site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एयर इन्डियाको दुर्घटनापछि हवाई क्षेत्रको सुरक्षाको समीक्षा गर्दै भारतीय सांसद

काठमाडौं । भारतका सांसदहरूले अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डिया विमान दुर्घटनाको महिना दिनपछि देशको हवाई क्षेत्रको सुरक्षाको समीक्षा गर्न छलफल गर्न लागेका छन् ।

भारतको एक संसदीय समितिले जुलाई ९ मा उद्योग र सरकारी अधिकारी, हवाई ट्राफिक नियन्त्रक र एयर इन्डिया र इन्डिगोसहितका एयरलाइन्सका शीर्ष कार्यकारीको सहभागितामा उच्चस्तरीय समीक्षा गर्दै छ ।

गत जुन १२ मा अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर दुर्घटनामा परेको थियो ।जसका कारण २७५ जनाको मृत्यु भएको थियो । जसमध्ये २४१ जना विमानमा सवार थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस दुर्घटनालाई विश्वकै एक दशकको सबैभन्दा खराब हवाई दुर्घटना भनेर वर्णन गरिएको छ । विश्वमा बोइङ ७८७ को पहिलो घातक दुर्घटना भएको कारणले भारतमा यात्रु सुरक्षाबारे चिन्ता बढाएको छ ।

संसदीय समितिको बैठकको आन्तरिक मेमोमा दुर्घटनाबारे स्पष्ट उल्लेख नभए पनि एक सांसदले यसमा छलफल हुने बताएका छन् ।

“यदि हामीले यो विषयमा प्रश्नहरू उठाएनौँ भने एयरलाइन्सहरू यी मुद्दाहरूमा सतर्क हुने छैनन्,” समितिका सदस्य आरके चौधरीले रोयटर्सलाई भने ।

विमानको फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर तथा विमानका ब्ल्याक बक्स फेला परेका छन् । तिनीहरूको डेटा भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोको नेतृत्वमा अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डसँगको सहकार्यमा विश्लेषण गरिरहेको बताइएको छ ।

दुर्घटनापछि ८० भन्दा बढी एयर इन्डियाका उडान केही प्राविधिक समस्याहरूका कारण र केही यात्रुले एयर कन्डिसनलगायतका विषयमा कमजोरी औँल्याएका कारण रद्द गरिएको छ ।

एयर इन्डियाले जुन २१ देखि जुलाई १५ सम्म आफ्नो अन्तर्राष्ट्रिय वाइडबडी उडान तालिकाको १५ प्रतिशत निलम्बन गरेको छ । अमृत्सर र गोवाबाट लन्डन ग्याटविक जाने सेवाहरू बन्द गरिएको छ । लन्डन हिथ्रो र बर्मिङहमबाट हुने उडानको संख्या घटाइएको समाचारमा उल्लेख छ ।

यात्रुसँग विश्वास–निर्माण उपायको रूपमा एयर इन्डियाले आफ्ना बोइङ विमानहरूको निरीक्षण र सुपरिवेक्षण पनि सुरु गरेको बताइएको छ ।

एयर इन्डियाका प्रमुख कार्यकारी क्याम्पबेल विल्सनले यात्रुहरूलाई भने, “यो त्रासदीबाट उत्पन्न भएको र नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)को निर्देशनअनुसार, हामीले हाम्रा ३३ बोइङ ७८७ विमानहरूमा गहन सुरक्षा निरीक्षणहरू सञ्चालन गरिरहेका छौँ ।”

इन्डिपेन्डेन्टबाट ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्