काठमाडौं । खेलाडी खेलकुदमै रमाउन चाहन्छ । उसले जतिसक्दो बढी प्रतियोगिता र प्रशिक्षणमा आफूलाई व्यस्त राख्न चाहन्छ । त्यसैले त उनीहरू प्रशिक्षणमा दिनहुँ घण्टौं बिताउँदा पनि आफूलाई थकाइको महसुस गर्दैनन् । तर, यतिबेला खेलाडीको जीवनशैली बढ्लिएको छ ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण खेलाडी यतिबेला बन्द कोठामा बस्न बाध्य भएका छन् । उनीहरूले आफ्नो नियमित प्रशिक्षण गर्न पाएका छैनन् । दिनहुँ खेलमा घण्टौं बिताउने खेलाडीले प्रशिक्षण गर्न नपाउँदा आफूलाई थकित महसुस गरेका छन् । त्यसमा पनि दौड विधाका खेलाडी बन्द कोठाभित्र बस्दा झनै थकित भएका छन् ।
दौडका लागि खुला ठाउँको आवश्यकता पर्छ । त्यसमा पनि लामो दूरीका खेलाडीका लागि खुला ठाउँ झनै आवश्यक छ । तर, म्याराथन खेलाडी आफ्नो सानो कोठाभित्र प्रशिक्षण गर्न बाध्य भएका छन् । जसबाट उनीहरू थकित भएका छन् । आफूलाई दौडभन्दा लकडाउनको थकाइ बढी भएको म्याराथन धाविका कान्छीमाया कोजू बताउँछिन् ।
“खेलाडी मान्छे घरमा बस्दा कस्तो हुन्छ ? त्यो सबैलाई थाहै होला । एक दिन नकुद्दा बोरिङ लाग्ने म, यत्रो दिन घरमै बस्नुपरेको छ,” उनले भनिन्, “लामो दूरीको दौडका खेलाडीलाई घरमै बसिरहन आफैंमा चुनौती हो । जसले मलाई दौडभन्दा पनि बढी कोठाको बसाइले थकित बनाएको छ ।”
दुई साता पूर्ण आराम गरे एथ्लेटिक्स खेलाडीको प्रदर्शनमा कमी आउने उनको बुझाइ छ । तर, आफ्नै लागि भए पनि घरभित्रै बस्नुपर्ने बाध्यता भएको उनी स्वीकार्छिन् । “मैदान भएकाहरूले प्रशिक्षण गरिरहेका पनि होलान् । तर, भक्तपुरमा मैदान पनि छैन । यसअघि मैले प्रशिक्षण गर्दै आएको मैदानमा पुग्न १५ मिनेट लाग्छ । तर पनि पुलिसहरूले अहिले जान अनुमति दिएका छैनन्,” उनले भनिन्, “जसोतसो घरभित्रै प्रशिक्षण गर्छु । घरको सिँढीमा १०–१५ मिनेट तलमाथि हिँड्छु । त्यसपछि कौसी र कोठाभित्र बसेर व्यायमहरू गर्ने गरेकी छु । यसले केही हदसम्म दौडलाई सहायता गर्नेछ ।”
पुराना तस्बिर हेर्ने र पहिलेका ट्रफी मेडलहरू सफा गर्नेमै अहिले कान्छीमायाको दिन बितिरहेको छ । “बिहान उठेपछि एक समय व्यायम गर्छु । त्यसपछि पहिलेका तस्बिर हेर्ने, मेडल र ट्रफी सफा गर्दै बस्छु,” उनले सुनाइन्, “परिवारलाई समय दिन पाएकी छु । गफ गर्दै दिन बताउँछु । समय बचे हिन्दी र अंग्रेजी फिल्म हेर्छु ।”
घरभित्रको प्रशिक्षणले दौडमा खासै ठूलो फरक नपार्ने कान्छीमायाको बुझाइछ । उनले घरभित्रको दौडले शरीरलाई फ्रेस मात्र बनाउने र दिनभर थकान मेटाउने बताइन् । “अलिकति खाली समय पायो कि कुदौ कुदौ लाग्ने मान्छे म । अहिले यत्रो दिन उत्तिकै घरभित्र बस्दा जीवनमै सबैभन्दा ठूलो थकाइको अनुभूति हुन्छ,” उनले भनिन्, “ज्वरो आउँदा मात्र घरमा बस्ने मैले, त्यस्तो बेला पनि दिनमा एकपटक दौडिनै पर्थ्यो । नत्र ज्वरोभन्दा पनि बढी मलाई दिनभरको बसाइले सताउँथ्यो ।”
उनले बिहानै कुद्न जान पनि गाह्रो भएको बताइन् । “कहिले–कहीं त सोच्छु बिहान ५ बजे नै उठेर कुदौं । तर, फेरि एकपटक सोच्छु, नियम पालना सबैले गर्नुपर्छ । हामी आफैंले सबैलाई घरभित्रै बस्न र सुरक्षित रहन सन्देश दिएका छौं । त्यसले गर्दा पनि बाहिर निस्केकी छैन्,” उनले सुनाइन् ।
कोरोना भाइरसको संक्रमण कम भएपछि प्रशिक्षणमा फर्किए पनि तत्काल प्रतियोगिता नहुनेमा उनी विश्वस्त छिन् । खेलमा फर्कनेबित्तिकै प्रतियोगिता हुँदा प्रतिस्पर्धामा गाह्रो हुने भन्दै सबैले यो बुझ्नुपर्ने उनले बताइन् । “कोरोना संक्रमण नियन्त्रण भएपछि प्रशिक्षणमा फर्किंदा खेलाडी पुरानै अवस्थामा हुने छैनन् । खेलाडीहरूको लय खस्किने पक्का छ,” उनले भनिन् ।
लामो समयको प्रशिक्षणविहिन घर बसाइपछि लयमा फर्किन समयले लाग्ने उनले बताइन् । लामो समयपछि खेलमा फर्किंदा इन्जुरीको समस्या हुनसक्ने उनले बताइन् । “अहिले हामी प्रशिक्षणविहीन भएर बन्द कोठामा लामो समय बसेका छौं । अब खेलमा फर्किएपछि प्रशिक्षण गर्दा खेलाडीमा इन्जुरी हुने सम्भावना बढ्छ ।”
उनले परिवारमा अहिले सबैभन्दा बढी समय भाइको छोरा (भतिज) सँग बिताउने गरेको सुनाइन् । समय बिताउन भाइको छोरासँग खेल्दै बस्छु । समय बिताउने सारथि भतिज नै भएको उनी बताउँछिन् । उनले भनिन्, “परिवारसँग बस्दै दिन बित्छ । भाइको छोरा सानो छ । यसलाई हेर्नु पनि पर्छ । मलाई घरमै बसेर समय बिताउनु पनि छ । त्यसैले म भतिजसँग खेल्दै बस्छु ।”