
काठमाडौं । नेपालमा प्रचलित एउटा उखान छ, ‘गाँस छोड्नु, साथ नछोड्नु’, यही उखानलाई समात्दै उसु खेलाडी किरन साउदले एउटा प्रसंशनीय काम गरेका छन् । किरनले पनि आफू नखाइ अरुको भोको पेट भरेका कयौं दिनरात छन् ।
उनले आफू सडक पेटीमा हुँदा, त्यही पेटीबाट कमाएको पैसाले पेटीमै भोकाएका कैयौंलाई आफू नखाएरै पनि उनीहरुको पेट भरिदिएका छन् ।
मात्र उनी मिडियामा आएनन् । उनी मिडियामा आउन चाहेनन् वा मिडियाको नजरमा उनमा पर्न सकेन ।
तर, यतिबेला लामो संघर्ष र मिहिनेतपछि किरनले आफ्नो पछाडि मिडियाले पछ्याउने प्रोफाइल बनाइसकेका छन् । छोटो समयमा नै नेपाली खेलकुद क्षेत्रमा सोचेभन्दा राम्रो नतिजा हाँसिल गरेका उनले आफ्नो पहिलो दक्षिण एसियाली खेलकुद (साग) मा नै पदक जित्न सफल भए ।
त्यही १३ औं सागमा जितेको कास्य पदकवापत किरनलाई नेपाल सरकारले दिएको तीन लाख पुरस्कारबाट ५० हजार मजदुरहरूका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।
“मैले अहिले मात्र होइन यसअघि पनि धेरै सहयोग गरेको छु । जुन विषय धेरैलाई थाहा नहुन सक्छ । पहिला पहिला पाँच दश हजारको सहयोग हुन्थ्यो होला । अहिले केही ठूलो रकम सहयोग गर्ने भनेको हुँ,” किरनले भने, “मेरो मन कोरोनाले गर्दा मात्र पग्लिएको होइन । म आफूसँग हुँदा नहुँदा सधैं सहयोग गर्छु । किनकि म सधैं भावनामा हराउने मान्छे ।”
उनले कोरोनाका कारण काठमाडौंमा रहेका मजदुर समस्यामा परेकाले एक छाक भए पनि उनीहरूको भोको पेट भरियोस् भन्ने चाहेको बताए । “मेरो चाहना एक छाक भए पनि भोको पेट भरियोस् र खान नपाएकाले खान पाओस् भन्ने मात्रै है । यसमा मेरो अरु कुनै स्वार्थ छैन,” उनले भने ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम केन्द्रमा रहेका किरनले समस्यामा परेका मजदुरहरूलाई ब्यारेकको गेटमै आएर सहयोग लिन आग्रह गरेका छन् ।
उनले आफू बाहिर निस्कन नसक्ने अवस्था भएकाले फोन गरेर ब्यारेकको गेटमा आउन आग्रह गरे । उनले मजदुरको समस्या र परिवार संख्या हेरेर आर्थिक सहयोग गर्ने बताए ।
परिवार चलाउन इटाभट्टामा काम
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला पुर्ख्यौली घर भएका उनी हाल कन्चनपुरको शुक्लाफाटा नगरपालिका १२ कालागौडीमा बस्दै आएका छन् । सुन्दा तराईमा बस्ने, हुने–खाने जस्तो लागे पनि उनी गरिब परिवारमा हुर्के बढेका हुन् । घामपानीबाट ओत लाग्ने सानो घरबाहेक अरु केही नभएका किरनले निकै संघर्ष गरेका छन् ।
“हाम्रो परिवारमा चार जना (बाबाआमा र दाइ, भाइ) थियौं । एक्लै कमाउने बाबा पनि शारीरिक अशक्त हुनुहुन्थ्यो । सबै थोक किन्नु पर्ने हाम्रो परिवारलाई बाबाको कमाइले खानेकुरा मात्र किन्न सकिन्थ्यो,” किरनले सुनाए, “शारीरिक अशक्त बाबाले भारतबाट कमाएको पैसाले जसो तसो परिवार चल्दै थियो । तर, उहाँले पनि परिवारलाई धेरै समय साथ दिन सक्नु भएन । मजदुरीकै शिलशिलामा भारतमै बाबाको ज्यान गयो ।”
परिवारमा ठूलो वज्रपात पर्यो । त्यसैले उनी आफुले पाएको जस्तो दुःख कसैले नपाओस् भन्ने चाहन्छन् । “हामी सधैं किनेर नै खान्छौं । खेती गर्ने जमिन छैन,” उनले भने, “मलाई लाग्छ मैले पाएको जस्तो दुःख अरु कसैले पनि नपाओस्,” उनले थपे, “हुन् त मैलेभन्दा पनि ठूलो दुःख भोगेकाहरूका कथा लुकेका होलान् । मेरो भनाइ खान र लगाउने दुःख कसैलाई नहोस् भन्ने हो ।”
पढ्ने इच्छा हुँदाहुँदै पनि उनले सहजै पढ्न सक्ने अवस्था थिएन । तर, उनले आफ्नो पढाइप्रतिको चासो भने छोडेनन् । उनले स्कुलका लागि आवश्यक सामग्रीका लागि इटाभट्टामा काम गर्न थाले । इटाभट्टामा नै काम गरेर उनले आठ कक्षासम्म पास गरे ।
हिउँदमा मात्र काम गर्न मिल्ने इटाभट्टको कमाइले पनि बिस्तारै घर परिवार धान्न गाह्रो भएपछि उनले भारत जाने निधो गरे र गए पनि ।
“कक्षा आठमा पढ्दै गर्दा इटाभट्टाको काम छोडेर म भारत गएँ । वर्षमा ८ महिना भारतमा काम गर्थें । वार्षिक परीक्षा हुनु चार महिना पहिले नेपाल फर्किन्थें अनि परीक्षा दिन्थें,” उनले भने, “त्यतिबेला म भलिबल खेल्थें । सायद भलिबल खेल्ने र कमजोर आर्थिक स्थिति भएकाले होला, स्कुलका शिक्षक शिक्षिकाहरूले पनि ठूलो सहयोग र माया गर्थे । जुन म कहिल्यै बिर्सिने छैन ।”
जसोतसो गर्दै उनले एसएलसी सके । सिद्धबैजनाथ उच्चमाध्यमिक विद्यालयबाट १२ कक्षा पनि सके । उनलाई अझै स्नातकोत्तरसम्मै पढ्ने इच्छा जाग्यो । तर, आर्थिक अवस्था कमजोर थियो । उनले जसोतसो बाटो खर्चको जोहो जर्दै काठमाडौं पुगे । अनि सुरु भयो सडक पेटीको कथा ।
बाटोको कथा
गाउँकै विद्यालयबाट १२ कक्षा पास गरेपछि उनी विस २०६८ सालमा स्नातक पढ्नका लागि काठमाडौं छिरे । काठमाडौंमा गाउँकै साथी सुरेन्द्र बोहरासँग कोठा भाडा लिएर बस्न थाले । गाउँकै दैनन्दिनी मजदुरीमा बिताएका उनलाई काठमाडौं सोचे जस्तो सहज कहाँ थियो र ? त्यसपछि उनले आफूलाई एक बाटोको पात्र सोचे र बाटोमा हिँड्न थाले ।
उनी काठमाडौंको सडक पेटीका कथाको पात्र मध्येका एक हुन् । उनले काठमाडौंमा पढ्न र पेट पाल्न फुटपाथ व्यापार सुरु गरे । फुटपाथको व्यापारले आफ्नो पेट पाल्न सके पनि कलेजको पढाइ खर्च भने तिर्न सकनेन् । काठमाडौंका महङ्गा कलेजको शुल्क तिर्न नसकेपछि पढाइ छोडे ।
जमल, रत्न पार्क, सुन्धारालगायतका सडक पेटीसँग किरनको वर्षौं लामो आत्मीय सम्बन्ध छ । उनले ती सडक पेटीमा सबेरै जुत्ता, मोजा र झोला बेचेका छन् । जहाँ उनले करिब चार वर्ष बिताए । “मैले सडकको पेटीदेखि संघर्ष गरेको छु । सडक पेटीमा बसेर साँझ–बिहान छाक टार्न जुत्ता, मोजा र झोला बेचें,” उनले आफ्नो पुरानो वृतान्त सुनाए ।
ती दिन उनले आफ्नो मात्र होइन । सडक पेटीमा रहेका धेरै भोका पेटसमेत भरेका छन् । उनले आफू नखाएरै भए पनि कयौंलाई खुवाएका छन् । “मैले सडक पेटीमा धेरैलाई सहयोग गरेको छु । कयौं मजदुरलाई सकेको सहयोग गरेको छु । त्यतिबेला दिनहुँ हुने पाँच दश हजार भए पनि आफू नखाइ अरुलाई सहयोग गरेको छु,” किरनले भने ।
आफूले सहयोग गर्दै हिँड्दा आमाको सधैं साथ रहेको उनले बताए । “मैले आर्थिक सहयोग गर्दै हिँड्दा मेरो आमाले कहिल्यै असहमति जनाउनु भएन । उहाँले आफूलाई खान नभएका बेला अरुलाई किन पैसा दिनु पर्यो पनि भन्न सक्नुहुन्थ्यो,” उनले भने, “सायद आमाले पनि दुःख भोगेको भएर होला । मेरो कामलाई सधैं हाँसेरै स्वीकार्नु भयो ।”
उनले थपे, “तीन–चार वर्षको हुँदा आमाबाबा गुमाउनुभएकी मेरी आमालाई दुःखीको व्यथा राम्रोसँग थाहा छ ।”
आफू सानै छँदा किनेर खानुपर्ने परिवार भए पनि सीमाबाट साइकलमा समान ओसार–पसार गर्नेहरूलाई घरमै बोलाएर खाना खुवाउने गरेको उनले सुनाए ।
“घरभित्र राखेर खाना खुवाउँदा आमाले कहिलै यो जात त्यो जात भन्नु भएन । चामल छैन किन बोलाइस् पनि भन्नु भएन । बरु सधैं मलाई सहयोग गर्नुभयो । सायद आमाकै दयालु छाया ममा पनि परेको हो कि जस्तो लाग्छ,” किरनले भने ।
पैसा नहुँदा भलिबल छोडे
गाउँ छोडेर काठमाडौं पुगे पनि उनलाई गाउँको भलिबल नशाले भने छोडेको थिएन । गाउँतिर टोलछिमेकमा खेलेका प्रतियोगिताहरूले उनलाई सम्झाइ रहन्थ्यो । उनले जिल्लास्तरीय प्रतियोगितासम्म खेल्ने अवसर पाए । जुन अवसर फेरि गुमाउन चाहँदैन थिए । त्यसपछि उनले दिउँसो साँझ सडक पेटीमा व्यापार गरे पनि बिहान भलिबलको प्रशिक्षण गर्ने सोचे । प्रशिक्षण केन्द्र खोज्दै उनी लगनखेल पुगे ।
उनी लगनखेल भलिबल प्रशिक्षण केन्द्रमा भर्ना पनि भए । केही समय प्रशिक्षण पनि लिए । तर, फेरि उनलाई समस्याले सतायो । प्रशिक्षण जाँदा व्यापारका लागि समय दिन सकेनन् । व्यापार नहुँदा उनले प्रशिक्षण जाने आउने गाडी भाडाको नै जोहो गर्न सकेनन् । एकेडेमीको शुल्क तिर्न नसक्ने अवस्था आएपछि तीन साताको प्रशिक्षणपछि भलिबल छोडे । त्यसपछि उनी करिब तीन वर्ष खेलकुदबाट टाढा रहे ।
उनीसँगै एउटै कोठामा बस्ने सुरेन्द्र बोहरा भने रंगशालामा उसु सिक्थे । एक दिन सुरेन्द्रले उनलाई उसु खेल्न आग्रह गरे । उनी पनि उसु खेल्न राजी त थिए । तर, पैसाको समस्या थियो । “सुरेन्द्रले एक दिन मलाई उसु खेलौं भन्यो । उसु खेल्ने म पनि इच्छुक थिएँ । तर, प्रशिक्षणको शुल्क कसरी तिर्ने भन्ने पीर अर्कोतिर थियो,” उनले भने ।
उनी सुरेन्द्रासँग रंगशाला पुगेपछि सोचेभन्दा फरक पाएँ । उनको खाइलाग्दो ज्यान देखेर प्रशिक्षक (गुरु) तुलसी नन्द वज्राचार्य प्रभावित भए । गुरु वज्राचार्यले प्रशिक्षण शुल्क र खेल पोसाक निःशुल्क उपलब्ध गराई दिने भनेपछि किरनले खुसी हुँदै उसु सुरु गरे । “मलाई गुरुले प्रशिक्षणको शुल्क र पोसाक निःशुल्क दिनुभयो,” किरनले भने, “गुरु मेरो शारीरिक बनावटबाट प्रभावित हुनुभएको थियो । गुरुले तिम्रो शारीरिक बनावट राम्रो छ । तिमीले मिहिनेत गर्यौँ भने एक दिन ठाउँमा पुग्ने छौ भन्नु भएको थियो । आज उनको त्यो बोलीको सम्झना हुन्छ ।”
गुरु वज्राचार्यको तारिफले आफूलाई सधैं सोच्न बाध्य बनाएको उनी बताउँ छन् । गुरुकै तारिफका कारण आफु दिनहुँ रंगशालामा पुग्ने गरेको उनले बताए । गुरुले आफ्ना लागि यतिधेरै सोचेपछि आफूले पनि केही गरेर देखाउनु पर्ने सोच आएको किरनले सुनाए । अर्का गुरु रामगोपाल महर्जनबाट आफूले धेरै आर्थिक सहयोग पाएको पनि उनले लुकाएनन् ।
छोटो समयमा नै राष्ट्रिय खेलाडी
उनी विसं २०७१ प्रारम्भबाट उसुकै लागि भनेर रंगशाला धाउन सुरुका उनले त्यही सालको अन्त्यतिर भएको राष्ट्रिय उसु च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाए । पहिलो राष्ट्रिय प्रतियोगितामा उनी आफ्नो तौल समूहमा दोस्रो भएका थिए । त्यसपछि उनको उसु च्यामि्पयनसिपको यात्रा सुरु भयो ।
२०७२ वैशाख १२ गते भूकम्प गएपछि कुनै खेल कुन हुन सकेनन् । तर, उनको पहिलो प्रतियोगिताको प्रदर्शनकै कारण २०७३ सालमा आर्मी क्लबमा पुगे । उनलाई आर्मीले पूर्वाञ्चलमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुदका लागि क्लबमा लिएको थियो । अहिले उनी आर्मीका जागिरे नै हुन् ।
उनले २०७४ सालमा भएको राखेप च्यामिपयनसिपमा स्वर्ण पदक जिते । ०७४ सालमा नै भएको सातौं राष्ट्रिय खेलकुदमा उनले स्वर्ण जिते । त्यस्तै ०७५ को अन्त्यतिर नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेका थिए । चीनमा भएको १५ औं विश्व उसु च्याम्पियनसिपमा उनको प्रदर्शन सन्तोषजनक रहेको थियो । तर, १३ औं सागमा स्वर्ण पदक जित्ने लक्ष्य राखेका उनको त्यो सपना भने पूरा भएन । उनले अन्तिम ३० सेकेन्ड सम्हालिन नसक्दा अर्को चरण गुमाउन पुगेका थिए ।
हाल उनी लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा छन् । ९ सय खेलाडी रहेको उक्त व्यारेकमा अहिले उनीसहित ४० जना खेलाडी छन् । उनी लगनखेलमा नै अहिले सेल्फ प्रशिक्षणमा छन् । “धेरै जसो खेलाडी आफ्नो गण गएकाले म लगायत केही खेलाडीलाई एकेडेमी हेर्न यहाँ राखेको छ,” किरनले भने, “हामी उसुका चार जना खेलाडी छौं । हामी बिहान बेलुका सँगै प्रशिक्षण गरिरहेका छौं ।” उनले आफूहरू ब्यारेक भित्रै भएकाले त्यस्तो असहज स्थित नभएको बताए ।
(काठमाडौंमा बसिरहेका कुनै मजदुरलाई समस्या परेको छ भने उनको मोबाइल नम्बरमा ९८४९९९५४४२ सम्पर्क गर्न सक्नु हुनेछ ।)’