काठमाडौं । विश्व टेबलटेनिस च्याम्पियनसिपको तयारीमा रहेकी सिक्का सुवाल श्रेष्ठ, यतिबेला गोरखामा रहेको आफ्नै घरमा छिन् । सरकारले देशव्यापी घोषणा गरेको लकडाउन पालना गर्दै उनी घर फर्किएकी हुन् ।
खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सबै खेल संघलाई कुनै पनि खेल गतिविधि नगर्न आग्रह गरेको थियो । लगत्तै सरकारले पनि खेल मैदान, रंगशालासहितका क्षेत्र र खेल गतिविधि रोक्न आग्रह गरेपछि खेलाडी प्रशिक्षणविहीन बनेका थिए । प्रशिक्षणविहीन बनेपछि सिक्का पनि फुर्सदको समय परिवारसँग बिताउन गोरखा पुगिन् । तर, जसो तसो उनले आफ्नो प्रशिक्षणलाई निरन्तराता दिन भने बिर्सेकी छैनन् ।
अप्रिलमा कोरियामा आयोजना हुने विश्व टेबलटेनिस च्याम्पियनसिपको तयारीमा उनी थिइन् । उनीसँगै विश्व च्याम्पियनसिपमा सहभागी जनाउन कीर्तिमानी खेलाडी नविता श्रेष्ठ पनि थिइन् । च्याम्पियनसिपका लागि खेलाडी र संघले सबै प्रक्रिया पूरा गरिसकेको थियो । तर, विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाका कारण विश्व च्याम्पियनसिप हुन सकेन ।
चीनमा कोरोना संक्रमण देखिएपछि प्रतियोगिता जुनका लागि सारियो । तर, कोरोनाले चीनलाई मात्र आक्रान्त पारेन पूरै विश्व नै तरंगित पार्यो । विश्व नै कोरोना भाइरसको चपेटामा परेपछि हाल विश्व च्याम्पियनसिप अगस्टसम्मका लागि स्थगित भएको छ । “विश्व च्याम्पियनसिप खेल्न निकै उत्साहित थिएँ । सम्पूर्ण तयारी पुरा भइसकेको थियो । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने हामी नेपाली खेलाडीको नामसमेत दर्ता भइसकेको थियो,” सिक्काले भनिन्, “तर, कोरोना भाइरसले प्रतियोगिता स्थगित गर्दै अगष्टमा पुर्योएको छ । अगष्टमा पनि के हुन्छ भन्न सक्ने अवस्था छैन् ।”
संघले १३औं दिक्षण एसियाली खेलकुद र आठौं राष्ट्रिय खेलकुदबाट शीर्ष ८ जनालाई विश्व च्याम्पियनसिपका लागि जनवरीमा छनोट खेल खेलाएको थियो । जसमा सिक्का र नविता टिम इभेन्टका लागि छनोट भएका थिए ।
विश्व च्याम्पियनसिप खेल्न एसियन च्याम्पियनसिपको २०औं स्थनभित्र पर्नुपर्ने हुन्छ । इन्डोनेसियामा भएको एसियन च्याम्पियनसिपमा नविता, सिक्का र एलिना महर्जनले प्रतिस्पर्धा गर्दै नेपाललाई २०औं स्थानभित्र पार्न सफल भएका थिए । त्यसपछि नेपालले विश्व च्यापम्पयनसिपमा सहभागिता जनाउने अवसर पाएको हो । तर, उक्त एसियन च्याम्पियनसिपमा नेपाली पुरुष टोली भने २२औं स्थानमा रह्यो र विश्व च्याम्पियनसिप खेल्ने मौका गुमाएको थियो ।
हाल परिवारसँग समय बिताइरहेकी सिक्काले बिहान–बेलुका एकल प्रशिक्षणमा भने व्यस्त छिन् । उनी आफ्नो घरअगाडि रहेको टेबलटेनिसन हलमा दैनिक प्रशिक्षण गर्छिन् । “मेरो घरनजिकै टेबलटेनिस हल छ । घरनजिकै भएकाले यस्तो अवस्थामा पनि प्रशिक्षण गर्ने मौका पाएकी छु । तर, साथी भने पाएकी छैन,” उनले भनिन्, “टेबलटेनिस प्रशिक्षणका लागि जोडीको आवश्यकता पर्छ । आफ्नो जोडी नभएका बेला मैले प्रशिक्षणका लागि गुरु र साथी दुवै रोबोर्टलाई बनाएकी छु ।”
रोबोर्टसँगको प्रशिक्षणले पुरानै लयमा राख्न मद्दत हुने उनको विश्वास छ । स्विस प्रशिक्षक टेलटेनिस पावेल रेहोरेकले उक्त रोबोर्ट एभीएम टेबलटेनिस क्लबालाई चिनो स्वरूप दिएका थिए । क्लबमा हाल कोरोना भाइरसका कारण प्रशिक्षण बन्द भएपछि क्लबका प्रशिक्षक पुरुषोेत्तम वज्राचार्यले सिक्कालाई लकडाउनका बेला प्रशिक्षण गर्न दिएका थिए ।
उक्त रोबोर्टले प्रशिक्षकले मल्टिपल बल फालेजस्तै फाल्छ । रोबोर्टमा आफूले प्रोग्राम सेट गर्न मिल्छ । जसमा गतिको लेबल ८ सम्मको छ । रिमोर्टबाट प्रोग्राम सेट गर्दै आफूले कुन बल खेल्न चाहने हो सोही सेट गर्न मिल्छ । रोबोर्टले एक मिनेटमा सयभन्दा बढी बल फाल्न सक्छ ।
“थुप्रै खेलाडीले खेल्न पाउनुभएको छैन । तर, त्यसको दाँजोमा मैली केही अवसर पाएकी छु । त्यो नै मेरा लागि ठूलो हो,” सिक्काले भनिन्, “यो प्रशिक्षणले मलाई लयमा राखिराख्न मद्दत गर्नेछ । रोबोर्टले सयभन्दा बढी टेक्निकल बल फाल्छ । तर, मेरो रिसिभिङ र सर्टमा के कमजोरी छ । कुन बलका कस्तो सर्ट हान्ने भन्ने विषय यसले सिकाउँदैन । तर पनि आफूलाई केही समय भए पनि खेलमा व्यस्त राख्न रोबोर्टले सहयोग गरेको छ ।”
उनले प्रशिक्षण गर्ने बानिपरेकाले प्रशिक्षणविना बस्दा निद्रा नै हराउने बताइन् । आजभोलि बिहान–बेलुका एक सेसनमा दुई–तीन घण्टा प्रशिक्षण गर्ने दैनिकी बढ्लिएको उनी बताउँछिन् । “सधैं खेलिराख्ने । हार्ड प्रशिक्षण गरिरहने बानी परेकाले होला आजभोलि निद्रा नै हराएको छ,” उनले भनिन्, “व्यस्त तालिका रहेका बेला एक्कासि बन्द कोठाभित्र बस्नुपर्दा खाली–खाली भएजस्तै हुँदो रहेछ । बिहान–बेलुका प्रशिक्षण अनि दिउँसो काममा जाने दैनिकी अहिले बढ्लिएको छ ।”
खेलाडीले थोरै मात्र भए पनि प्रशिक्षण नछाड्न सिक्काको आग्रह छ । टेबलटेनिस खेलाडीले एक सातामात्र प्रशिक्षण नगर्दा स्टोक्सको समस्या आउने उनले बताइन् । टेबलमै प्रशिक्षण गर्नुपर्ने भएकाले धेरैजसो खेलाडीलाई लकडाउनमा प्रशिक्षण लिन गाह्रो भएको उनको बुझाइछ । “बास्केटबल, फुटबलमा स्टेमिनाको विषय आउँछ । हाम्रो खेलमा स्टोक्सहरू प्रशिक्षण गरिने भएकाले लामो बन्दले ठूलो असर पर्ने देखिन्छ । जसले गर्दा खेलाडीलाई आफ्नो पुरानै लयमा आउन कम्तिमा पनि एक महिना हार्ड प्रशिक्षण गर्नुपर्ने हुनसक्छ,” उनले भनिन्, “हार्ड प्रशिक्षण हामीले खेल तालिका हेरेर गर्नुपर्ने हुन्छ । प्रतियोगिता ढिलो भए बिस्तारै हार्ड प्रशिक्षणमा आउनु उत्तम होला ।”
सिक्काले नेपाल टेबलटेनिस संघले खेलाडी सुरक्षित रहे÷नरहेको चासो देखाएको बताएकी छन् । संघका अध्यक्षले आफ्नो परिस्थितिबारे बुझ्न म्यासेज पठाएको बताइन् । लकडाउनका बेला आफ्नो शरीरलाई कसरी मेन्टेन गर्ने भनेर नेपालका फिजिकल ट्रेनरहरूसँग समेत छलफल गरिहेको उनले जानकारी दिइन् । उनले खेलाडीहरूलाई घरभित्रै बसेर भए पनि निरन्तर व्यायाम गरिरहनुपर्ने पनि सुझाइन् ।