सोमबारदेखि लम्बिएको ‘लकडाउन’मा घरमै रहेका इतिहासविद् डा. विमलकुमार शर्मा कुराकानीका क्रममा भन्दै थिए– “पढ्ने कोठामा किताबहरू असरल्ल छ । तर पढ्ने, खोज्ने, बुझ्ने जाँगर अलिकति पनि छैन ।”
त्रिचन्द्र कलेजमा लामो समय विद्यार्थीलाई इतिहास पढाएर केही वर्ष अघिदेखि अवकाश जीवन बिताउँदै आएका शर्मा यतिबेला इतिहासकै विभिन्न पाटाको अनुसन्धानमा व्यस्त छन् । त्यसैले उनको अधिकांश समय घरमै बिते पनि अध्ययन अनुसन्धान कर्म बनेको छ ।
तर, लकडाउनले लेखपढलाई पनि सम्भवतः ‘लक’ गरिदिएको छ । शर्मा भन्छन्, “पढ्ने लेख्ने मुड छैन । त्यसैले समय टीभी हेर्न र नाति–नातिनासँगको रमाइलोमै दिन बितिरहेको छ ।”
‘के पढ्दै हुनुहुन्छ, यतिबेला ?’ भन्ने प्रश्नमा डा. शर्माको जवाफ थियो– “यो, अर्थात्, डा. शर्माको समय घर, आँगन र यो कोठा त्यो कोठामै बितिरहेको छ ।”
यसरी नै समय काट्नु बाध्यता भएको छ, सबैको । त्यसैले कतिपयले घरको सरसफाइमा पनि समय दिन थालेका छन् भने कतिले करेसाबारीमा समय दिँदै आएका छन् ।
कुराकानीका क्रममा केही गर्ने मुड नै नभएको बताए, चर्चित कवि विश्वविमोहन श्रेष्ठले । फुर्सद पाउँदा कविता लेख्ने र अनुज पुस्ताका कविहरूको कवितामा रमाउने श्रेष्ठ यतिबेला कविताको किताबमा रमाउन सकेका छैनन् ।
विश्वविमोहन भन्छन्, “समय नै त्यस्तै छ । कोठामै बस्नु र परिवारसँग रमाउनु सबैभन्दा राम्रो काम भएकाले मेरो समय पनि अहिले त्यसरी नै बितिरहेको छ ।”
एउटा भनाइ छ, ‘जहाँ सूर्य पुग्न सक्दैन त्यहाँभन्दा टाढासम्म पनि लेखक कविको कल्पना र विचारको पहुँच हुन्छ ।’ लेखक–कविले अनेक कल्पना गर्दै, नयाँ शिल्प र शैलीको प्रयोग गर्दै सोच्दै नसोचिएका घटना प्रसंगले कथा, कविता, उपन्यासलाई रोचक र पठनीय बनाउँदै आएका हुन्छन् । लेखकले अनेकानेक अकल्पनीय घटना आफ्नो रचनामा पस्केका पनि छन् ।
तर, मानिसको जीवनमा एउटा रोगसँग बँच्ने आधारै घरमा कैद भएर बस्नुपर्ने स्थिति आउला भन्ने सायदै कसैले सोचेका थिए ! यस्तो अकल्पनीय परिस्थितिको परिकल्पना पनि कसैले गरेका थिएनन् । नत यस्तो कल्पना कुनै पुस्तकमै उल्लेख थियो ।
साहित्यकार अर्चना थापा आजको यो भोगाइ आफूले कहीँ कतै नपढेको बताउँछिन् । थापा भन्छिन्, “अति स्वैरकल्पनामा आधारित कथा र उपन्यासले यति साह्रो दयनीय परिस्थितिको चित्रण गरेको मैले कतै पढेकी छैन । बरु फिल्म बनेका छन् अति–कल्पनाशीलताका आधारमा । त्यस्ता फिल्म हेरिएको पनि छ । तर हामीले आज भोगेकोजस्तो अवस्था कुनै आख्यान साहित्यमा पढेको मलाई सम्झना छैन । आजको दिनजस्तो अवस्था सायद कल्पना पनि गरिएको थिएन !”
यतिबेला उनको समय लेखपढ्का अतिरिक्त घर–घरायसी काममा नै बित्दै आएको छ । अर्चनाका अनुसार पछिल्लो केही दिनयता उनले टेलिभिजन र युट्युब हेरेकी छैनन् । नत सामाजिक सञ्जालमा नै सक्रिय छिन् । उनका अनुसार टीभी, युट्युबले दिमागमा नेगेटिभ कुरा मात्रै आउने भएकाले त्यतातिर ध्यान नदिएर वृद्ध बुबाको हेरचाह, छोरीसँग कुराकानी र किताबहरूको व्यवस्थापन गरेर दिन बिताउने गरेको बताउँँछिन् ।
अर्चना भन्छिन्, “खै, हामीले के गर्न सक्यौ र ? भन्ने लाग्छ ! बरु डाक्टरहरूले काम गरिरहेका छन् । सुरक्षाकर्मीहरूले काम गरिरहेका छन् । सञ्चारकर्मीहरूले काम गरिरहेका छन् । तर हामीले काम गर्न सकिरहेका छैनौ ! यस्तो पनि हुन्छ ! अनि, केही गर्न नसकेपछि त मनमा त्रास मात्रै आउने रहेछ ।”
उता समाचार पनि हेर्दै आध्यात्मिक पुस्तकमा रमाइरहेका छन्, नाट्यकर्मी तथा साहित्यकार अशेष मल्ल । उनी आजको अकल्पनीय परिस्थिति देखेर छक्क पनि भएका छन् । यस्तो अवस्था कहिल्यै नसोचिएको उनको पनि भनाइ छ । यसबेला समयको मागै हो, घरै बसेर सहयोग गर्ने । त्यसैले उनी समाचारमा नियमित अपडेट हुनुका साथै ‘आध्यात्म मार्ग’ शीर्षकको आध्यात्मिक पुस्तक पनि पढ्दै गरेको बताउँछन् । जुलियन जन्सनले लेखेको यस पुस्तकमा उनको ‘लकडाउन’का दिन बितिरहेको छ ।
नाट्यकर्मी मल्ल भन्छन्, “वास्तवमा यतिबेला आध्यात्मिक पुस्तक पढ्ने समय हो । मलाई त्यस्तै लागिरहेको छ, किनभने यतिबेला विज्ञान हारिरहेको देखिएको छ । त्यसैले समयको सदूपयोग गर्दै आध्यात्मिक किताबको अध्ययनमा हामी सबैले ध्यान दिँदा राम्रो ।”
कवि राजेन्द्र शलभ भने यतिबेला केही पढ्न नसकेको बताउँछन् । शलभ भन्छन्, “घरबस्नुबाहेक अरू केही उपाय छैन । यतिबेला पढ्ने लेख्ने मुड नहुँदो रहेछ । नसकिँदो रहेछ ! लकडाउन हुनुभन्दा केहीअगाडि कविता लेखे पनि अहिले केही लेखेको छैन ।”
नियात्राकार जय छाङछा नियात्राको सिद्धान्तसम्बन्धी पुस्तक सकेर यतिबेला आफ्नो अर्को नियात्रासंग्रहको तयारीमा रहेको बताउँछन् । उनी आफूले फूटकर रूपमा लेखेका नियात्राहरूको स्व–सम्पादनमा लागेका छन् ।
संस्कृतिमा कलम चलाउँदै आएका शीतल गिरी भने लकडाउनको सदुपयोग गर्दै ‘शिवपुराण’ पढ्दै छन् । तर आफ्नो घर (जलेश्वर) पुगेका लेखक तथा अंग्रेजी विषयका प्राध्यापक डा. विजयकुमार रौनियार ‘लकडाउनको यो समयमा आफूले जीवनका पानाहरू पढिरहेको’ बताउँदै जोडदार हाँसो हाँसे ।
प्राध्यापक रौनियार भन्छन्, “म मेरो गृहनगरमा छु । त्यसैले केही पढिरहेको छैन । घर घरायसी कामकै व्यस्ततामा लकडाउनको समय बितिरहेको छ ।”