site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाको कहरमा गजलको बहार
SkywellSkywell

बन्दाबन्दी (लकडाउन) सुरु भएको केही दिनपछि नै प्रसिद्ध भारतीय कवि तथा फिल्मकार गुलजारद्वारा रचित एउटा पुरानो गजल सामाजिक सञ्जालमा भाइरल भयो । गुलजारको त्यो रचना सुनिरहँदा घरभित्र बसेकाहरूलाई लाग्दै थियो, गुलजारले यो गजल यही समयका लागि भनेरै लेखेका हुन् । ‘मुसलसल’ शैलीको त्यो गजल कतिले युट्युबमा गाएर हाले । कतिले वाचन गरेर सामाजिक सञ्जालमा पोस्ट गरे । 
गुलजारको त्यो रचनाले भन्छ :
बेवजह घर से निकलने की जरुरत क्या है 
मौत से आँख मिलाने कि जरुरत क्या है 
सबको मालुम है बाहर की हवा है कातिल
यूहीँ कातिल से उलझ्ने की जरुरत क्या है 
दिल बहलने के लिए घर मे वजह है काफी
यूहीँ गलियोँ मे भटकने की जरुरत क्या है ।

गुलजारको यस रचनाले घरैमा बस्ने धेरैलाई प्रेरणा दिएको धारणा केही नेपाली गजलकारहरूको पनि रह्यो । कतिले यस्तै गजल सर्वकालिक हुने पनि बताए । कोरोनाको कहरका कारण घरमै बस्नु परेको यस विषम परिस्थितिमा नेपाली गजलकारहरूको ध्यान गजलको भाव र बहर (छन्द) तिर गयो गएन ? ‘कोरोनाको कहरका बीचमा गजलको बहर’ को अवस्था कस्तो रह्यो ? यतिबेला ती गजलकारले आफूलाई गजल विधासँग जोडिरहेका छन् कि छैनन् ? 

यिनै प्रश्नहरूसँगै चर्चित नेपाली गजलकारहरू सनत वस्ती, करुण थापा, रवि प्राञ्जल, शीतल कादम्बिनी, ललिजन रावल र बाबु त्रिपाठीसँग कुराकानी गरियो । प्रस्तुत छ तिनका विचार ।

सनत वस्ती

यो लामो बन्दाबन्दीको समयमा मैले गजल सुन्नमा मात्र ध्यान दिएँ । गजल लेखिएन । बरू अन्य लेखपढको कामलाई अगाडि बढाएँ । यस अवधिमा मैले दुई दर्जन विभिन्न विषयमा लेखहरू लेखिसकेको छु ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

अहिले मैले मेरो घरको एउटा कोठालाई पढने–लेख्ने र संगीतमा रमाउने कोठा बनाएको छु । र, बन्दाबन्दीको अधिकांश समय मेरो यही कोठामा बित्ने गरेको छ ।   त्यसैले यो कोठाको नाम मैले ‘अक्षरालय’ राखेको छु ।

अहिलेको मेरो समय वाल्मीकि रामायण पढेर बितिरहेको छ । म एकदमै आनन्दित भएर, शान्त भएर यो रामायण पढिरहेको छु । वास्तवमा म त्यसमा चुर्लुम्म डुबिरहेको छु । वाल्मीकि रामायण पढिरहँदा म एउटा दिव्य जगतमा पुगेको अनुभूत गरिरहेको छु । यतिबेला म अरण्य काण्ड पढिरहेको छु । बालकाण्ड र अयोध्याकाण्ड सिध्याइसकेको छु । वाल्मीकि रामायण यति जीवन्त छ, त्यसका अगाडि गजल फिक्का लाग्छ । यो जीवन्त काव्य हो । जसलाई पढेर मेरा रोमरोम रोमाञ्चित भइरहेको छ ।

कालीदासलाई ठूलो कवि मानिन्थ्यो । कालिदासले त सारा सर्वस्व वाल्मीकिबाट लिएर आफूमा ऊर्जा ल्याउनुभएको रहेछ भन्ने यही रामायण पढ्दा थाहा लाग्छ । सुन्दर र सुललीत यो रामायण पढ्दा महाआनन्दको अनुभूति हुन्छ ।

यद्यपि, म गजलबाट टाढा छैन । गजलमा आज पनि रमाउँछु । तर यो बीचमा गजल लेखिएन । बरु, दीपक खरेलले गाउनुभएको मेरो एउटा गजलको म्युजिक भिडियो तयार भएर सार्वजनिक भएको खबरले मलाई उत्साहित बनाएको छ ।

हर धडकनमा सुरिलो लय होस्
नव सिर्जनमा मन तन्मय होस् 
दिलमा अनुराग फुलोस यसरी 
मृदु ओँठ भरी मधु सञ्चय होस् 

यसका अतिरिक्त गजल गायकहरू मेहदी हसन, गुलाम अलीलगायत गजल उस्तादहरूको गजल सुन्दै रमाइरहेको छु । पछिल्लो समय म हरिहरणको गजल बढि सुनिरहेको छु । त्यसमा मुग्ध भएको छु । अर्थात्, म साहित्य, कला र संगीतमै रमाइरहेको छु । 

एउटा कुरो भनौँ, म चौबीस घण्टामा एकपटक पनि समाचार सुन्दिनँ । म आफ्नै सिर्जनशीलतामा विचरण गरिरहेको छु । मलाई लाग्छ हामीले अहिले कोरोना समाचारको आतङ्कबाट मुक्त हुनुपर्छ । यतिबेला डराउने होइन सुरक्षित रहने हो । 

करुण थापा

खै लेख्ने मुड नै नहुँदो रहेछ । गजल लेख्ने गीत लेख्ने मुड आएको त छैन नै, संसारका राम्रा फिल्महरू हेर्छु भनेर दर्जन बढी फिल्म छुट्याउँदा पनि ती हेर्न सकेको छैन । बस्, एक दुई वटा फिल्म मात्रै हेरे कि । 

जहाँसम्म गजल लेखनको कुरो छ, यो समयमा एक–दुईवटा मात्रै लेखेँ । केही महिनायता म दुई साता गुप्तवास बसेर आफ्नो प्रकाशोन्मुख गजलसंग्रहको सम्पादनमा लाग्छु भन्ने सोचेको थिएँ । तर आश्चर्य त के भने, दुई साता मात्र होइन चार साता बितिसक्दा पनि मैले त्यसको सम्पादन गर्न सकेको छैन ! अझै भनौँ, छुनै पनि सकेको छैन ! 

न लेख्ने, न सम्पादन गर्ने, न फिल्म हेर्ने, केही गर्ने मुड भएन मलाई । अर्को कुरो, गजल स्ुन्न पनि सकिरहेको छैन । खासमा केही गर्नै सकेको छैन । यो मैले भन्न मिल्ने हो कि होइन ? तर पनि भनेँ मैले । मैले मेरो सम्पर्कमा रहनुभएका अरू गजलकार साथीहरूमा पनि उत्साह देखिनँ । 

लेख, पढ, सम्पादन मात्र होइन, मैले नियमित गर्दै आएको काम पनि– जुन एक सातामा सक्याउँथेँ, त्यो चार साता बित्दा पनि– सक्याउन सकेको छैन । तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ कुन गतिमा काम भइरहेको होला ।

संसार छिटोछिटो चल्दा आफूले पनि छिटोछिटो काम गरिँदो रहेछ । अहिले संसार नै धिमा गतिमा रहेकाले हरेक काम धिमा गतिमा भइरहेको छ । यस्तोमा आफू पनि स्लो भएको मलाई महसुस भइरहेको छ । 

यसपटक गुलजारको एउटा गजल भाइरल भयो । यो पुरानै रचना हो । यो गजल सुन्दा अहिले नै लेखेजस्तो लाग्छ । गजल राम्रो हुने भनेको नै त्यसमा अभिव्यक्त भावमा आफ्नो भोगाइ र कथा पाउनु हो । गुलजारको गजलले सबैलाई अहिलेको समय र भोगाइ बताएको छ । सायद, कालजयी रचना यस्तै हुन्छ ।

यसपटक मैले पुराना किताबहरू मिलाएँ । पुराना गजल पढेँ । यसरी नै रमाउने प्रयासमा छु । हालै लेखेको एउटा गजलका केही शेर पाठकहरूका लागि प्रस्तुत गर्छु :

कोपिलालाई फूल जस्तै फूल्न लाग्यो डर यहाँ
आफ्नो छायाँ सँगसँगै डुल्न लाग्यो डर यहाँ 
भो उजेलो चाहिएन सास फेर्दै फेर्दिनँ 
दैलोलाई झ्याललाई खुल्न लाग्यो डर यहाँ
हा¥यो बाँच्ने आँट मेरो काम्छ ज्यानै थर्थरी
जिन्दगीलाई सम्झिन र भुल्न लाग्यो डर यहाँ     

रवि प्राञ्जल 

म अहिले गजल, कविता केही लेखिरहेको छैन । आमा बिरामी हुनुभएकाले मेरो सिर्जनात्मक काममा रोक लागेको छ । आमाका लागि समय दिनुपर्ने भएकाले लेखनमा समय दिन सक्दै सकिएन । 

तर पनि यसबीचमा गजल लेखकहरूसँग सामान्य सम्पर्क हुँदै आएको छ । बेलाबेलामा कसैकसैसँग कुराकानी पनि हुन्छ । तर मैले जतिसँग कुराकानी गरेको छु, तिनले मलाई गजल लेख्ने मुड नै आएको छैन भनिरहेको पाएँ । राम्रो गजल लेख्नेले पनि लेख्न सकिरहेको देखिँदैन ! 

कोरोनालाई लिएर कतिपयले कविता वा मुक्तक लेखिरहेको पाएको छु मैले । तर त्यस्तो रचनामा ज्यान हुँदैन भन्ने मलाई लाग्छ । त्यो मैले पनि लखेको छु भनेर देखाएको मात्रै हो । गम्भीरता फिटिक्कै हुन्न त्यस्ता रचनामा ।

लकडाउनको समयमा भाव मिल्ने पहिले नै लेखिएका कविताहरूले बरु छोएको छु । हालै गुलजारको एउटा रचना सार्वजनिक भएको थियो । त्यस गजलको अर्थ र महत्वलाई आज सबैले महसुस गरेका हुन् । 

(साँझमा रविले फोन गरेर आफूले आजै चार लाइन कोरेर फेसबुकमा पोस्ट गरेको भन्दै म्यासेन्जरमा यो मुक्तक पठाए :
नाक मुख दुवै बन्द खै के छन्द सुनाउनु
सुन्छ कसले सुनाएर ? मनमनै गुन्गुनाउनू
छन्ददिवस उल्टिएर बन्ददिवस बन्यो अब
सुरक्षित रही आफ्नो ज्यान आफैं जोगाउनू ।

शीतल कादम्बिनी

मलाई त कोरोनाको कहरमा पनि गजलको बहार फुरिरहेको छ । मनलाई बाँध्नु पर्छ । अरू कुरा सोच्नु हुँदैन । त्यसो भएपछि एउटा लेखकले आफूले चाहेको कुरा लेख्न सक्छ भन्ने मलाई लाग्छ ।

हो, त्रास छ । यो त्रासको समयमा आफू पनि घरैभित्र बसेर बाँच्ने हो । अरूलाई पनि बँचाउने हो । विश्वमा आज कति बालबालिका अनाथ भएका छन् । कतिले आफ्ना सन्तान गुमाएका छन् । समय त्रासदपूर्ण नै हो यो । यस्तो बेलामा मन त अवश्य पनि रुन्छ । तर पनि सिर्जना गर्नेले सिर्जनाका लागि समय निकालिरहेका हुन्छन् । मैले पनि सिर्जनाका लागि समय निकालिरहेको छु ।

म त सधैं होम क्वारेन्टाइनमा बस्ने स्वभावको मानिस हुँ । त्यसैले यो बन्दाबन्दीले मलाई खासै प्रभाव पारेको छैन । काम परेको अवस्थामा मात्रै म घरबाहिर निस्किन्छु । म यतिबेला एउटा उपन्यासको तयारीमा छु । उपन्यासका लागि आवश्यक सबै कुराको तारतम्य मिलाउनुपर्ने, पात्रहरूसँग संवाद गर्नुपर्ने भएकाले त्यस काममा म बढी समय दिइरहेको छु । 

म दुःख पीडाका बेलामा पनि मानिसलाई राहत दिने खालका रचना सिर्जना गर्छु । सकारात्मक भावका रचना नै मैले बढी लेख्दै आइरहेकी छु । यतिबेला मानिसलाई पीडा दिने होइन । तिनलाई हौसला दिने, उर्जा दिने खालको रचना लेखिनुपर्छ । 
अनि कादम्बिनीले सुनाइन् यी हरफ :
मनै भित्र फूल्छन्, चमेली र बेली
म आफन्त मेरो, म मेरै सहेली

ललिजन रावल

कोरोनाको यो कहरमा गजलको सिर्जन हुन सकेन । यो बीचमा लेख्ने कामभन्दा पनि पुराना गजलहरू पढियो । अरूका गजल र कविताहरूमा बढी ध्यान दिइयो । फुर्सदको समय भए पनि मनमा एक किसिमको भयले यसो भएको हो ।

लेख्नलाई मूड आयो वा भावले मनमा घर बनायो भने मात्र लेख्छु म । म कहिले–काहीं हतारमा पनि लेखिरहेको हुन्छु । लेख्नलाई फुर्सद नै मिल्नुपर्दैन । कहिले–काहीं लामो फुर्सदमा पनि गजल फुर्दैन ! जस्तो अहिले त्यस्तै भएको छ । 

फेरि म योजना बनाएर लेख्दिनँ । त्यसका लागि मलाई मनमा भाव जाग्नैपर्छ । जस्तो भूकम्प गएको लामो समयपछि मात्रै मैले एउटा गजल लेखेको थिएँ । जबरजस्ती लेख्नुको कुनै अर्थ छैन भन्ने मलाई लाग्छ । 

अहिले त संसारै बन्द छ । जताततै कोरोनाको सामाचार छ । सर्वत्र डर र त्रास छ । त्यसले गर्दा मानिस आक्रान्त छन् । लेख्ने, पढ्ने, फुर्ने र सिर्जना गर्ने काम यो समयमा हुन्छ भन्ने मलाई लाग्दैन ।

भुइँचालो आउँदा घरमा बस्न डर थियो । आज घर बाहिर बस्न डर छ । सबै घरमा बसिरहेका छन् । सबै मिलेर बस्नुपर्नेमा सबै छुटिएर बस्नुपर्ने समय आएको छ आज । यस्तो हामीले सोेचेका पनि थिएनौँ, हैन ।

कहिले–काहीं हामीले सोच्दै नसोचेका कुरा भोग्नुपर्ने हुन्छ । र यस्ता अनुभूतिलाई कुनै न कुनै बेला एउटा सर्जकले आफ्नो सिर्जनामा उतार्छ नै । सायद मैले पनि पछि गएर केही लेखुँला ।

बाबु त्रिपाठी

अहँ ! अहिले केही पनि लेखेको छैन । यो समयमा मेरो लेखन शून्यमा झरेको छ । अनेक किसिमका तनाव र वातावरणले अलिकति पनि लेख्न सकिएन । भनौं एउटा मतला पनि लेख्न सकिएन । शेर त ठूलो कुरो । 

कोरोनाको समाचारले पनि धेरै तनाव दिएको हो कि भन्ने मलाई लाग्छ । जताततै कोरोना–कोरोना मात्रै छ । दिमागमा राम्रो कुरै आउन छाड्यो । त्यसैले पनि लेखनको ग्राफ शून्यमा झरेको हो कि ?

गजल मात्रै होइन, कविताको ‘क’ पनि लेखिएन । तर यो समयलाई अनुत्पादक भने म मान्दिनँ । किनभने म अस्पतालमा काम गर्ने भएकाले बिहानदेखि बेलुकीसम्मै अस्पतालमा हुन्छु । मेरो समय अस्पतालमा नै बितिरहेको छ । यतै व्यस्त छु । म अहिले पनि अस्पतालमै छु । जागिरको हिसाबले चैँ मलाई गजबै भयो भन्छु म । 

धेरैजना घरभित्रै हुनुहुन्छ । मैले भने घरबाहिर रहेर काम गर्न पाएँ । त्यसमा मलाई गर्व छ । खुसी लागेको छ । तर लेख्न नसकेकोमा दुःख लागेको छ । 

इन्टरनेटको संसारमा म पनि सक्रिय रहेँ । हालै मात्र हामी एउटा गजल कार्यक्रममा मोबाइल, ल्यापटपका माध्यमबाट सक्रिय रह्यौंँ । त्योचाहिँ गज्जबको अनुभूति रह्यो । दिलभूषण पाठकको ‘टफ टक’मा गरिएको गजल वाचन कार्यक्रमको सहभागिता स्मरणीय भयो । 

केही रेडियोमा गजल वाचन गरेँ । यसरी हेर्दा यो समयमा गजल नलेखे पनि गजल वाचन गरेको छु । मैले सुनाउन नसकेको एउटा गजल बाह्रखरीमार्फत पाठकलाई सुनाउँछु ।

जिब्रो हुनेहरूको सातो जानेछ
जब वक्ता बनेर लाटो जानेछ 
त्यो नेतै नेताहरू भएको देशमा 
किसानहरू खोज्न माटो जानेछ 
धोएर राख्नु पुराना लुगाहरू
चिसो आउने छ तातो जानेछ 
बाबुको हत्या गरेर के गर्छौ
आमाकै सिउँदोको रातो जानेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १३:०५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro