुनसान छन् र मान्छे जति हुलका हुल काठमाडौं छाडेर भाग्दै छन् ।
बन्दाबन्दी कति कडा ढंगले लागेको छ भनेर हेर्न धेरै पर जानु पर्दैन । काठमाडौंको पूर्वी सीमाना कोटेश्वर पुगे सबै छर्लङ्ग हुन्छ, नाङ्गै छ । राता, हरिया, पहेला जेब्रा ब्याग भनिने बाक्ला प्लाष्टिकका झोला, पुराना गुडाउन नमिल्ने सुटकेस, अनेक प्रकारका पोका पन्तुरा, ढाडमा भिर्ने रुकस्याक आदि सबै बोकेका लावा लस्कर हिँड्दैछन् बाटामा । बूढाबुढी, केटाकेटी, तरुनातरुनी सबै । कोही भारी बोक्दै सकी नसकी हिँड्दैछन् त कोही बच्चा बोकेर । कसैले पानीको बोतल बोकेका छन्, कसैले चाऊचाऊको प्याकेट । सबैजनाको एउटै ध्याउन्न छ – यो पापी ठाउँ छाडेर आफ्नो प्यारो गाउँ जाने, जहाँ महिनादिनको तलब नआउँदा भोकै नपरियोस्, एक महिनाको भाडा तिर्न नसक्दा सडकमा सुत्न नपरोस् । जहाँ, त्यस्तो पापी जनप्रतिनिधिको फेला नपरियोस् जो गरिबका लागि बाँड्न ल्याएको सहायताको सामान पनि आफ्ना मतदातालाई मात्रै र त्यो पनि थोरथोरै बाँड्छ ।
अहिले काठमाडौंको चारै भन्ज्याङ्गबाट मान्छे असिन, पसिन हुँदै, सकिनसकी, रुँदै, चित्त दुखाउँदै बाहिरिएकोे दृश्य देख्दा इतिहासको त्यसपलको याद आउँछ जुन स्वर्गीय साहित्यकार जगदीश घिमिरेले आफ्नो पुस्तक ‘सकस’मा उतारेका छन् । आजभन्दा २ सय २३ वर्षअघि नेपालका एक सनकी राजा रणबहादुर शाहले त्यसबेला फैलिएको बिफरको महामारीबाट आफ्ना छोरा गिर्वाणयुद्धविक्रम शाहलाई बचाउन बिफर नलागेका (एकपल्ट लागेकालाई फेरि नलाग्ने भन्ने ज्ञान त्यहीबेला थियो ) सम्पूर्ण केटाकेटीलाई चार भन्ज्याङ्ग कटाउन उर्दी गरेका थिए । त्यसरी काठमाडौं छाडेर अनकन्टार जंगलको बाटो भोकभोकै, रातबिरात हिँड्दा कति बालबालिकाको ज्यान गएको थियो, कति बिरामी परेका थिए भने कति जंगली जनावरका सिकार भएका थिए । शासक सन्की, हठी र काँतर भए भने जनताले कति दुःख पाउँछन् भन्ने त्यही बेलादेखि बुझिएको कुरो हो । अहिले थप स्पष्ट भएको छ । तर, अन्ततः १९ वर्षको उमेरमा युवराज गिर्वाणयुद्ध विक्रम शाहको मृत्यु बिफरबाटै भएको इतिहासमा अंकित छ ।
नेपालमा लकडाउन लगाएको ३० दिन भयो तर नयाँ संक्रमित भर्खरै भेटिँदैछन् । के अब अर्को ३० दिनको लकडाउन सहनसक्छ यो समाजले ? सक्तैन भने के गर्ने ? कसरी स्वास्थ्य र अर्थतन्त्रलाई समानरुपमा अघि बढाउने भनेर सोच्नु सरकारले आफ्नो जिम्मेवारी ठानेको देखिँदैन । नेपालका अर्थशास्त्रीमध्येका वेदव्यास भनेर चिनिने अर्थमन्त्री युवराज खतिवडा काठमाडौंका घरधनीले एक महिनाको घरभाडा नलिँदा केही हुँदैन भन्ने सोचभन्दा माथि बढ्न सकेका देखिँदैनन् । सरकारका प्रवक्ता भनिएका छन् ३० दिनमा एकपल्ट अहिलेको अवस्थाका बारेमा जनतालाई सम्बोधन गरेका छैनन् । घरभाडा नआए घर बनाउन लिएको ऋणको किस्ता कसले तिरिदिन्छ ? बैंकमा पैसा राखेर व्यापार चलेको हुँदैन, सबैको पैसा ग्राहकसँग रहेको हुन्छ । बैंकका सबै काम बन्द गराएर भएको पैसा लिन र जम्मा गर्नमात्र खोलिएको छ । पैसा तिर्ने कम्पनीको अफिस बन्द छ, व्यापारीले कसरी नयाँ सामान किन्ने ? कसरी व्यापार गर्ने ? लुगा, कपडाजस्ता सामानको व्यापार बन्द छन् । तिनका कपडामा ढुसी परेर बिग्रिएको घाटा कसले बेहोर्ने ? तलब कसरी दिने ? जागिरबाट पैसा नआए बच्चाको स्कुलको फी कसले तिरिदिन्छ, दूध कुन पैसाले किन्ने ? बूढा बाबुआमालाई औषधि, खानेकुरा कसरी पुर्याउने ?
करिब ९० हजार नेपाल प्रहरी र करिब ६० हजारको संख्यामा रहेका सशस्त्र प्रहरीलाई सडकमा उतारिदिएर जनतालाई घरमा थुनेको भान दिलाएर सरकार रोगसँग लडेको ठान्दैछ । तर, सत्य के हो भने देशमा आर्थिक नाकाबन्दीमात्र लागेको छ । यो एक महिनाको आर्थिक नाकाबन्दीले देशलाई भारतले पाँच महिना लगाएको नाकाबन्दीभन्दा बढी नकारात्मक असर पारिसकेको छ ।
यो नाकाबन्दीलाई आर्थिक नाकाबन्दीमात्र भन्नुको कारण के हो भने लकडाउन त असफल भइसकेको छ । संक्रमित भए पनि नभए पनि जनता गाउँगाउँ पसिसके । बाहिर निस्केका लाखौं मानिस विनासुरक्षा भौतिक दूरी कायम नराखी हिँडेका छन् । सयौंका संख्यामा लाम लागेर समाजिक सेवा गर्नेले खुवाएको दालभात खाएका छन् । अब यसरी खाएर र बसबसमा कोचाकोच गरेर गएका व्यक्तिमा संक्रमण देखियो भने कहाँ कहाँ ककसलाई खोज्न जाने ? अब संक्रमण विस्फोट हुने हो भने कसैले रोक्नसक्ने अवस्था छैन । धन्न, नेपालमा अझै संक्रमणको बम विस्फोट भएको छैन । भगवान पशुपतिनाथको भरमा टिकेको देश भनिन्छ – उनले रक्षा गरून््, नेपालमा त्यस्तो केही नहोस् ! अहिलेसम्म बिरामी देखिएकालाई पनि खासै भेन्टिलेटरको जरुरत परेको देखिएको छैन । त्यो एउटा सन्तोषजनक पक्ष हो ।
सरकारले लकडाउनको सही उपयोग गर्न चाहेको भए यसलाई हिंसात्मक आन्दोलनको बेला लगाएको कर्फ्यु जस्तो क्रूर र बनाउनु हुन्थेन । भौतिक दूरी कायम राख्नुपर्नेसम्मको अवस्था बनाएर धेरै मानिस जम्मा नहुने सबै प्रकारको व्यापार, व्यवसाय खोलिदिनु पर्थ्यो । आर्थिक क्रियाकलाप चलेको भए धेरै मानिस यसरी भागेर जानु पर्थेन । एउटा अनुशासनमा सबैजना जो जहाँ थिए त्यहीँ घरैमा बस्थे । कार्यालय थोरै मान्छे राखेर छरितो ढंगले चल्थे, धेरैले हुनसक्ने काम घरै बसेर गर्थे । आर्थिक नाकाबन्दी हुँदैन थियो । संक्रमण बढ्दै गएको खण्डमा क्षेत्रअनुसार बन्दाबन्दीलाई सशक्त वा लचिलो बनाउँदै जान सकिन्थ्यो । तर, नेपाल सरकारलाई त्यस्ता विषयले कहिल्यै छोएन । किनभने उद्देश्य पूरा गर्नभन्दा काम भएको भान पार्न उद्यत हाकिमहरूको बोलाबाला छ ।
सरकारले सुरक्षा निकायको सोचबाट मात्र हेर्यो बन्दाबन्दीलाई । आर्थिक र सामाजिक न्यायका हिसाबले जनताको जरुरतका विषयमा सोच्ने व्यक्तिको त जरुरतनै भएन । होस् पनि कसरी ? अर्थशास्त्रका वेदव्यासनै सँगै थिए भने सामाजिक न्यायका लागि हतियारनै भिरेका गृहमन्त्रीको महान् उपस्थिति पनि थियो । यस्ता आआफ्ना क्षेत्रका सूर्यहरू साथमा रहेका सूर्यमय अध्यक्षलाई अन्य ग्रहको आवश्यकताको बोध हुने कुरै भएन । तर, जनता रातारात गरेर भोकै, प्यासै र लुक्दै पनि बाहिरिन्छन् र सूर्यमा खग्रास ग्रहण लाग्छ भन्ने अनुमान नै भएन ।
अब लकडाउन सम्पूर्णरुपमा असफल भइसकेको छ । देशको अर्थतन्त्र कतिसम्म जर्जर बनाउने हो त्यो निर्णय महान् व्यक्तित्वले गरुन् ! जो जो व्यक्ति घरमा बसेर कोरोनालाई नफैलिन मद्दत गर्दैछन् तिनलाई साधुवाद ! तर, अहिलेसम्मको जस्तो लकडाउन गरेर रोग फैलनबाट रोकिँदैन । फेरि बन्दाबन्दीको समय विवेकहीन ढंगले कर्फ्युजस्तो गरी बढाइयो भने कालिदास पाराले आफू उभिएको हाँगा आफैँले काटे सरहमात्र हुनेछ ।