काठमाडौं । कञ्चनपुरको महाकाली अस्पताल प्रशासनले अस्पतालको व्यवस्थापन समितिलाई ‘गुमराह’ मा राखेर भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण खरिद गरेको खुलासा भएको छ ।
अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुले अस्पतालको खरिद इकाई तथा मूल्यांकन समितिले आफूहरुलाई ‘गुमराह’ मा राखेर भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण खरिद गरेको खुलासा गरेका हुन् ।
महाकाली अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्णदत्त जोशी, सदस्यहरु कृष्णनन्द भट्ट, कौशल्या ओझा र हरिराम चौधरीले बुधबार संयुक्त वक्तव्य जारी गरेर अस्पतालको खरिद इकाई तथा मूल्यांकन समितिले सार्वजनिक खरिद ऐन र नियमावली विपरित खरिद सम्झौता बिना स्वास्थ्य सामग्री भित्र्याएको दाबी गरेका छन् ।
“व्यवस्थापन समितिलाई जानकारी नै नगराइकन र सार्वजनिक खरिद ऐन, नियमावली विपरित खरिद सम्झौता बिना सामग्री भित्र्याउने जस्ता कार्यप्रति व्यवस्थापन समिति आपत्ति प्रकट गर्दछ,” संयुक्त वक्तव्यमा भनिएको छ ।
महाकाली अस्पताललाई प्रयोगमा आएको भेन्टिलेटर बिक्री !
उनीहरुले चैत १६ गते टेण्डर आह्वान गरिए पनि टेण्डर स्वीकृतिसम्बन्धी जानकारी व्यवस्थापन समितिलाई नभएको समेत प्रष्ट्याएका छन् ।
“खरिद सम्झौता बिना अस्पताल परिसरमा भेन्टिलेटरलगायतका उपकरण र सामग्री खरिद गरिएको कार्यले अस्पताल प्रशासनले व्यवस्थापन समितिसँग दूरी कायम राख्न खोजेको आभाष भएको छ,” व्यवस्थापन समितिका पदाधिकारीहरुले भनेका छन् ।
व्यवस्थापन समितिले अस्पतालको भेन्टिलेटरसहितका उपकरण खरिद प्रक्रिया छानविनका लागि समिति गठन गरी वास्तविकता पत्ता लगाएर दोषीमाथि कारवाहीका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासमेत जनाएको छ ।
“जनताको स्वास्थ्यका सवैधानिक हक, अधिकारहरुको सुनिश्चितता, गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्रवाहका लागि व्यवस्थापन समिति प्रयासरत रहेको अवस्थामा अस्पतालमा यस्ता किसिमका कार्यले समिति विचलित नहुने र यस्तो कार्य गर्ने र गराउने उपर नियमानुसार कडा रुपमा प्रस्तुत हुने प्रतिवद्धत जाहेर गर्दछौं,” वक्तव्यमा उल्लेख छ ।